मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा २०५औँ भानु जयन्तीको उपलक्ष्यमा रुसी संस्कृति तथा विज्ञान केन्द्र, काठमाडौँमा आयोजित
हिम्वत्खण्ड कला साहित्य सम्मिलनमा प्रस्तुत
"नेपालका भाषाहरुको साहित्यिक अवस्था र समृद्धिको यात्रा" विषयक गोष्ठीपत्र
(二千〇七十五 असार ३० गते)
-प्रा.डा. जीवेन्द्र देव गिरी
१.विषय प्रवेश
नेपाल बहुभाषिक देश हो । वि.सं. २०६८को जनगणना अनुसार यहाँ ५ परिवारका १२३ भाषाहरु बोलिन्छन् । यिनमा ५१ भाषा भारोपेली परिवारसँग, ६६ भाषा चिनियाँ तिब्बती परिवारसँग, २ भाषा द्रबिडेली परिवारसँग, २ भाषा आग्नेली परिवारसँग र १ भाषा अपरिचित परिवारसँग सम्बन्धित छन् भने नेपाली साङ्केतिक भाषा पनि बेग्लै भाषाका रूपमा रहेको छ । यी सबै भाषाहरुको स्थिति एकै प्रकारको छैन । यीमध्ये कुनैमा साहित्य लेखिनै बाँकी छ भने कुनैमा साहित्यको विकास भएको छ;कुनै कुनै भर्खर साहित्यतिर बामे सर्दै छन् । अझ यिनैमध्येका केही अन्य देशका राष्ट्रभाषाका रूपमा रहेका छन् र ती भाषाको साहित्य सम्बन्धित देशमै विकसित अवस्थामा रहेको छ । त्यसैले नेपालका रैथाने भाषाहरुमा लिखित साहित्यको वर्तमान अवस्थाबारे संक्षिप्त चर्चा गर्दै साहित्यका क्षेत्रमा समृद्धिको यात्राबारे प्रकाश पार्ने प्रयत्न यहाँ गरिएको छ । सबै भाषाहरुको एक मुख्य प्रकार्य साहित्यसँग गाँसिएकाले समृद्धिको यात्रामा नेपालका विभिन्न भाषाको साहित्यिक प्रगतिले विशेष अर्थ राख्तछ ।
२.विभिन्न भाषाको साहित्यिक अवस्था
नेपालमा प्रचलित भाषाहरुमध्ये साहित्यिक गतिविधिका दृष्टिले चर्चामा रहेका प्रमुख भाषाहरुमा नेपाली, मैथिली, नेवारी (नेपाल भाषा), तामाङ, भोजपुरी, अवधी, थारु, लिम्बु, मगर, गुरुङ र राई समूहका भाषाहरु पर्दछन् । यिनको साहित्यिक अवस्थाको एक झलक यहाँ प्रस्तुत छ
२.१ नेपाली भाषाको साहित्यिक अवस्था
नेपाली भाषा नेपालको एक प्रमुख राष्ट्र भाषा हो । वर्तमान नेपालको संविधान अनुसार यो सरकारी कामकाजको भाषा हो (नेपाल सरकार, २०७२, पृ.२) । प्रशासन, शिक्षा, सञ्चार आदिमा प्रयोग हुँदै आएको यो भाषा नेपालका विभिन्न भाषाभाषीहरुबिचको सम्पर्क भाषा पनि हो । यस भाषाको इतिहास खोतल्दै जाने हो भने यसका जरा वैदिक कालसम्म पुग्दछन् किनकि संस्कृत भाषाबाट नै यो विकसित हुँदै प्राकृत अपभ्रंश काल पार गरेर वर्तमान अवस्थामा आइ पुगेको हो र वेदका कैयन् ऋचा यहीँ नै लेखिएका हुन् । रामायण र महाभारतको सिर्जना गर्ने बाल्मीकि र व्याससँग पनि यसको साइनो रहेको छ । यस भाषामा एघारौँ शताब्दीदेखिका अभिलेख विद्यमान छन् रयस भाषाको लोक साहित्य समृद्ध छ । यसको साहित्यिक रसास्वादन लोक साहित्यिक सामग्रीहरुले यसको जन्मकालदेखि नै गराउँदै आएका छन् । यसमा पन्ध्रौँ शताब्दीदेखिका प्राचीन ग्रन्थहरु रहेका छन् । यसमा साहित्यिक लेखनको थालनी भने विक्रमको उन्नाइसौँ शताब्दीको प्रारम्भतिरको पृथ्वीनारायण शाहको एकीकरण अभियानसँगै सुरु भएको मानिन्छ (बन्धु र अन्य, २०६०,पृ.१३२) ।वि.सं. १८३०-१८३१को सुवानन्ददासको 'पृथ्वीनारायण' कविता नेपाली भाषाको पहिलो साहित्यिक सिर्जना मानिदै आएको छ । पृथ्वीनारायणकै 'दिव्योपदेश'नेपाली साहित्यिक गद्यको सुन्दर नमुनाका रूपमा चर्चित छ । पृथ्वीनारायण शाहको विजय अभियानको उत्साहसँग गाँसिएको वीरधारा वि.सं. १८७२को सुगौली सन्धिपछि भक्तिधारातिर मोडिएको पाइन्छ । त्यसमा पनि कृष्णभक्ति धारा, रामभक्ति धारा र निर्गुण भक्ति धाराका रचनाहरु देखा परे । भानुभक्त जस्ता प्रतिभा यसै समयमा उदाए र नेपाली वाङ्मयले भाषिक र साहित्यिक दुबै दृष्टिले महत्त्वपूर्ण 'रामायण' जस्तो महाकाव्य प्राप्त गर्यो ।उदयानन्द अर्याल, रघुनाथ पोखरेल, यदुनाथ पोखरेल, गुमानी जस्ता भक्तिधाराका स्रष्टाहरुका साथैशशिधर, ज्ञानदिलदास जस्ता सन्तकविहरुका समाज सुधारका भावनाले भरिएका रचनाहरु यसै कालमा देखा परे । लोक परम्पराका र अनूदित विभिन्न गद्याख्यानहरु पनि प्राथमिक कालीन नेपाली साहित्यमा देखा परे ।
कोतपर्व, भण्डारखाल पर्व लगायतका दरबारिया हत्याकाण्ड आदिले गर्दा आदर्शका लागि अँगालिएको भक्ति पनि काम लाग्ने देखिएन । राणा दरबार अङ्ग्रेजहरुसँग नजिकिएर भोगविलासमा डुब्यो । यस्तो स्थितिमा शृङ्गारिक साहित्यले टाउको उठाउनु स्वाभाविक थियो र सो प्रवृत्तिका साथ माध्यमिक काल देखा पर्यो । मोतीराम भट्ट जस्ता प्रतिभा यस कालका मियोका रूपमा रहे । पत्रपत्रिकाको प्रकाशनले गर्दा निबन्ध, कथा आदिमा पनि विधागत विशेषता देखा पर्न थाले यद्यपि सामाजिक यथार्थसँग तिनको साइनो गाँसिन निकै समय प्रतीक्षा गर्नु पर्यो । नाटक पनि अनुवादतिरै रुमलियो । 'अटलबहादुर' जस्तो दरबारिया षड्यन्त्रलाई उदाङ्गो पार्ने नाटक भने यस कालको चर्चित कृति बनेको छ । 'सूक्तिसिन्धु' (१९७४) को प्रकाशनबाट अश्लीलताको पराकाष्ठामा पुगेपछि शृङ्गारिक धारा पनि ओरालो लाग्यो । लेखनाथले पूर्वीय सन्दर्भ तथा समले पूर्वीय पाश्चात्य सन्दर्भका साथ सामाजिक यथार्थलाई आफ्ना रचनामा सार्वजनिक गर्न थालेपछि नेपाली साहित्यमा आधुनिकताको मिर्मिरे रेखा कोरिन थाल्यो । धरणीधर कोइराला र महानन्द सापकोटा जस्ता स्रष्टाले यसलाई मलजल पुर्याए । 'गोरखापत्र'(१९५८), सुन्दरी(१९६५), माधवी(१९६५), 'गोर्खाली'(१९७२), ('चन्द्रिका'(१९७५), 'गोर्खा संसार'(१९८३), 'नेपाली साहित्य सम्मेलन पत्रिका'(१९८९) जस्ता स्वदेश विदेशबाट प्रकाशित पत्रिकाले साहित्यको विकासमा योगदान गरे । माध्यमिक कालमा केही नीतिप्रधान र राष्ट्रियताको सम्वर्धन गर्ने रचना लेखिनुका साथै यस कालले पारलौकिक वर्णनबाट साहित्यलाई इहलोकमा उतार्ने काम पनि गर्यो । नेपालभित्रै मुद्रणको सुविधा उपलब्ध हुनु पनि यसकालको प्राप्ति बन्यो ।
'शारदा' (१९९१)को प्रकाशनपछि नेपाली साहित्यमा नयाँ प्रवृतिहरु देखा परे । लक्ष्मीप्रसाद देवकोटा, युद्ध प्रसाद मिश्र, गोपाल प्रसाद रिमाल, सिद्धिचरण श्रेष्ठ, भीमनिधि तिवारी, केदारमान व्यथित, माधव प्रसाद घिमिरे, गोमा, हृदयचन्द्र सिंह प्रधान, माधवप्रसाद देवकोटा आदिले पद्य, निबन्ध र नाटकलाई तथाविश्वेश्वर प्रसाद कोइराला, भवानी भिक्षु जस्ता स्रष्टाहरुले नेपाली आख्यानलाई गति प्रदान गरे । नेपाली साहित्यमा स्वच्छन्दतावादी धारा, सामाजिक यथार्थतावादी धारा, मनोवैज्ञानिक धारा र प्रगतिशील धाराका रचनाहरु प्रकाशित हुन थाले । यसै समयमा महान् रुसी क्रान्ति र चिनियाँ क्रान्ति तथा भारतीय साहित्य सङ्ग्रामको प्रभाव पनि नेपाली साहित्यले ग्रहण गर्यो । वि.सं. २००७को परिवर्तनपछि लक्ष्मी प्रसाद देवकोटा, श्याम प्रसाद, युद्ध प्रसाद मिश्र, आनन्ददेव भट्ट, गोविन्द भट्ट, मोदनाथ प्रश्रित, भवानी घिमिरे, भूपि शेरचन, पारिजात, रमेश विकल, जनक प्रसाद हुमागाईं, रुद्र खरेल, अग्निशिखा आदिले गरेका सिर्जनात्मक विचार प्रवाहले नेपाली साहित्यको प्रगतिवादी धारलाई सबल बनायो । सूर्यविक्रम ज्ञवाली, लैनसिङ वाङ्देल, गोविन्द गोठाले, विजय मल्ल, मोहन कोइराला, वैरागी काइँला, ईश्वर बल्लभ, ईश्वर बराल,नयराज पन्त, डायमण्ड शमशेर, दौलतविक्रम विष्ट,वासु शशी, कृष्णप्रसाद पराजुली, दौलतविक्रम विष्ट, धच गोतामे, वासुदेव शर्मा लुइँटेल, कमलमणि दीक्षित आदिका कलम पनि सक्रिय रहे । पारसमणि प्रधान, अगमसिंह गिरी, इन्द्र बहादुर राई, कमला सांकृत्यायन, रूपनारायण सिंह, शिव कुमार राई, अच्छा राई रसिक आदि सहितका तमाम लेखकहरुले मेचीपारिबाट नेपाली साहित्यको विकासमा गरेको योगदान पनि उल्लेख्य रह्यो । वि.सं. २०१७ पछिको पञ्चायत कालमा पनि स्रष्टाहरुलेसमाज र राष्ट्रप्रति उत्तरदायी रचनाहरुका माध्यमबाट व्यङ्ग्य, प्रतीक र विम्ब प्रयोग गरेर भए पनि उज्यालोतिर दिग्दर्शन गराइ रहे । यस क्रममा कतिले प्राणको आहुति दिनु पर्यो भने कतिले जेल जीवन, कतिले प्रहरी यातना र कतिले प्रवासका पीडा भोग्नु पर्यो । वि.सं. २०३६को जनमत सङ्ग्रहको सिलसिलामा मुलुकमा केही खुकुलो वातावरण आयो र स्रष्टा एवम् संस्कृतिकर्मीहरुले त्यसको उपयोग गर्दै सशक्त रूपमा न्यायका पक्षमा आबाज बुलन्द गरे ।
वि.सं. २०४६ को परिवर्तनका लागि र त्यसपछि पनि स्रष्टाहरुले समाजको हित र उन्नयनका लागि कलम चलाउँदै आएको पाइन्छ । यस क्रमममा मुलुकको विकासको चाहना एकातिर प्रकट भएको छ भने विकृति र विसङ्गतिलाई प्रहार गर्ने काम अर्कातिर भएको छ । जनयुद्धका माध्यमबाट समाज बदल्ने अभियानमा पनि स्रष्टाहरुको सहभागिता रह्यो । यस क्रममा पनि स्रष्टाहरुले यातना बेहोर्नुका साथै कृष्ण सेन इच्छुक जस्ता स्रष्टाले ज्यान गुमाउनु पर्यो । वि.सं. २०६२-२०६३को आन्दोलन र परिवर्तनमा पनि स्रष्टाहरुको उल्लेखनीय सहभागिता र योगदान रह्यो । अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको युगमा छौँ र सङ्घीय, प्रादेशिक र स्थानीय स्तरको निर्वाचन सम्पन्न भई तिनै तहमा सरकारहरु क्रियाशील छन् । समृद्धिको यात्रातिर मुलुक अगि बढिरहेको छ । स्रष्टाहरुका कलम त्यतातिर पनि सक्रिय हुन थालेका छन् ।
यतिखेर नेपाली साहित्यले लामो यात्रामा पार गरेको छ । लेखकहरुका स्वतन्त्र र निर्बाध अभिव्यक्ति विभिन्न विधामा प्रकट भएका छन् । पद्यमा महाकाव्य, खण्डकाव्य, फुटकर कविता, मुक्तक, गीत र गजल, आख्यानमा कथा, लघुकथा र उपन्यास, निबन्धात्मक रचनामा निबन्ध, प्रबन्ध, संस्मरण र नियात्रा,अभिनयात्मक सिर्जनामा नाटक र एकाङ्की, विविध वाद र धारासँग सम्बन्धित समालोचना नेपाली साहित्यले प्राप्त गरेको छ । यी विभिन्न विधासँग सम्बन्धित विभिन्न विश्वविद्यालय तथा प्राज्ञिक संस्थाहरुबाटबाट सम्पन्न अनुसन्धान प्रतिवेदनहरु पनि नेपाली साहित्यका सम्पत्तिका रूपमा रहेका छन् । अहिले नेपाली साहित्यमा ठुलो सङ्ख्यामा लेखकहरु सक्रिय रहेको पाइन्छ जसमध्ये नेपालभित्रका केही लेखकहरुका नाम लिनु पर्दा माधव घिमिरे, मदनमणि दीक्षित, सत्यमोहन जोशी, वैरागी काईँला, वासुदेव त्रिपाठी, तारानाथ शर्मा, श्यामदास वैष्णव, चूडामणि रेग्मी, शान्तदास मानन्धर,चैतन्य,केशवप्रसाद उपाध्याय, मोहनहिमांसु थापा, चूडामणि बन्धु, गङ्गाप्रसाद उप्रेती, तुलसी दिवस, मोहनराज शर्मा, ध्रुवचन्द्र गौतम, दयाराम श्रेष्ठ, माधव पोखरेल, परशु प्रधान, दुर्गालाल, नारायण प्रसाद शर्मा, ठाकुर पराजुली, गोपीकृष्ण शर्मा, निनु चापागाईं, रामचन्द्र भट्टराई, घनश्याम कँडेल, गीताकेसरी, तेजेश्वर बाबु ग्वँग, वसन्तकुमार नेपाल,पुष्कर लोहनी, बेन्जू शर्मा, माया ठकुरी, भागीरथी श्रेष्ठ, पद्मावती सिंह, कुन्ता शर्मा, श्याम तमोट, देवीप्रसाद वनवासी, गोपीरमण उपाध्याय, विनय कसजू, मञ्जु काँचुली, राजेन्द्र सुवेदी, अभि सुवेदी, परशु प्रधान, शैलेन्द्र साकार, ध्रुव सापकोटा, नरेन्द्रराज पौडेल, गोपाल पराजुली, हरिहर खनाल, बूँद राना, विष्णु प्रभात, रविलाल अधिकारी,मुकुन्द न्यौपाने,कञ्चन पुडासैनी,महेश्वर शर्मा, भाउपन्थी, विमल निभा, नारायण ढकाल, श्यामल,शीतविन्दु, जीवेन्द्र देव गिरी, अमर गिरी,मणि थापा, आहुति,अच्युतरमण अधिकारी,विष्णुविभु घिमिरे, दिनेश अधिकारी, तुलसी भट्टराई, गोविन्दराज भट्टराई, पुण्य प्रसाद खरेल, श्रवण मुकारुङ, ऋषिराज बराल, बद्रीविशाल पोखरेल, महादेव अवस्थी, सुधा त्रिपाठी, जगदीशचन्द्र भण्डारी,ताराकान्त शर्मा, देवी प्रसाद गौतम, शारदा शर्मा, महेश विक्रम शाह, अमर न्यौपाने, झमक घिमिरे, नर्मदेश्वरी सत्याल, श्रेष्ठ प्रिया पत्थर, राम विनय, विजय सुब्बा, पशुपतिनाथ तिमल्सेना, ईश्वरचन्द्र ज्ञवाली, वासुदेव अधिकारी, अनिल पौडेल, शार्दूल भट्टराई, नरनाथ लुईँटेल, कपिल लामिछाने, हेमनाथ पौडेल, जगत उपाध्याय, नरेन्द्रराज पौडेल, ओमवीर सिंह बस्न्यात, भुवनहरि सिग्देल, श्रीहरि फुयाँल, नरेन्द्रराज प्रसाई, इन्दिरा प्रसाई, मित्रलाल पंज्ञानी, खगेन्द्र प्रसाद लुइँटेल,रामप्रसाद ज्ञवाली, लक्ष्मणप्रसाद गौतम, देवी नेपाल, विनोद मञ्जन, शान्ता मानवी, प्रतिसरा सायमि, गायत्री विष्ट, रजनी ढकाल, बिन्दु शर्मा, गीता त्रिपाठी, भवानी क्षत्री, मिश्र वैजयन्ती, रामलाल जोशी, वासुदेव भाइसाब, वीर बहादुर चन्द, वासुदेव पाण्डे, आर.एम. डङ्गोल, दीपक गौतम, हरिप्रसाद तिमिल्सिना आदि सहितका कैयन् नामहरु लिन सकिन्छ । यसरी नै रामेश, रायन, मञ्जुल, रामकृष्ण दुवाल, जे.बी. टुहुरे, जीवन शर्मा, चेतनारायण राई, माधव प्रधान, उदय श्रेष्ठ, खुसीराम पाख्रिन आदिले गुन्जाएका जनवादी गीतहरुबाट जनताले मनग्गे स्वाद लिएका छन् ।
