शब्दकोश निर्माणः सिद्धान्त र अनुभव



                 शब्दकोश निर्माणः सिद्धान्त र अनुभव
                                     प्रा.जीवेन्द्र देव गिरी,पिएच.डी.
            शब्दकोश निर्माण प्रायोगिक भाषा विज्ञानको एक महत्त्वपूर्ण शाखाका रूपमा विकास भएको छ । यसका आधारमा संसारका विभिन्न भाषामा शब्दकोशहरू निर्माण भएका छन् । कुन प्रकारको शब्दकोश बनाउने, कसरी शब्दहरू सङ्कलन गर्ने, कुन रूपमा प्रविष्टि र उपप्रविष्टि दिने, कसरी व्युत्पत्ति पहिल्याउने, कसरी अर्थ लेख्‍ने, उदाहरण प्रस्तुति र चित्राङ्कन किन र कसरी गर्ने जस्ता अनेक प्रश्नहरूको उत्तर शब्दकोश निर्माणको सिद्धान्तले दिन्छ । यस सिद्धान्तलाई प्रयोग गर्दाको व्यावहारिक ज्ञान पनि शब्दकोश निर्माणमा सहयोगी हुनु स्वाभाविक छ । त्यसैले शब्दकोश निर्माण सम्बन्धी सिद्धान्तका केही महत्त्वपूर्ण पक्षमा प्रकाश पार्दै शब्दकोश निर्माणका क्रममा आफूले प्राप्त गरेको अनुभव बाँडचुँड गर्ने दृष्टिले यो गोष्ठीपत्र तयार गरिएको छ । खास गरेर नेपाली बृहत् शब्दकोशको पछिल्लो संस्करण र त्यसभन्दा निकै ठुलो एक अप्रकाशित शब्दकोशमा यस पत्रको प्रस्तोताले काम गर्ने र केही अनुभव सँगाल्ने अवसर पाएको थियो । ती शब्दकोशहरू शब्दकोश निर्माणका आधुनिक सिद्धान्त, विधि र प्रविधिको अनुसरण गर्दै निर्माण गरिएका छन् । तिनका निम्ति क्षेत्रकार्य र प्रकाशित सामग्री दुबैबाट शब्दहरू सङ्कलन गरिएका छन् । यस क्रममा भूगोलका विभिन्न स्थानको भ्रमण गर्नुका साथै  प्रकाशित अनेक ग्रन्थ र शब्दकोशहरूको अध्ययन र उपयोग भएको छ । कोशीय शब्दहरूको छनोट, पदकोटिको पहिचान, तिनको स्रोतको उल्लेख, पदकोटिलाई ख्याल गर्दै उपयुक्त अर्थ लेखन, अर्थको स्पष्टताका लागि परिभाषित गर्ने, पर्यायवाची र विपरीतार्थीको खोजी गर्ने तथा उदाहरण र चित्राङ्कनको प्रस्तुति गर्ने जस्ता कामहरू शब्दकोश निर्माणका क्रममा सम्पन्न गरिएका छन् । यो कार्य कष्टकर भए पनि यसबाट समाजको बृहत्तर हिस्सा लाभान्वित हुने र  ज्ञानसिपको सीमा विस्तार हुने कुरा भने सुरुचिकर छ ।


Comments

Popular posts from this blog

सम्झनामा चीन भ्रमण