मध्य पश्चिम क्षेत्रमा प्रचलित भाषा भाषिकाको वर्तमान अवस्था र  तिनको संरक्षण संवर्धनका उपायहरू
प्रा.डा.जीवेन्द्र देव गिरी
१.विषय परिचय
     मध्य पश्चिम क्षेत्र  भन्नाले नेपाललाई ७ प्रदेशमा विभाजन गर्नुअगिको नेपालको क्षेत्रीय विभाजन अनुरूपको एक क्षेत्र भन्ने बुझिँदै आएको छ । कर्णाली, भेरी र रापती अञ्चलको सामूहिक नामका रूपमा त्यो परिचित रहेको छ । यसमा त्यतिखेरका जुम्ला, हुम्ला, मुगु, कालीकोट, डोल्पा, सुर्खेत, दैलेख, जाजरकोट, बाँके, बर्दिया, सल्यान, दाङ, प्युठान, रोल्पा र रुकुम जिल्ला पर्दछन् । वर्तमान प्रादेशिक विभाजन अनुसार यी जिल्लाहरूका बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र रुकुमकोट पूर्वको भाग प्रदेश ५ मा पर्दछन् भने बाँकी सबै भाग प्रदेश ६ का रूपमा रहेका छन् । अतः प्रदेश ५ र ६ का उपर्युक्त जिल्लाहरूको भूभाग नै मध्य पश्चिम हो र यहाँ प्रचलित भाषा भाषिका नै मध्य पश्चिमका भाषा भाषिका हुन् ।
     कर्णाली, भेरी र रापती जस्ता प्रसिद्ध नदीहरूको प्रस्रवण क्षेत्रका रूपमा रहेको र विभिन्न हिमाल, पहाड एवम् खोलानालाले युक्त मध्य पश्चिम क्षेत्रमा अनेक संस्कृति, धर्म र जातजातिका मानिसहरू बसोबास गर्दछन् ।  हिन्दु, बौद्ध, इस्लाम  इसाई, प्रकृति पूजक आदि धार्मिक समुदायसँग सम्बन्धित विभिन्न संस्कार र संस्कृतिको प्रभाव यहाँको समाजमा पाइन्छ । यहाँ छेत्री, मगर, थारु, कामी, बाहुन, ठकुरी, मुसलमान, दमाई, सार्की, सन्न्यासी, यादव, गुरुङ, नेवार, तामाङ, कुमाल, चमार, कुर्मी र बादी समुदायका मानिसहरुको बसोबास रहेको छ । यसरी नै कठबनियन, मल्लाह, धोबी, दुसाध, हजाम, हलवाई, तेली, कोरी, लोध, डोल्पो, लोहार, कायस्थ, कानु, कहर, घर्ती, बढई, ब्यासी, राजी, कहर, कुशवाह, गाइने,  कलवार, शेर्पा, राई, मारवाडी, बङ्गाली, सिख, भेडिहर,  मुसहर, सोनार, थकाली, केवट, बोटे, माझी, चिडिमार, राउटे, कुसुन्डा जस्ता जातका मानिसहरू पनि यहाँ भेटिन्छन् ।  त्यसैले नेपालको अन्य भूभागमा झैँ बहु सांस्कृतिक, बहु जातीय र बहु धार्मिक समाजमाझ बहु भाषिकता  यहाँ विद्यमान छ । भूगोलले सिर्जना गरेका भाषिक भेद र समाजको वैविध्यपूर्ण बनोटबाट सिर्जित भाषिक भेदहरू यहाँ रहेका छन् । ती भाषिक भेदहरूमध्ये कुनैले भाषाको मान्यता प्राप्त गरेका छन् भने कुनै भाषिकाका रूपमा रहेका छन् । वर्तमान समयमा ती कुन अवस्थामा छन् र तिनको संरक्षण एवम् संवर्धनका उपाय के हुन सक्छन् भन्नेबारे चर्चा परिचर्चा गर्नु नै प्रस्तुत गोष्ठीपत्रको विषय हो ।
२. भाषा र भाषिकाको वर्तमान अवस्था
     मध्य पश्चिम क्षेत्रमा मूलतः तिन परिवारका भाषाहरू प्रचलित छन् यद्यपि नेपालका भाषाहरुसँग सम्बन्धित अन्य दुई परिवारका भाषाका पनि केही वक्ताहरु नभेटिने भने होइनन् । यहाँ प्रचलित भाषाहरु खास गरी भारोपेली परिवार, चिनियाँ तिब्बती परिवार र कुसुन्डा भाषासँग सम्बन्धित अपरिचित परिवारसँग सम्बन्धित छन् । तिनको वर्तमान अवस्था निम्न अनुसार छः-
२.१ नेपाली भाषा
     भारोपेली परिवारको नेपाली भाषा यहाँ बोलिने भाषाहरूमा सबैभन्दा धेरै वक्ताहरू भएको भाषा हो । यो देवनागरी लिपिमा लेखिन्छ । यस भाषाको मूल थलो नै मध्य पश्चिम क्षेत्र हो । नेपाली भाषाका सर्व प्राचीन अभिलेख यहाँ नै उपलब्ध छन् । यात्री (२०३९, पृ.९८ ) ले वि.सं. १०३८ को भनी सबैभन्दा पहिलो नेपाली अभिलेखका रूपमा प्रस्तुत गरेको राजा दामुपालको दुल्लु  अभिलेखका साथै  खनाल (२०६८, पृ.१७) ले वि.सं. ११५१ को अभिलेखका रूपमा पहिलो  अभिलेख ठहर्‍याएको वामु खँड्काको स्तम्भ अभिलेख यसै क्षेत्रमा उपलब्ध छन् । यिनका अतिरिक्त अन्य तमाम अभिलेखहरू पनि यहाँ पाइएका छन् । पोखरेल (२०२०)को 'पाँच सय वर्ष' तथा चालिसे(२०६३) को "ऐतिहासिक अभिलेखका आधारमा नेपाली भाषाका व्याकरण तत्त्वमा क्रमिक विकासको अध्ययन" विद्यावारिधि शोध प्रबन्धमा तिनलाई सङ्कलन गरिएको छ । वि.सं.