यसरी नै विदेशमा रहनु भएका नेपाली लेखकहरुको डायस्पोरिक लेखनबाट पनि नेपालसाहित्य लाभान्वित छ । नेपाली डायस्पोराका चर्चित केही साहित्यकार हरु हुनु हुन्छ - होमनाथ सुवेदी (अमेरिका), कृष्ण बजगाईं (युके), शिव गौतम (अमेरिका), मोहन सिटौला( अमेरिका), गीता खत्री ( अमेरिका), नीलम कार्की निहारिका (अमेरिका), खेमनाथ दाहाल ( अमेरिका), भारती गौतम( अमेरिका), जीवा लामिछाने (रुस), कृष्ण प्रकाश श्रेष्ठ (रुस), गोविन्द गिरी 'प्रेरणा' ( अमेरिका), जया राई (युके), रक्षा राई ( युके), ईश्वर मानन्धर ( अमेरिका), गणेश राई (युके), लक्ष्मी शाही (जापान), पूर्णिमा जी. शाह (चीन), हाङयुङ अज्ञात (हङकङ), गोविन्द सिंह रावत( अमेरिका), दीपा राई पुन ( अमेरिका), हेमन्त श्रेष्ठ (अमेरिका), राजव (अमेरिका), मीना शाक्य( अमेरिका), रमणयुज न्यौपाने (म्यान्मार), प्रमिला शर्मा (अमेरिका), विश्वदीप तिगेला (युके), हिमकला राई (अमेरिका), पञ्चम अधिकारी (बेल्जियम), सुन्दर जोशी (अमेरिका), ज्ञानेन्द्र गदाल( अमेरिका), सपना गौतम( क्यानडा), ज्योति पौडेल(अमेरिका), हस्त गौतम (क्यानडा), प्रकाश पौडेल माइला(जापान), केदार सुनुवार (युके), रूबेल पुन मगर 'रन' (मलेसिया), विमल गिरी( बेल्जियम), खगेन्द्र पान्धाक लिम्बु ( थाइल्यान्ड), लालगोपाल सुवेदी ( अमेरिका), टङ्क साम्बाहाम्फे( हङकङ), सानु शर्मा( अस्ट्रेलिया), प्रदीप चापागाईं (अस्ट्रेलिया), अलिना सङ्ग्रौला(युके), कल्पना सुवेदी (अमेरिका), विष्णुमाया विभु ( नर्वे), गोवर्धन पूजा (अमेरिका), पदम विश्वकर्मा (अमेरिका),विकलचन्द्र अचार्य (युके), नरेश नाति (युके), निलन कुमार थेच्वामी ( साउदी अरब), सीता बराल (पोर्चुगाल), सुरेन ऊप्रेती ( क्यानडा), सुरेश जङ्ग शाह( युके) मनु लोहोरुङ राई (युके) आदि आदि ।
२.२ मैथिली भाषाको साहित्यिक अवस्था
मैथिली भाषा नेपालको मध्य तराई वा मधेसमा बोलिने लामो साहित्यिक परम्परा भएको भाषा हो । ११.७ प्रतिशत नेपालीले यो भाषा बोल्दछन् । मैथिली लोक साहित्य ज्यादै सम्पन्न छ । सहलेस लोकगाथा यहाँको प्रसिद्ध लोक गाथा हो । यसलाई छैटौँ शताब्दीको मानिएको छ । मैथिलीभाषी राजा नान्यदेव र हरिसिंह देव साहित्यप्रेमी राजाका रूपमा परिचित छन् । हरिसिंह देवका सभा पण्डित ज्योतिरीश्वर(वि.सं.१३३७-१४०७)ले लेखेको 'वर्णरत्नाकर' लाई मैथिली साहित्यको प्रारम्भ गर्ने पहिलो साहित्यिक कृति मानिएको छ । 'विद्यापति पदावली'का रचयिता विद्यापति (वि.सं.१४१७-१५०५) मैथिली साहित्यका लोकप्रिय स्रष्टा हुन् । उनको अनुकरण गरेर हिन्दी, बङ्गाली, भोजपुरी र अवधीमा समेत विभिन्न रचना गरिएको मानिन्छ । उनको 'विद्यापति पदावली'को कृष्णप्रसाद उपाध्यायद्वारा नेपालीमा अनुवाद भई वि.सं २०२९ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको छ । काठमाडौँका मल्लराजाहरु जगज्ज्योतिर् मल्ल, सिद्धिनरसिंह मल्ल, प्रताप मल्ल, श्रीनिवास मल्ल, भूपतीन्द्र मल्ल र रणजित् मल्लले मैथिली भाषामा कृतिहरु रचना गरेको पाइन्छ । त्यस्ता कृतिहरुमा 'हरगौरीविवाह', 'कुञ्जविहारीनाटक, 'उषाहरण', 'नालिन्यनाटक' जस्ता कृतिहरु रहेका छन् । यसका अतिरिक्त वंशमणि झाले रणजित मल्लको दरबारमा शरण लिएको समयमा 'सङ्गीत भास्कर'को रचना गरेको पाइन्छ ।
आधुनिक युगमा चन्दा झा (वि.सं.१९८८)ले 'मिथिला भाषा रामायण' का साथै 'चन्दा पदावाली' लेखेर समाजलाई आदर्श नैतिक मार्गतिर डोर्याउने प्रयत्न गरेका छन् । यदुनाथ झा 'यदुवर' र सुरकिशोर दासका योगदानबाट पनि मैथिली साहित्य लाभान्वित भएको छ । डा. धीरेश्वर झा 'धीरेन्द्र' रा.रा. क्याम्पस, जनकपुर प्रवेश गरेपछि मैथिली साहित्यले नयाँ उचाइ प्राप्त गर्यो । उनी आफूले मैथिली साहित्यमा कलम चलाउनुका साथै अरू धेरैलाई उत्प्रेरित गरे । फलतः कैयन् कविता, कथा, नाटक, निबन्ध, गजल आदि मैथिली साहित्यमा लेखिए र पुस्तकाकार एवम् फुटकर रूपमा प्रकाशित भए । यस्ता केही पुस्तकहरुमा धीरेश्वर झा धीरेन्द्रको ' 'भोरुकवा' उपन्यास, रमाकान्त झाको 'व्यथा' महाकाव्य, रामभरोस कापडी भ्रमरको ' तोरा सङ्गे जेबो रे कुजवा' कविता सङ्ग्रह, महेन्द्र मलङ्गवाको 'पुस माघ की जाड', 'ओकरा आङनक बाह्रमासा' तथा 'कथाक लोक' नाटकहरु, धीरेन्द्र प्रेमर्षिको 'समयलाई सलाम' गजल सङ्ग्रह, गङ्गा प्रसाद अकेलाको 'मिथिलाञ्चलक किछु लोक कथा' लोककथा सङ्ग्रह, डा. चन्द्रेश्वर साहको 'मल्लकालीन मैथिली नाटक', 'रेवतीरमण लालको 'हमार विदेश भ्रमण' आदि रहेका छन् । 'मैथिली गद्य सङ्ग्रह' र 'मैथिली पद्य सङ्ग्रह' जस्ता पुस्तकहरुका साथै डा. धीरेश्वरको सम्पादनमा 'नेपालक प्रतिनिधि मैथिली गल्प', डा.सुरेन्द्रलाभको सम्पादनमा 'नेपालीय मैथिली उत्कृष्ट गल्प' तथा रामभरोस कापडि भ्रमर र धीरेन्द्र प्रेमर्षिको सम्पादनमा 'मैथिली कविता सङ्ग्रह' पनि प्रकाशित छन् ।
मैथिली कथाको विकासमा 'सगर राति दीप जराए' नामक रातभरि कथा वाचन गरिने कथागोष्ठीको महत्त्वपूर्ण योगदान रहेको छ । माथि उल्लिखित नामहरुका अतिरिक्त धूमकेतु, डा.राजेन्द्र विमल, प्रदीप विहारी, अयोध्यानाथ चौधरी, भोला झा, वृषेशचन्द्र लाल, सूधीर कुमार झा, सन्तोषकुमार मिश्र, धर्मेन्द्र विह्वल, रोशन जनकपुरी, रूपा धीरू, दिव्या झा, बृजकुमार यादव, विन्दु चौधरीका नाम मैथिली साहित्यमा चर्चित छन् ।
२.३ नेवारी भाषाको साहित्यिक अवस्था
नेवारी भाषा नेपालका ३.२ प्रतिशत नेपालीले बोल्दछन् । मूलतः काठमाडौँ उपत्यकामा बोलिने यस भाषाको लामो साहित्यिक परम्परा रहेको छ । लिच्छवि काल (वि.सं.२६२-९३९) कै अभिलेखमा यस भाषाका शब्दहरु पाइनुले धेरै पहिलेदेखि जन जीवनमा यस भाषाको प्रचलन रहेको पुष्टि हुन्छ । वि.सं. १०९६ देखि १४५३ सम्मका शिलालेख, ताम्रपत्र र ताडपत्रहरुमा यस भाषाको प्रयोग भएको भेटिएको छ । यस भाषाका सुरुका लिखित ग्रन्थका रूपमा 'कौतुक'( वि.सं.१४३०) र 'हरमेखला' (वि.सं. १४३१) चर्चित छन् । यस भाषाको साहित्यिक यात्रा भने 'भागवत पुराण'( वि.सं.१५६२)बाट प्रारम्भ भएको मानिन्छ । मल्ल र शाह राजाहरुले पनि मैथिली साहित्यमा कलम चलाएका थिए । मल्ल वंशका राजाहरुमा यक्ष मल्ल, महेन्द्र मल्ल, जगत्प्रकाश मल्ल, सिद्धिनरसिंह मल्ल, श्रीनिवास मल्ल, भूपतीन्द्र मल्ल र जय प्रकाश मल्ल तथा शाह वंशका राजाहरुमा रण बहादुर शाह र राजेन्द्र विक्रम शाहले साहित्यिक योगदान गरेको पाइन्छ । उनीहरुले लेखेका नाटक र गीतिनाटकहरुमा 'विक्रम चरित्र', 'रत्नेश्वर प्रादुर्भाव', 'वीरध्वजोपाख्यान', 'महासत्व नाटक' आदि उल्लेख्य छन् । त्यति वेलाका अन्य लेखकहरुमा सुन्दरानन्द, लक्ष्मी सुनन्दन, अमृतानन्द, विजयानन्द, मक्षध्वज, केशव उदास, चन्द्रशेखर, हर्षनरसिंह शाक्य, विश्वहर्ष आदि रहेका थिए । त्यस समयमा लेखनको मुख्य विषय देवी देवताको भक्ति र मायाप्रेम रहे तापनि 'शितलामाजु' र 'संसारया कारण' जस्ता कृतिले राजाको अत्याचारको विरोध पनि गरेका थिए ।
राणा शासनमा नेवारी भाषामा कलम चलाउन बन्देज लगाइएको थियो । चन्द्र शमशेर र जुद्ध शमशेरले नेवारी भाषा र साहित्यको विकासलाई दमन गरेका थिए । कतिसम्म भने विदेशबाट योगवीर सिंहको 'धर्मसार'( वि.सं.१९८१) नेवारी भाषामा छपाएर ल्याएको अभियोगमा भवानीवीर सिंहले कैदको सजाय भोग्नु परेको थियो । त्यस प्रतिकूल परिस्थितिमा पनि रामजी प्रधानाङ्ग र मानलाल मास्के जस्ता लेखकले नैतिक र धार्मिक विषयमा कलम चलाएर भए पनि नेवारी साहित्य लेखनको दियो प्रज्वलित राखेका थिए । वि.सं. १९८२ मा धर्मादित्य धर्माचार्यको सम्पादकत्वमा 'बुद्धधर्म' नामक पत्रिका कलकत्ताबाट प्रकाशित भयो जुन पछि गएर 'बुद्धधरम र नेपाल भाषा' का नामले छापियो । यसमा योगवीर सिंह र वैकुण्ठ प्रसाद लाकौल जस्ता लेखकका रचनाहरु छापिएका थिए ।
दमनको यस अवस्थालाई सहन नसकेर निष्ठानन्द वज्राचार्य, सिद्धिदास अमात्य, जगत् सुन्दर मल्ल, योगवीर सिंह कंसाकार, शुक्रराज शास्त्री र धर्मादित्य धर्माचार्यले नेवारी भाषा र साहित्यको संरक्षण, संवर्धन र उन्नयनका लागि अभियान सञ्चालन गरेका थिए । सिद्धिदास एक्लैले महाकाव्य लगायतका ४४ वटा पुस्तकहरु लेखे । उनका अनूदित कृतिहरु पनि प्रकाशित भए । नेवारी भाषाका महाकविका रूपमा सम्मानित उनले 'सज्जनहृदयाभरण' नामक जागरणमूलक र नैतिक मूल्ययुक्त किताब लेखेको अभियोगमा थुनिनु पर्यो । राणा शासकहरुका लागि सुधारका दृष्टिले लेखिएका अन्य प्रकाशनहरु पनि असह्य भए । वि.सं. १९९७ मा माथि उल्लिखित शुक्रराज शास्त्री लगायत ४ जना देशभक्तको हत्या गरियो । सिद्धिचरण श्रेष्ठ, फत्ते बहादुर, चित्तधर हृदय, केदारमान 'व्यथित', धर्मरत्न यमी र हरिकृष्ण श्रेष्ठलाई साहित्य र समाजका लागि काम गरेकामा जेलमा हालियो । जेलमा पनि उनीहरुले कलम बिसाएनन् र कविता लगायत विभिन्न सिर्जनाका साथै पुस्तकहरु लेखे । यी कवितामा स्वच्न्दतावादको गहिरो प्रभाव अनुभूत गर्न सकिन्थ्यो ।
वि.सं. १९९०को उत्तरार्धदेखि नेवारी साहित्य आधुनिक युगमा प्रवेश गर्यो । 'धर्मदूत' पत्रिकामा सामाजिक र मानवीय मूल्यका रचना छापिन थालेपछि आधुनिकताको उज्यालो यसले प्राप्त गर्यो । मोतीलक्ष्मीको 'लँ' र चित्तधर हृदयको 'पौ' शीर्षकका कथाहरु यिनै प्रवृत्ति लिएर यसमा झुल्केका थिए । यतिखेरै योगवीर सिंह कंसाकारको 'शकुन्तला' तथा सिद्धिरत्न कंसाकारको 'विश्वन्तर' नाटक पनि प्रकाशित भएका थिए । रत्नध्वज जोशीको 'धर्मदयया कहानित' पनि यसै वेला छापिएको थियो । 'धर्मोदय' पत्रिकामा नयाँ चिन्तन सहित कविता, कथा र निबन्धहरु देखा परेका थिए ।
