राजेन्द्र सुवेदीका आयाम : शुभेच्छुको उल्लेख्य काम



                 राजेन्द्र सुवेदीका आयाम : शुभेच्छुको उल्लेख्य काम

                 राजेन्द्र सुवेदी नेपाली राष्ट्रिय जीवनमा एक विशिष्ट प्रतिभाका रूपमा परिचित नाम हो । शिक्षा, साहित्य, समाज सेवा आदि विविध क्षेत्रमा उहाँले गरेका योगदानबाट नेपाली समाज लाभान्वित छ । नेपालको सुदूर पूर्वी पहाडको पाँचथरमा जन्मेर शिक्षाध्ययनका निम्ति अनेक सङ्घर्ष गर्दै आज उहाँ जहाँ उभिनु भएको छ त्यो उहाँको नितान्त कर्मशील जिन्दगीको प्रतिफल हो । त्यसैले उहाँका कामको समुचित मूल्याङ्कन होओस् भन्ने असल उद्देश्यका साथ एउटा ग्रन्थ प्रकाशनको काम सर्जक राजेन्द्र सुवेदी अभिवादन समिति २०७१ ले अगि बढाएको कुरा हामी सबैलाई थाह छ । त्यही कामका सिलसिलामा समितिका सचिव रमेश शुभेच्छुले लेख्तै जाँदा एउटा बेग्लै ग्रन्थका रूपमा 'राजेन्द्र सुवेदीका आयाम' तयार भयो । यसको प्रकाशनको अभिभारा समितिकै सदस्य नवराज पौडेलको अग्रसरतामा जुगल प्रकाशन प्रा.लि.ले वहन गरि दियो । यो हामी सबैका लागि खुसीको कुरा हो । यस ग्रन्थलाई सुवेदीको ७१औँ वर्ष प्रवेशका उपलक्ष्यमा सार्वजनिक गर्ने अवसर यसका लेखक र प्रकाशकले हामीलाई प्रदान गर्नु भयो । यसनिम्ति  लेखक र प्रकाशक दुबैलाई म आफू स्वयम् र समितिका तर्फबाट  धन्यवाद ज्ञापन गर्दछु ।
                प्राध्यापक सुवेदीका बारेमा विस्तृत अध्ययन गरेर उहाँका जीवनी, व्यक्तित्व र कृतित्वका विभिन्न आयामलाई प्रकाशमा ल्याउन लेखकले विशेष मिहिनेत गर्नु भएको छ । सुवेदी एक कुशल प्राध्यापकका साथै अथक  सर्जक हुनु हुन्छ भन्ने कुरा यस कृतिको विवेचनाले छर्लङ्ङ पारेको छ । त्रिभुवन विश्व विद्यालयको नेपाली केन्द्रीय विभागको प्राध्यापकका रूपमा विद्यार्थी र सहकर्मीहरुबिच प्रिय रहनु भएका सुवेदीले विभागीय प्रमुखका रूपमा पनि सफल नेतृत्व र कुशल व्यवस्थापन गर्नु भयो । उहाँकै कार्यकालमा विभागले एम.फिल कार्यक्रम सञ्चालन गर्‍यो । सो विभाग लगायत देशका विभिन्न क्याम्पस र विद्यालयमा उहाँले प्राध्यापन गर्नु भयो र तमाम विद्यार्थीहरुका श्रद्धेय गुरुका रूपमा सम्मानित हुनु हुन्छ । साहित्य सिर्जना र समीक्षा दुबैमा उहाँले कलम चलाउनु भएको छ र विभिन्न महत्त्वपूर्ण कृतिहरु नेपाली साहित्यलाई सुम्पनु भएको छ । सुन्दर संस्मरण र हास्यव्यङ्ग्य निबन्धदेखि महाकाव्यसम्मको सिर्जन क्षमता उहाँले प्रदर्शन गरि सक्नु भएको छ । उहाँका समीक्षात्मक कृतिहरुले समालोचनाका सिद्धान्तका व्याख्या विश्लेषणका साथै नेपाली साहित्यका कैयन् विशिष्ट सर्जकहरुका शक्ति र सीमालाई निरूपण गरेका छन् । शोध र सिर्जन विधिका गोरेटाहरु निर्माणमा पनि उहाँको योगदान रहेको छ । उहाँका सम्पादनमा अनेक कृति र पत्र पत्रिकाहरु प्रकाशित छन् । एक प्रगतिशील प्रगतिवादी चिन्तकका रूपमा तथा समाजको अग्र गतिका लागि व्यक्तिगत रूपमा र विभिन्न सङ्घसंस्थामा सक्रिय समाजसेवीका रूपमा पनि उहाँको विशिष्ट पहिचान रहेको छ । उहाँका यी सम्पूर्ण आयामको पहिचान, खोजबिन र विश्लेषणको कार्यमा शुभेच्छुले प्रस्तुत कृतिमा विशेष पसिना बगाउनु भएको छ ।