२०६८ को जन गणना अनुसार मध्य पश्चिम क्षेत्रका २,६६३,७५८ मानिसहरूले यो भाषा बोल्दछन् । सबैभन्दा धेरै पहाडी भूभागमा र त्यसपछि तराईमा अनि हिमाली भेकमा यो भाषा बोलिन्छ । यस भाषाका विभिन्न भाषिकाहरू यहाँ प्रचलित छन् । तिनलाई निरौला ( २०७१, पृ. १३२) ले  पुर्बेली, जुम्ली सिँजाली, दैलेख कालीकोटे, डोल्पाली, भेरी क्षेत्रीय र अछामी भाषिकाका रूपमा प्रस्तुत गरेका छन् । डोल्पालीलाई भाषिकाका रूपमा निरौलाले प्रथम पटक अगि ल्याए पनि अझै पर्याप्त तथ्यहरु उपलब्ध भइ नसकेकाले त्यसलाई बेग्लै भाषिकाका रूपमा लिइ हाल्नु उपयुक्त नहोला । अतः त्यसलाई जुम्ली सिँजालीमा नै समावेश गर्नु राम्रो हुने छ । बरु दैलेख एवम् सुर्खेतको पश्चिमी भागमा अछामी भाषिका बोलिने भएको र अछामीका बारेमा विद्यावारिधि तहका अध्ययनहरु समेत भइ सकेका हुँदा त्यसलाई पनि मध्य पश्चिमका भाषिकाका रूपमा यहाँ लिइएको छ । यसरी नै बाँके, बर्दिया र दाङको देउखुरीमा त्यहाँका थारु, अवधी र उर्दु भाषासँगको संसर्गमा बेग्लै तराइली नेपालीको विकास भएको छ । त्यसैले तराइलीलाई पनि एक भाषिकाका रूपमा लिनु औचित्यपूर्ण हुने छ । 
२.१.१ पुर्बेली भाषिका 
पुर्बेली भाषिका नेपालका सबैभन्दा धेरै वक्ताहरुले बोल्ने भाषिका हो । यो भाषिका विभिन्न  जिल्लाका सदर मुकामहरुका साथै सुर्खेतको केही भाग, रुकुम, प्युठान र दाङमा बोलिन्छ । यसैलाई स्तरीय नेपाली भनिन्छ । नेपालको सरकारी कामकाजको भाषा र सम्पर्क भाषाका साथै सञ्चार र शिक्षाको माध्यमका रूपमा यसले काम गर्दै आएको छ । यसमा शब्दकोश, व्याकरण र यथेष्ट साहित्यिक कृतिहरु लेखिएका छन्  । यसको सम्वर्धनमा मध्य पश्चिम क्षेत्रले महत्त्वपूर्ण योगदान गर्दै आएको छ । मध्य पश्चिममा उपलब्ध विभिन्न ऐतिहासिक सामग्री तथा शब्द ढुकुटीबाट पुर्बेली नेपाली लाभान्वित भएको छ ।
२.१.२ जुम्ली सिँजाली भाषिका
जुम्ला, मुगु, डोल्पा र हुम्लामा यो भाषिका बोलिन्छ । वि.सं. २०६८ को जन गणनाले यसलाई जुम्ली भाषाको नाम दिए पनि पहाडमा १७ र तराईमा २४ जना मात्र यसका वक्ता रहेको जानकारी दिइएको छ । सो जन गणना अनुसार हिमाली जिल्लाहरुमा त यसका वक्ता नै छैनन् । त्यसैले यसलाई भाषाका रूपमा लिइनु युक्तिसङ्गत देखिँदैन । निरौला (२०५१, पृ.४३ ) ले यसलाई जुम्ली सिँजाली नाम दिएका हुन् । उनको विद्यावारिधि शोध प्रबन्ध (२०७१) मा पनि उनले यही नाम अँगालेको पाइन्छ । यसका प्राचीन अभिलेखहरुको खोजीमा योगी नरहरि नाथको विशिष्ट योगदान रहेको छ । यसलाई पोखरेल (२०२२) ले केन्द्रीय भाषिका वा खसानीको संज्ञा दिएको पाइन्छ । बन्धु (२०२५) ले पनि केन्द्रीय भाषिका समूह अन्तर्गत यसलाई राखेका छन् ।  बन्धु (२०२८) ले यस भाषिकाको वर्णनात्मक अध्ययन गरेका छन् । पोखरेल (२०३१) ले यसको नामकरण माझाली गरेका छन् र यसका असीदराली, तिब्रीकोटी, हुम्ली र रासकोटी भेद रहेको उल्लेख गरेका छन् । सिँजापति (२०३७) ले कर्णाली भाषिका समूहका रूपमा असीदराली, हुम्ली, मुगाली, खत्याडी, गुम्की, चौधवीश र रासकोटीलाई लिई अध्ययन गरेका छन् । सिजापति (२०५०) ले नै यसलाई जुम्ली भाषिकाको संज्ञा दिँदै  विद्यावारिधि तहको अनुसन्धान पुरा गरेका छन् । तिमिल्सिना (२०५१) ले यसलाई जुम्ली सिँजाली र हुम्ली नाम राख्तै दुई वटा भाषिकाका रूपमा प्रस्तुत गरेका छन् । नेपाल 'यात्री' (२०५३) र अधिकारी (२०५६) का  अध्ययनहरु पनि यस भाषिकाका सन्दर्भमा उल्लेख्य छन् । यस भाषिकाले 'गोरखापत्र'मा खस भाषाका नाममा प्रकाशित हुने अवसर पाएको छ भने स्थानीय एफ.एम.मा पनि यस भाषिकामा प्रसारण गरिन्छ । यसका साथै यसका वक्ता विद्यार्थीहरुका निम्ति मातृभाषी विद्यालय सञ्चालन गर्ने प्रयत्न पनि भइ रहेको छ । यस भाषिकासँग सम्बन्धित केन्द्रीय नेपाली शब्दकोश राजेन्द्रप्रसाद आचार्यले प्रकाशित गरेका छन् । रत्नाकर देवकोटाका "नेपाली उखान र गाउँ खाने कथा"(२०२७), "कर्णालीका लोककथा"(२०६३) र "मौलिक लोकगीतभित्रको पश्चिम नेपाल"(इ.सं.२००५), गोविन्दप्रसाद पाण्डेको "देउडाः विगतदेखि वर्तमानसम्म"(२०६०)  र खडानन्द चौलागाईंको "मझेरीबाट हेर्दा कर्णाली" (२०७४) कृति लगायत विभिन्न लेखकका  लोक साहित्यिक कृतिहरु पनि प्रकाशित छन् ।
२.१.३ दैलेख कालीकोटे भाषिका