वि.सं २००७को परिवर्तनपछि नेवारी साहित्मा नयाँ आयामहरु देखा परे । सामाजिक यथार्थ र समाजवादी यथार्थले रचनामा महत्त्व पाउन थाले । केदारमान 'व्यथित'को 'छ्वास', धुस्वा सायमिका 'मिसा' र 'गँकी' र ईश्वरानन्द श्रेष्ठाचार्यका नाटकहरु निस्किए । कृष्णचन्द्र सिंह प्रधान, रत्नध्वज जोशी र कमल प्रकाश मल्लका सशक्त समालोचना नेवारी साहित्यले पायो । सत्यमोहन जोशी, प्रेमबहादुर कंसाकार, माधवलाल कर्माचार्य, चित्तरञ्जन नेपाली, माणिकलाल श्रेष्ठ, दुर्गालाल श्रेष्ठ, मल्ल के सुन्दर, पूर्ण बहादुर वैद्य, रामशेखर नकर्मी, काशीनाथ तमोट, नर्मदेश्वरमान प्रधान,गिरिजा प्रसाद जोशी, बुद्ध सायमि, प्रेमशान्ति तुलाधर, भूषण प्रसाद श्रेष्ठ, सुलोचना मानन्धर, प्रतिसरा सायमि, नवीन चित्रकार, केदार सितु, सुरेश किरणआदि अनेक लेखकहरुको योगदानबाट नेवारी साहित्यको बोट झ्याङ्गिएको छ । अहिले यसमा समाज सुधारका अनेक पक्ष, राजनैतिक विकृति र विसङ्गति, राष्ट्रियता आदिका स्वर सुन्न सकिन्छ । प्रगतिवादी र उत्तर आधुनिकतावादी दुबैको प्रभावलाई यसमा देख्न सकिन्छ ।
२.४ तामाङ भाषाको साहित्यिक अवस्था
तामाङ भाषा काठमाडौँ उपत्यका र यसका आसपासका जिल्लाहरुमा बोलिन्छ । यस भाषाका वक्ताहरु नेपालको जनसङ्ख्याको ५.११ प्रतिशत रहेका छन् । तामाङ सेलो नामक लोकगीत यस भाषाको अत्यन्त लोकप्रिय गीत हो । यस भाषामा ग्रियर्सनले 'फाङफुङे जा'(फजुलखर्ची छोरो) र 'मोलबिरे दारी'(मौलबीको दारी) नामक दुई वटा कथा वि.सं. १९६५ मा 'लिङ्ग्विस्टिक सर्भे अफ इग्डिया' प्रकाशनका क्रममा सङ्कलन गरेका थिए । विश्व साहित्यमा प्रचलित यी कथाहरु तामाङमा अनूदित भई प्रकाशित भएका थिए । यहाँदेखि गणना गर्दा तामाङ साहित्यको इतिहासले १०० वर्ष नाघि सकेको देखिन्छ । त्यसपछि गणेशलाल श्रेष्ठको तामाङ गीत उनको 'मेरा दुई पुष्पाञ्जली'( वि.सं.१९९९) मा फ्रकाशित छ । महाकवि देवकोटाको 'तामाङ सेलो'(वि.सं.२०००) शीर्षकमा एक गीत प्रकाशित भएको पाइन्छ जसको उनी स्वयंले अङ्ग्रेजीमा अनुवाद समेत गरेका छन् । यी प्रारम्भिक प्रयास वि.सं. २००७ अगि देखा परे पनि तामाङ साहित्यको खास प्रारम्भ भने वि.सं. २००७ को राजनैतिक परिवर्तनपछि मात्र भयो । 'जिग्तेन ताम्छ्योई'(२०१३) नामक कृति तामाङ वंशावलीको वर्णन सहितका ताम्बागीतहरु समाविष्ट गरेर पुस्तकाकार रूपमा प्रकाशित भएपछि तामाङ साहित्यको खास इतिहास सुरु भएको ठानिएको छ । ताम्बा गीतहरुको सङ्कलन वि.सं. २०१३मा बुद्धिमान मोक्तानले गरेको पाइन्छ । यसपछि सन्तवीर लामाका 'ताम्बा काइतेन ह्वाई रिमठिम'( वि.सं.२०१४) र 'स्येबु स्येमु ह्वाई रिमठिम (वि.सं.२०१६) जस्ता कृतिहरु गीतका व्याख्या सहित प्रकाशन भए । विवाह गीत लगायत जीवन दर्शनसँग सम्बन्धित जनस्तरका गीत तिनमा विद्यमान छन् । गणेश योन्जन र मोक्तान भाइद्वारा सम्पादित 'म्हेन्दो'ले लक्ष्य बहादुर योन्जनको 'ह्वाई', देव बहादुर योन्जनका 'फ्लिक दोगाई' र 'आ हुँ आ रि ता', धन प्रसाद मोक्तानको 'म्ही' र सर्वध्वज मोक्तानको ' दोदा' जस्ता रचनाहरु प्रकाशन गर्यो । तामाङ साहित्यमा यिनको ऐतिहासिक महत्त्व छ । पञचायत काल (वि.सं. २०१७-२०४६) मा तामाङ साहित्यको खासै विकास भएन । 'एउटै भाषा एउटै भेष'को पञचायती नारा तामाङ साहित्यको विकासमा बाधक बन्यो । केही लोकवार्ताका पुस्तक र पाठ्य पुस्तकहरु मात्र त्यतिखेर प्रकाशित भए । भीमराज लामाले लेखेको 'तामाङ वर्णमाला'(वि.सं.२०३०) पाठ्य पुस्तक भए तापनि यसमा समाविष्ट कविता, गीत, कथा र निबन्धले तामाङ विद्यार्थी र सर्जकहरुलाई साहित्यप्रति रुचि जगाउनाका साथै सिर्जनातिर आकृष्ट गरे । गणेश योन्जनले रुसी कथा 'माकुरो र झिङा'लाई 'घोङगोङ देन नप्राङ' शीर्षकमा अनुवाद गरेर रुसी साहित्यको स्वाद तामाङ पाठकलाई चखाए । इमान सिंह लामा र टासिफिन्जो लामाको सम्पादनमा निस्केको 'थ्विन्डेल' (वि.सं.२०३३) को प्रकाशनबाट तामाङ भाषाले मुद्रित पत्रिका प्राप्त गर्यो । थेत्मा समूहको 'स्म्हेन्दो' साहित्यिक पत्रिकाले तामाङ साहित्यको बहु आयामिक विकासमा योगदान गर्यो ।
अहिले नेपाल सङ्घीय लोकतान्त्रिक नयाँ युगमा प्रवेश गरेको छ र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिरहेको छ । समावेशिता यस पद्धतिको एक महत्त्वपूर्ण विशेषता बनेको छ । विभिन्न जातजातिका भाषा र साहित्यका उत्थानका निम्ति प्रयत्नहरु भइ रहेका छन् । तामाङ साहित्यमा पनि यसको प्रभाव परेको छ । वि.सं. २०६३ पछिको समयमा २ महाकाव्य, ३ खण्डकाव्य, ७० कविता सङ्ग्रह, ३ नाटक, ५ उपन्यास, ४ निबन्ध सङ्ग्रह, १ समालोचना, २४ गीत लोकगीत, १२ बाल साहित्य र ३ अनुवादका पुस्तकहरु प्रकाशित भएका छन् । यो महत्त्वपूर्ण उपलब्धि हो । यसरी नै अनलाइन साहित्यको प्रारम्भ गरिनुका साथै २८५ क्यासेटको उत्पादन र २०० चलचित्र निर्माण गरिएका छन् । तामाङ साहित्यका केही सर्जक र साधक तथा उहाँहरुका कृतिहरुको नाम लिँदा अमृत योन्जन तामाङको 'चु सहेन्छे', दुपवाङ्देल मोक्तानको 'प्राङबोला ह्वाई', लीला बहादुर तामाङको 'ह्याङ्ला तेनाल'( वि.सं.२०६२), सिर्जना गोलेको 'दुइला ऐना' (वि.सं.२०६२),दिनेश घिसिङको 'तामाङ थोपथाङ ब्यान्बा द्युरी' (२०६२), अस्मिता थिङको ' म्हेन्दो दुङगालाला ल्हुई' (वि.सं २०६४),शम्भु थिङको ' म्हेन्दो दुङआला' (२०६५), विश्वनाथ योन्जनको 'कोलाजुगोला जाम्बुलिङ'( वि.सं.२०६५) र 'ङलाह्युता'(वि.सं.२०६७), विष्णु बहादुर तामाङको 'गाङसाल घ्याम्री'(वि.सं.२०६६), राम कुमार जिम्बाको 'म्हाङ'(वि.सं.२०६७), सन्चु बोलान तामाङको 'कोम्हेन्दो- हाङ्ला छिगाकादे'(वि.सं.२०६८), ईश्वर ठोकरको 'पिङगाई'(वि.सं.२०६८), के.आर. गोलेको 'चालिसेली वालिम्हेन्दो' र रिना बोम्जनको 'खासु न्हाङ्ला लानी'लाई लिन सकिन्छ ।
२.५ भोजपुरी भाषाको साहित्यिक अवस्था
भोजपुरी भाषा नेपालको मध्य तराई वा मधेसको अर्को महत्त्वपूर्ण लिखित साहित्य भएको भाषा हो । ५.९८ प्रतिशत नेपालीहरुले यो भाषा बोल्दछन् । नेपालमा भोजपुरी भाषाको साहित्यिक विकास वि.सं २००७ को राजनैतिक परिवर्तनपछि नै भएको पाइन्छ । वि.सं.२००९मा हरिहर यादव, हरिदयाल महतो, मोहन महतो, देव नारायण साह र नन्दन अर्यालले जनतालाई जगाउन भोजपुरी भाषामा गीतहरु लेखेका थिए । त्यति वेलै वीरगन्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा अलमस्त नामका एक जना शिक्षकको नियुक्ति भएको थियो र उनले भोजपुरीमा विभिन्न गीतहरु लेखेर साहित्यतर्फ पाठक र स्रष्टाहरुको रुचि आकर्षण गरेका थिए । राम प्रसाद राय थारुको 'थरुहट के बउआ और बहुरिया'(वि.सं.२०१९) नेपालीय भोजपुरीमा प्रकाशित पहिलो साहित्यिक कृति हो जसको भउच प्रसाद यादवले नेपालीमा अनुवाद गरेका छन् र नेपाल प्रज्ञा प्रतिष्ठानबाट त्यसको प्रकाशन पनि भएको छ । दीप नारायण मिश्र भोजपुरी साहित्यका अर्का वरिष्ठ स्रष्टा हुन् । उनको 'अन्जुरिके फूल'(वि.सं.२०३९) कविता सङ्ग्रह प्रकाशित भएको छ । हरिहर यादव र गोपाल ठाकुरको 'भविष्यनिधि' गीत सङ्ग्रह पनि भोजपुरी साहित्यमा उपलब्ध छ । अहिले भोजपुरी पद्यमा गोपाल ठाकुर, गोपाल अश्क, आश नारायण 'अशोक', दिनेश गुप्ता, डा.विश्वम्भर कुमार शर्मा, पुरुषोत्तम शर्मा, उमा शङ्कर द्विवेदी 'दधीचि', सञ्जय कुमार श्रीवास्तव 'निषिथ', राम प्रसाद साह, बम बहादुर थारु, सुनिल कुमारको विशेष योगदान रहेको पाइन्छ ।
मुकुन्द आचार्य र नगेन्द्र प्रसाद कानुका निबन्ध, कथा, समालोचनाले भोजपुरी गद्य साहित्यको विकासमा योगदान गरेका छन् । मुकुन्द आचार्यको 'भोजपुरी गद्य साहित्य'नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित छ । नाटकमा रामचन्द्र द्विवेदी 'माधुरी' भोजपुरीकै 'सनेस' पत्रिकामा प्रकाशित छ । गोपाल अश्कका 'वाह रे बेटा', 'भेष विना के भाव', 'ऊँट आइल नु पहाडके नीचे', 'तलाक के वाद' र 'केवाडी ना खुलाल' नाटक प्रकाशित छन् भने गोपाल ठाकुरका 'मुखियाजी चोर कैसे' र 'पर्दा के भीतर' मञ्चित भएका छन् । गोपाल गिरीको ' अब फरिआई' ' मुकुन्द आचार्यको 'जनम भइल सन्तान के' नाटक पनि लोकप्रिय रहेका छन् ।
भोजपुरी भाषामा पण्डित दीप नारायण मिश्र, विजय प्रकाश 'बीन', गोपाल अश्क, गोपाल ठाकुर र दिनेश गुप्ताका सम्पादनमा प्रकाशित 'सनेस', 'समाद', 'सगुन', 'गमक', 'मोजर' र 'अँजुरिया' पत्रिकाले साहित्यिक उन्नयनमा विशेष बल पुर्याएका छन् । यस भाषामा उपलब्ध विभिन्न गीति चक्का, टेलिफिल्म र चलचित्रले पनि साहित्यिक रसास्वादन गराएका छन् । भोजपुरी साहित्यको उत्थानमा विभिन्न साहित्यिक संस्थाहरु पनि सक्रिय छन् ।
२.६ लिम्बु भाषाको साहित्यिक अवस्था
लिम्बु भाषा १.२९ प्रतिशत नेपालीहरुले बोल्दछन् । खास गरेर पूर्वी नेपालको पहाडी भागमा यो भाषा बोलिन्छ । सिरिजङ्गा लिपिमा लेखिने गरेको यस भाषामा धार्मिक नैतिक रचनाहरु धेरै पहिले देखि प्रचलित छन् । मुन्धुम लिम्बु भाषाको महत्त्वपूर्ण सम्पदा हो । इमान सिंह चेम्जोङद्वारा गद्यमा लिखित 'सिरिजङ्गा मुन्धुम' (वि.सं.१९८१) ले सिरिजङ्गाको जीवनीका धेरै पक्षमा प्रकाश पारेको छ र गद्य लेखनको आधार निर्माण गरेको छ । खड्ग बहादुर नेम्बाङको 'किरात मिक्हन साम्लो' (वि.सं.२०१२) लामो कविता लिम्बु भाषामा लेखिएको पहिलो कविता मानिएको छ । इमान सिंह चेम्जोङका 'लिम्बु साहित्यको इतिहास'(वि.सं.२०१२) र 'किरात मुन्धुम'(वि.सं.२०१८) पनि लिम्बु साहित्यका महत्त्वपूर्ण पुस्तक हुन् । काजीमान कन्दङ्वाको 'पाङखरे योबाआङ एरा'(वि.सं.२०१८) मा लिम्बु कथाहरु सङ्कलित छन् । पञ्चायतकालीन नेपालमा लिम्बु भाषामा साहित्यको खासै विकास भएन तापनि केही पत्रिकाको प्रकाशन र फाट्टफुट्ट लेखन जारी रह्यो । विरही काइँलाद्वारा सम्पादित 'कोम' (वि.सं. २०२४), थाम्सुहाङ पुष्प सुब्बाद्वारा सम्पादित 'स्रिजङ्गा'(वि.सं२०२९) तथा रण बहादुर मेन्याङ्बो र देवेन्द्र कन्दङ्वाद्वारा सम्पादित 'थोक्ला' (वि.सं. २०३० र २०४२) जस्ता पत्रिकाले लिम्बु साहित्यको दियो बालिरहे । विरही काइँला, पुष्प सुब्बा थाम्सुहाङ, वीर नेम्वाङ, येहाङ लावती, वैरागी काइँला, रण बहादुर मेयाङ्बो, काजीमान कन्दङ्वा, खगेन्द्र सिंह आङ्बुहाङ र नरबहादुर यङयाङ जस्ता स्रष्टाका सिर्जनाहरु नेपाल र सिक्किमका पत्रिकाहरुमा प्रकाशित भए ।
वि.सं.२०४६ को जन आन्दोलनपछि इमान सिंह चेम्जोङको लिम्बू- नेपाली-अङ्ग्रेजी शब्दकोशको संशोधन र परिवर्धन भई वि.सं.२०५९ मा पुनर्प्रकाशन मात्र भएन, सिरिजङ्गा लिपिमा नै 'याक्थुङ साप्सक् नु साक्थिम्'( वि.सं.२०४९) नामक पत्रिका प्रकाशन भयो । कम्प्युटरमा सिरिजङ्गा लिपिको प्रयोग गरेर लिम्बु साहित्यमा अनेक कृतिहरु प्रकाशन भएका छन् । तिनमा केहीको नाम लिँदा डिल्ली लिङदमको 'मना चइःत्हा?', अमर तुम्याहाङको 'सेवारो'(वि.सं.२०५८) बाल कविता सङ्ग्रह, दिलेन्द्र सुभा कुरुम्बाङको 'आहिम्मिन्'(वि.सं२०६३) कविता सङ्ग्रह, नर यङहाङका 'पालाम्' (वि.सं.२०५२) र 'बलिहाङ तङनाम' (वि.सं.२०५३)खण्डकाव्य,पुष्प थाम्सुहाङको 'इत्निमहा?' खण्डकाव्य, अमर तुम्याहाङको 'सोधुङगेन् इमानसिङ् चोत्लुङ'(वि.सं.२०६०) महाकाव्य, प्रेमदीप थाम्सुहाङका 'सुक्कुम'( वि.सं.२०६१) गजल सङ्ग्रह, सेसेहाङ फियाकको 'रुमेरे कुसेप्माङ'( वि.सं.२०६१) कथा सङ्ग्रह, निशेष आङ्देम्बेको 'थाङ्बेन्'(२०६२) गजल सङ्ग्रह, राजभक्त चेम्जोङ र डिल्ली लिङदमको 'मिक्तोक्' लघु कथा सङ्ग्रह, उत्तर कुमार यङहाङका 'लोजी'(वि.सं.२०६२) उपन्यास, 'सेप्माङ्ले कुसेप्माङ्'( वि.सं.२०६२) नाटक र 'तङ्हुप्ला सुम्'(वि.सं.२०६२), निबन्ध सङ्ग्रह, नवीनकला आङ्देम्बेको 'सनारुङ् कोपमानाइल्ले खोम्बानाबा तनालुङ्ङिन्'(वि.सं.२०६४) एकाङ्की जस्ता विभिन्न पुस्तकहरुको नाम लिन सकिन्छ ।
