झुल्किन्छ घाममा झल्केको गिरीको कवित्व
प्रा.डा. कपिल लामिछाने
जब भाव वा विचारलाई निश्चित या अनिश्चित लयढाँचामा कलात्मक विशिष्ट भाषाशैलीमा प्रस्तुत गरिन्छ, तब त्यो कविता हुन्छ । भावको उद्रेक नभई कविता हुँदैन । भावको उद्रेक भएका कविताले मात्र भावकको मन छुन्छ । त्यस्तो कवितामा मात्र सहृदयीको मन रमाउँछ । त्यस्तो कवितामात्र चिरस्थायी र कालजयी हुन्छ । कुनै कविता पढेसुनेर मन लोभिनु र कुनै कविता पढ्दा नाक खुम्चिनुको पछाडिको मुख्य कारण पनि यही हो ।
कवि जीवेन्द्र देव गिरी (२००९) का कविता भावनाको उद्रेकका अवस्थामा रचिएका पढिरहूँ पढिरहूँ लाग्ने कविता हुन् । उनलाई भाषा, लोकसाहित्य र बालसाहित्यको अध्ययन अनुसन्धान तथा वैचारिक क्षेत्रमा अहोरात्र खटिरहँदा सिर्जनाका लागि अवश्य पनि पर्याप्त समयको अभाव भइरह्यो । सिर्जनशक्तिको सामर्थ्यले गर्दा त्यस्तो प्रतिकूलताका बीचमा पनि कविताहरू लेखिए, गीतहरू रचिए र बेलाबेलामा वाचन हुँदै, गाइँदै र फुटकर रूपमा प्रकाशित हुँदै आए । गिरी एक प्रखर कवि तथा गीतकार हुँदाहुँदै पनि एक भाषाशास्त्री र समालोचकका रूपमा मात्र चिनिए । अन्य व्यक्तित्वको दोछायाँमा परे पनि उनको कवि व्यक्तित्व त्यत्तिकै प्रखर रहेको छ । पातलो गरी भए पनि उनको काव्यसाधनामा पाँच दशकभन्दा बढीको निरन्तरता समेत देखिन्छ । झुल्के घाम (कविता सङ्ग्रह) यसको एक ज्वलन्त र ठोस प्रमाण हो ।
झुल्के घाममा काव्यविधाका बालकविता, कविता र गीतिकविता गरी चार दर्जनभन्दा बढी रचना सँगालिएका छन् । यी रचनाहरू व्यस्तताका बीचमा भावनाको उद्रेकको घडीमा रचिएका र जीवनको उत्तरार्धपछि फुर्सदमा सँगालिन आएका हुन् ।
सङ्ग्रहमा सँगालिएका 'आँटी छोरो’,'‘झिलिमिली बिजुली’, 'हाम्रो छाना खेती’,'‘हाम्री सानी नातिनी’,'‘काग मेरो साथी’, 'हा कौवा हा’, 'चल्ली चिच्याई’, 'हाम्रो खेल्ने ठाउँ’, 'अन्त्य हुन्छ कोरोना’ र ‘बाबा विदेश जानु भो’ गरी दशवटा रचना बालकविताका रूपमा रहेका छन् । यी २०५४ देखि २०७७ कार्तिकसम्ममा रचना गरिएका देखिन्छन् । यी बालकविताहरू लोकलयाश्रित छन् । यिनमा राष्ट्रप्रेम, पशुपन्छीप्रेम, समानताको चाह र आशावादी विचार सम्प्रेषण भएको छ । 'आँटी छोरो’ सबैभन्दा छोटो लयमा रहेको छ । यसमा २++२=४ गरी चार अक्षरको एक हरफ र त्यस्ता चार हरफको एक पङ्क्तिपुञ्ज बनाइएको छ । जस्तैः
ओरोदोरो २ ++२= ४
आँटी छोरो २ ++२= ४
सीमा हेर्न २ ++२= ४
चढ्यो घोडो २ ++२= ४
'बाबा विदेश जानु भो’, 'काग मेरो साथी’ र 'अन्त्य हुन्छ कोरोना’ आदिमा २ ++२++३= ७ को लयढाँचा रहेको छ । सो लयढाँचामा 'काग मेरो साथी’मा समताको चाह यसरी प्रकट भएको छः
कालो सेतो भन्दिन २+२++३= ७
भेदभाव जान्दिन २ ++२++३= ७
काग मेरो साथी तँ २ ++२++३= ७
उड्दै आइज भेट्छु म २ ++२++३= ७