     दैलेख र कालीकोट जिल्लामा यो भाषिका बोलिन्छ । वि.सं. २०६८ को जन गणनामा यसलाई दैलेखी भाषा भनिएको छ । यसका वक्ताका रूपमा पहाडी र हिमाली भेकमा कोही छैनन् ; मात्र तराईमा १४ जना छन् । अतः यसलाई पनि हचुवाका भरमा जन गणनाले भाषा भनेको छ । त्यसैले यसलाई भाषिकाका रूपमा अँगाल्नु नै उपयुक्त हुन्छ । यस भाषिकाका बारेमा यस पङ्क्तिका लेखकले दैलेखको दुल्लुमा आयोजित एक गोष्ठीमा गोष्ठीपत्र प्रस्तुत गरेको थियो जुन गिरी (२०६९, पृ.५४-६७) मा देख्‍न सकिन्छ । यस भाषिकाका लोक साहित्यको अध्ययन यात्री ( २०४१), गिरी (२०४८, २०५० र २०६८), सिंह (२०५८), ओली (२०६१) र खड्का(२०६६) ले गरेका छन् । यस भाषिकाका लोकगीतहरु एफ.एम. र टेलिभिजनबाट प्रसारण भएको पनि पाइन्छ । खत्री (२०७४) को 'राईसुवाकी सौँराई लागी' नामक लोकगीतको सँगालो हालै यस भाषिकामा प्रकाशित भएको छ ।
२.१.४ भेरीक्षेत्रीय भाषिका
     सुर्खेत जिल्लाको पूर्वी भेक, जाजरकोट, सल्यान र रुकुम जिल्लामा भेरी क्षेत्रीय भाषिका बोलिन्छ । यस भाषिकालाई पोखरेल (२०३१)ले पुर्बेली भाषिकाको खसानी उपभेदको संज्ञा दिएका छन् । गिरी (२०४०) ले यही भाषिकासँग सम्बन्धित सिम्ताली क्रियाको संरचनात्मक विश्लेषण गरेका छन् । यसै शोधकार्यमा आधारित भएर उनले तयार गरेको "भेरीक्षेत्रीय नेपाली क्रियाको संरचनात्मक विश्लेषण" (२०५३) प्रकाशित छ । गिरी (२०६३) को "भाषा विज्ञान, भाषा र भाषिका" नामक पुस्तकमा भेरीक्षेत्रीय नेपालीलाई बेग्लै भाषिकाका रूपमा प्रस्तुत गरिएको छ । उनले "सिम्तालीको भाषावैज्ञानिक विश्लेषण"(२०६५) शीर्षकमा विद्यावारिधि सम्पन्न गर्दै यस भाषिकाको वर्णनात्मक अध्ययन गरेका छन् । गिरी (२०५७) ले यस भाषिकासँग सम्बन्धित लोक साहित्यको पनि अध्ययन गरेका छन् । उनले तयार गरेर नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रस्तुत गरेको "नेपालीका भाषिकाको  शब्दकोश"मा भेरीक्षेत्रीय नेपालीका शब्दहरु पनि समाविष्ट छन् ।  यस भाषिकासँग सम्बन्धित विभिन्न भाषिक र लोक साहित्यिक अध्ययनहरु स्नातकोत्तर तहमा भएका छन् । गिरी (२०५७)को "लोक साहित्यको अवलोकन"(२०५७) र "नेपाली लोक साहित्यमा जन जीवन"(२०६९), गोविन्द आचार्यको "लोकगीतको विश्लेषण"(२०७२) तथा मनोहर लामिछानेको " लोक साहित्य र संस्कृतिका केही पाटाहरु"(२०६५)मा पनि यस भाषिकाका बान्कीहरु देख्न सकिन्छ ।
२.१.५ अछामी भाषिका
     सुर्खेतको डाँडा दरामा कतै पुर्बेली भाषिका र कतै अछामी भाषिका बोलिन्छ । यसरी नै दैलेखको पश्चिमी भेकमा पनि यो भाषिका बोलिन्छ । पोखरेल (२०३१) ले यसलाई ओर पच्छिमा भाषिकामा राखेका छन् । अछामीलाई नेपालको जन गणना २०६८ ले भाषाका रूपमा लिएको पाइन्छ । मध्य पश्चिम क्षेत्रमा अछामीका वक्ता जम्मा १०७ देखाइए पनि यसको वास्तविक सङ्ख्या बढी नै हुन सक्छ । अध्ययनका क्रममा शाही (२०७० ) ले यसलाई भाषिकाका रूपमा र शाही (२०७२) ले भाषाका रूपमा तथा उपाध्याय (२०७२) ले भाषिकाका रूपमा लिएका छन् । पहलमान सिंह स्वारले यस भाषिकामा 'लालुभागा' (रचना वि.सं.१९७५) नाटक र फुटकर कविता लेखेर यस भाषिकालाई परिचित गराएका थिए । यस भाषिकासँग सम्बन्धित विभिन्न भाषिक र लोक साहित्यिक अध्ययन भएका छन् ।
२.१.६ तराइली भाषिका
     तराइली भाषिका खास गरेर बाँके, बर्दिया र दाङको देउखुरीमा विकसित भएको छ ।  'बर्दिया जिल्लाको नेपालीमा प्रचलित थारु शब्दको अध्ययन' तथा 'बाँके जिल्लाको नेपालीमा प्रचलित मुस्लिम शब्द' सम्बन्धी अध्ययनका प्रतिवेदनहरु गिरी ( २०५९ क र २०५९ ख) ले प्रकाशित गरेका छन् जसमा तराइली नेपालीमा प्रचलित शब्दका केही बान्कीलाई देख्‍न सकिन्छ । यसबारे तिमिल्सिना (२०६२) ले नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा नेपालगन्जमा आयोजित एक गोष्ठीमा प्रस्तुत गरेको "नेपाली भाषा र नेपालगन्ज क्षेत्रको नेपाली भाषाः केही संक्षिप्त चर्चा" विषयक कार्यपत्रमा केही विवेचना गरेको पाइन्छ । त्यसमा बाँके जिल्लामा प्रचलित नेपालीका केही शब्द र वाक्यहरु दिई तराइली नेपालीबारे  प्रकाश पारिएको छ । यसको व्यवस्थित र विस्तृत अध्ययनको आवश्यकता छ ।
२.२ थारु भाषा