                रमेश शुभेच्छु स्वयम् एक अध्ययनशील, मिहिनेती र मेधावी साहित्यिक प्रतिभा हुनु हुन्छ । उहाँले यसअगि गरेका केही कार्यहरुले उहाँको परिचय दिइ सकेका छन् । 'राजेन्द्र सुवेदीका आयाम'मा पनि  उहाँले आफ्नो ज्ञान, बुद्धि र विवेक खन्याउनु भएको छ ।  सुवेदीका सम्पूर्ण योगदानको विश्लेषणका साथ उहाँका विशिष्ट पक्षलाई ठम्याउने प्रयत्न उहाँले यसमा गर्नु भएको छ । साहित्यका विभिन्न क्षेत्रमा सुवेदीले गरेका कार्यहरुलाई केलाउँदै निबन्ध सिर्जनामा उहाँको योगदान समकालीन नेपाली साहित्यको उचाइमा रहेको निष्कर्ष उहाँले निकाल्नु  भएको छ । समाजका हितमा क्रियाशील व्यक्तिका  राम्रा कामलाई वेलैमा फिँजाउनाले समाजका साथै स्वयम् व्यक्तिमा पर्न जाने सकारात्मक प्रभावप्रति उहाँ सचेत हुनु हुन्छ  र यही उद्देश्यबाट उहाँको गुणग्राही लेखन उत्साहित एवम्  प्रेरित  छ ।
             सुवेदी आफ्नो जीवनको सात दशकमा अनेक उकाला ओराला र घुम्तीहरु पार गरी आजको अवस्थामा आइ पुग्नु भएको छ र अझै नथाकी कर्मपथमा गतिशील हुनु  हुन्छ । उहाँको सक्रिय जीवनले अहिले पनि पठनीय कृतिहरु हामीलाई सुम्पि रहेको छ । अरूलाई उठाउन  उहाँका सहयोगी हातहरू अगि बढि रहेकै छन् । सरल जीवन र अनवरत श्रमका माझ उज्यालिएको उहाँको व्यक्तित्व र त्यसले समाजको जागरण र उन्नयनका लागि विभिन्न क्षेत्रबाट गरेका कार्यका  अनेक आयाम छन् । उहाँलाई नजिकबाट जान्नेबुझ्नेहरु र उहाँका कृति र कीर्तिमा अभिरुचि राख्‌नेहरुले नै तिनलाई व्यापक समुदायबिच पुर्‍याउन सक्तछन् । शुभेच्छु त्यस कामको दरिलो जग निर्माण गर्ने जसका  पात्रका रूपमा यहाँ देखा पर्नु भएको  छ ।
              'राजेन्द्र सुवेदीका आयाम'मा शुभेच्छुले उहाँका केही सीमालाई पनि औँल्याउने चेष्टा गर्नु भएको छ ।  ती सीमा नरहेको भए सुवेदी अझ आफ्नो लक्ष्य भेदन गर्न सफल हुनु हुन्थ्यो भन्ने उहाँको आशय छ । वास्तवमा बाधा व्यवधानका  सीमालाई पार गर्दै मान्छे आफ्नो लक्ष्यका चुचुरामा पुग्दछ । सुवेदीले  यतिखेर आफ्नो बहु आयामिक यात्राको सिंहावलोकन  गरि रहनु भएको होला र त्यसतर्फ पनि थप घोत्लिन यस कृतिले अभिप्रेरित गर्ने छ भन्ने मलाई लागेको छ ।
           सर्जक  राजेन्द्र सुवेदी अभिवादन समिति २०७१ले दिएको जिम्मेवारीलाई वेलैमा पुरा गर्ने मात्र होइन, त्यसभन्दा पनि अगि बढेर शुभेच्छुले गर्नु भएको यस कार्यले हामी सबैलाई झकझक्याएको छ । यसले समितिबाट अगि बढाइएको उहाँको बहु आयामिक व्यक्तित्व र कृतित्व सम्बन्धी ग्रन्थ प्रकाशनको तयारीमा पनि उत्साह छर्ने विश्वास मैले लिएको छु । अन्तमा  यस प्रकारका कामप्रति कृतिकारको सफलता र निरन्तरताको अपेक्षा सहित   गुरु राजेन्द्र सुवेदीको ७१औँ जन्म दिवसको उपलक्ष्यमा उहाँको सुस्वास्थ्य, दीर्घायु र सक्रिय जीवनको शुभ कामना व्यक्त  गर्दै विश्राम लिन्छु ।  
                                            प्रा.डा.जीवेन्द्र देव गिरी
                                                  अध्यक्ष
                                       सर्जक राजेन्द्र सुवेदी अभिवादन समिति २०७१
२०७२ साउन १२ गते
                                                  

Comments

Popular posts from this blog

सम्झनामा चीन भ्रमण