गिरीका बालकविता लय, भाव र प्रस्तुतिका दृष्टिले बालोपयोगी देखिन्छन् । यिनमा बालरुचिअनुरूपको विषययचन गरिएको छ; सरल एवम् बालबोली र बोधगम्य झर्रा शब्दको उपयोग भएको छ; लोकमा प्रयोग भईभई निखार पाएका लोकलयको प्रयोग भएको छ । यसले गर्दा गिरीका बालकविता रमाइला तथा प्रभावकारी भएका छन् ।
कवि गिरी खप्पिस छन्दकविले झैँ छन्दमा कविता लेख्न पोख्त देखिन्छन् । 'सुन्दर’, 'बज्यैको सम्झना’, 'समर्पण’, 'आस्था र श्रद्धा’, 'सहिद’,'‘मिथ्यावादी’, 'छोरासित कुरा’, 'युगीन मति’ र 'जा कोरना' कविता क्रमशः शार्दूलविक्रीडित, शिखरिणी, अनुष्टुप्, मन्दाक्रान्ता, इन्द्रवज्रा, मन्दाक्रान्ता, शार्दूलविक्रीडित, शार्दूलविक्रीडित र शार्दूलविक्रीडित छन्दमा रचिएका छन् । यी कवितामध्ये अधिकांश २०५३ देखि २०६३ को दशकमा रचिएका हुन् । यिनमा सौन्दर्यप्रतिको दृष्टिकोण, सत्यप्रति निष्ठा, देशप्रेम, श्रमिकप्रति सहानुभूति, सहिदप्रति सम्मान, झुठ्ठाहरूलाई दुत्कार, पुत्रको सम्झना, कोरोनाप्रति घृणा आदि कथ्यविषय पाइन्छ । उनका यी छन्दकविता छन्दानुशासन, छन्दको मर्यादा र छन्दको ओज कायम गर्दै भाव वा विचार सम्प्रेषण गर्न सक्षम देखिन्छन् । उनमा छन्दमा लेख्दा छन्दको अनुशासन परिपालन गर्नुपर्छ भन्ने हेक्का देखिन्छ । छन्दमा कविता लेख्दा उनले मात्र श्लोक लेखेका छैनन्; तिनमा उच्च लालित्यपूर्ण कवित्व मुखरित भएको छ । छन्द कविता एक श्लोके मुक्तकदेखि छ श्लोकसम्म विस्तारित छन् । 'सुन्दर’ कवितामा क्रान्तिको सौन्दर्यलाई उनले यसरी व्यक्त गरेका छन् ः
हाँक्तै यो युगलाई ज्यान कतिका हाँस्तै हिँडे पल्तिर
बाल्दै ती भरिला अतीव झरिला राँकाहरू झर्झर
त्यो सङ्क्रान्तिसँगै सहीद हँसिला कस्ता अहा सुन्दर !
तोड्ने बन्धन लाख जन्जिरहरू हो क्रान्ति झन् सुन्दर
उनका ‘परदेशीलाई’ 'किन ?’ र 'सहिद कति महान् !’ गरी तीन कविता लोकछन्दमा रचना भएका छन् । 'परदेशीलाई’ सामान्यतया ३++२, ३++२, ३+३ को मझौला झ्याउरे छन्दमा तथा ‘किन ?’ र 'सहिद कति महान् !’ कविता २++२++२++२+२+२++२ == १४ को गीतिलयमा रचिएका छन् । यिनमा देश र देशलाई आफूलाई भन्दा बढी माया गर्ने सहिदलाई स्मरण गरिएको छ ।
बालवयमा उनी लोकगीतिलयमा रमाएको पाइन्छ । 'जुन अवस्थामा छौं दाजुभाइ’ गीतिकविता २०२० सालमा रचना भएको पाइन्छ । सम्भवतः यो नै उनको पहिलो रचना पनि हो । यसले उनी सोरसत्र वर्षे किशोर वयमै साहित्यमा रमाउन थालेको देखिन आउँछ । यसका साथै 'छोरीको इच्छा’, 'परिवार नियोजन’, 'मेहनती किसान’, 'उठ न किसान’, 'जुत्ता सिउने ए सार्की दाइ’, 'खोर्के खोला इत्राम खोला’, 'झुल्के घाम’, 'जाँदै छ रातको कालो’, 'सिङतिखे साँढे’, 'रोउला धुरुक्क’, 'लाग्छ रातो घाम’, 'जबज प्यारो’, 'लोकतान्त्रिक गणतन्त्र नेपाल’ र 'सम्झनामा टुक्राटुक्री’ पनि गीतिकविताका रूपमा रहेका छन् । यी गीतिकविता विभिन्न लोकछन्दमा रचिएका छन् । यिनमा सहिदको स्मरण, समानताको चाहना, परिवार नियोजनको आवश्यकता, किसानको महिमा, अन्यायको जालो फाल्न किसान उठ्नु पर्नेमा जोड, आफ्नो श्रमको रक्षाका लागि श्रमजीवीलाई एक जुट हुन आह्वान, नेतृत्वलाई चेतनाको बिगुल फुक्न आह्वान, समाजवादी कम्युनिस्ट सरकार स्थापनाको चाहना, उग्र दक्षिणपन्थ र उग्र वामपन्थभन्दा मध्यममार्गी जनताको बहुदलीय जनवादी धारा उपयुक्त भएको धारणा, देशको मुहार फेर्न लोकतान्त्रिक गणतन्त्रको आवश्यकतालाई कथ्यवस्तु बनाइएको छ ।