     भारोपेली परिवारको देवनागरी लिपिमा लेखिने  थारु भाषा दाङ, सुर्खेत, बाँके र बर्दिया जिल्लामा बोलिन्छ । वि.सं.२०६८ को जन गणना अनुसार यस भाषाका वक्ताहरुको  देशभरको सङ्ख्या १७ लाख  ३७ हजार ४ सय ७० (६.६%) छ र नेपाली, मैथिली र भोजपुरीपछि यसलाई चौथो स्थान प्राप्त छ भने मध्य पश्चिमको मात्र थारु भाषाका वक्ताको सङ्ख्या ४ लाख ५४ हजार ५ सय १६ रहेको छ । मध्य पश्चिम क्षेत्रमा यसका तीन वटा भेदहरु प्रचलित छन् – (१) डङगौरा र (२) देउखुरिया (३) डेसौरी । डङगौरा थारुमा मौलिकताको मात्रा बढी छ भने डेसौरीमा अवधी भाषाको प्रभाव परेको पाइन्छ । गिरी (२०४०) को "पश्चिम तराईका थारु उखानहरुः एक अध्ययन" नामक लेख डेसौरी थारुसँग सम्बन्धित छ । बर्दिया जिल्लामा आधारित भएर उनले यो अध्यन गरेका हुन् । दहित (२०५४) को 'थारू - नेपाली शब्दकोश' तथा दहित र थारु (२०५७) को "थारु – नेपाली -अङ्ग्रेजी शब्दकोश" प्रकाशित छन् । दहित (२०७०) ले 'थारु व्याकरण' पनि प्रकाशित गरेका  छन् ।  चौधरी (२०५६ ) को "थारु भाषाक लिरौसी व्याकरण" प्रकाशित छ । उनले "थारु भाषाको समाज भाषावैज्ञानिक अध्ययन (२०६३)" सम्पन्न गरेका छन् । यसमा मध्य पश्चिममा प्रचलित थारु भाषाका भेदहरुबारे पनि विवेचना गरिएको छ । 'गोरखापत्र'मा यस भाषाका सामग्री प्रकाशित हुँदै आएका छन् । थारु मातृभाषा विषयका रूपमा केही विद्यालयमा पठन पाठन हुन थालेको छ । बर्दियाको गुरुबाबा एफ.एम.लगायत केही एफ.एम.हरुले थारु भाषामा प्रसारण गर्दै आएका छन् भने केही एफ.एम.हरुले यस भाषामा समाचार दिने गरेका छन् । यस भाषामा मध्य पश्चिमको दाङबाट 'गोचाली' (२०२८) को प्रकाशनबाट सुरु भएको पत्रिका प्रकाशनको काम बढ्दै गएर नेपालगन्जबाट 'टेंस' (२०४५), बर्दियाबाट 'नेउता' (२०४८), दाङबाट 'हमार पहुरा' (२०४९), बर्दियाबाट 'टेलवा' (२०५१), दाङबाट 'कविला'(२०५१) र 'हमार खोज' (२०५२), बर्दियाबाट 'ओजरिया' (२०५६), देउखरबाट 'केरनी' (२०५८), सुर्खेतबाट 'डौना बेबरी' (२०५८), नेपालगन्जबाट 'सरासर' (२०६०), दाङबाट 'ख्याल' (२०६०), 'कविला' (२०६०) र 'जोग्नी' (२०६०), बर्दियाबाट 'बगिया हवाई' (२०६१), बाँकेबाट 'तोरैया हवाई' (२०६१), दाङबाट 'गन्यारी' (२०६२), बर्दियाबाट 'हमार सैचिन'(२०६३), दाङबाट 'दङ्गाहा निउटा'(२०६३), देउखुरीबाट 'लावा लौझी' (२०६४) र दाङ देउखुरीबाट 'लावा डग्गर' (२०६६)सम्म पुग्दा डेढ दर्जनभन्दा बढी पत्रिका मध्य पश्चिमबाट मात्र प्रकाशित हुन पुगे । यसरी नै करिब आधा दर्जन समाचारमूलक पत्रिका यहाँबाट प्रकाशित भए । दर्जनौँ साहित्यक पुस्तक र ध्वनिचक्काहरु पनि सार्वजनिक भएका छन् ।
२.३ अवधी भाषा
     भारोपेली परिवारको देवनागरी लिपिमा लेखिने अवधी भाषा मध्य पश्चिम क्षेत्रमा प्रचलित वक्तासङ्ख्याका दृष्टिले तेस्रो ठुलो भाषा हो ।  मध्य पश्चिममा यसका वक्ताहरुको सङ्ख्या १ लाख ५७ हजार २ सय ६३ रहेको छ । यस भाषाका वक्ताहरु पहाडतिर नगण्य मात्रामा भए पनि बाँके र  बर्दियामा बाक्लो रूपमा रहेका छन् । तुलसीदासको रामायण यसै भाषामा लेखिएको छ । यहाँको अवधी भाषा थारु, उर्दु र नेपाली भाषाको संसर्गमा रहेको छ । त्यसैले यी तिनवटै भाषा परस्पर प्रभावित हुनु स्वाभाविक छ । नेपाल प्रज्ञा प्रतिष्ठानले विश्वनाथ पाठक सङ्कलनकर्ता रहेको 'लघु अवधी विश्वकोष' (२०५७) र विक्रममणि त्रिपाठीको 'अवधी लोक साहित्य'(२०७३) प्रकाशित गरेको छ । यसरी नै रेग्मी र अन्य (२०७०) को 'अवधी व्याकरण' पनि प्रज्ञा प्रतिष्ठानबाट प्रकाशन भएको छ । यस भाषाको उत्थानका लागि विभिन्न सङ्घसंस्था मध्य पश्चिमको तराईमा क्रियाशील छन् । सच्चिदानन्द चौवेले भानुभक्तको 'रामायण' अवधी भाषामा उल्था गरेको पाइन्छ । स्थानीय स्तरमा विभिन्न पत्र पत्रिका प्रकाशित हुनुका साथै एफ.एम. रेडियो र टेलिभिजनमा समेत यस भाषामा प्रसारण हुने गरेको छ । 'गोरखापत्र' यस भाषाको पातो सुरक्षित रहेको छ । यस भाषामा साहित्य सिर्जना हुँदै आएको छ ।
२.४ उर्दु भाषा
