(बालकविता)
आँटी छोरो
ओरोदोरो
आँटी छोरो
सीमा हेर्न
चढ्यो घोडो
लिपुलेक जान
दियो सान
कालापानी
हाम्रै हो नि
लिम्पिया धुरा
पूरा पूरा
छोरो घुम्छ
माटो चुम्छ
भारत हट्छ
नेपाल डट्छ
हिमाल हाँस्छ
डाँफे नाच्छ
रचनाः२०७६ असोज ९
(बालकविता)
झिलिमिली बिजुली
झिलिमिली बिजुली कति उज्यालो
अँध्यारालाई भगाउन कति सजिलो
स्विच थिच्ने बित्तिकै कोठा झलमल
नाना काट्न तम्सेको मुसा अलमल
काला काला देखिने कता भागे नि
भूत बनी तर्साउने कता लागे नि
हाम्रा मामाघरमा छैन बिजुली
गाउँ पुग बिजुली कालो छिचोली
प्रकाशनः'मुना', २०५४, वर्ष ८, अङ्क २
(बालकविता)
हाम्रो छाना खेती
छानामाथि पेटी छन्
पेटीमाथि धनियाँ
खेती गर्ने बाआमा
पानी हाल्ने मुनियाँ
रायो चम्सुर लसुन
सिमी बोडी झुल्दै छन्
गोल्भेँडा र भन्टाका
फूल फुलेर फल्दै छन् ।
थाँक्रो खोज्दै तन्किए
हिउँदे सिमी करेला
खुर्सानीका बोटमा
बुई चढ्यो बरेला ।
खुराक थप्यो घामले
न्यानो न्यानो रापले
सुमसुम्यायो कुदेर
सिरसिर गर्दै हावाले ।
मल हाल्छौँ माटामा
सँगै सबै मिलेर
हरियो छ छानामा
रम्छौँ त्यहीँ बसेर ।
रचनाः२०७४ असोज १२
(बालकविता)
हाम्री सानी नातिनी
हाम्री सानी नातिनी
कति धेरै मात्ती नि
कहिले प्याट्ट हान्दिन्छे
कहिले कपाल तान्दिन्छे ।
पढ्न बस्छु जब म
किताब समाई लान्छे ऊ
रिसाई आँखा तर्छु म
जिब्रो लेब्र्याई हिँड्छे ऊ ।
दारी काट्न म लाग्दा
पर पर जा भन्दा
आँखा छल्दै आएर
हाँस्छे किरिम लाएर ।
फूलको बोट गोडेको
पानी हाल्दै हिँडेको
देख्छे कति खेर र
छ्याप्छे पानी मैतिर ।
जब खेल्छे नातिनी
खुबै मात्ती मात्ती नि
सबै कुरा बिर्सेर
खान्छु म्वाइँ हाँसेर ।
रचनाः२०७४
असोज २०
(बालकविता)
काग मेरो साथी
कालो छ त के भयो ?
गुन लगाउने चरो हो
फोहोर खाए के भयो ?
आँगन सफा पार्छ त्यो ।
कालो सेतो भन्दिन
भेदभाव जान्दिन
काग मेरो साथी तँ
उड्दै आइज भेट्छु म ।
थालीमाथि खाना छ
बटुकीमा पानी छ
भोक मेटा खाएर
प्यास मेटा पिएर ।
चुच्चो हेर्दा लोभिन्छु
प्वाँख देख्ता रमाउँछु
उड्छस् वेग मारेर
हेरिरहूँ झैँ पारेर ।
आइज काका गर्दै तँ
आँगनीमा स्वागत छ
उड्ने कला सिका तँ
फुर्फुर गर्दै नाच्छु म ।
हाम्रो साथ देख्नेले
पहिले तँलाई हेप्नेले
माया गरून् यस्तरी
हाँसौँ दुबै बेस्सरी
रचनाः२०७३ चैत्र २२
(बालकविता)
हा कौवा हा
हा कौवा हा
हाम्रा मकै काँचै छन्
उसकै मकै खा ।
हाम्रो बारी यत्ति छ
उसको जातिबित्ती छ । हा कौवा
हा......
मकै हाम्रो खाना हो
उसको बेच्ने दाना हो। हा कौवा
हा.......
अन्न नभई भोको म
वन नभई रोको तँ । हा कौवा
हा........
