म लोकवार्ता

तिमी चिरा पार

पहाड र मधेसका

बाहुन, क्षत्री र जनजातिका

हिन्दु, मुसलमान र बौद्धका

म लोकवार्ता चुनासुर्की बनेर

टाल्छु सबै धाँजा र चरहरु

स्याहार्छु हाम्रा एकताका घरहरु

मायाप्रीति र स्नेहका द्वारहरु ।

 

तिमीले पार्यौ घाउ

क्रूरता र निर्ममताका

कोमल मुटुबाट

बगिरहेछ रगत भलभली

चीत्कार र आर्तनादमा

आफ्नै बन्धु अलल्लिरहेछ

म लोकवार्ता मलम लगाउँछु

घाटु र मारुनीको

सोरठी, झयाउरे र सँगिनीको ।

 

डेउडा बनेर म

ताप्लेजुङका बस्तीमा न्यानो छर्छु

साकेलाका सैसैलाले म

बैतडीलाई सुमसुम्याउँछु

सेलोका स्वर र भाकाले

तराईका गर्मीमा शीतलता छर्छु

हुर्दङ्ङवा गाउँदै

लेकका बस्तीहरुमा डाँफेचरी नचाउँछु ।

 

 

Comments

Popular posts from this blog