उनको 'हा हा भन न’ गीतिकविता मेचीमहाकाली साहित्यिक सद्भावयात्राका क्रममा पङ्क्तिकारले उनकै प्रस्तुतिमा सुनेको तथा अन्य कतिपय कवितागीत पढ्ने अवसर पाएको हो ।
अनिश्चित आन्तरिक लय संयोजन गरी भावलाई प्रस्तुत गरिने कवितालाई गद्यकविता भनिन्छ । यसमा शास्त्रीय र लोक छन्दमा जस्तो लयानुशासन नभई स्वतन्त्र किसिमको अन्तर अनुशासनद्वारा लयको तर्जुमा गरिएको हुन्छ । गिरीको कलम यता पनि त्यत्तिकै मात्रामा चलेको पाइन्छ । 'मेरी कवितालाई सन्चो छैन’, ' खै के लेखुँ म कविता ?’, 'म त काठमाडौँ भएको छु’, 'होसियार’,'‘मुस्कान अझै छरिएन’, 'ज्योतिर्मय सूर्य’, 'किन बाँचेनन् यहाँ डिलारामहरू ?’, 'आजको विवेकी मान्छे म’, 'म लोकवार्ता’, 'श्रद्धाञ्जली त्यो विलुप्त किशोरप्रति’ आदि कविता गद्यकविताका रूपमा रहेका छन् । यिनमा जनमनका दर्द पोखिएको छ; अँध्यारो वा अन्याय र अत्याचार हटाउन मुस्कान वा सूर्य वा घामको अपेक्षा गरिएको छ; उज्यालो देखी नसहनेबाट सचेत गराइएको छ; देश र समाजका निमित्त उत्सर्ग गर्नेहरूको स्मरण गरिएको छ । साथै यिनमा लोकवार्ताको महत्त्व दसाईएको छ र काठमाडौँवासीको पीडा देखाएको छ । यिनमा भाव नअड्कीकन प्रवाहशील भएर सलल्ल बगेको छ ।
२०७७ असोजको अन्तिम साता उनी कोरोना महामारीको चपेटामा पर्न पुगे । उनलाई कोरोना भाइरस कोभिड नाइन्टिनले आक्रमण गर्न पुग्यो । उनी त्यससँग जुधे । गङ्गालाल हृदय केन्द्रमा भर्ना भए । अस्पताल, चिकित्सक र आत्मबलले गर्दा उनले कोरोनालाई पछारे र उनी तङ्ग्रिए । उनी जस्तै राम विनय पनि कोरोनाको सङ्क्रमणमा परे र उठे । यही अवधिमा उनले कोरोनालाई जोडेर गद्यलयमा पाँचवटा कविता लेखेर केही अक्टोबर १६ र १७ मा फेसबुक स्ट्याटसमा राखे भने केही अन्य विभिन्न अनलाइन पत्रिकामा प्रकाशित भए । त्यस्ता कविता हुन्, 'बेड नं.३०४ बाट’, 'राम विनय दाइ’, 'ग्राउन्डेड जहाज मर्मत भएको छ’, 'प्रिय जीवनसँगिनीसँग’ र 'अपिल’ । यिनमा महामारीको प्रकोप, त्यसको भयङ्करता र त्यससितको जुधाइ, सरसहयोग र आत्मविश्वास तथा आत्मविजयको उद्घोष पाइन्छ । सहयात्री स्रष्टा राम विनयलाई हौसला दिइएको छ । एउटा ग्राउन्डेड जहाजलाई सर्वाङ्ग मर्मत गरेर सुचारु चल्ने बनाएझैँ आफू स्वस्थ भएको बताइएको छ । आफू कोरोनासँगको लडाइँमा विजयी भएर आउने दृढता प्रकट गर्दै जीवनसँगिनीलाई आश्वस्त पारिएको छ र कोरोनाको यस कठिन घडीमा पनि र टुटफुटमा नलागी तथा कत्ति विचलित नभई अझ एकताबद्ध भएर लाग्न पार्टीपङ्क्तिलाई अपिल गरिएको छ ।