     मध्य पश्चिम क्षेत्रमा विशेषतः बाँके, बर्दिया, दाङ, सुर्खेत र दैलेखमा  मुसलमानहरुको बसोबास रहेको छ । उनीहरु भारोपेली परिवारको अरबी लिपिमा लेखिने उर्दु भाषा बोल्दछन् । वि.सं.२०६८ को जन गणना अनुसार मध्य पश्चिम क्षेत्रमा उर्दु भाषाका वक्ताहरुको सङ्ख्या १ लाख ३ हजार ५ सय ९२ रहेको छ । उर्दुभाषी लेखकहरुको बढी गतिविधि बाँकेको नेपालगन्जमा केन्द्रित भएको पाइन्छ । समय समयमा गजल वाचनका निम्ति नेपालगन्जमा मुसायरा ( गजल गोष्ठी) यहाँ आयोजना गरिन्छ । अब्दुल लतिफ शौक, मुस्तफा कुरैसी, इद्रिस सायल जस्ता लेखकका कृतिहरु उर्दु भाषामा प्रकाशित भएका पाइन्छन् । गिरी (२०५९) ले बाँके जिल्लाको नेपालीमा प्रचलित केही उर्दु शब्दहरुको अध्ययन गरेका छन् । 'गोरखापत्र'मा उर्दु भाषाको पृष्ठ प्रकाशित हुँदै आएको छ जसमा मध्य पश्चिमका उर्दुभाषीहरुको पनि सहभागिता रहने गरेको छ । सुर्खेत र दैलेखमा बसोबास गर्ने मुसलमानहरुको नेपाली मिश्रित उर्दुको बेग्लै अस्तित्व रहेको छ ।
२.५ मगर ढुट भाषा
     चिनियाँ तिब्बती परिवारको  मगर ढुट भाषा मध्य पश्चिमका सुर्खेत, दैलेख, जाजरकोट, बाँके, बर्दिया, प्युठान, रोल्पा, रुकुम, सल्यान, दाङ, कालीकोट, मुगु र हुम्ला लगायतका जिल्लाहरुमा बोलिन्छ । यस भाषाको अक्खा लिपि भए पनि देवनागरी लिपिमा नै प्रायः  प्रकाशनहरु हुने गरेका छन् । वि.सं. २०६८ को जन गणना अनुसार मध्य पश्चिम क्षेत्रमा मगर (ढुट)का वक्ताहरुको सङ्ख्या ८४ हजार ७ सय ७४ रहेको छ । मगर भाषामा सुभद्रा सुब्बाले " ए डिस्क्रिप्टिभ एनालाइसिस अफ मगर" शीर्षकको विद्यावारिधि शोध प्रबन्ध इ.सं. १९७२ मा  भारतको पुने विश्व विद्यालयमा बुझाएको पाइन्छ । अयोधीप्रसाद प्रधानले एस.एस.पी.पी.नामबाट वि.सं.१९९६ मा  'मगर कुरा शिक्षा' र 'मगर शब्द सङ्ग्रह' प्रकाशन गरेको जानकारी उपलब्ध छ । सुर्खेतका मनबहादुर बगाले मगरले ' मगर ढुट लवजखाट'(२०६१) नामक मगर भाषाको व्याकरण प्रकाशन गरेका छन् । मध्य पश्चिमका मगर वक्ताबाट प्रकाशित यो एक महत्त्वपूर्ण कृति बन्न गएको छ । हिरासिंह थापा (सामेसेन मगर) को "मगर (ढुट)-खस-अङ्गरेजी शब्दकोश"(२०६६) नामक बृहत् शब्दकोश यस भषाको एक उल्लेख्य कृति हो । विष्णुकुमार सिङ्जाली र हिरामती राना(सिङ्जाली)को "मगर ढुटआङ कुराकानी"(२०६६) प्रकाशित छ । लोकबहादुर थापा मगरको नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित 'मगर ढुट व्याकरण' (२०६८) अर्को महत्त्वको पुस्तक हो । उनै थापा मगर (२०७०) ले "मगर भाषा (ढुट)को क्षेत्रीय भेदको अध्ययन" नामक पुस्तक पनि प्रकाशन गरेका छन् । मगर ढुटका निम्ति 'गोरखापत्र'मा पाना सुरक्षित छ । भिम नारायण रेग्मीको "नेपाली र मगर भाषा(ढुट)मा प्रेरणार्थक संरचना"(२०६८) पुस्तकमा तुलनात्मक अध्ययन गरिएको छ । रेडियो र टेलिभिजन प्रसारणमा यसले स्थान पाएको छ । यस भाषामा विद्यालय तहको अध्ययनका लागि पाठ्यक्रम पनि निर्माण भएको छ । यस भाषामा मातृभाषी विद्यालय अन्यत्र सञ्चालन भए झैँ मध्य पश्चिममा सञ्चालन हुन सकेको छैन ।
२.६ मगर खाम (पाङ) भाषा
     खाम मगर भाषालाई पाङ मगर पनि भनिन्छ । यो चिनियाँ तिब्बती परिवारको भाषा हो । खाम वा पाङ नामबारे यसका वक्ताहरुबिच विवाद भए पनि जन गणनाले खाम भाषाका रूपमा यसलाई अँगालेको छ । यो भाषा देवनागरी लिपिमा लेखिने गरेको छ । मध्य पश्चिममा रोल्पा, रुकुम, जाजरकोट र डोल्पा जिल्लामा यो भाषा बोलिन्छ र यसका वक्ताहरुको सङ्ख्या १९ हजार १ सय ५८ रहेको छ । डेडिड वाटर्सको "ए ग्रामर अफ खाम" (इ.२०००) प्रकाशित छ भने उनैले यस भाषाको अङ्ग्रेजीमा  शब्दकोश पनि प्रकाशन गरेका छन्  । जुक्ति प्रसाद पुनको "खाम मगर पाङ – नेपाली – अंग्रेजी शब्दकोश" (२०६१) यस भाषामा प्रकाशित अर्को महत्त्वपूर्ण कृति हो । यसरी नै रुकुम तकसेराका कर्णबहादुर बुढा मगरले "नेपाली – मगर पाङ – अङ्ग्रेजी शब्दकोश" (२०६२) र "मगर पाङ अङ्ग्रेजी शब्दकोश" (२०६४) प्रकाशन गरेको जानकारी उपलब्ध छ । रणप्रसाद घर्ती मगरका यसै भाषामा लेखिएका "खाम मगर लोक कथा", "खाम – इङ्लिस-डिक्सनरी" र "हाउ टु स्पिक खाम मगर" जस्ता कृतिहरु पनि उल्लेखनीय छन् । तेजेन्द्र बुढा मगर र नवराज उपाध्यायको "मगराँती खाम व्याकरण" (२०६७) प्रकाशन भएको छ । खाम मगरमा रेडियो प्रसारण पनि हुँदै आएको छ    यसलाई 'गोरखापत्र'को पाना पनि उपलब्ध छ ।
२.१.७ तामाङ भाषा
