शुभ कामना



                                            शुभ कामना
           काभ्रे पलान्चोक जिल्लाको पनौतीमा आयोजित एक  कार्यक्रममा साहित्यकार मित्र लक्ष्मण सापकोटाले एक जना युवा साहित्यकारसँग मेरो परिचय गराउनु भयो । उहाँले गजल लेखि रहेको र  उहाँको गजल सङ्ग्रह प्रकाशनको सँघारमा रहेको जानकारी पनि उहाँले मलाई गराउनु भयो । उहाँ हुनु हुन्थ्यो वसन्त 'अनुरागी' । उहाँको "देश दुखेपछि" गजल सङ्ग्रह  प्रकाशनको प्रतीक्षामा थियो । त्यसमा शुभ कामनाका केही शब्द लेख्‍न पनि उहाँले मलाई आग्रह गर्नु भयो । त्यस सङ्ग्रहका केही कम्प्यटरीकृत पाना पनि उहाँले मेरा हातमा पार्नु भयो ।  मेरा निम्ति यो ज्यादै खुसीको कुरा थियो । एक जना उदीयमान स्रष्टासँग निकट हुन पाउनु यसै पनि  मेरो रुचिको कुरा थियो भने त्यसमा अझ प्रकाशनअगि नै गजलहरुको रसपान गर्न पाउनु पनि कम आनन्दको कुरा थिएन ।
              गजल वर्तमान समयको अत्यन्त लोकप्रिय विधा हो । मेची महाकाली जता फन्को लगाए पनि गजलका स्वरहरु गुन्जि रहेको सुन्न सकिन्छ । विशेषतः युवा पुस्ता यसमा रमाइ रहेको भेटिन्छ । त्यसैले युवाहरुको साथ पाएको यस विधाको हरियाली नेपाली सिर्जनामा लहराइ रहेको छ । शृङ्गारिक मात्र नभएर देश र समाजको मायाले ओतप्रोत गजलहरु अहिले ठुलो सङ्ख्यामा देखा परेका छन् ।  गजलकार वसन्त पनि वर्तमान पुस्ताका एक होनहार सर्जक हुनु हुन्छ र युगीन आबाजलाई गजलमा आमन्त्रण गर्नेहरुका लाममा  लामबद्ध हुन चाहनु हुन्छ । सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै आफ्नो लेखनीको सामर्थ्य देखाउन उहाँ उद्द्यत हुनु हुन्छ । उहाँको गजल सङ्ग्रह प्रकाशित हुनु खुसीको कुरा हो र प्रकाशनको यस महत्त्वपूर्ण घडीमा म हार्दिक प्रसन्नता व्यक्त गर्दै उहाँलाई बधाई ज्ञापन गर्दछु ।
               वसन्त 'अज्ञात'का गजलहरु राष्ट्रप्रेम, वीरता, गाउँ सहरको वर्णन, लोकतन्त्र, गणतन्त्र, मानव प्रेम, प्रकृति प्रेम, स्वतन्त्रता, स्वाभिमान, परिवर्तनको चाहना आदिको सेरोफेरोमा घुमेका छन् । तिनले समाजको भलो होस् भन्ने भावना बोकेका छन् ।  ती सरल, रसिला, गेय र  ग्राह्य छन् । नसा नसामा देश बगेको ठान्ने वसन्त गजलको तारा बन्ने उच्च लक्ष्य लिएर अगि बढ्दै हुनु हुन्छ । उहाँको असल उद्देश्य अवश्यमेव पुरा हुने विश्वास म गर्दछु । "जहाँ इच्छा त्यहाँ उपाय" हाम्रो एक प्रसिद्ध उखानले भन्छ । त्यसैले एक उत्साही युवा सर्जकका पाइलाहरु अथक रूपमा अगि बढि रहुन् र तिनले सफलताको शिखर छोउन् भन्ने सदिच्छा म राख्तछु । 'देश दुखेपछि' गजल सङ्ग्रह लोकप्रिय बनोस् र गजलकारलाई नेपाली जनमनमा पुर्‍याउन सफल रहोस् भनी हार्दिक शुभ कामना व्यक्त गर्दछु ।
                                                                    प्रा.डा.जीवेन्द्र देव गिरी,
                                                                       सदस्य सचिव,
                                                                    नेपाल प्रज्ञा प्रतिष्ठान

Comments

Popular posts from this blog

सम्झनामा चीन भ्रमण