वैरागी काइँलाको सम्पादनमा 'याक्थुङ् साक्थिम् नु साप्सक्' (वि.सं. २०४९), गणेश इजमको सम्पादनमा 'तान्छोप्पा' ( वि.सं.२०५४ ), अमर तुम्याहाङ र कमला आङदेम्बे सहितको सम्पादनमा 'सेमि फक्ताङ्लुङ'(वि.सं.२०६०), स्वर्णिमहाङफोम्बोको सम्पादनमा 'नुमाफुङ्'(वि.सं.२०५९) लगायत अनेक पत्रपत्रिकाले अहिले लिम्बु साहित्यको विकासमा टेवा पुर्याइ रहेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानबाट यस भाषाको पत्रिका 'फक्ताङलुङ'को प्रकाशन हुँदै आएको छ । रेडियो, टेलिभिजन र 'गोरखापत्र'मा लिम्बु साहित्यमा प्रसारण लेखन पाइन्छ । अनलाइनमा पनि यसले प्रवेश गरेको छ ।
२.७ अवधी भाषाको साहित्यिक अवस्था
अवधी भाषा नेपालको पश्चिमी तराई वा मधेसमा बोलिन्छ । १.८९ प्रतिशत नेपालीले यो भाषा बोल्दछन् । तुलसीदासको रामायण अवधी भाषामै प्रकाशित च । कुक्कुरिपा (वि.सं. ८९७ तिरका)लाई यस भाषाका प्रथम साहित्यिक स्रष्टा मानिदै आएको छ । उनले योग 'भावोनोपदेश' र 'स्रव परिच्छेदन' जस्ता कृति लेकेका थिए । कबीरदासले पनि पन्ध्रौँ शताब्दीमा अवधीमा लेखेको पाइन्छ । तुलसीदासको अवधी रामायण प्रसिद्ध कृति हो ।अवधी भाषा लोक साहित्यमा कति सम्पन्न छ भन्ने कुरा विक्रममणि त्रिपाठीको 'अवधी लोक साहित्य '(२०७३)बाट स्पष्ट हुन्छ ।वि.सं. २०५१|२०५२ पछि नेपालमा यस भाषामा सिर्जना हुन थालेको पाइन्छ ।विक्रममणिको 'अवधी निबन्धमाला' (२०६६), विष्णुलाल कुमालको 'अशान्ति के अगिया'(२०७२) कविता सङ्ग्रह,विष्णुराज आत्रेयको ' सिँगीघाट' काव्य, मेदिनी कुमार केवलको 'एक फूल दुई माली" कविता सङ्ग्रह, हंसाका 'अजोरिया' कविता सङ्ग्रह र 'विम्ब प्रतिविम्ब' लघुकथा सङ्ग्रह, अयोध्या प्रसाद यादवको 'अवधी संस्कार' निबन्ध सङ्ग्रह, डा. राम बहादुर मिश्रका 'बप्पा का आज देवाली है' र ' 'लागे मसवा असाढ', ताबिशको 'गजल और कविता', डा.सियाराम सिन्धुको 'अवधी के अन्नय साधकःअवधदेन्दु' समीक्षा आदि यस भाषामा प्रकाशित केअ कृति हुन् । यस भाषामा सच्चिदानन्द चौवेले 'भगवान बुद्धका संक्षिप्त जीवन चरित्र' र 'हरितालिका' (कजरी तिज) मौलिक रचनाका साथै 'भानुभक्तीय रामायण', 'श्रीमद्भागवत् गीता'का १८ अध्याय र 'दुर्गा सप्तशती' अनूदित रूपमा प्रकाशन गरेका छन् । दीप कुमार उपाध्यायको 'कोमल गीतामाला' र 'लोकहितकारी खिसा'पनि मौलिक कृतिका रूपमा रहेका छन् । लोकनाथ बर्माद्वारा देवकोटाको 'मुनामदन' अवधीमा अनुवाद गरी प्रकाशित गरिएको छ ।
विक्रममणि त्रिपाठीको सम्पादनमा 'अवधी वाणी', त्रिपाठी सहितकै सम्पादनमा 'बटोही' (२०७२), विष्णुलाल कुमालको सम्पादनमा 'अवधी सन्देश' र सेख इद्रिस सायलको सम्पादनमा' घमनिया' पत्रिकाका साथै 'सयपत्री'को अवधी विशेषाङ्क पनि यस भाषाका उपलब्धि हुन् । यस भाषाका अन्य लेखकहरुमा भवानी भिक्षु, विश्वनाथ पाठक, दीप कुमार यादव, आशाराम मौर्य, भगवान दास यादव, रामगोपाल यादव जगत् राम यादव,श्यामानन्द सिंह, पुष्पा कुमारी मिश्र, हंसावती कुर्मी, वासुदेव प्रसाद चौधरी आदिको नाम लिन सकिन्छ ।
२.८ थारु भाषाको साहित्यिक अवस्था
थारू भाषा तराई मधेसका साथै भित्री मधेसका विभिन्न जिल्लामा बोलिन्छ र ५.७७ प्रतिशत नेपालीले यो भाषा बोल्दछन् । यस भाषाको लोक साहित्य सम्पन्न छ । बर्कीमार, सखिया आदि यस भाषाका महत्त्वपूर्ण लोक साहित्यिक सामग्री हुन् । वि.सं. २००७ देखि नै यस भाषामा साहित्य लेखन सुरु भयो । बढ्वा थारुको 'बढक्क जोर्नी'(वि.सं.२००७) गीत सङ्ग्रह यस भाषाको पहिलो प्रकाशित कृति हो भने जीवराज शर्माको 'हम्र व हमार बन्वा' कविता सङ्ग्रह (वि.सं.२०११) दोस्रो हो । चौधरी रूपलाल महतो र बद्रीनाथ योगीको संयुक्त पुस्तक 'दंगीशरण कथा, बड्कीमार, गुरुबाबाकी जन्मौती'(वि.सं.२०१६) थारु लोक साहित्यसँग सम्बन्धित पहिलो प्रकाशित पुस्तकका रूपमा रहेको छ । यसै क्रममा कथा विधामा 'जितबहान कथा'(वि.सं.२०१६)प्रकाशित भयो । वि.सं.२०२८ मा प्रगतिशील विचार बोकेर महेश चौधरीको सम्पादनमा 'गोचाली' पत्रिकाको प्रकाशन सुरु भयो । महेश चौधरीले गीति नाटक 'छारा'(वि.सं.२०३६) लेखेर गीति नाटकमा नवीन प्रारम्भ गरे भने लोक साहित्यका केही कृतिहरु पनि प्रकाशन गरे । उनीभन्दा अगि पनि लोक साहित्य र कथाका केही कृति निस्केका थिए तर समाजलाई परिवर्तन गर्ने चिन्तन सहित देखा परेका उनका रचना बढी उपलब्धिमूलक रहे । रमानन्दन प्रसाद सिंहको सम्पादनमा 'थारु संस्कृति'(वि.सं.२०३३) पनि यसै वेला प्रकाशित भयो । यी पत्रिकाहरुले सुरुको समयमा थारु साहित्य सिर्जनामा निकै बल पुर्याए ।
वर्तमान समयसम्म थारु साहित्यमा १५० भन्दा बढीपुस्तकहरु र करिब १०० साहित्यिक एवम् समाचारमूलक पत्रपत्रिका प्रकाशित भएका छन् । यस भाषामा अहिले कवितामा हृदय नारायण चौधरीको 'मेहमान'(वि.सं.२०४५),राम सागर चौधरीको 'अनमोल बेहान'(वि.सं.२०४९), रेशम लाल चौधरीको 'एक तो विरहिन कथा'(वि.सं.२०५३), धनीराम चौधरी थारुको 'ई जिन्गी'(वि.सं.२०५५), मनिराम चौधरीको 'हिमालको मुस्कान'(२०५८), राम बहादुर बखरिया र उल्टहुवा अ;मको' मुटुक धड्कन'(२०६१), कृष्णराज सर्वहारीको 'जोन्हु मामा'(२०६३), सुशील चौधरीको 'बिरहुल बसिया' (२०७२) खोपीराम लम्सालको 'भौँका' (२०७४) आदि प्रकाशित छन् । मुक्तक, गजल, हाइकु, खण्डकाव्य र महाकाव्य समेत थारु साहित्यमा उपलब्ध छन् । हृदय नारायण चौधरीको 'बन्हन' (२०७०) महाकाव्यका रूपमा उपलब्ध छ भने खण्डकाव्यका रूपमा मनिराम चौधरीको 'चम्पा फुलुवार' (२०६०) र शर्मिला सृष्टिको'मनके फूला'(२०६२) जस्ता कृति रहेका छन् । कथामा हृदय नारायण चौधरीको 'कहली सुनली बुझली'(२०३२), लक्ष्मण किशोर जोगेठेवा परदेशीको ' 'इज्जत के दाम' ( २०५५), मनिराम चौधरीको 'रसाइल करम'(२०५९), कल्पना चौधरीको ' उजरल घर दुवार'(२०६२), कृष्णराज सर्वहारीको ' कमैया बस्तीमे भगन्वा'(२०७२) आदि र उपन्यासमा कृष्णराज सर्वहारीको ' फुटल करम'(२०५५), मनिराम चौधरीको 'विधवा'(२०५७), छविलाल कोपिलाको 'मुक्तिक खोज'(२०५९),शर्मिला सृष्टिको 'दुखके हलकोरा'(२०६४), गणेश चौधरी सवरियाको 'जितल पटुहिया'(२०७०) आदि रहेका छन् । निबन्ध, नाटक र समालोचनाका केही कृति लेखिए पनि यी विधा अझै फस्टाइ नसकेको अवस्था छ । निबन्धमा लक्की चौधरीको 'तिहुवार'(२०६१) र कृष्णराज सर्वहारीको 'ढोँ ढोँ पोँ पोँ' (२०६८) तथा नाटकमा परशुराम चौधरी थारुको ' बेटीके पुकार (२०५९) रजय प्रकाश दहितको ' परोसी'(२०६६) जस्ता कृति रहेका छन् भने समालोचनामा शान्ति चौधरीको 'थारू संस्कृति साहित्यका केही हास्यव्यङ्ग्य पक्ष' र कृष्णराज चौदरीको 'थारु साहित्यको इतिहास'(२०७३) रहेका छन् । यसका साथै देशका विभिन्न भागबाट निस्किने पत्र पत्रिका र सञ्चार माध्यममा पनि थारु स्रष्टाका रचनाहरुले स्थान पाएको देखिन्छ । गीतिचक्का, वृत्तचित्र, चलचित्रआदिका माध्यमबाटपनि थारु साहित्यको विकासमा टेवा पुगेको छ ।
२.९ मगर भाषाको साहित्यिक अवस्था
पश्चिम नेपालको पहाडी भेक मूलथलो रहेको मगर भाषाका तीन भेदहरु रहेका छन् । ती हुन् ढुट मगर, खाम वा पाङ मगर र काइके मगर । ढुट मगर भाषा बोल्ने नेपालीहरु समग्र जनसङ्ख्याको २.९८ प्रतिशत, खाम वा पाङ मगर बोल्ने नेपालीहरु।१ प्रतिशत र काइके मगर बोल्ने नेपालीहरु .०००१ प्रतिशत रहेका छन् ।
ढुट भाषामा साहित्य प्रकाशनको प्रारम्भ बालकृष्ण रूपावासीको 'कानुङ लाम'( वि.सं.२००९) शीर्षकको कवितागीत सङ्ग्रहबाट भएको पाइन्छ । मगरभाषीहरुमा जित बहादुर सिँजाली मगर र रेख बहादुर थापा मगरको 'मगर मासाङ सुरुओ कीटाब'(वि.सं.२०१५) र 'मगराँटीभासाङ ल्हीङ ड टुक्काओ कीटाब' (वि.सं.२०१५) लाई ढुट मगर भाषामा लेखिएका सुरुका पुस्तकका रुपमा लिइएको छ र उनीहरुले वि.सं.२००७ तिरबाट नै लेख्न थालेको हुँदा आदिकवि मानिएको छ । यी दुई कविले जनता जगाउन कविता लेखेका थिए र मार्क्सवाद उनीहरुको चिन्तनको मियो बनेको थियो । उनीहरुले वर्ण, जात र वासस्थानलाई आधार बनाएर मान्छे मान्छेका बिच भेद गर्ने प्रवृत्तिका विरोधमा लेखेको 'भरमी जाटी काट' पनि प्रकाशित छ । रेख बहादुर थापा मगरले वि.सं. २०५१ मा 'पून्च ठड्के' कविता सङ्ग्रह लिएर फेरि देखा परेका थिए ।वि.सं. २०४७ को राजनैतिक परिवर्तनपछि ढुटमगर साहित्यले गति प्राप्त गर्यो । 'बैरागी' नाता मगरको 'छीनीकुङ पूरूङ'(वि.सं.२०४८), 'मोईओ मीराप'(वि.सं.२०४९) र 'लीस'(वि.सं.२०६१) कविता सङ्ग्रह यसै वेला प्रकाशित भए । शिवलाल थापा मगरको ' ग्याह्वट लेख छान्नी'(वि.सं.२०४८),रुद्र बहादुर हितान मगरको ' लाङ्घाके आर्मीट्नाङ'(वि.सं.२०५०) र खड्ग बहादुर आले मगरको 'सेन टाहके'(वि.सं.२०५०) जस्ता कविता सङ्ग्रह पनि छापिए ।लोक बहादुर थापा मगरले 'रईसीचकुङ ल्हीङ' (वि.सं.२०५०) र 'बूढा ईम'(वि.सं.२०५७) कविता सङ्ग्रह पुस्तकमा गाउँले जीवन र शोषणलाई प्रकाशमा ल्याए ।ढुटमगर भाषाका कवितामा सन्तोष बुढा मगरको 'मोई'(वि.सं.२०५३), सन्जोग लाफा मगरको 'जीवसीम' र उनकै सम्पादनको 'पाहूर'(वि.सं.२०६३), उमेश थापा मगरको 'ऊमेशो सिर्जना'(वि.सं.२०६१),उजिर राना मगरको 'माय्याक्नी र ' ए ...डाजे डईको'(वि.सं.२०६४), पूर्ण थापा मगर 'सुगा'को 'ङा मगर'(वि.सं.२०६४), दूर्धासी झाँक्री मगरको 'ङा ङाकष्टला मगर'(२०६८), लक्ष्मण घर्ती मगरको ' रिहित्ला'(२०७०), विष्णु सिङ्जाली मगर र हिरामती राना मगरको सम्पादनको ' मगर रिकाहारीकुङ रिल्हिङ'(२०७२) आदि उल्लेख्य छन् ।
ढुट मगर भषाको आख्यान साहित्यमा टेक बहादुर सारु मगरको ' बडहर्या साहीँली'(२०५०) ले अगुवाइ गरेको पाइन्छ । सन्जोग लाफा मगरका दुई उपन्यास 'रेवस'(२०५१) र माहाञ्जौ लूमरा' (वि.सं २०५६) प्रकाशित भए । यसमा प्रकाशित अन्य आख्यानहरुमा लोक बहादुर थापा मगरको 'जजा बखट' (२०५२),फूल कुमारी थापा मगरको 'यीटन लेसा मास्टोकूङ ड बेठा' (२०५७) उपन्यास, नारायण तारुङ मगर र विष्णु कुमार सिञ्जाली मगर सम्पादक रहेको 'मगर ढूटो आहान गोमोक' (२०६३) कथा सङ्ग्रह र उनै सिञ्जालीको 'ल्हूङ'(२०६४) कथा सङ्ग्रह, उजिर राना मगरको ' मोई झओ रोहो आङ'(२०६४) कथा सङ्ग्रह, बैरागी नाता मगरको ' फेरफेन डा नामखान', जे.आर. मगरको 'आछिम का सिल'(वि.सं.२०६८) उपन्यास र आछिम चेतैक'(वि.सं.२०७१) कथा सङ्ग्रह, अनिल बुढा मगर 'प्रियतम'को पानी नाखए'(२०६८) कथा सङ्ग्रह, हेमा आले बोनीको' 'लर्फुओ मिच्याट'(२०७०) आदि हुन् । नाटकमा कलम चलाएर 'मोई'(२०५०) नाटक प्रकाशन गर्ने युवराज मास्की राना मगर, लघु नाटक 'मीजा'(वि.सं.२०७०)का लेखकरिमबाबु राना तथा 'प्रश्रित' लगायतको 'पचास रुपियाँको तमसुक' नाटक ढुट मगरमा अनुवाद गरी प्रकाशन गर्ने लोक बहादुर थापा मगरले संवादात्मक सिर्जनामा योगदान गरेको पाइन्छ । 'लाफा', 'कानूङ लाम', 'रोस', 'मगर', 'बीमलीक', 'कानूङ खबर', 'बई' जस्ता पत्रिकाको प्रकाशन तथा विभिन्न गीतिचक्का, चलचित्र, वृत्तचित्र र सञ्चार माध्यमबाट पनि मगर साहित्यको उत्थानमा बल पुगेको छ । यस भाषामा हालसम्म कविता सङ्ग्रह ३५, गजल सङ्ग्रह ६, मुक्तक सङ्ग्रह ४, कथा सङ्ग्रह १४, उपन्यास १३, निबन्ध सङ्ग्रह ४ का साथै खण्डकाव्य, हाइकु, बालकथा, गीत र लोक साहित्य सम्बन्धी कृतिहरु पनि प्रकाशित भएको जानकारी पाइन्छ ।