     मध्य पश्चिममा प्रचलित भाषाहरुमा  चिनियाँ तिब्बती परिवारको तामाङ भाषा पनि रहेको छ । यहाँका हुम्ला, डोल्पा, कालिकोट, जुम्ला, मुगु, सुर्खेत, दैलेख, बाँके, बर्दिया, दाङ, सल्यान र प्युठान जिल्लामा तामाङ भाषाका वक्ताहरु रहेका छन् । साम्बोटा वा देवनागरी लिपि तामाङ भाषाले  अँगालेको पाइन्छ ।  वि.सं. २०६८ को जन गणना अनुसार मध्य पश्चिममा यसका वक्ताहरुको सङ्ख्या १२ हजार ७ सय ७६ रहेको छ । यहाँको तामाङ भाषाबारे बेग्लै अध्ययन भएको नदेखिए पनि नेपालका अन्य तामाङ बहुल क्षेत्रबाट व्याकरण र साहित्यका कृतिहरू उल्लेख्य सङ्ख्यामा प्रकाशित छन् । त्यहाँ  यस भाषामा मातृभाषी विद्यालयहरु सञ्चालन हुनुका साथै रेडियो र टेलिभिजन प्रसारण समेत यस भाषामा हुँदै आएको छ । 'गोरखापत्र'को मातृभाषी पाना यस भाषाका लागि पनि सुरक्षित छ । नेपाल प्रज्ञा प्रतिष्ठानबाट निकट भविष्यमा तामाङ- नेपाली –अङ्ग्रेजी शब्दकोशका साथै तामाङ व्याकरण पनि प्रकाशित हुँदै छ ।
२.१.८ हिन्दी भाषा
 भारोपेली परिवारको  हिन्दी भाषाका वक्ताहरु बाँके, बर्दिया, दाङ, सुर्खेत र अन्य जिल्लाहरुमा पनि छिटफुट रूपमा रहेका छन् । हिन्दी भाषा देवनागरी लिपिमा लेखिन्छ । यो भाषा भारतको राष्ट्र भाषा हो । वि.सं. २०६८ को जन गणना अनुसार मध्य पश्चिममा यस भाषाका वक्ताहरुको सङ्ख्या ९ हजार ३ सय ७४ रहेको छ । हिन्दी भाषा नेपालमा स्नातकोत्तर तहसम्म पठन पाठन गरिन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानको अनुवाद प्रधान पत्रिका 'रूपान्तरण'का तिन भाषामध्ये एक हिन्दी पनि रहेको छ । हिन्दी भाषामा अन्य विभिन्न पत्र पत्रिका पनि प्रकाशित हुँदै आएका छन् ।
२.१.९ मैथिली भाषा
भारोपेली परिवारको देवनागरी वा मिथिलाक्षर लिपिमा लेखिने मैथिली भाषाका वक्ताहरु मध्य पश्चिमको बाँके, बर्दिया, दाङ र सुर्खेतका साथै अन्य जिल्लाहरुमा पनि रहेका छन् । वि.सं. २०६८ को जन गणना अनुसार मध्य पश्चिममा यसका वक्ताहरुको सङ्ख्या ८५८३ रहेको छ । मैथिली भाषामा मिथिला क्षेत्रमा विभिन्न पत्र पत्रिका र पुस्तकहरु प्रकाशित छन् । नेपाल प्रज्ञा प्रतिष्ठानबाट  योगेन्द्र प्रसाद यादवको " प्रज्ञा मैथिली-नेपाली-अङ्ग्रेजी शब्दकोश (२०७३) प्रकाशित भएको छ । विद्यापतिदेखि वर्तमान समयसम्मका अनेक लेखक र भाषाशास्त्रीहरुको यस भाषाको विकासमा योगदान रहँदै आएको छ । विभिन्न रेडियो र टेलिभिजन प्रसारणका साथै 'गोरखापत्र'मा पनि यसले स्थान पाएको छ । यस भाषामा जनकपुरमा स्नातकोत्तर तहसम्मको पठन पाठन हुँदै आएको छ ।
२.१.१० गुरुङ भाषा
चिनियाँ तिब्बती परिवारको गुरुङ भाषा मध्य पश्चिमका डोल्पा, जुम्ला, सुर्खेत, बर्दिया, दैलेख, दाङ, प्युठान, बाँके, रोल्पा र रुकुम जिल्लामा बोलिन्छ । देवनागरी भाषामा नै यसलाई लेख्‍ने गरिएको छ यद्यपि कसै कसैले रोमन लिपिको प्रयोग गर्ने कुरा पनि उठाएको पाइन्छ । मध्य पश्चिममा यसका वक्ताहरुको सङ्ख्या ७ हजार ९ सय ९२ रहेको छ । गण्डकी क्षेत्र गुरुङ भाषाको मूल थलोका रूपमा रहेको छ । यस भाषामा नेपाल प्रज्ञा प्रतिष्ठानले "गुरुङ – नेपाली शब्दकोश" (२०५९) प्रकाशित गरेको छ । यस भाषामा विभिन्न पुस्तकहरु प्रकाशित छन् । 'गोरखापत्र'मा पनि गुरुङ भाषाका सामग्री पढ्न पाइन्छ । रेडियो र टेलिभिजनमा पनि यसका सामग्री प्रसारण हुने गरेका छन् ।
२.१.११ नेवारी भाषा
     चिनियाँ तिब्बती परिवारको देवनागरी र रञ्जना लिपिमा लेखिने नेवारी भाषा बाँके, बर्दिया, सुर्खेत, दाङ, प्युठान र सल्यान लगायतका जिल्लामा बोलिन्छ । मध्य पश्चिममा यसका वक्ताको सङ्ख्या ६ हजार ३ सय ४७ रहेको छ । मूलतः काठमाडौँ उपत्यकामा बोलिने यस भाषामा त्यहाँबाट शब्दकोश, व्याकरण र पुस्तक पत्रिकाहरु ठुलै सङ्ख्यामा प्रकाशित छन् । रेडियो, टेलिभिजन र 'गोरखापत्र'मा पनि यसलाई स्थान उपलब्ध छ । यस भाषामा काठमाडौँमा  मातृभाषी विद्यालयहरु सञ्चालन हुनुका साथै स्नातकोत्तर तहसम्मको पठन पाठन पनि हुँदै आएको छ ।
२.१.१२ शेर्पा भाषा
            चिनियाँ तिब्बती परिवारमा शेर्पा भाषा पर्दछ । मध्य पश्चिमको डोल्पा, मुगु, जुम्ला, बाँके, बर्दिया र सुर्खेतमा यस भाषाका वक्ताहरु रहेका छन् । वि.सं. २०६८ को जन गणना अनुसार मध्य पश्चिममा यस भाषाका वक्ताहरु ३ हजार १ सय ९ को सङ्ख्यामा रहेका छन् । मूलतः हिमाली क्षेत्रमा बोलिने  यस भाषामा विभिन्न पुस्तकहरु उपलब्ध छन् । साम्बोटा लिपिको प्रयोग यसमा हुँदै आएको छ ।