'म त काठमडौँबासी भएको छु’, 'मुस्कान अझै छरिएन’, 'आजको विवेकी मान्छे म’ जस्ता गद्यकवितामा समस्यापूर्ति शैली देखापरेको छ । समस्यापूर्ति नेपाली पद्यसाहित्यको माध्यमिक कालीन एक प्रवृत्ति हो, जुन आधुनिक नेपाली कविले पनि यदाकदा अँगाली आएका छन् । गिरीको कलम यता पनि कुदेको छ ।
विचारमा प्रगतिशीलता, शैलीमा लोकशैलीको अनुसरण, भाषामा सरलता, देशप्रेम, स्वजातिप्रेम, निम्नवर्गीय पक्षधरता गिरीका गीतिकविता, बालकविता र कविताका विशेषता हुन् । देश र समाजप्रति उनी आफू कोरोनामा हुँदा समेत उत्तिकै जिम्मेवार र चिन्तित देखिन्छन् ।
गद्यमा जेतेमेते लेखेर गद्यकविता बन्दैन । लामो समयसम्म यस कुरोको पैरवी र प्राध्यापन गरेका गिरीमा यसको राम्रो हेक्का छ । त्यसैले पनि उनका गद्यकवितामा अन्तर्लय र अनुप्रासको उचित प्रयोग भएको छ । यसले गर्दा उनका गद्यकविता सुपाठ्य र चिरप्रभावी हुन पुगेका छन् । उदाहरणार्थ 'म त काठमडौँबासी भएको छु’ कविताको प्रथम पङ्क्तिपुञ्ज हेरौँ ।
ताजा केही चाहिँदैन
स्वच्छ हावा खाइँदैन
दुर्गन्धमै रमाउने गरेको छु
सफा पानी पाइँदैन
लेदो पानीमै अभ्यस्त भएको छु
बारीको हरियो फाप्तैन
बासीमै छाक टार्ने गरेको छु
दाल भात डुकु मात्र हैन साथी
गुन्द्रुकको झोल पनि पचाउन नसक्ने भएको छु
म त काठमाडौँवासी भएको छु ।
... ... ....
यहाँ एकै ठाउँमा कविता, बालकविता र गीत सँगालिएका छन् । कुरा काट्नेका लागि यो एउटा मसला पनि हुन सक्ला । एउटै पुस्तकमा कविता, बालकविता र गीत पढ्न पाउँदा रमाउने पनि उत्तिकै हुनेछन् । कवि गिरीको कवित्व र काव्ययात्राको अनुशीलन तथा अनुसन्धान गर्न खोज्नेका लागि भने यो ठुलो अनुसन्धेय सामग्री हुन आएको छ ।
समग्रमा भन्नुपर्दा झुल्के घामबाट कवि जीवेन्द्र देव गिरीको कवि व्यक्तित्व प्रस्ट झल्केको देखिन्छ । उनका कविता र गीतमा समयको स्पन्दन छ; समानता, स्वतन्त्रता र मावनताको राग छ; मानवताप्रति अनुराग छ; तल्लो वर्ग, श्रममा जिउने वर्ग, नारी, विभिन्न जातजातिप्रति सम्मान छ; देशका लागि बलिदान गरेका सहिदप्रति श्रद्धा छ; हुनेखानेले हुँदा खानेहरूप्रति गरेको अन्यायप्रति विद्रोह छ । यस्तो वर्गीय पक्षधरता, समानता, स्वतन्त्रता र प्रगतिवादी विचारलाई उनले कतै लोकछन्दमा, कतै शास्त्रीय छन्दमा, कतै गद्यलयमा र कतै लोकगीति लयमा कविता र गीतको रचना गरी प्रस्तुत गरेका छन् । उनका यी बालकविता, कविता र गीतमा विचार वा कथ्यवस्तु र प्रस्तुतीकरण वा शिल्पशैलीमा सुन्दर शालीन सन्तुलन पाइन्छ । उनमा विचारको प्रस्टता छ र त्यस्तो विचार जति कलात्मक रूपमा प्रस्तुत गर्न सकियो त्यसको सम्प्रेषण त्यत्तिकै प्रभावकारी हुन्छ भन्ने कुरामा समेत सचेतता रहेको छ । यसले गर्दा उनका कविता, बालकविता र गीत पठनीय, गेय र चिरप्रभावी हुन पुगेका छन् ।
कवि गिरीको काव्ययात्राको उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभेच्छा प्रकट गर्दछु ।
