पारिभाषिक शब्दावलीको गहिराइमा मीरा प्रधानको पहुँच



        पारिभाषिक  शब्दावलीको गहिराइमा मीरा प्रधानको पहुँच
              भेरी अञ्चलको बर्दिया जिल्ला स्थित पुनर्वास क्षेत्रको डाँफे बस्तीमा स्थायी बसोबास गर्दै आउनु भएकी  मीरा प्रधानलाई म विगत लामो समयदेखि चिन्दछु । हामीले त्रिभुवन विश्व विद्यालयको नेपाली केन्द्रीय विभागमा शिक्षक विद्यार्थीका रूपमा र प्राध्यापन कर्ममा सहकर्मीका रूपमा पनि सँगसँगै कार्य गर्‍यौँ । उहाँको शालीन र अध्ययनशील व्यक्तित्वलाई मैले नजिकबाट नियालेको छु ।  नेपाली भाषा र साहित्यका क्षेत्रमा उहाँका महत्त्वपूर्ण कार्यहरु सार्वजनिक छन् । खास गरी भाषिक क्षेत्रको अध्ययनले उहाँको विशेष रुचि आकर्षण गर्‍यो र  सुरुमा 'चन्द्रिका व्याकरण' जस्तो कृतिको विशिष्ट अध्ययन उहाँले स्नातकोत्तर तहको शोधकार्यका रूपमा पुरा गर्नु भयो । अझ विद्यवारिधि तहमा त नेपाली व्याकरणसँग सम्बन्धित  पारिभाषिक  शब्दावलीका बारेमा गहन अध्ययन गरी शोध प्रबन्ध नै उहाँले तयार गर्नु भयो । यतिखेर उहाँको ' नेपाली भाषा र व्याकरणमा पारिभाषिक शब्दावली' नामक कृति प्रकाशित हुन लागेको खबर पाउँदा म अत्यन्त हर्षित छु र यस सुखद स्थितिमा म उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
            वाङ्मयमा पारिभाषिक  शब्दावलीको कति महत्त्व छ भन्ने कुरा हामी सबैलाई अवगत नै छ । यी त्यस्ता शब्द हुन् जसले थोरैमा धेरै कुरा व्यक्त गर्ने क्षमता राख्तछन् ।  भाषा जति विकसित र समृद्ध हुँदै जान्छ उति यस प्रकारका शब्दहरुको खाँचो पर्दै जान्छ । आफ्नो भाषामा ती उपलब्ध छैनन् भने अरू भाषाबाट ती ग्रहण गरिन्छन् र आवश्यकताको परिपूर्ति गरिन्छ । ती विभिन्न विषय क्षेत्रसँग सम्बन्धित हुन्छन् । प्रधानले नेपाली भाषा र व्याकरण क्षेत्रका त्यस्ता शब्दहरुको  अध्ययन  गरेर तिनको पारिभाषिक अर्थ पहिल्याउने काम यहाँ गर्नु भएको छ । नेपाली भाषा र व्याकरणमा तिनको प्रयोग कहाँ र कसरी भयो भन्ने जानकारी उपलब्ध गराउन उहाँले गरेको मिहिनेतका थोपाहरु यस कृतिमा चुहिएको देख्‍न सकिन्छ । ध्वनि, वर्ण, रूप, शब्द, पदावली र वाक्य सबै  तहमा डुबुल्की लगाएर  कुन कृतिमा कसरी पारिभाषिक शब्दहरूको परिभाषा गरिएको छ भनी उहाँले सविस्तार प्रस्ट्याउनु भएको छ । परम्परागत र भाषावैज्ञानिक मान्यताका व्याकरण, भाषा विज्ञान र शब्दकोशका महत्त्वपूर्ण कृतिहरुको छनोट गरी तिनको अन्तर्य चहार्नु र पारिभाषिक शब्दहरुको नालीबेली पहिल्याउनु अनि तिनको सूची समेत निर्माण गरेर हामीलाई सुम्पनु प्रधानको अत्यन्त गुनिलो काम भएको काम भएको छ ।
            मीरा प्रधानको प्रस्तुत कार्यअगि नेपाली पारिभाषिक शब्दावलीका विषयमा  केही फुटकर लेख र सामान्य अध्ययन मात्र देखा परेका थिए । विस्तृत र व्यवस्थित किसिमले यस किसिमको गहन अध्ययनको काम  भएको थिएन । त्यसैले उहाँको यो कार्य  सम्बन्धित क्षेत्रमा महत्त्वपूर्ण प्राप्ति हुन गएको छ  । नेपाली भाषा र व्याकरणका क्षेत्रमा  यो एक त्यस्तो विशिष्ट  काम हुन गएको छ जसमा नेपाली भाषाविद् र वैयाकरणले आआफ्ना  कृतिभित्र प्रयोग गर्नु भएका पारिभाषिक शब्दावलीको विवरण दिँदै एकातिर उहाँहरुका योगदानलाई अभिलिखित गरिएको छ भने अर्कातिर नेपाली भाषा व्याकरण क्षेत्रका पारिभाषिक शब्दहरुको स्रोत, संरचना, प्रयोग आदिलाई प्रस्तुत गर्दै तिनको महत्ता प्रस्टिने गरी व्याख्या गरिएको छ । यस कृतिबाट भाषा र व्याकरण क्षेत्रका प्रयोगकर्ताहरुले विशेष लाभ त उठाउने नै छन् , नयाँ शब्दहरु ग्रहण, प्रयोग वा निर्माण गर्ने सन्दर्भमा पनि यो सबैका लागि उपयोगी  छ । यस कृतिले सम्बन्धित विषयको सैद्धान्तिक ज्ञान बढाउन पनि उत्तिकै मद्दत पुर्‍याउने छ । त्यसैले विविध दृष्टिबाट उपयोगी सामग्री प्रदान गरेर नेपाली वाङ्मयलाई गुन लगाउने लेखक मीरा प्रधान धन्यवादका पात्र हुनु हुन्छ । उहाँका यस प्रकारका कार्यहरुबाट नेपाली वाङ्मय भविष्यमा पनि लाभान्वित भइ रहने अपेक्षाका साथ यस कृतिले नेपाली  वाङ्मयका क्षेत्रमा महत्त्वपूर्ण स्थान प्राप्त गर्ने विश्वास व्यक्त गर्दछु ।
                                          प्रा.डा.जीवेन्द्र देव गिरी
         

Comments

Popular posts from this blog

सम्झनामा चीन भ्रमण