२.१.१३ भोजपुरी भाषा
     भोजपुरी भाषा भारोपेली परिवारसँग सम्बन्धित छ । मध्य पश्चिममा यस भाषाका वक्ताहरु बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेख, प्युठान, रोल्पा, रुकुम र जुम्ला जिल्लामा रहेका छन् । वि.सं. २०६८को जन गणना अनुसार यहाँ यस भाषाका वक्ताहरुको सङ्ख्या २ हजार ५ सय १३ रहेको छ । मध्य तराईको एक प्रमुख भाषाका रूपमा परिचित यस भाषाको विकासमा सन्तकवि कवीरदेखि विभिन्न विद्वानहरुको योगदान रहेको छ । यस भाषामा नेपाल प्रज्ञा प्रतिष्ठानबाट गोपाल ठाकुर, गोपाल अस्क र दिनेश गुप्ताको सम्पादनमा "भोजपुरी - भोजपुरी – नेपाली – अङ्ग्रेजी शब्दकोश"(२०७३) प्रकाशन भएको छ । देवनागरी लिपिमा लेखिने  यस भाषामा विभिन्न पुस्तक र पत्र पत्रिका यस भाषाको मूलथलो नेपालको मध्य तराईबाट प्रकाशित हुँदै आएका छन् र 'गोरखापत्र'मा पनि यसका पाना देख्‍न सकिन्छ ।
२.१.१४ डोटेली भाषा
     डोटेली भाषाका वक्ताहरु मध्य पश्चिमको बाँके, बर्दिया, सुर्खेत, रोल्पा, जुम्ला, हुम्ला लगायतका जिल्लामा रहेका छन् । भारोपेली परिवारको यस भाषाका वक्ताहरु वि.सं. २०६८ को जन गणना अनुसार मध्य पश्चिममा २ हजार २ सय ७३ को सङ्ख्यामा रहेका छन् । सुदूर पश्चिममा यस भाषामा पुस्तक र पत्र पत्रिका प्रकाशित भएको पाइन्छ र रेडियो प्रसारण पनि यसमा हुने गरेको छ । यस भाषाले 'गोरखापत्र'मा पनि  स्थान पाएको छ ।
२.१.१५ राजी भाषा
     राजी भाषा चिनियाँ तिब्बती परिवारको  भाषा हो । यस भाषाका वक्ताहरु मध्य पश्चिमको सुर्खेत र बर्दिया जिल्लामा रहेका छन् । वि.सं.२०६८को जन गणना अनुसार  मध्य पश्चिममा यस भाषाका वक्ताहरुको सङ्ख्या १ हजार ७ सय २० रहेको छ । यस भाषाका बारेमा गिरी (२०५७) ले राजी भाषाका केही विशेषताबारे प्रकाश पारेका छन् भने गिरी (२०५९) ले आफ्नो स्नातकोत्तर तहको शोधपत्रमा तुलनात्मक अध्ययन  गरेकी छन् । मध्य पश्चिमसँग निकट रहेको कैलालीको खैलाडका राजीहरुको अध्ययनमा आधारित "राजी संस्कृति र भाषाको अध्ययन" (बन्धु र अन्य, इ.सं.२०११) युनेस्कोमा प्रतिवेदनका रूपमा प्रस्तुत छ । गिरी (२०६१ )को "राजी भाषा चिनारी, चर्चा र चासो" शीर्षकको गोष्ठीपत्र तथा गिरी (२०६२) को "राजी जातिको सङ्क्षिप्त परिचय" नामक लेखमा सुर्खेतमा बोलिने राजी भाषाबारे प्रकाश पारिएको छ । घिमिरे (२०५४), शाही (२०५७), खत्री ( इ.सं.२०११, पृ.५७-६७), साह (इ.सं. २०११, पृ.२१८-२२१) ले पनि यस भाषाका केही विशेषतामाथि प्रकाश पारेका छन् । यस भाषाको संरक्षणका लागि सङ्गठित प्रयास भएको पाइन्छ र कैलालीबाट एक पत्रिका पनि प्रकाशित भएको जानकारी उपलब्ध छ ।
२.१.१६ मगर काइके भाषा
वि.सं.२०६८ को जनगणनामा मध्य पश्चिममा मगर काइके भाषाका वक्ताहरुको सङ्ख्या १७ मात्र दिइएको छ जब कि वि.सं. २०५८ को जन गणनामा सो सङ्ख्या ७ सय ९४ उल्लिखित छ र रेग्मी (२०११, पृ.१८६) ले डोल्पाको सहरतारा गा.वि.स.मा मात्र सो सङ्ख्या करिब ७९२ रहेको जानकारी दिएकी छन् । यसरी नै रेग्मी ( २०७४,पृ.१) ले  क्षेत्रगत अध्ययनका आधारमा यसका वक्ताहरुको सङ्ख्या १००० को हाराहारीमा रहेको जानकारी दिएका छन् । त्यसैले डोल्पाका तराली मगरहरुले बोल्ने काइके भाषाका वक्ताहरुको सङ्ख्या १७ मा झर्‍यो होला भनी विश्वास गर्न गारो छ । यस भाषाबारे धनबहादुर बुढाले नेपाल प्रज्ञा प्रतिष्ठानको योजना अन्तर्गत वि.सं २०६२ मा अध्ययन गरी एक प्रतिवेदन प्रस्तुत गरेका छन् । अम्बिका रेग्मीले वि.सं. २०७० मा "ए ग्रामर अफ मगर काइके" शीर्षकमा विद्यावारिधि तहको अध्ययन सम्पन्न गरेकी छन् जुन सोही शीर्षकमा सोही वर्ष प्रकाशित पनि भएको छ । रेग्मी (इ.सं.२०१३)को "ए सोसियोलिङ्ग्विस्टिक सर्भे अफ मगर काइकेः ए टिबेटो-बर्मन ल्याङ्ग्वेज अफ नेपाल" नामक नेपालको भाषिक सर्वेक्षेणको प्रतिवेदन प्रकाशित छ । रेग्मी(२०१३) कै "एनालाइज्ड टेक्स्ट इन मगर काइके" पनि यस भाषासँग सम्बन्धित महत्त्वपूर्ण कृति हो । रेग्मी (इ.सं.२००७ र २०११) का लेखहरुले पनि काएके भाषा सम्बन्धी महत्त्वपूर्ण जानकारी दिएका छन् । 
२.१.१७ खुना भाषा