०००
भैरहवा, २०७७ कार्तिक १९
|
"झुल्के घाम"बारेमा दुईचार कुरा जीवेन्द्र देव गिरी नेपाली साहित्यमा चिर परिचित नाम हो । उहाँका नेपाली वाङ्मयसँग सम्बन्धित थुप्रै कृतिहरू प्रकाशित भइ सकेका छन् । उहाँ भाषा, लोक साहित्य, समालोचना र जीवनी लेखनमा स्थापित रचनाकार हुनु हुन्छ । उहाँका केही संस्मरण, निबन्ध, कविता र कथा पनि फाट्टफुट्ट पत्रिकाहरूमा छापिने गर्दथे जसले उहाँलाई समीक्षक मात्र नभएर सर्जक समेत रहेको कुरालाई पुष्टि गर्दथ्यो । जीवन भोगाइका क्रममा सँगालिएका अनुभवहरू र तिनै अनुभवलाई आधार बनाई रचिएका कविता ( गद्य र पद्य दुबै विधाका), बालकविता र गीति कविताको संयुक्त सङ्ग्रहका रूपमा प्रकाशित हुन थालेको यस " झुल्के घाम"का बारेमा म समीक्षा गरेर केही भूमिका लेख्तै छैन । यसका बारेमा विद्वान् साथीहरूले विश्लेषणात्मक समीक्षात्मक भूमिका लेख्नु हुने नै छ । म केवल यस कृतिका कृतिकारका बारेमा आफूले जानेसुनेका र त्यसका भरमा आफूले सर्जकबारे बनाएका धारणाहरूलाई यस छोटो लेखमा समावेश गर्न चाहन्छु । मिति : २०७७-६-२५
|
|
यति कुरा भन्न मन लाग्यो
मैले गीत गुनगुनाउन मलाई हुर्काउने मावली बज्यै सन्तु भारतीका काखमा सिकेको हुँ । पछि मेरा पितामा पनि गीत गाउने कला भएको जानकारी मैले पाएँ । खास गरी फागका भाखामा सैरेलीसँग दोहोरी गाउँदा बाको खोजी हुने गर्दो रहेछ । उहाँ लोकगीत सिर्जना गर्न पनि सिपालु हुनुहुन्छ भन्ने कुरा छोरेटीहरुका तर्फबाट उनीहरुका प्रेमीलाई पठाउन उहाँले लेखिदिएको एउटा लोक लयात्मक प्रेमपत्र पढेपछि मैले जानकारी पाएको थिएँ । बाल्यकालका यिनै कुराले सायद लोकगीतप्रति मेरो रुचि जगाएको हुनु पर्दछ । विद्यालय पढ्नेताक शुक्रबारे सांस्कृतिक कार्यक्रममा रचना सुनाउनु पर्थ्यो । त्यसनिम्ति केही लेख्नु पर्दा धर्मराज थापाको झ्याउरे लयले तानेको म सम्झन्छु । सायद उनकै प्रभावमा मैले वि.सं.२०२० मा "जुन अवस्थामा छौँ दाजु भाइ" शीर्षकको गीत पहिलो पटक लेखेँ । वि.सं.२०२१-०२२ तिर भूमिसुधारको प्रचारमा आउनु भएका प्रेमप्रकाश मल्लका गीतहरु उनकै मुखबाट सुनेपछि झन् गीतप्रतिको रुचि जाग्न गयो । यस्तैमा दसैँको वेला आफ्नो गाउँमा नाटक सहित सांस्कृतिक कार्यक्रम हुन थाल्यो र मैले नाचगानमा पनि भाग लिने गर्न लागेँ । यस्तै कार्यक्रममा 'टोपी ढाँकाले', 'परिवार नियोजन' जस्ता आफूले रचना गरेका गीतमा भाइ प्रेमदेव गिरीसँग नाचेको म सम्झन्छु । विद्यालय शिक्षक भएर सुर्खेतको सिम्ता र सल्यानको बन्गारका गाउँमा पुगेपछि शिक्षा र विकास निर्माणका केही गीत लेखेँ । 'छोरीको इच्छा', 'पुल बनाऊँ बादेपिपल', 'पढौँ दाजु देश बनाऊँ' जस्ता गीत यसै वेला लेखिए । विद्यालय शिक्षक भएकै वेला म वाम राजनीतिमा प्रवेश गरेँ । २०२० को दशकको अन्त्यतिर मोदनाथ प्रश्रितको 'पचास रुपियाँको तमसुक'का गीतहरू पढ्न पाएँ जसले मलाई अत्यन्त प्रभावित गरे । त्यसै वेला बाँकेलाई कार्यक्षेत्र बनाएर काम गर्न थालेपछि सुकुमवासी किसानहरुसँग नजिक भएँ । 'मेहनती किसान', 'उठ बहिनी निर्मला' जस्ता गीत यसै वेला लेख्न पुगेँ ।
