नेपाली लोककथाका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिका रूपमा 'मच्छिन्द्र नाथको सवारी'



                 नेपाली लोककथाका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिका रूपमा 'मच्छिन्द्र नाथको सवारी'
                 राजेन्द्र कुमार  आचार्यले सङ्कलन तथा लेखन गर्नु भएका नेपाली लोककथाहरुको सङ्कलन 'मच्छिन्द्र नाथको सवारी' पढ्ने अवसर पाएँ । नेपालका विभिन्न ठाउँसँग सम्बन्धित यी लोककथाहरुको सङ्कलनमा उहाँले निकै पसिना बगाएको देखिन्छ । हरेक कथाका मुन्तिर उहाँले दिनु भएका स्रोतहरुले यसको पुष्टि गर्छन् । यी विभिन्न किंवदन्ती, पौराणिकता र इतिहासका पाना बनेर यहाँ आएका छन् । लोक साहित्यविद्हरु भन्छन् – लोक साहित्यमा सन्दिग्ध ऐतिहासिकता रहन्छ । यस दृष्टिले यिनको चिरफार र विश्लेषण भविष्यले गर्दै जाने छ र यिनको विशेष महत्त्व बोध हुने छ भन्ने म ठान्छु ।  यो महत्त्वपूर्ण ग्रन्थ हामीलाई सुम्पने आचार्य बधाईका पात्र हुनु हुन्छ र उहाँबाट यस प्रकारका सामग्री नेपाली वाङ्मयले प्राप्त गरि रहने छ भन्ने विश्वास म व्यक्त गर्छु । यसअगि मैले उहाँको 'केन्द्रीय नेपाली शब्दकोश' (२०६०) को विमोचन कार्यक्रममा उपस्थित भएर त्यसबारे टिप्पणी गर्ने अवसर पाएको थिएँ र कर्णाली जस्तो विकट क्षेत्रमा पुगेर उहाँले गरेको काम देख्ता अत्यन्त आनन्दको अनुभूति गरेको थिएँ । वास्तवमा उहाँका कार्यहरु सराहनीय छन् र तिनले नेपाली भाषा साहित्यका क्षेत्रमा विशेष महत्त्व राख्छन् भन्ने कुरा स्वतः स्पष्ट छ । उहाँका पाइलाहरु सदा अगि बढि रहुन् र सफलताका शिखर स्पर्श गरि रहुन् ; यही मेरो सदिच्छा छ ।
                  'मच्छिन्द्र नाथको सवारी' यस सङ्ग्रहभित्रको एक कथा हो र त्यसैका नामबाट लेखकले सिङ्गो सङ्ग्रहको नामकरण गर्नु भएको छ । मच्छिन्द्र नाथको जन्म र उनको कामाख्या माईसँगको सम्बन्ध, गोरख नाथको शक्ति, मच्छिन्द्र नाथको यात्रा, काठमाडौँ उपत्यकाको खेतीपाती, अनिकाल, सहकाल, लोक विश्वास आदि कैयन् कुराहरुको वर्णन यसमा पाइन्छ । यहाँको जन जीवन र त्यसको चेतना एवम् सोचाइको धरातललाई यसमा देख्‍न सकिन्छ । यस्तै खालका अनेक प्रसङ्गहरु यहाँका अन्य कथाहरुमा पनि विद्यमान छन् । त्यसैले नेपाली लोककथाको एउटा उल्लेख्य पाटोलाई यहाँभित्र पाउन सकिन्छ ।
                   


Comments

Popular posts from this blog

सम्झनामा चीन भ्रमण