मगर पाङमा पनि केही साहित्य सिर्जना विद्यमान छ । रण प्रसाद घर्ती मगरले यस भाषामा लोक कथाहरु लेखेको जानकारी उपलब्ध छ । यसमा प्रकाशित साहित्यबारे बेग्लै अध्ययन अपेक्षित छ । मगर काइकेमा भने साहित्य सिर्जना भएको जानकारी उपलब्ध छैन ।
२.१० गुरुङ भाषामा साहित्यको अवस्था
गुरुङ भाषा मूलतः नेपालको पश्चिमी पहाडमा बोलिन्छ । यसको वक्ता सङ्ख्या १.२३ प्रतिशत रहेको छ । यस भाषासँग सम्न्धित घाटु र सोरठी जस्ता लोक नाटकहरु प्रसिद्ध छन् । यस भाषामा प्रकाशित पहिलो पुस्तक अमर बहादुर गुरुङको 'तमु क्युई चेकेदेदे रोमे' (२०१५) मानिएको छ । यो कृति गुरुङ भाषाको सानो कलोसेलीका रूपमा अनूदित कथाका रूपमा प्रकाशित भएको पाइन्छ । हर्क बहादुर गुरुङको 'क्युदे थुलेन्' (वि.सं.२०१६) नामक गुरुङ कविताहरुको सँगालो यस भाषाको पहिलो प्रकाशित साहित्यि कृति मानिएको छ । वि.सं. २०४६को परिवर्तनपछि साहित्यिक सिर्जनाहरु यस भाषामा पनि बढ्दै गएका छन् । यस क्रममा घन बहादुर लामिछानेको 'ङ्ह्यो नि ङ्ह्योँई क्ह्युई (वि.सं.२०४६) कविता सङ्ग्रह, हितकाजी गुरुङका 'नास धिर्बे कुइ झोगो'(वि.सं.२०४७) गीत सङ्ग्रह र 'क्ह्रोँ ठागुको रोमे'(वि.सं.२०४९) नामक मुक्तक र कविता सङ्ग्रह प्रकाशित भए । इन्द्र बहादुर गुरुङका 'तमुची' ज्योतिष सम्बन्धी लेख र 'तोताँ सोंफुँ'(वि.सं.२०५६) उखान सङ्ग्रह, अस्ट्रेलियाली नागरिक जेसी आर ग्लोबरको 'छेनाले खेमिनो छेनाले क्होंमिनो'(वि.सं.२०४९) मा गीत तथा कथाहरु रहेका छन् भने रत्नबहादुर गुरुङको 'तमु क्युई लुले'(वि.सं.२०५८)मा गीत र उखानहरु रहेका छन् । रत्न बहादुर गुरुङले कक्षा १ देखि ५ सम्मका पाठ्य पुस्तकमा समावेश गरेका साहित्यिक सामग्रीमा बालोपयोगी कथा, गीत, कविता, संवाद र निबन्ध समाविष्ट छन् । यसरी नै केयर सिंह तमुको 'दाएँ बिद् खै लब'(वि.सं.२०६२) कविता सङ्ग्रह प्रकाशित भएको छ । वि.सं २०६२मा नै मीना गुरुङको 'च्ह्यो याब क्याँ', शोभा गुरुङको ' टुई क्याँ, सलिता गुरुङको 'ङ्रिलमै र मन कुमारी गुरुङको 'ट्होबस्यो तमैले' बाल साहित्यिक कृतिहरु प्रकाशन भए । यिनका अतिरिक्त 'तमू न्होखैँ ता'(२०५९), 'ङ्ह्यो'(२०६२) हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह, 'माया आस्याद ओ'(२०६२) र 'गुरुङ साँचिमो'(२०६२) जस्ता कृतिहरु पनि गुरुङ भाषाले प्राप्त गरेको छ । लोकगीतका चक्काहरु , चलचित्र र वृत्तचित्रहरुमा पनि गुरुङ साहित्यको स्वाद लिन सकिन्छ भने सञ्चार माध्यमबाट पनि यसको प्रसारण हुँदै आएको छ ।
२.११ राई समूहका भाषाहरुको साहित्यिक अवस्था
राई समूहका भाषाहरुमा बान्तावा, वाम्बुले, चाम्लिङ, तिलुङ, पुमा, खालिङ,वालिङ|वालुङ, साम, साम्पाङ, थुलुङ, कुलुङ, बाहिङ, नाछिरिङ, सोताङे|सोताङ, कोयु|कोयी, दुमी, याम्फु, लोहोरुङ, मेवाहाङ, बुङ्लावा, दुङ्माली, फाङ्दुवाली, लिङखिम, छिन्ताङे|छिन्ताङ, बेलहारे, आठपरिया, छिलिङ,बाहिङ, जेरुङ|जेरोङ आदि पर्दछन् । यी सबै भाषाको अवस्था एकै प्रकारको छैन । बान्तावा,वाम्बुले र चाम्लिङ जस्ता भाषामा अरूका तुलनामा अपेक्षाकृत साहित्य सिर्जना बढी भएको छ र तिनका बारे केही अध्ययन भएकाले जानकारी पनि उपलब्ध छ ।
बान्तावा भाषामा मुन्दुमी साहित्यको बेग्लै महत्त्व छ र जन जीवनमा रहेको मुन्दुमको प्रभावमा विभिन्न ग्रन्थहरु लेखिएका छन् । साहित्यिक सिर्जनातर्फ भने रत्नकुमार बान्ताबाको 'पुलिटिन्ने गरिबाचिओ' गीतलाई बान्ताबा भाषामा प्रकाशित पहिलो साहित्यिक रचना मानिएको छ । पुस्तकाकार कृतिमा भने सामलाङ बालालीको 'सीम् छाम्' गीत सङ्ग्रहलाई पहिलो मानिएको छ । बान्तावा राई भाषामा प्रकाशित कविता सङ्ग्रहमा पदम राईको ' 'लादिप्मा'(२०६५), लक्ष्मी राईको 'आन्को छायासुक'(२०६६), आन्को राईको ' आन्केन्का', विजय ग्वाले राईको 'सावेङ्ला'(२०६९), असीम बान्तावाको 'बुङ्वा'(२०७३) आदि रहेका छन् भने कथामा पदम राईको 'बुङ्वाखआ बान्तावा यङ' खुयुङ(२०६६), कृष्ण बान्तावाको 'छेङगराची लाम मतित'(२०६६), आसिक राईको 'ताया छेक्मापुङसुम'(२०६९) र निराजन बतासको 'दिलाक्लाम'(२०६९) रहेका छन् । यसरी नै रामकुमार राईको उपन्यास 'आखोमाङओ'(२०६९), रविन्द्र दिखुक्पाको गीत सङ्ग्रह 'साकेन्वा लाकछाम'(२०६९) र रविन्द्र दिखुक्पा राई(२०६८), असीम बान्तावा(२०६८), रामचन्द्र राजालिम (२०६८)र उत्तम स्माइल राई (२०६९)का गजल सङ्ग्रहहरु तथा राजेश बानतावाको 'किराया साया डाक्बुङ्निन बारायुङसा(२०६७), निराजन बतासको' चुङनाम्बु(२०७०) र पदम राईको इवा(२०७०) निबन्ध सङ्ग्रहहरु बान्तावा भाषाले प्राप्त गरेको छ । नाटकका रेडियो प्रसारण, गीतिचक्का आदिका माध्यमबाट पनि बान्तावा साहित्य फिँजिँदै गएको छ । यस भाषाको साहित्यिक विकासलाई 'बुङवाखा', 'सायालोङ', 'किरावाबुङ' र सायाबुङ जस्ता पत्रिकाले सहयोग पुरयाएका छन् ।
चाम्लिङ राई भाषामा प्रकाशित ' बयान सिंह राईको ' उत्पत्ति र परम्पराका चाम्लिङ मिथकहरु'(२०६३) एक महत्त्वपूर्ण ग्रन्थ हो । वि.सं. २०४६ अगि टङ्क बहादुर राई, भूपीन्द्र राई, ज्ञान कुमार राई, कृष्ण कुमार राई, बखत राम राई र गम बहादुर राईका फुटकर कविताहरु पत्रिकामाप्रकाशित भएको पाइन्छ । त्यसपछि भने यस भाषामा टङ्क बहादुर राईद्वारा सम्पादित 'छाम्ची दिम्ची'(२०५१) लेख कविता सङ्ग्रह प्रकाशित भयो जुन पहिलो साहित्यिक पुस्तक मानिएको छ भने 'बुङाची'(२०५८) पहिलो सामूहिक गीत कविता सङ्ग्रह कहलाएको छ । शान्ति कुमारी राईको 'हैकामा' (२०६१) यस भाषाको पहिलो एकल कविता सँगालो हो भने उनकै 'सेम्दु' (२०६४) पहिलो गीत सङ्ग्रह हो । उनैले 'मिचुङ' (२०६१,२०६२, २०६३) का तीन भाग कविता सङ्ग्रहको सम्पादन पनि गरेकी हुन् । कृष्ण कुमार राईका 'रुङरिमा'(२०६४) पहिलो खण्डकाव्य,'रोदुङ' (२०६५) पहिलो नाटक, 'खोचिलिप्पा' (२०६४) पहिलो उपन्यास र 'लालामा(२०६५) पहिलो कथा सङ्ग्रह हुन् । दिवा चाम्लिङको 'बोखामा'(२०६४) कविता सङ्ग्रह चाम्लिङ राईमा प्रकाशित छन् । चाम्लिङ साहित्यको विकासमा टङ्क बहादुर राईद्वारा सम्पादित 'मि'(२०५०), 'रोदुङ' (२०५४), 'चाम्लिङ ला शाछाम खाम्बातिम'(२०६३), 'किरात राई चाम्लिङ बुलेटिन' र देव विक्रम राईको सम्पादनमा प्रकाशित 'चाम्लिङ'को महत्त्वपूर्ण सहयोग पुगेको छ । यस भाषामा सक्रिय अन्य केही साहित्यकारहरुमा बागदेवी राई, बुलन केशर राई, उत्तर चाम्लिङ, दीपेन्द्र राई, पर्शुराम राई, रकम सेरा लुङ्छा चाम्लिङ राई आदिको नाम लिन सकिन्छ ।
राई समूहका भाषाहरुमध्ये वाम्बुले भाषामा कविता, कथा, निबन्ध, गजल र नाटकहरु प्रकाशित छन् । 'लिब्जु भुम्जु' साहित्यिक पत्रिकाले यस भाषाको साहित्यिक उन्नयनमा महत्त्वपूर्ण भूमिका खेलेको छ । वाम्बुले भाषाले पनि मुन्दुमलाई अँगालेको छ र मुन्दुमबारे पनि यसमा लेखिएको छ । साहित्यको सिर्जना यात्रा भने यसमा २०६२|०६३को परिवर्तनपछि प्रारम्भ भएको पाइन्छ । यस भाषामा लेखिएका कविता सङ्ग्रहमा गणेश राईको सम्पादनमा प्रकाशित 'वाम्बुले राडु योरल्वाम कवितातिड्'(२०६५) पहिलो हो । यसमा प्रकाशित अन्य कविता सङ्ग्रहमा गणेश राईको 'वाम्बिर'(२०६७), शुभराज राईको 'कक्षी(२०७०), अभिनाथ राईको 'क्वाल खातिर'(२०७४) र राष्ट्रिय गीतका रचनाकार व्याकुल माइलाको 'बीउ अक्षर'(२०७४) हुन् । मिलन कानछा राईको 'पिताङ केङ वार्सी'(२०६७), शुभचन्द्र राईको 'ल्आकाचिन सरिङ्मो(२०६८), राज कुमार राई राशीको 'ब्लो'(२०७१)यस भाषाका कथा सङ्ग्रहहरु हुन् । कृष्णजित राईको 'ब्वाइचोफुरी'(२०७१) नाटक तथा भलामान राईको 'भलामानङा वाम्बुले गजलतिड्'(वि.सं२०७१) पनि यस भाषामा प्रकाशित छन् ।
राई समूहका भाषाहरुको साहित्यिक उत्थानमा टङ्क बहादुर राईको सम्पादनमा प्रकाशित 'पारुहाङ' र जय शिवाहाङ राईद्वारा सम्पादित 'किरावाबुङ' राई बहुभाषिक पत्रिकाहरुको पनि योगदान रहेको छ । बान्तावा, वाम्बुले, चाम्लिङ लगायत आठपरिया, कोयु, थुलुङ, दुमी, बाहिङ र साम्पाङ भाषाका कविताहरुको सङ्कलन पनि उपलब्ध छ ।
२.१२ अन्य भाषाहरुको साहित्यिक अवस्था
माथि वर्णन गरिएका गरिएका बाहेक अन्य केही भाषामा पनि केही मात्रामा साहित्य लेखन गरिएको छ र तिनमा केही कृति पनि प्रकाशित गरिएका छन् । पूर्वी तराई वा मधेसमा ०.४६ प्रतिशत नेपालीद्वारा बोलिने राजवंशी भाषामा कविता, कथा, उपन्यास, नाटक आदिका विभिन्न कृति प्रकाशित छन् । यस भाषाको प्रथम कविता सङ्ग्रह, उपन्यास, कथा र नाटकका रूपमा क्रमशः महेशलाल राजवंशीको 'हृदय पंक्षी'(२०२२), फूलसिंह राजवंशीको 'माला'(२०३५), गोपालप्रसाद राजवंशीको 'बेसाती'(२०३९) र महेशलाल राजवंशीको 'उजराल घर'(२०२२) रहेका छन् । यी लेखकहरुका साथै ठकनु लाल राजवंशी, पदम प्रसाद राजवंशी, राम बहादुर राजवंशी, होम नारायण राजवंशी, जगत बहादुर राजवंशी, रण कुमार राजवंशी, भूमिलाल राजवंशी, राजेन्द्र प्रसाद राजवंशी, जोगेन्द्र प्रसाद राजवंशी, विमलचन्द्र राजवंशी, शर्मिला राजवंशी, ठकनुलाल राजवंशी, पुकार चन्द्र राजवंशी, भिमराज राजवंशी, प्रितम कुमार राजवंशी, श्याम प्रसाद राजवंशी, सानवती राजवंशीले कविता, कथा, नाटक, निबन्ध, लोक साहित्य आदि विभिन्न क्षेत्रमा कलम चलाइ रहनु भएको छ । यस भाषाका 'जागरण', 'आङरा धुपना', 'पान-सुपारी' र 'विचन' जस्ता पत्रिकाले यसको साहित्यिक विकासमा मलजल पुर्याएका छन् ।
नेपालको जनसङ्ख्याको ०.१४ प्रतिशत वक्ताहरु रहेको सुनुवार भाषामा थेअनी, सलाक, खालो आदि लोकपद्य, सासि मुक्दुम र शोलोआ खिका आख्यान र जन्म विवाह आदिका संस्कारजन्य अभिनय सम्बन्धी लोकवार्ताको रमाइलो पाटो छ । सुनुवार भाषालाई कोइँच भाषा पनि भन्न थालिएको छ । ग्रियर्सनको 'लिङ्ग्विस्टिक सर्भे अफ इन्डिया'(वि.सं.२०६६)मा यस भाषामा अनूदित दुई कथा रहेको जानकारी पाइन्छ । वि.सं २००७ को परिवर्तनपछि यस भाषामा सर्जकहरु चलमलाउन थाले पनि यसले वि.सं २०४६ को परिवर्तनपछि मात्र साहित्यिक गतिविधिमा पाइला अगि बढाएको पाइन्छ । वि.सं.२०४७मा सुनुवार सेवा समाजको स्थापना हुनु र त्यसले त्यही वर्ष 'कोइँचबु' पत्रिका निकालेर साहित्यिक सिर्जनाको प्रकाशन थाल्नु यस भाषाको साहित्य यात्रामा महत्त्वपूर्ण घटना थियो । यस भाषाको पहिलो पुस्तकाकार कृति कोइँच बु काःतिच (उत्तम सुनुवार)को 'देन ए सेरेम फु' वि.सं. २०६२ मा प्रकाशित भएको थियो । उनका अन्य दुई कृति 'दोमोका दार्शो सेरेम फु'(२०६४) गीति सङ्ग्रह,'बाअशो दाइशोथामा लोः'(२०६५) निबन्ध सङ्ग्रह, ब्ला असिआ खाका(२०७०) कविता सङ्ग्रह र 'सागुन'(२०७३) नाटक पनि प्रकाशित छन् । भानु सुनुवारको 'कोङ कोरोरो फोल फोल'(२०६७) उपन्यास र क्याः ब चेरेहाम्सोको ' चुईँचिमा कालिमा' यस भाषामा प्रकाशित कथा सङ्ग्रह हुन् । यी साहित्यिकका अतिरिक्त समीर मुखिया, सङ्खु बुजिच, थारिथिम्लो क्याःब, क्याःब नाइलु, अतीत मुखिया, डा.लाल श्याँकारेलु रापचा, चिम्रु बुजिच, रणवीर सुनुवार, शोभा सुनुवार जुलियट, केदार सङ्केत, भावना परिष्कृत आदिले पनि यस भाषाका विभिन्न विधामा कलम चलाइ रहेको पाइन्छ ।
