सम्पादकीय / प्रकाशकीय
सम्पादकीय / प्रकाशकीय
सुर्खेती कल्याण
समाजले नयाँ वर्ष २०७३ को उपहारस्वरूप 'साहित्य कोसेली'को प्रस्तुत अङ्क पाठकहरुमाझ
पुर्याउन पाएकोमा हामी सहर्ष हार्दिक शुभ कामना व्यक्त गर्दछौँ । हरेक वर्ष यसरी
नै हामीहरुले हाम्रा प्रिय पाठकहरुलाई हाम्रो प्रकाशनका माध्यमबाट केही खुराक पुर्याउने
गरेका छौँ र सबैले सन्तोष मानेर ग्रहण गरि दिनु भएको छ । पाठकहरुको सद्भाव र
सहयोगले हामीलाई प्रेरणा दिने गरेको छ । हाम्रो सुसम्बन्ध यसरी नै झ्याङ्गि रहोस्
भन्ने हाम्रो सदिच्छा छ ।
वि.सं.२०७२ हाम्रा लागि एकातिर भूकम्प र
नाकाबन्दीका कारण कष्टदायी भयो भने अर्कातिर जनताले चुनेका प्रतिनिधिहरुबाट
निर्मित संविधान पाउनुले फलदायी र सुखद पनि रह्यो । मान्छेको जीवनमा झैँ राष्ट्रको
जीवनमा पनि सुखदुःखका घटना भइ रहन्छन् भन्ने प्रत्यक्ष अनुभव हामीले गर्यौँ ।
हामीले के पनि अनुभव गर्यौँ भने स्थिति एकनास रहँदैन, त्यो नित्य परिवर्तनशील छ ।
यसरी नै अनेक गारा साँगुरा बाटा पार गरेर मान्छे, समाज र राष्ट्र यहाँसम्म आइ
पुगेका हुन् । भविष्यमा पनि यस्ता कठिनाइ र जटिलता आउन सक्छन् र ती समय क्रममा पार
पनि हुन्छन् । इतिहासको अनुभवले हामीलाई यही सिकाएको छ । त्यसैले नअत्तालिई र
नफुर्फरिई हामी हाम्रो जीवन यात्रालाई सन्तुलित गतिमा अगि बढाउन लाग्छौँ ।
सुर्खेती कल्याण समाज पनि यही विश्वासमा अगि बढ्दै आएको छ । जे जस्तो परिस्थितिमा पनि यसका गतिविधि निरन्तर जारी
छन् । यसै सिलसिलामा प्रस्तुत प्रकाशन यहाँहरुका हातमा आइ पुगेको छ । आशा छ पहिले जसरी
नै यसले यहाँहरुको माया ममता पाउने छ ।
'साहित्य कोसेली'को यस अङ्कमा मानवीय एवम्
सामाजिक भावनाले ओतप्रोत कविता, गीत, गजल, निबन्ध, संस्मरण, कथा, नाटक,
समालोचना जस्ता साहित्यिक विधाका साथै कर्णाली क्षेत्र सम्बन्धी महत्त्वपूर्ण
जानकारी उपलब्ध छन् । तिनमा जीवनका सुखदुःख, नैतिक शिक्षा, चरित्र सुधार,
धर्मकर्म, प्रेम, शान्ति, भूकम्पको व्यथा,
नाकाबन्दीको पीडा, देशभक्ति, राष्ट्रिय स्वाभिमान र अडान, मानवीय व्यवहार,
यातायात विद्युत् जस्ता विकासका आधार, पौराणिक प्रसङ्ग आदि विभिन्न विषय समेटिएका
छन् । यस क्रममा सुर्खेतका सांस्कृतिक र प्राकृतिक विशेषताहरुका साथै यहाँका आन्दोलनका ज्वारहरुलाई पनि टिपिएको छ ।
आधुनिक व्यवस्थापनका सैद्धान्तिक अवधारणा, नेपाली वर्ण विन्यास सम्बन्धी दृष्टिकोण
र अनुसन्धान कार्यसँग सम्बन्धित विवेचना
पनि यहाँका उल्लेखनीय सामग्री हुन् । यिनको
अध्ययनबाट सर्वसाधारणदेखि बौद्धिक वर्गसम्मले लाभ लिन सक्ने विश्वास हामीले लिएका
छौँ । यस प्रकारका लेख रचना हामीलाई उपलब्ध गराई हामीलाई सहयोग पुर्याउने
सम्पूर्ण सर्जक लेखकप्रति हामी कृतज्ञता प्रकट गर्दछौँ ।
यस
प्रकाशनका लागि विज्ञापन उपलब्ध गराई गुन लगाउने र विज्ञापन दाताहरुसँग सरसम्पर्क
स्थापित गराई सहयोग जुटाउने सबै महानुभावहरुप्रति हामी आभारी छौँ । यसको आवरण
चित्र उपलब्ध गराउने ........................... र कम्प्युटर लेआउट गर्ने
.........................का साथै समयमा राम्ररी मुद्रण कार्य सम्पन्न गरी सहयोग
पुर्याउने इमेज प्रिन्टर्स परिवारका प्रमुख वीरेन्द्र श्रेष्ठ लगायत मुद्रण
कार्यमा संलग्न सबैलाई हामी धन्यवाद ज्ञापन गर्दछौँ ।
सम्पादक/ प्रकाशक
Comments
Post a Comment