बाँकेपछि पुनः वि.सं.२०३१मा सुर्खेत उपत्यका मेरो कार्यथलो बन्यो । विद्यालयमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने क्रममा गुरु लीलाधर गौतम तथा महेन्द्रप्रसाद गिरी, बालाराम शर्मा लगायतका साथीहरुसँग काम गर्दा केही गीत जन्मिए । 'जुत्ता सिउने ए सार्की दाइ', 'पढ्ने वेलैमा', 'खोर्के खोला इत्राम खोला', 'उठ न किसान' जस्ता गीत यसै वेलाका हुन् । आफू घरमा नभएको वेला सुर्खेतमा चर्चित पोस्टर काण्ड नामक राजनीतिक घटना घट्यो । केही साथीहरु पक्रिएको र आफू समेतलाई पक्राउपुर्जी जारी भएको थाह पाएपछि मेरा माथि उल्लिखित लगायत सबै रचना परिवारका सदस्यहरुद्वारा खाल्डामा पुरिन गए । लेखेका कुराहरु सुरक्षित नरहेपछि मनमा ठुलो ठेस लाग्यो । केही समय कलमले पनि विश्राम गर्यो । त्यसैले पहिलेका केही रचना र केहीका 'टुक्राटाक्री' मात्र यहाँ सम्झनाका भरमा प्रस्तुत हुन सके । आफू काठमाडौँ आएपछि फाट्टफुट्ट लेखेर प्रकाशनका लागि पठाएका रचना पनि खासै छापिन सकेनन् । यसले गर्दा केही रद्दीको टोकरीमा पुगे भने केहीले प्रकाशनको सहज वातावरण आएपछि सार्वजनिक हुने मौका पाए । पछिल्लो समयमा पनि सामाजिक जागरणका सन्दर्भमा र चुनाबका अवसरमा आफूले केही गीतहरु कोरेको थिएँ । यी सबैलाई एकमुस्ट रूपमा जनताका पोल्टामा पुर्याउनु उपयुक्त हुन्छ भन्ने लागिरहेको त थियो तर समय जुरेको थिएन । अहिले गीतका रूपमा गुनगुनाउन अथवा वाचन गर्न मिल्ने रचना जतिलाई गीति कविताका रूपमा यहाँ प्रस्तुत गरेको छु ।
यी गीति कविताको सम्बन्ध आफूले गरेका शिक्षण कार्य, कृषिकर्म तथा आफू गाँसिएको चिन्तन र राजनीतिसँग छ । यीमध्ये कतिपय आफैले र कतिपय अन्य साथीहरुले समाजका अगिल्तिर पस्किसक्नु भएकाले यिनमा मेरो मात्र नभई समाजको पनि हक लाग्दछ भन्ने म ठान्दछु । सुर्खेतका र सुर्खेत बाहिरका विभिन्न पत्रिकामा यिनको प्रकाशन भएको छ । साथी उदय श्रेष्ठ र आकाश थापाका स्वरमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घका एल्बममा यिनले स्थान पाएका छन् । यिनको प्रकाशन र गायनका लागि सम्बन्धित सम्पादक, गायक एवम् सङ्गीतकार मित्रहरुप्रति म कृतज्ञता ज्ञापन गर्दछु । अन्य कतिपय मित्रले मेरा गीत भनेर जानी वा नजानी पनि यिनलाई गाउनु भएको छ । कतिले यिनमा थप आफ्ना प्रतिभा मिस्याएर अनेक शब्द र लय प्रदान गर्नु भएको पनि मैले देखेसुनेको छु । 'मेहनती किसान' त अरू कसैको रचनाका रूपमा पनि चर्चामा रहेछ । पछि एक जना पत्रकार साथीको जिज्ञासामा मैले बाँके हसनापुरको सुकुमवासी बस्तीमा रहँदा वि.सं.