वि.सं. २०६८को जन गणनामा डोट्यालीले भाषाको मान्यता पाएपछि यसको साहित्यिक गतिविधिबारे पनि बेग्लै चर्चा हुन थालेको छ । यस भाषाको लोक साहित्य ज्यादै सम्पन्न छ । यसमा सगुन, फाग, मागल, भारत, चैत, डेउडा, अँठेवाली, होली, भस्सो, भैनी, धुमारी, ढुस्को, चाँचरी आदि महत्त्वपूर्ण लोकगीत, लोकगाथा र लोक नाटकका साथै बातै, किस्सा र ऐना प्रचलित छन् । रिपु मल्लको चाँचरी, भोलाउलो जस्ता प्राचीन काव्यात्मक सामग्रीले युक्त यस भाषाका पुराना कविहरुमा रत्नाकर, चाम बलायर र चन्दन भाटको नाम आउँछ । यस भाषामा राम बहादुर चन्दको 'लोकगीत सङ्ग्रह'(२०१७), वीर बहादुर चन्दको 'नौलो नेपाला मान्स'(२०६४) लघु कथा, पुष्कर राज भट्टको ' एक थोपा सागरको(२०६४) लघु कथा, देवी प्रसाद भट्ट शर्माको धारावाहिक रूपमा पत्रिकामा प्रकाशित 'धौली' उपन्यास, लक्ष्मी प्रसाद भट्ट वैरागीको 'उजड्डी किर्मुलि पाँख'(२०६१) उपन्यास, कृष्णदत्त चटौत 'कान्त'को ' मल्लो बाटो'(२०६२) उपन्यास, आत्माराम ओझाको 'राजा नाग मल्ल'(२०६५) उपन्यास, दीर्घराज ओझाको 'सुदूर पश्चिमकी वसन्ती'(२०७१) उपन्यास र विभिन्न कविका कविता, गीत र गजलका ५० भन्दा बढी सङ्ग्रहहरु प्रकाशित छन् । वीर बहादुर चन्द, परमानन्द बोहरा, परमानन्द भट्ट 'शरद्', घनश्याम लेखक र शङ्करदेव भट्टका बाल साहित्यिक कृतिहरु पनि यस भाषामा उपलब्ध छन् । 'सौँराइ', 'रुबस','चिनारी', 'सुदूर चिनारी सोराइ', 'गुडुल्कि', 'प्याउली', 'घुगुती' र 'मलासिनी' जस्ता पत्रिकाले यस भाषाको साहित्यिक यात्रालाई अगि बढाउन योगदान गरेका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा आयोजना गर्ने राष्ट्रिय मातृभाषा कविगोष्ठीमा माथि वर्णन गरिएका बाहेक आठपरिया, उराँव, कागते(स्युबा), किसान, कुमाल, कुलुङ, केवरत, खालिङ, गन्गाईं, घले, जिरेल, थकाली, थामी, थुलुङ, दनुवार, दुङ्माली, दुमी, दुरा, धिमाल, नाछिरिङ, पुमा, फाङदुवाली, बज्जिका, बाहिङ, मगही, मुगाल, ल्होपा, ल्होमी, शेर्पा आदि भाषामा कविता वाचन हुने गरेका छन् । यीमध्ये कैयन् भाषामा साहित्यका विभिन्न विधाहरुको विकास भएको हुन सक्छ । तिनको व्यवस्थित अध्ययन आवश्यक छ ।
३. साहित्यमा समृद्धिको यात्रा
नेपाल अहिले नयाँ युगमा प्रवेश गरेको छ । यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिरहेको छ र समाजवादतिरको यात्रा प्रारम्भ गरेको छ । समाजवाद हाम्रा अग्रज नेताहरु पुष्पलाल, मनमोहन र मदन भण्डारीको मात्र होइन, बी.पी. कोइराला, गणेशमान र कृष्ण प्रसाद भट्टराईहरुको पनि सपना थियो । यसका लागि नेपाली जनताले ठुलो सङ्घर्ष र त्याग गरेका थिए र जेल, नेल र निर्वासनका पीडा बेहोर्दै प्राणको आहुति समेत दिएका थिए । राष्ट्रलाई नवीन आलोक प्रदान गर्दागर्दै हामीले मदन भण्डारीलाई गुमाउनु परेको थियो । आज उनै मदन भण्डारीका नाममा स्थापितमदन भण्डारी कला साहित्य प्रतिष्ठानले आदिकवि भानुभक्तलाई सम्झँदै चलाएको विचार विमर्शमा नेपालका विभिन्न भाषाहरुको साहित्यिक अवस्थाबारे यसअगि नै संक्षिप्त झलक प्रस्तुत गरि सकिएको छ भने साहित्यिक समृद्धिको यात्राबारे केही विचार अगि सार्ने प्रयत्न यहाँ गरिएको छ । राष्ट्रको मूल नारा समृद्धि बनेको वर्तमान परिप्रेक्ष्यमा साहित्यमा पनि समृद्धिबारे बहस हुनु एकदमै सान्दर्भिक छ ।
साहित्यमा समृद्धिको यात्राबारे छलफल गर्नुअगि साहित्यमा समृद्धि भनेको केहो भनी चर्चा गर्नु उपयुक्त हुने छ ।'सम्+ ऋद्धि' शब्दको योगबाट'समृद्धि' शब्दको निर्माण भएको हो । 'समृद्धि'लाई 'नेपाली बृहत् शब्दकोश'मा 'समृद्ध हुनाको भाव वा अवस्था, सम्पन्नता, उन्नति, अभ्युदय, बढिबढाउ' भनी अर्थ प्रस्तुत गरिएको छ । यसरी नै वामन शिवराम आप्टेको 'संस्कृत-हिन्दी कोश'मा'समृद्धि' शब्दको अर्थका रूपमा'ठुलो वृद्धि, बढोत्तरी, फल्नु फुल्नु, सम्पन्नता, सम्पत्ति, ऐश्वर्य, धन, दौलत, पुष्कलता, प्राचुर्य, शक्ति, सर्वोपरिता' जस्ता अर्थहरु दिइएको छ ।त्यसैले साहित्यमा समृद्धिको यात्रा भनेको एकातिर स्वयं साहित्य सिर्जनामा व्यापकता र परिष्कृति ल्याउनु हो भने अर्कातिर राष्ट्र र समाजको उन्नतिका निम्ति साहित्यले विभिन्न क्षेत्रमा गर्ने योगदानको बाटो फराकिलो बनाउनु हो । मूलतः यिनै र यिनैका सेरोफेरोमा केन्द्रित रहेर साहित्यमा समृद्धिको यात्रालाई पहिल्याउने जमर्को यहाँ गरिएको छ ।
३.१ साहित्य सिर्जनामा व्यापकता
साहित्य सिर्जनामा व्यापकता ल्याउनु साहित्यिक समृद्धिको यात्रामा पहिलो आवश्यकता हो । यसका निम्ति नेपालका सबै भाषाहरुमा साहित्य सिर्जनाका लागि अभियान चलाइनु पर्दछ । अहिले नेपालका कतिपय भाषाहरुमा साहित्य सिर्जना भएको छ भने कतिपयमा साहित्य सिर्जना हुन बाँकी नै छ । त्यसैले सबै भाषाहरुमाकविता, गीत, आख्यान, निबन्ध, नाटक र समालोचना मात्र होइन यिनसँग गाँसिएका उपविधाहरु मुक्तक, फुटकर कविता, खण्डकाव्य, महाकाव्य,कथा, लघुकथा, उपन्यास, संस्मरण, नियात्रा, जीवनी, प्रबन्ध र एकाङ्कीहरु सिर्जना हुनु पर्दछ । साहित्यमा विधागत समृद्धिको यात्रा गर्ने क्रममा साहित्य नै नभएका भाषाको कुनै विधामा साहित्य सिर्जनाको थालनी मात्र गर्नु पनि त्यस भाषाको साहित्यमा समृद्धिको जग हाल्नु हो भने मात्रात्मक रूपमा कम साहित्य लेखिएका भाषाका सिर्जनामा व्यापकता ल्याउनु पनि समृद्धितिरकै यात्राहो । यसरी नै अपेक्षाकृत बढी साहित्य सिर्जना भइसकेका भाषामा गुणात्मकता बढाउनु पनि साहित्यिक समृद्धिको अर्को महत्त्वपूर्ण पक्ष हो । नेपालका विभिन्न भाषाहरुको अवस्था हेरी कहाँ कुन काम गर्ने भन्नेबारे सम्बन्धित भाषाभाषी, सङ्घसंस्था र राज्यले नीति बनाई त्यसको कार्यान्वयन गरिनाले साहित्यिक गतिविधिमा व्यापकता आई समृद्धिको यात्राले गति प्राप्त गर्ने छ ।त्यसो भयो भने ढुकुटीमा खजाना भरिएर सम्पन्नता आए झैँ साहित्यमा सामग्रीको व्यापकता भई समईद्धि प्राप्त हुने छ र सबै भाषाभाषीले साहित्यको रसिलो स्वाद लिँदै सार्थक जीवन जिउने खुराक प्राप्त गर्ने छन् ।
साहित्यमा व्यापकता ल्याउन स्रष्टाहरुको सक्रियताको खाँचो पर्दछ । यसनिम्ति स्रष्टाहरु उत्साहित र प्रेरित हुने वातावरणको निर्माण हुनु आवश्यक छ । केन्द्रीय तहदेखि स्थानीय तहसम्म साहित्यको महत्त्व बोध हुन सक्यो भने साहित्य सिर्जनाका निम्ति अनुकूल वातावरण निर्माण हुन सक्तछ । स्रष्टाहरुका रचना प्रकाशनका निम्ति पत्रपत्रिका र निजी वा सरकारी प्रकाशन गृहहरु अग्रसर हुनु पर्दछ भने स्रष्टाहरुका रचनाले पाठकहरुको रुचि आकर्षित गर्न सक्नु पर्दछ । पठन संस्कृतिको विकास, गाउँ गाउँमा पुस्तकालय सञ्चालन, पुस्तकको विक्री वितरणको समुचित व्यवस्था आदि गरेर लेखन प्रकाशनमा टेवा पुर्याउन सकिन्छ ।
३.२ साहित्यमा गुणस्तरको अभिवृद्धि
गुणस्तरको अभिवृद्धि साहित्यिक समृद्धिका दिशामा अर्को महत्त्वपूरण पाइला हो । साहित्यका सबै विधामा वस्तु र रूपको चयन तथा प्रयोग समुचित किसिमले भयो भने मात्र परिष्कृत साहित्य सिर्जित हुन्छ । कुन विषयमा लेख्ने र कसरी लेख्ने भन्नेबारे स्रष्टा सचेत हुनै पर्दछ । समाजमा लेख्नका लागि तमाम विषयहरु हुन सक्तछन् । तिनमा समाजलाई चाहिएको र जल्दोबल्दो विषय के हो भन्ने कुरा ठम्याउनु पर्दछ । अहिले राष्ट्रिय स्वाभिमान, परदेशका पीडा, सामाजिक सद्भाव र परस्पर एकता जस्ता विषयमा लेखिएका रचनाको लोकप्रियताबाट नै विषयको महत्त्वबारे थाह पाउन सकिन्छ । त्यसैले जेतेमेते लेखेर समाजको रुचि आकर्षित गर्न सकिँदैन भन्ने कुरा हरेक स्रष्टाले हृदयङ्गम गर्न आवश्यक छ । यसरी नै रूप पक्षलाई आकर्षक बनाउन विधा अनुसार स्रष्टाले अँगाल्नु पर्ने प्रविधि र उपकरणको ज्ञानविना परिष्कृत रचना जन्मन सक्तैन । त्यसैले कविता लेखियोस् वा आख्यान, नाटक लेखियोस् वा निबन्ध अथवा समालोचना नै किन नलेखियोस् विधा अनुरूपको रूप पक्षको प्रयोग सिर्जना वा लेखनले माग गर्दछ । साहित्यिक सिर्जनाको भाषा वाङ्मयका अरू विधाको भन्दा फरक हुन्छ । प्रशासन, कानुन आदिको जस्तो भाषा यसमा प्रयोग गरियो भने त्यो रसिलो हुँदैन । यसले त प्रतीक, विम्ब, अलङ्कार, रस आदिको अपेक्षा गर्दछ । प्रचुर कल्पना, कोमल भाव र रागात्मक भाषा सहितको सुन्दर अभिव्यक्ति नै साहित्य हो भन्ने कुरा सर्जकले हृदयको केन्द्रमा राख्न आवश्यक छ । यसरी नै अभिव्यक्तिको शैलीको चयन पनि उपयुक्त किसिमले गरिनु पर्दछ । आलङ्कारिक, भावात्मक, तार्किक, संवादात्मक व्यङ्ग्यात्मक, हास्यव्यङ्ग्यात्मक जे जस्तो शैलीको उपयोग गरे पनि त्यसले मान्छेको मन छुने तागत सञ्चय गरेको हुनु पर्दछ । अनि यसरी वस्तु र रूपको सुसंयोजन हुन सक्यो भने साहित्यले मान्छेलाई विशेष प्रभाव पार्न सक्छ । यसैमा सर्जक र उसको सिर्जनाको सफलता अन्तर्निहित हुन्छ । यस्ता कृतिहरुमा बढोत्तरी र व्यापकता ल्याउँदै स्तरीय लेखनका माध्यमबाट विश्व साहित्यसँग प्रतिष्पर्धा गरिनु साहित्यिक समृद्धिको यात्राको एक प्रमुख कार्यभार हो ।
३.३साहित्यमा असल विचारको प्रवाह
साहित्यका माध्यमबाट गरिने विचार प्रवाह अत्यन्त शक्तिशाली हुन्छ । मान्छेलाई सबल तुल्याउन र समाजलाई मार्गनिर्देश गर्न त्यसले विशिष्ट भूमिका पूरा गर्दै आएको छ । यसलेमान्छेका मनमा रहेको कल्मषलाई धोईपखाली असल भावले युक्त तुल्याउँछ । समाजमा देखा परेको कुविचारलाई समाप्त पारी सुविचारको पक्षपोषण गर्दछ । साहित्यलाई अनुत्पादक देख्नेहरुले यसको शक्तिलाई आकलन गर्न सक्तैनन् र यसप्रति उपेक्षा भाव राख्तछन् तर जसले यसको महत्त्व बुझेका छन् उनीहरुले सभ्यताको सिँढी निर्माण गर्न यसको यथेष्ट सदुपयोग गर्दै आएका छन् । साहित्यलाई समृद्धिको बाटामा हिँडाउनु भनेको असल विचार बोकेका रचनालाई बृहत् मात्रामा फिँजाउनु पनि हो । विचारका क्षेत्रमा विश्वमा अनेक प्रतिस्पर्धा हुँदै आएका छन् । संसारमा असल र खराब दुबै थरी मान्छे भएकाले दुबै थरी विचार देखा पर्नु स्वाभाविक छ । प्रतिस्पर्धामा त्यही विचार बलवान् हुन्छ जसले धेरैभन्दा धेरै मान्छेको कल्याण गर्दछ । समाजलाई अग्रगतितिर लैजाने विचार पनि यहीँ छ, यथास्थितिमा राख्न चाहने विचार पनि यहीँ छ र पछाडि धकेल्न चाहने विचार पनि यहीँ छ । साहित्यकार अग्र गमन चाहन्छ, असल विचारलाई अँगाल्दछ र व्यापक जन समुदायको हितका लागि कलमको शक्ति प्रदर्शन गर्दछ । केही व्यक्तिहरुले विचारविहीन साहित्यकोवकालत गरेको पनि पाइन्छ र कतिपयले साहित्यको प्रयोजनलाई स्वान्त सुखायमा सीमित गर्न खोजेको पनि पाइन्छ तर त्यस चिन्तनले समाजलाई प्रगतिको दिशातिर लैजाँदैन, बरु मान्छेलाई कमजोर बनाउँदै असफलताको भुमरीमा पार्दछ । मान्छेलाई पछिल्तिर धकेल्ने, निराश र कुण्ठित तुल्याउने, अन्धविश्वास र रूढिले ग्रस्त तुल्याउने, अनेक विकृति र विसङ्गतिका पन्जामा पार्ने विचारको डसाइ मान्छेका लागि हानिकारक छ । त्यसैले प्रगतिशील चिन्तन आजको साहित्यको मियो बन्नु आवश्यक छ र यसकै आलोकमा साहित्यिक समृद्धिले उज्यालो प्राप्त गर्दछ भन्नु कुनै अर्घेल्याईँ हुने छैन ।