उसैले गाउँ रित्त्यायो
हरियो वन सिद्ध्यायो । हा कौवा हा.......
उसको चाला चिनेर
गरौँ जुक्ती मिलेर । हा कौवा हा .........
रचनाः२०७६ असोज ९
(बालकविता)
चल्ली चिच्याई
चल्ली चिच्याई चल्ली चिच्याई
माऊ नमारिदेऊ
भोकै मर्छौँ बचेरा
ज्यान बचाइ देऊ
बिन्ती हाम्रो हात जोडी
कुरा सुनिदेऊ
माउहत्ते बालोहत्ते
बन्द गरिदेऊ ।
आमापछि बचेरा
खुर्र हिँडेको
लाग्दैन र रमाइळो
चारो टिपेको ?
उस्तै उस्तै जीव हुन्
बच्चा बचेरा
फाल्न आफै सक्तैनन्
जिउका कचेरा ।
मार्न मात्र तम्सने
मान्छेहरु हो
बिर्को खोल ज्ञानको
बुद्धि विवेकको ।
रचनाः२०७६ असोज १०
|
(बालकविता)
हामी खेल्ने ठाउँ हामीलाई चाहिन्छ हामी खेल्ने ठाउँ, सुन्नु होस् है नेताजी सहर होस् कि गाउँ । खुला चउर सकिए हुन्न खेल्ने ठाउँ, साझा मैदान खोसिने चल्दै छ है दाउ । घरभित्रै कुँजिएर बस्न सकिन्न छुनमुन गर्ने रहरलाई रोक्न सकिन्न । खिलखिलाउन हामीलाई खेल मैदान, छेलोखेलो चाहिन्छ बिन्ती सज्जन
! हामी साना नानीको कुरा सुन है, समयले सराप्ला मर्म बुझ है । |
||||||||||||
रचनाः२०७४ मङ्सिर ७
(बालकविता) अन्त्य हुन्छ कोरोना कोरोनाको कहरले हायलकायल बनायो बन्दाबन्दी बस्तीमा उकुसमुकुस गरायो विद्यालय बन्द छ पढाइ लेखाइ रोकियो कामधन्दा घटेर के खाऊँ के लाऊँ बनायो मास्क लगाई नाकमा मान्छेहरु हिँड्दछन् दुई मिटरको दूरीमा भेटघाट आउजाउ गर्दछन् सामान छुँदा कतैको स्यानिटाइजर लगाउँछन् साबुन पानी लाएर हात मिच्ने गर्दछन् योग व्यायाम गरेर जिउ चङ्गा बनाउँछन् खाने कुरा मिलाई तातो पानी पिउँदछन् मास्क लाउन्न भनेर ट्रम्पले फुर्ती लगाए केही लागेन आखिर लजाउँदै शिर नुङाए अनुशासन पालना गर्नेहरु देखेर हट्यो पछि कोरोना चीनबाट भागेर कहिलेसम्म कोरोना तेरो ढलीमली हो मान्छेसित निहुँ नखोज् तेरो अन्त्य वेला भो |
|||||||||
रचनाः'ताजा खबर' अनलाइन पत्रिका, २०७७ असोज १४
(बालकविता)
बाबा
विदेश जानु भो
बाबा
कता जानु भो
आमासँग
बस्छु म
किन
बाबा जानु भो
आमासँग
सोध्छु म ।
आमाले
आँसु चुहाउँदै
मेरा
कुरा सुनेर
भन्नु
भयो कमाउन
बाबा गाको
भनेर ।
बिरामीले
सताउँदा
खेतको
गरो हिँडिगो
सुर्ता
पर्यो मनमा
निद्रा
सबै सक्किगो ।
राम्रो
स्कुल पढाउने
भन्नु
हुन्थ्यो तिमीलाई
राम्रो
स्कुल पढाउने
महङ्गो
छ स्कुल
कता
पैसा जुटाउने ?
घरमा
बसी कमाउने
केही
छैन उपाय
घरखर्च
नि चल्दैन
विदेशतिर
नगए ।
यस्तै
यस्तो सुनेर
निकै
कुरा खेलाएँ
बाबा
घरमै रहने
जुक्ती
के हो ! टोलाएँ ।
रचनाः
२०७७ कार्तिक १८
Comments
Post a Comment