२०२९ को तिजमा गाउन महिला दिदी बहिनीहरुका लागि सो गीत लेखेको कुरा सार्वजनिक गरेको थिएँ । जे जसरी यिनको प्रयोग गरिएको भए पनि यिनको सदुपयोगको म सराहना गर्दछु । कुनै आय आर्जनभन्दा पनि सामाजिक जागरण र सांस्कृतिक रूपान्तरण यिनको लक्ष्य हो । अझ कतिपय त उहिले गोप्य रूपमा समाजमा चेतना फिँजाउन रचिएका हुन् । खास गरेर लोक लयमा विचारलाई घोलेर समाजमा फिँजाउने क्रममा तिनको जन्म भएको हो । पछि पनि गीत गुनगुनाउन मलाई मन लागिरह्यो र त्यसको फलस्वरूप केही गीतहरु पछि लेखिए । ती सबै गीतहरु गाउन मात्र नभएर कविताका रूपमा वाचन पनि गर्न सकिने भएकाले गीति कविताका रूपमा कविता सङ्ग्रहमा समाविष्ट गर्न साथीहरुबाट मैले सल्लाह पाएँ । त्यसको फलस्वरूप ती यहाँ छन् ।
बालकविता लेखनमा मेरो रुचि भए पनि एकाध रचना मात्र सिर्जना गरेको थिएँ । प्राज्ञ नर्मदेश्वरी सत्यालले बिउँझाउनु भएपछि यहाँ समाविष्ट विभिन्न बालकविताको जन्म भयो । उहाँले मेरो जीवनी, व्यक्तित्व र कृतित्व सम्बन्धी कृति तयार गर्ने सन्दर्भमा मैले बालसाहित्यका क्षेत्रमा गरेका सम्पूर्ण कामहरुको सर्वेक्षण गर्नु भयो र बालकविताको सङ्ख्या कम भएको हुँदा त्यसलाई बढाउनु उपयुक्त हुने सुझाब दिनु भयो । उहाँको सुझाबलाई मनन गर्दै मैले केही बालकविता लेखेँ जसको चर्चा उहाँले नेपाल प्रज्ञा-प्रतिष्ठानबाट यसअगि प्रकाशित उहाँको लेखमा गरिसक्नु भएको छ । अहिलेको कोरोना कालमा पनि मलाई केही बालगीतहरु लेख्न मनले घचघच्यायो र थप कविता सिर्जना भए । ती सबै मिलाएर बालकविताको एक खण्ड बन्यो । मलाई बालकविता सिर्जनामा प्रेरित गर्ने प्राज्ञ सत्याललाई म विशेष धन्यवाद ज्ञापन गर्दछु ।
यहाँ केही पद्य कविताहरू रहेका छन् । बाल्यकालमा रामायण र महाभारत पढ्ने गरेकाले शास्त्रीय छन्दप्रतिको रस बस्यो होला भन्ने म ठान्दछु । मरुपरुमा किरियापुत्री कुर्ने क्रममा राति जागा बस्नु पर्दा पटक पटक लय हालेर ती कृतिहरु मैले पढेको छु । विद्यालय र विश्व विद्यालयका पाठ्यक्रम रहेका छन्दोबद्ध कविता कण्ठस्थ गर्ने परम्पराले पनि छन्दप्रतिको आकर्षण बढायो । पछि मोदनाथ प्रश्रित, युद्धप्रसाद मिश्र र बोधराज काफ्लेका कविता सुन्नुका साथै उनीहरु लगायत रामचन्द्र भट्टराई, लेखनाथ ज्ञवाली आदि प्रगतिशील स्रष्टाका रचनाहरु पढ्न पाएँ । बनारसबाट आफूले भेरी क्षेत्रमा भित्र्याएका 'जूनकीरी', 'मुक्तिमोर्चा', 'मादल', 'गोचाली', 'छात्रप्रभा', 'सन्देश' आदि पत्रिकाका रचनाले पनि मेरो दृष्टि ऊघार्न ठुलो सहयोग पुर्याए । छन्द र विचारको संयोजन गरेर केही लेख्ने रहरले पद्य कविताहरु जन्माए । जीवनले भोगेका कठोर आघातले यहाँका केही पद्य कविता लेखिए । मलाई अत्यन्त माया गरेर हुर्काउने बज्यैको मृत्यु मलाई पक्राउ पुर्जी जारी भएका वेला वि.सं. २०३१मा भयो । बिरामी हुँदा र मृत्यु वरण गर्दा मैले उनको मुख देख्न पाइन । अहिले म 'बज्यैको सम्झना' गुनगुनाउँदै मनलाई सान्त्वना दिने गर्छु । मैले एक मात्र बाइस वर्षीय छोराको असामयिक मृत्युशोक पनि बेहोर्नु पर्यो । 'छोरासित कुरा' सुरु मात्र गरेँ, आँसुले अगाडि तन्काउन सकिन । अरू छन्दोबद्ध कविताहरुमा पनि देश, सहिद र जनताका पीडा व्यक्त गर्ने चेष्टा गरेको छु ।