३.४ साहित्यमा अनुकरणीय चरित्रको चित्रण
समाजलाई बाटो देखाउने अनुकरणीय चरित्रको चित्रणबाट समृद्धिको यात्रालाई अगि बढाउन ठुलो सहयोग पुग्ने कुरा सुनिश्चित छ । समाजभित्र पसेर खोजी गर्ने हो भने कैयन् राम्रा काम गरेका अनेक नमुना चरित्रहरु फेला पर्दछन् । तिनले राजनीति, संस्कृति, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, व्यापार आदि विभिन्न क्षेत्रमा गरेका कामबाट समाजलाई समृद्ध बनाउन ठुलो सहयोग पुगेको हुन्छ । तिनका असल कामलाई कविता, कथा, नाटक, उपन्यास, निबन्ध आदिमा परिणत गरेर व्यापक रूपमा फिँजाउन सकिन्छ । तिनको प्रभावबाट कैयन् असल मान्छेहरु तयार हुने छन् र तिनले गर्ने कामहरुबाट समृद्ध समाजको निर्माणमा विशेष योगदान पुग्ने छ । अतः उदाहरणीय चरित्रको खोजी र तिनको साहित्यमा प्रविष्टितर्फ हाम्रो विशेष ध्यान जान आवश्यक छ ।
३.५ विश्व साहित्यसँगको अन्तर्सम्बन्धमा अभिवृद्धि
संसार आज निकै नजिएको छ । यातायात, सूचना प्रविधिको विकास आदिले गर्दा एक दिनमै मान्छे संसार चहार्छ र छिनको कुरा छिनमै संसारभर फैलिन्छ । साहित्यको क्षेत्र पनि यससँग गाँसिएको छ । कहाँ के सिर्जना भइ रहेका छन् र तिनको अवस्था कस्तो छ भनी थाह पाउन धेरै कठिनाइ छैन तर पनि विश्व साहित्यसँग दाँजिनका निम्ति हामीले धेरै काम गर्न बाँकी छ । अन्तर्राष्ट्रिय साहित्यिक सम्बन्धको हाम्रो गति धिमा छ । विश्वका अरू देश त छोडिदिऊँ, दक्षिण एसिया र छिमेककै अन्य देशमा साहित्यका क्षेत्रमा के नयाँ गतिविधि भइरहेको छ भन्ने बारे थाह पाउने र विचार विमर्श गर्ने अवसर हाम्रा स्रष्टाहरुलाई कमै प्राप्त भएको छ । देशभित्र प्रभावकारी अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनसम्म पनि हुन नसकेको स्थिति छ । विश्व साहित्यका बहुमूल्य पुस्तकहरु हाम्रा राष्ट्र भाषाहरुमा अनुवाद हुन सकेका छैनन् र विश्वका कैयन् महत्त्वपूर्ण साहित्यिक संस्थाहरुसँग हाम्रो सम्बन्ध स्थापना हुन सकेको छैन । हाम्रो साहित्यिक समृद्धिको लक्ष्य पूरा गर्नका लागि यस स्थितिमा परिवर्तन ल्याउन आवश्यक छ । विश्वका विभिन्न देशका साहित्यिक सङ्घसंस्थाहरुसँग सरकारी स्तरमा र जनस्तरमा सम्बन्ध विस्तार र साहित्यिक आदान प्रदान एवम् विचार विनिमयमा व्यापकता ल्याउनु जरुरी छ । यसका साथै नेपालमै पनि अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन र अन्तरक्रियाका कार्यक्रम नियमित रूपमा आयोजना हुन आवश्यक छ । सरकारले यस क्षेत्रमा गर्ने लगानी साहित्यका साथै समृद्धिका अन्य अभियानका लागि पनि उपयोगी सिद्ध हुने छ ।
३.६ अनलाइन साहित्यको विकास
साहित्यिक समृद्धिको यात्रामा अनलाइन साहित्यको विकासलाई महत्त्व दिनु आवश्यक देखिन्छ । अहिले अनलाइनमा जनस्तरबाट केही साहित्यिक सामग्री राखिएका र प्रस्तुत गरिएका पाइन्छन् तर ती त्यति व्यवस्थित छैनन् । कुनै कुनै सामग्री त भद्दा र समाजलाई अहित गर्ने खालका पनि छन् । सर्जकहरु त्यसबाट आर्थिक रूपमा लाभान्वित हुन सकेको पनि पाइँदैन । यस स्थितिमा अनलाइन साहित्यको विकासबारे नयाँ ढङ्गले सोच्न आवश्यक छ । यस लेखको लेखकले यस वर्ष चीनको हानजाओमा भइरहेको अनलाइन साहित्यको गतिविधि देख्ने अवसर पाएको थियो । त्यहाँ अनलाइनमा लेखेर लेखकले करोडौँ रुपैयाँ आर्जन गरेको पाइयो । त्यसरी कमाइ रहेका लेखकहरुलाई भेट्ने मौका पनि जुरेको थियो र उनीहरुकै मुखबाट उनीहरुका सिर्जना र कमाइ दुबैबारे जान्न पाइयो । सरकारले उनीहरुलाई वास र लेखन कार्य गर्न कार्यालय समेत उपलब्ध गराएको रहेछ । त्यहीँ बसेर उनीहरु रचना गर्दा रहेछन् र ती रचना अनलाइनमा पोस्ट हुँदा रहेछन् । कार्डहरु प्रयोग गरेर पाठकहरुले शुल्क तिरी ती रचना पढ्दा रहेछन् । सरकारले आम्दानीको ३० प्रतिशत र लेखकले ७० प्रतिशत पाउने व्यवस्था रहेछ । सरकार पनि लाभान्वित हुने र लेखकले मनग्गे कमाइ गर्ने अनि पाठकले जहाँतहीँ समयको उपयोग गरेर आफूलाई मन पर्ने रचना पढ्न पाउने स्थिति निश्चय नै सबैका हितमा छ । अझ ती लेखकका रचना नजिकै रहेका चलचित्र र कार्टुन उद्योगहरुमा पनि प्रयोग गरिँदो रहेछर त्यहाँबाट पनि उनीहरुले लेखकस्व पाउँदा रहेछन् । यो तरिका हाम्रो सन्दर्भमा पनि लागु गर्नु उपयुक्त हुने देखिन्छ । साहित्यिक समृद्धिको यात्रामा यसलाई पनि समाहित गरिनु हितकर हुने छ । यसको व्यवस्थापन र नियमन कसरी गर्ने भन्नेबारे सरकारी तहमा तथा जनस्तरमा चिन्तन मनन गरी कार्यान्वयन गर्न आवश्यक छ ।
३.७ समाजको रूपान्तरणका निम्ति साहित्य
साहित्यले समाजको रूपान्तरणमा सशक्त भूमिका खेल्दै आएको छ । यसले समाजमा व्याप्त अन्याय, अत्याचार, थिचोमिचो, शोषण र उत्पीडनका विरोधमा आबाज बुलन्द गर्दै आएको छ । यी सबैको कारकका रूपमा रहेको कुशासनका विरोधमा समेत साहित्यिक क्षेत्रले जागरणको बिगुल फुक्तै धाबा बोलेको छ । राणाशासन र पञ्चायतको उत्पीडनबाट नेपाली समाजलाई मुक्त पार्न सर्जक र तिनका सिर्जनाले खेलेको भूमिकाबारे हामी सबै जानकार छौँ । यस क्रममा समाजमा चेतनाको दियो सल्काउने कैयन् साहित्यकारले ज्यान गुमाउनु पर्यो, कैयन्ले जेलनेलको यातना सहनु पर्यो र कैयन्ले देश छोड्नु पर्यो तर मुक्तिको अभियान रोकिएन ।त्यसले आन्दोलनको रूप लिँदै परिवर्तनका निम्ति प्रभावकारी भूमिका खेलि रह्यो । परिवर्तनका उपलब्धिको रक्षा गर्न समेत साहित्यको यस शक्तिले ठुलो बल पुर्याएको छ । समाजमा आएको परिवर्तनलाई सुदृढ तुल्याउन त्यो प्रतिबद्ध छ । परिवर्तनका विरुद्ध आउने कुनै पनि हाँकको सामना गर्न साहित्यकारको विशाल पङ्क्ति प्रतिबद्ध छ ।
अहिले पनि समाज अनेक समस्यामा जकडिएको छ । विपन्नताको भुमरीमा निसासिएर गाउँहरु रित्ता पार्दै मान्छेहरु विदेशी भूमिमा आँसुका आहालमा डुबिरहेका छन् । कुरीति, अन्धविश्वास, शोषण, उत्पीडन, वर्गभेद, जातिभेद, लिङ्गभेद आदिले समाजलाई डसिरहेका छन् । समृद्धिको यात्रामा हिँडिरहेको हाम्रो साहित्यिक आन्दोलनले यी अनेक समस्याबाट समाजलाई मुक्ति दिलाउन आफूले सङ्घर्ष गरेर ल्याएको शासन व्यवस्थाको सार्थक प्रयोग देख्न चाहेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका माध्यमबाट समस्याको निकास खोज्दै समुन्नत समाजको निर्माण गर्ने अभियानमा त्यो सहभागी भएको छ । साहित्यिक शक्तिको यथोचित सदुपयोगले मुलुकको समृद्धिको यात्रामा ठुलो सहयोग पुग्ने छ ।
३.८ भाषिक उत्थानका निम्ति साहित्य
भाषाहरुको संरक्षण र संवर्धनमा साहित्य सिर्जनाको महत्त्वपूर्ण भूमिका रहन्छ । मौखिक रूपमा रहेको भाषालाई दीर्घ कालसम्म टिकाउने काम साहित्यले गर्दछ । साहित्यिक स्रष्टाहरुले विभिन्न विधामा साहित्य लेखेर भाषिक विशेषताहरुलाई तिनमा बचाइ राख्तछन् । आज नेपालका कतिपय भाषामा ग्रियर्सनले आजभन्दा ९० वर्ष पहिले 'लिङ्ग्विस्टिक सर्भे अफ इन्डिया'मा अनुवाद गरेर समावेश गरेका कथाहरु पुरानो प्रयोगका भाषिक नमुना बनेका छन् । साहित्यिक अभिव्यक्तिमा लिपिबद्ध सामग्रीमा त्यस भाषाका शब्द, ध्वनि, रूप, पदावली, वाक्य, पाठ, उखान, टुक्का आदि जोगिइ रहन्छन् र सुदूर भविष्यसम्म भाषिक अध्ययनका सामग्रीका रूपमा सुरक्षित रहन्छन् । त्यसैले संसारमा रहेको कुनै भाषा पनि धर्तीबाट नबिलाओस् भन्ने चाहना राख्ने हो भने त्यस भाषाको साहित्यिक सिर्जनामा जोड दिनु पर्दछ । साहित्यका विभिन्न विधाले माग गर्ने भाषाको प्रयोगबाट शब्द भण्डारमा वृद्धि मात्र होइन, प्रयोगका अनेक बान्कीहरु पनि विकसित हुन्छन् । काव्यभाषा, गद्यभाषा, संवादको भाषा आदिले कुनै भाषा सम्पन्न हुनु त्यस भाषाको उन्नयनमा नयाँ आयाम थपिनु हो । त्यसैले साहित्यिक समृद्धिको यात्रामा हरेक भाषाप्रेमी र भाषिक अभियन्ताको चासो र सक्रियता रहनु स्वाभाविक हुन जान्छ । 'गोरखापत्र'का पाना, प्रज्ञा प्रतिष्ठानका प्रकाशन, मातृभाषिक र बहुभाषिक कविगोष्ठी तथा विभिन्न समुदायका साहित्यिक सांस्कृतिक सङ्घसंस्थाबाट भएका साहित्यिक गतिविधिहरुबाट भाषिक उत्थानमा बल पुगेको छ । साहित्यिक समृद्धिको यात्राले भाषिक उत्थानको बाटोलाई पनि फराकिलो पार्दै जाने छ ।
३.९ विकास निर्माणका निम्ति साहित्य
साहित्यकारले आफ्ना रचनामा सम्भावनाका अनन्त प्रदेश चहार्दछ । मान्छेका दुःख घटाउन उसले देखेका विकास निर्माणका सम्भावनालाई औँल्याएर गरिएका साहित्यिक सिर्जना एकातिर भेटिन्छन् भने अर्कातिर ऊ देशमा झलमल्ल बत्ती बलेको, बाटाघाटा र पुल निर्माण भएको, रेलमोटर कुदेको, बारीमा लहलह बाली झुलेको, ठाउँ ठाउँमा विद्यालय र अस्पताल खुलेको देखेर लट्ठिएको जस्ता वर्णन पनि त्यहाँ विद्यमान छन् । आफ्नै देशमा मान्छेले काममाम पाओस् र विदेशमा भौँतारिन नपरोस् भन्ने सदिच्छाका साथ देशमा विकासको दियो जलाउन कैयन् गीत, कविता र गद्य रचना गरिएका छन् । यसरी नै विकास निर्माणका गतिविधिहरु सञ्चालन भइरहेको अवस्थामा साहित्यकारले आफ्ना सिर्जना मार्फत उमङ्ग र उत्साह थप्ने काम पनि गरिरहेको भेटिन्छ । साहित्यिक भाषामा गरिएको अभिव्यक्ति अत्यन्त प्रभावशाली हुने हुँदा सुतेकालाई बिउँझाउन र उठेकालाई हिँडाउन साहित्यको तागत प्रयोग गरिन्छ । त्यसैले विकास निर्माणमा समृद्धिलाई निम्त्याउन साहित्यको सदुपयोग गर्न सकिन्छ । पूर्व पश्चिम रेलका गीतहरु हाम्रा कानमा पर्नु यसकै एक दृष्टान्त हो । विकासप्रेमी जन समुदायविकास निर्माणमा जनमत सिर्जना गर्न साहित्यले सशक्त भूमिका खेलेको देख्न चाहन्छ । विकास विरोधीहरु र विकासका धमिराहरुको साहित्यले उछित्तो काढ्दै पनि आएका छन् । विकासका नाममा हुने भ्रष्टाचार र भ्रष्टाचारीका विरोधमा साहित्यिक क्षेत्रले दरोसँग प्रतिवाद गरेको पाइन्छ । समग्रमा हेर्दा विकास निर्माणले समाजमा ल्याउने सुखसुविधा देखेर साहित्यकार आफ्ना रचनामा रमाएको र विकास विरोधी गतिविधि देख्नु पर्दा चिन्तित भएको पाइन्छ । विकास निर्माणको अभियान चलाएर मुलुकमा समृद्धि भित्र्याउने अभियानको साहित्यकार अभिन्न सहभागी हो भन्ने कुरा हृदयङ्गम गर्न आवश्यक छ । साहित्यकार प्रतिक्रियावादी सत्ताको विरोधी हुने भए पनि जनताको सत्ताको पक्षमा सक्रिय भूमिका निर्वाह गर्दै विकास निर्माणका निम्ति उत्प्रेरकको भूमिका पूरा गर्न सदा उद्यत रहन्छ ।
३.१० राष्ट्रिय पहिचानका निम्ति साहित्य
नेपाल सुदीर्घ ऐतिहासिक परम्परा तथा किसिम किसिमका सांस्कृतिक र प्राकृतिक सम्पदा भएको स्वतन्त्र र स्वाधीन मुलुक हो । विदेशी शक्तिहरुसँग यसले गरेको बहादुरीपूर्ण सङ्घर्षका अनेक गाथाहरु छन् । ती कतै मान्छेका मुखमा छन् भने कतै लिखित रूपमा सुरक्षित छन् । यसरी नै बुद्धको जन्मस्थल, सीताको धर्ती र सगरमाथाको देशका रूपमा यो सुपरिचित छ । बाल्मीकि, जनक, याज्ञबल्क्य, गार्गी आदिको विद्वत् परम्पराको उत्तराधिकार यसलाई प्राप्त छ । प्रकृतिले प्रदान गरेका अनेक खोलानाला, वनजङ्गल, झरना, भिरपहरा, जीवजन्तु र चराचुरुङ्गी अनि थरी थरीको हावापानी भएका हिमाल, पहाड र तराईका भिरपहरा, खोँच, बेंसी, उपत्यका र समथल मैदान यहीँ छन् । आर्य, मङ्गोल, आस्ट्रिक, द्रविड आदि सभ्यताको सम्मिलन भएको सांस्कृतिक विविधता यहीँ छ । हाम्रो साहित्यले यिनका बारेमा केही लेखेको छ र अझ धेरै लेख्न बाँकी छ । राष्ट्रिय पहिचानका यी विविध पक्षहरुलाई साहित्यिक समृद्धिको यात्राले समेट्तै अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि चम्किलो तुल्याउनु पर्दछ । हाम्रो साहित्यलेनेपालबाट परदेसिएका नेपालीलाई मात्र होइन, स्वयं विदेशीहरुलाई पनि यस भूमिप्रति आस्था जगाउने क्षमता विकसित गर्नु पर्दछ ।
३.११ आर्थिक समृद्धिका निम्ति साहित्य
आर्थिक अभावमा नेपालीहरु युरोप, अमेरिका, खाडी मुलुक, कोरिया, मलेसिया, भारत आदि देशतिर काम र कमाइको खोजीमा कुदिरहेका छन् । तिनलाई स्वदेशमा रोक्ने कलकारखानाको अभाव एकातिर खड्किँदो छ भने अर्कातिर स्वदेशमा श्रम गर्न लजाउने र विदेशमा जस्तोसुकै कठिन श्रम गर्न तयार रहने दरिद्र मनोवृत्ति पनि विद्यमान छ । आफ्ना गाउँघरका खेतबारी बाँझो राखेर बिदेसिनेहरुको सङ्ख्या बढेर गएको छ । यस स्थितिमा देशभित्र उद्योगको विकास गर्न उद्योगीहरु र सरकारको ढोका ढक्याउन आवश्यक छ । साहित्यले देशमा उद्योगको विकास गर्नेहरुको पक्षपोषण गर्नुका साथै देशभित्र श्रम गर्नेहरुले आफ्नो काममा गर्वको अनुभूति गर्ने वातावरण निर्माणमा योगदान गर्न सक्तछ । देशमा उद्योग सञ्चालन गर्नेहरु र देशभित्र श्रम गर्नेहरु दुबैको शिर ठाडो पार्ने साहित्यिक गतिविधि अहिलेको आवश्यकता बनेको छ । अहिले देशमा "जसरी पनि कमाऊ र मोजमस्ती गर" भन्ने चिन्तनको प्रभाव बढेको छ र शोषण, घुस, भ्रष्टाचार, तस्करी, अनाचार आदि गर्नेहरुको विलासी जीवन प्रतिष्ठित मानिने तथा श्रमिकहरुलाई अवहेलना गरिने प्रवृत्ति विद्यमान छ । हाम्रो साहित्यले यस चिन्तनलाई उल्ट्याउन सिर्जनाका वाण प्रहार गर्नु पर्दछ । श्रम र श्रमिकलाई सम्मान गरिने र अनैतिक कामको कमाइबाट प्रतिष्ठा आर्जन गर्न खोज्नेहरु दुत्कारिने संस्कृतिको निर्माण गरेर साहित्यको समृद्धिमा इटा थप्न सकिन्छ ।
राष्ट्रका प्राकृतिक र सांस्कृतिक सम्पदाको महिमा गाएर साहित्यले विश्वको ध्यान नेपालतिर आकर्षित गर्न सक्छ र विभिन्न देशका नागरिकहरुमा नेपाल भ्रमणका निम्ति रुचि जगाउन सक्तछ । पर्यटकहरुको आगमन बढ्दा हुने आर्थिक लाभको हिस्सेदार जनता र राष्ट्र दुबै हुने छन् । असल साहित्यिक कृतिहरु स्वदेशमा र आफ्नै भाषामा वा अनूदित रूपमा विदेशमा फैलिँदा आम्दानीका स्रोतका रूपमा रहने कुरा पनि मननीय छ ।
३.१२ मानवीय संवेदनाको अभिवृद्धिका निम्ति साहित्य
साहित्य, कला र संस्कृतिबाट नै मानवीय संवेदनाको अभिवृद्धि वा समृद्धि हुन्छ । मान्छेले यसबाट प्राप्त गर्ने ऊर्जाबाट उसले प्रगतिका अनेक पहाड उक्लिन सक्छ । यसकै प्रेरणाबाट उसले आफूलाई सुदृढ र सक्षम बनाउँछ । यसबाट नै मान्छेका आचारविचार र व्यवहार प्रभावित हुन्छन् ।साहित्यको अध्ययनका क्रममा मान्छे संसार चहार्दछ, भूत, वर्तमान र भविष्यतिर दृष्टि लगाउँछ र नव ज्ञान आर्जन गर्दछ । अनेक अनुभव र अनुभूतिको सागरमा उसले डुबुल्की लगाउँछ । मान्छेका दुःखसुखका कथाव्यथा र समाजको उतारचढाउको परिचय उसले पाउँछ । यी सबैबाट उसको मन मस्तिष्क खारिन्छ र एक योग्य र सबल नागरिक बनेर मान्छे कर्तव्यपथमा लम्रकिन्छ ।उसको योगदान समाज र राष्ट्रको समृद्धिमा अर्थपूर्ण र महत्त्वपूर्ण बन्दछ । यस अर्थमा मान्छे सशक्त र उन्नत तुल्याउन साहित्यको विकास अनिवार्य छ र त्यसका निम्ति हाम्रा भाषाहरुमा प्रभावकारी कामहरु हुनु पर्दछ ।
४.निष्कर्ष
नेपालका विभिन्न भाषाहरुको साहित्यिक अवस्थाको सामान्य सर्वेक्षण गर्ने प्रयत्न यहाँ गरिए पनि समय सीमा र अध्ययनको सीमितताले गर्दा यसले पूर्णता पाउन नसकेको अनुभूति भएको छ । नेपालका हरेक भाषाको अवस्थाको वर्णन एउटै गोष्ठीपत्रमा सम्भव हुन गाह्रै पनि छ । यहाँ जे जति जानकारी बटुल्न सकियो त्यसबाट प्राप्त तथ्यहरुले के देखाएका छन् भने नेपालका विभिन्न भाषाहरुमा आशालाग्दो किसिमले साहित्यको विकास भएको छ र हुँदै छ । नेपाली, नेपाल भाषा र मैथिली भाषामा अरू भाषाका तुलनामा साहित्यको विकास बढी भएको छ र साहित्यका प्रायः सबै विधाले तिनमा प्रवेश पाएका छन् । अरू भाषाहरुमा राणाकाल र पञ्चायत कालमा खासै गतिविधि हुन नसकेको र वि.सं.२०४६ र अझ २०६२|०६३ को आन्दोलनपछि साहित्य यात्राले गति लिएको पाइन्छ । तिनमा खास गरेर लोक साहित्यको खोजी र प्रकाशन, कविता, गीत, गजल, कथा, निबन्ध र नाटकको सिर्जना भएको पाइन्छ । कुनै कुनै भाषामा महाकाव्य, खण्डकाव्य र उपन्यास सम्म पनि लेखन विस्तारित भएको छ । समालोचनाले हझ धेरै भाषामा प्रवेश पाउन सकेको छैन । राउटे, कुसुन्डा, चेपाङ, कुशबाडिया, खुना, सोना, बोटे, राजी, काइके आदि र राई समूहका केही भाषामा अझै साहित्य सिर्जना हुन सकेको छैन । तिनका वक्तालाई पनि साहित्यको स्वाद चखाउन र साहित्य लेखनतिर प्रवृत्त गराउन आवश्यक छ । साहित्य लेखिएका भाषाहरुमा सबै विधाका रचनाहरुको सिर्जनाका लागि अभियान एकातिर आवश्यक छ भने गुणस्तरका लागि विधागत चेतना तथा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय साहित्यबाट सिक्तै समृद्धिका दिशामा अगि बढ्नु पर्ने स्थिति छ । साहित्य स्वयम् उन्नयन र विकासको बाटोमा हिँड्नु समृद्धिको यात्राको एक पक्ष हो भने यसलेराष्ट्रियता सम्बन्धी, सांस्कृतिक, आर्थिक, भाषिक, विकास निर्माण सम्बन्धी आदि विभिन्न पक्षको समुन्नयन र परिष्कारमा सहयोगीको भूमिका पूरा गर्नु पनि समृद्धिको यात्राको अर्को पाटो हो । नेपालका भाषाहरुका साहित्यिक गतिविधिहरु समृद्धिका यी दुबै पक्षहरुसँग सम्बन्धित छन् ।
सन्दर्भ कृति सूची
अकेला, गङ्गाप्रसाद (२०६५), मैथिली भाषाको वर्तमान साहित्यिक अवस्था र समस्या, राष्ट्रिय साहित्य सङ्गोष्ठी-२०६४, काठमाडौः नेपाल प्रज्ञा प्रतिष्ठान, पृ.१३३-१४९ ।
आप्टे, वामन शिवराम ( इ.१९६९), संस्कृत-जिन्दी कोश, दिल्ली मओतीलाल बनारसीदास पब्लिसर्स प्रा.लि. ।
एटम, नेत्र ( २०७२ ), "डायस्पोरिक नेपाली साहित्यको उपलब्धिको सर्वेक्षण", नेपाल प्रज्ञा प्रतिष्ठान र गैरआवासीय नेपाली सङ्घको सहकार्यमा काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा प्रस्तुत कार्यपत्र ।
काइँला, बैरागी र तुम्याहाङ, अमर (२०६५), लिम्बू भाषाको वर्तमान साहित्यिक अवस्था र समस्या, राष्ट्रिय साहित्य सङ्गोष्ठी-२०६४), काठमाडौः नेपाल प्रज्ञा प्रतिष्ठान, पृ.८५-९७ ।
काःतिच, कोइँचबु(उत्तम सुनुवार, २०७५) , "कोइँच मातृभाषाको साहित्यको इतिहास", नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रस्तुत अप्रकाशित अनुसन्धान प्रतिवेदन ।
गिरी, जीवेन्द्र देव (२०७२), "नेपालमा भाषा व्यवस्थापनका निम्ति भाषानीति", साहित्य कोसेली २२, पृ.२२-५४ ।
गुरुङ, तेजबहादुर (२०७५), "गुरुङ साहित्यको इतिहास", नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रस्तुत अप्रकाशित अनुसन्धान प्रतिवेदन ।
गुरुङ, रत्नबहादुर (२०६५), गुरुङ भाषाको वर्तमान साहित्यिक अवस्था र समस्या, राष्ट्रिय साहित्य सङ्गोष्ठी-२०६४, काठमाडौः नेपाल प्रज्ञा प्रतिष्ठान, पृ.७०-७४ ।
चाम्लिङ, तिलक (२०७५), "चाम्लिङ साहित्यको इतिहास", नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रस्तुत अप्रकाशित अनुसन्धान प्रतिवेदन ।
चौधरी, महेश (२०६५), थारु भाषाको वर्तमान साहित्यिक अवस्था र समस्या, राष्ट्रिय साहित्य सङ्गोष्ठी-२०६४, काठमाडौः नेपाल प्रज्ञा प्रतिष्ठान, पृ.१६१-१८२ ।
ठाकुर, गोपाल र गुप्ता, दिनेश (२०६५), भोजपुरी भाषाको वर्तमान साहित्यिक अवस्था र समस्या, राष्ट्रिय साहित्य सङ्गोष्ठी-२०६४), काठमाडौः नेपाल प्रज्ञा प्रतिष्ठान, पृ.१५१- १६० ।
ताम्राकार पूर्ण(२०५९), "नेपाल भाषामा प्रगतिशील साहित्यको स्थिति र प्रवृत्ति", प्रलेस, वर्ष ६, अङ्क १२, पृ.४३-५० ।
तुलाधर, प्रेमशान्ति (२०७०), नेपालभाषा साहित्यको इतिहास, काठमाडौःनेपाल प्रज्ञा प्रतिष्ठान ।
थापा मगर, लोकबहादुर(२०६५), मगर भाषाको वर्तमान साहित्यिक अवस्था र समस्या, राष्ट्रिय साहित्य सङ्गोष्ठी-२०६४), काठमाडौः नेपाल प्रज्ञा प्रतिष्ठान, पृ.९८-१०३ ।
नेपाल सरकार (२०७२), नेपालको संविधान, काठमाडौः कानून किताब व्यवस्था समिति ।
पाठक, विश्वनाथ र त्रिपाठी, विक्रममणि (२०६५),अवधी भाषाको वर्तमान साहित्यिक अवस्था र समस्या, राष्ट्रिय साहित्य सङ्गोष्ठी-२०६४), काठमाडौः नेपाल प्रज्ञा प्रतिष्ठान, पृ.१८३-१५१ ।
पोखरेल, बालकृष्ण र अन्य(२०७५), नेपाली बृहत् शब्ब्दकोश, दसौँ संस्करण, काठमाडौः नेपाल प्रज्ञा प्रतिष्ठान ।
प्रधान, नर्मदेश्वरमान (२०६५), नेपाल भाषाको वर्तमान साहित्यिक अवस्था र समस्या, राष्ट्रिय साहित्य सङ्गोष्ठी-२०६४), काठमाडौः नेपाल प्रज्ञा प्रतिष्ठान, पृ.७५-८4 .
बन्धु र अन्य (२०६०), नेपाली साहित्यको इतिहास, काठमाडौः नेपाल प्रज्ञा प्रतिष्ठान ।
भट्ट, पञ्चमराज(२०७५), "डोट्याली शब्दको इतिहास", नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रस्तुत अप्रकाशित अनुसन्धान प्रतिवेदन ।
मुकारुङ, राजन र चाम्लिङ भोगिराज(२०६५),राई नेपाली भाषाको भाषाको वर्तमान साहित्यिक अवस्था र समस्या, राष्ट्रिय साहित्य सङ्गोष्ठी-२०६४), काठमाडौः नेपाल प्रज्ञा प्रतिष्ठान, पृ.१२४-१३२ ।
योन्जन तामाङ अमृत (२०७५), "तामाङ साहित्यको इतिहास", नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रस्तुत अप्रकाशित अनुसन्धान प्रतिवेदन ।
राई, गणेश(२०७५), "किरात वाम्बुले राई र मातृभाषा साहित्य", नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रस्तुत अप्रकाशित अनुसन्धान प्रतिवेदन ।
राई, पदम(२०७५), "बान्तवा साहित्यको इतिहास", नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रस्तुत अप्रकाशित अनुसन्धान प्रतिवेदन ।
राजवंशी, प्रितमकुमार,(२०७५), "राजवंशी साहित्यको इतिहास", नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रस्तुत अप्रकाशित अनुसन्धान प्रतिवेदन ।
लाफा मगर, सञ्जोग (२०७५), " मगर साहित्यको इतिहास", नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रस्तुत अप्रकाशित अनुसन्धान प्रतिवेदन ।
सर्वहारी, कृष्णराज(२०७३), थारू साहित्यको इतिहास, काठमाडौः नेपाल प्रज्ञा प्रतिष्ठान ।

Comments
Post a Comment