मलाई पद्य कविताका साथै गद्य कवितालाई पनि महत्त्व दिनु पर्दछ भन्ने लाग्दछ र गद्य लयमा पनि मनका भाव व्यक्त गर्ने चेष्टा गर्दछु । जीवनका कठिन दिनहरुको भोगाइ, मनलाई अत्यन्त संवेदित तुल्याउने घटना, जन जीवनका पीडा आदिका साथै कोरोनाका फन्दामा पर्दा आफूले भोगेका अनुभव र अनुभूति जस्ता कुरालाई मैले गद्य कविताका विषय बनाएको छु । विद्यालयमा पढ्दा वि.सं.२०२४मा मैले साक्षरता दिवसका अवसरमा 'धन्य भाद्र तेसका दिन' शीर्षकको गद्य कविता समारोहमा पढेको सम्झन्छु । पोस्टर कान्डले गर्दा सो सुरक्षित रहन सकेन । 'उनको सम्झनामा' शीर्षकको अर्को एउटा कविता पनि खाल्डामै पुरिन गयो । त्यसपछि लेखिएका र परिमार्जनको खाँचो महसुस गरिएका बाहेक अन्य रचनाले यहाँ स्थान पाएका छन् ।
'झुल्किन्छ घाम'का कुनै कुनै रचना आफूले जीवन जगत्को यथार्थलाई नबुझ्दै लेखिएका पनि छन् भने कतिपयका प्रसङ्ग र विषय अहिले असान्दर्भिक पनि लाग्न सक्छन् । आफ्नो लेखनको विकासक्रमलाई हेर्न सहयोग पुग्ने ठानी तिनलाई पनि यहाँ प्रस्तुत गरेको छु । त्यसै रूपमा यिनलाई ग्रहण गरिदिन म सहृदय पाठकहरु समक्ष विनम्र अनुरोध गर्दछु । यिनमा भरसक भाषाको जटिलता नरहोस् र सामान्य पाठकहरुका पहुँचमा यी पुगुन् भन्ने मेरो उद्देश्य रहेको छ । स्थानीय भाषाको स्वाद पस्कने क्रममा प्रयोग भएका एकाध शब्दको अर्थमा समस्या देखा नपरोस् भनेर तिनको नेपाली अर्थ पनि दिइएको छ । आशा छ, पाठकहरुका लागि यी सहज ग्राह्य हुने छन् ।
प्रा.डा. कपिलदेव लामिछानेले मेरो अनुरोधलाई स्वीकार गरी 'झुल्किन्छ घाम'का बारेमा गहन भूमिका लेखेर मलाई गुन लगाउनु भएको छ । यसनिम्ति उहाँप्रति आभारी छु । भाइ महेन्द्रप्रसाद गिरीले हाम्रा सहकार्य र मेरा सिर्जनाबारे सङ्क्षिप्त नै भए पनि महत्त्वपूर्ण अभिव्यक्ति प्रस्तुत गरिदिएकामा सप्रेम हार्दिक धन्यवाद ज्ञापन गर्दछु । मित्र वासुदेव अधिकारीले मेरो पाण्डुलिपि मिहिन रूपमा अध्ययन गरेर दिनु भएका मूल्यवान् सुझाबहरुबाट म निकै लाभान्वित भएँ । यसका लागि उहाँप्रति कृतज्ञ छु । नारायण भागीरथी सेवा समाज, सुर्खेतले यसको प्रकाशन गरेकामा समाज सम्बद्ध सबैलाई धन्यवाद दिन चाहन्छु । यसका साथै पुस्तकको डिजाइनमा सहयोग गर्ने मित्र वसन्त 'अज्ञात'का साथै मुद्रक ...............प्रेस परिवारका सदस्यहरुलाई पनि म धन्यवाद दिन चाहन्छु ।
अन्त्यमा यहाँका कविता र गीतहरुको अध्ययनपछि पाठकहरुबाट रचनात्मक सुझाब प्राप्त हुने विश्वासका साथ आफूलाई भन्न मन लागेका कुरा यहीँ टुङ्ग्याउँछु ।
२०७७ कार्तिक २४
शान्ति नगर,नयाँ बानेश्वर,काठमाडौँ जीवेन्द्र देव गिरी
Comments
Post a Comment