वि.सं.२०६८ को  जन गणनामा उल्लेख नभएको खुना भाषा पनि मध्य पश्चिममा प्रचलित रहेको जानकारी प्राप्त भएको छ ।  बाँके जिल्लाको तत्कालीन खासकुस्मा गा.वि.स.को वडा नं.५ भम्का गाउँमा सो भाषा बोलिने र  त्यसका वक्ता ५९५ रहेको कुरा तिमिल्सिना (२०७४) ले उल्लेख गरेका छन् । उनले "लोपोन्मुख खुना भाषाः एक अध्ययन" शीर्षकमा एक अनुसन्धान कार्य नेपाल प्रज्ञा प्रतिष्ठानको योजना अन्तर्गत  सम्पन्न गरेका छन् ।
२.१.१८ साङ्केतिक भाषा
     मध्य पश्चिम क्षेत्रमा नेपाली साङ्केतिक भाषा हुम्ला, बाँके, बर्दिया, सुर्खेत, दैलेख, दाङ, सल्यान, रोल्पा, रुकुम र प्युठान जिल्लामा प्रचलित छ । यहाँ यस भाषाका वक्ताहरुको सङ्ख्या ५ सय ७२ रहेको छ । साङ्केतिक भाषाका विद्यालयहरु मध्य पश्चिमका सुर्खेत लगायतका केही जिल्लामा सञ्चालित छन् । यस भाषाको अध्ययन अध्यापनका लागि शब्दकोशहरु प्रकाशित छन् र विभिन्न सङ्केतहरु निर्माण भएका छन् ।
२.१.१९ सोनाहा भाषा
      भारोपेली परिवारको सोनाहा भाषा बर्दिया जिल्लामा बोलिन्छ । खास गरेर राजापुर भेकमा कर्णाली नदीका छेउछाउतिर यसका वक्ताहरुको बसोबास रहेको छ । यहाँ यसका वक्ताहरुको सङ्ख्या ५ सय ३ रहेको छ । यस भाषाको भाषिक सर्वेक्षणको काम त्रिभुवन विश्व विद्यालयको भाषा विज्ञान विभागले सम्पन्न गरेको छ । यस भाषामा लिखित सामग्रीको अभाव छ ।
२.१.२० छन्त्याल भाषा
     चिनियाँ तिब्बती परिवारको छन्त्याल भाषाका वक्ताहरु मध्य पश्चिमको सुर्खेत, बाँके, बर्दिया र दाङमा पाइन्छन् । वि.सं. २०६८ को जन गणना अनुसार मध्य पश्चिममा यस भाषाका वक्ताहरुको सङ्ख्या ४ सय २३ रहेको छ ।
२.१.२१ खाम्ची भाषा
     राउटेहरुको भाषालाई खाम्ची भाषा भनिन्छ । चिनियाँ तिब्बती परिवारको यस भाषाका वक्ताहरु मध्य पश्चिमका विभिन्न जिल्लाहरुमा घुमन्ते जीवन बिताउँछन् । वि. सं. २०६८ को जन गणना अनुसार मध्य पश्चिममा खाम्ची भाषा बोल्ने राउटेहरुको जनसङ्ख्या ६६ रहेको छ । जन गणनाका समयमा उनीहरु सल्यान जिल्लामा रहेको पाइन्छ । राउटेहरुसँग निकटस्थ सत्यदेवी अधिकारी भने राउटेहरुको यो सङ्ख्या सही नभएको र वास्तवमा उनीहरु १५० जनाको समूहमा रहेको बताउँछिन् । नेपाल 'यात्री' (२०४० ), सिंह ( २०४८) र शाही (२०५७) ले यस भाषासँग सम्बन्धित महत्त्वपूर्ण जानकारी दिएका छन् । राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले पनि यस भाषाका केही सामग्री सङ्कलन गरेकी छन् ।
२.१.२२ बोटे भाषा
     भारोपेली परिवारको बोटे भाषा मध्य पश्चिमको बर्दिया र सुर्खेत  जिल्लामा बोलिन्छ । वि.सं. २०६८ को जन गणना अनुसार मध्य पश्चिमको डोल्पा जिल्लामा पनि यस भाषाका वक्ताहरु रहेको र तिनको जनसङ्ख्या १३९४ रहेको कुरा उल्लिखित  छ । तर डोल्पामा बोलिने भोटे भाषाका लागि बोटे उल्लेख हुन गएको हो कि भन्ने आशङ्का विद्वानहरुले गरेको पाइन्छ । सो जन गणनामा बर्दियामा बोटेका वक्ताहरूको सङ्ख्या ४० देखाइएको छ भने सुर्खेतका बोटे भाषाका वक्ताहरुलाई यसमा समावेश गरिएको छैन । सुर्खेतको लेखफार्साको छोटेमा रहेका बोटेहरुका विषयमा टीकाराम पौडेलले एम.एड. तहमा शोधपत्र प्रस्तुत गरेको र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा वि.सं. २०६२ मा यस पत्रको लेखकको संयोजनमा काठमाडौँमा आयोजित एक गोष्ठीमा अच्युतशरण अर्यालले एक गोष्ठीपत्र प्रस्तुत गरेर केही विशेषता प्रकाशमा ल्याएको पाइन्छ । सुर्खेतको घुमखहरेमा पनि केही बोटेहरु रहेका छन् । मध्य पश्चिमका अतिरिक्त अन्यत्र पनि बोटे भाषा प्रचलित रहेको र यसबारे राजकुमार बोटे जस्ता यस भाषाका लेखकले केही महत्त्वपूर्ण जानकारी दिएको पाइन्छ ।
२.१.२३ कुसुन्डा भाषा
     कुसुन्डा भाषाको पारिवारिक सम्बन्ध अझै स्पष्ट भएको छैन । त्यसैले नेपालमा विद्यमान भारोपेली, चिनियाँ तिब्बती, द्रविड र आग्नेली परिवारभन्दा भिन्न परिवारको भाषाका रूपमा यसलाई लिने गरिएको छ । वि.सं. २०६८ को जन गणनामा मध्य पश्चिममा यसका दुई जना वक्ता रहेको कुरा उल्लेख गरिएको छ । उनीहरू दाङ जिल्लाका बासिन्दा हुनु पर्दछ । यस भाषाबारे आदिवासी जनजाति ऊत्थान प्रतिष्ठानसँग मिलेर भाषा विज्ञान केन्द्रीय विभागले केही वर्ष पहिले यस भाषाको अभिलेखीकरण गरेको थियो जसमा कुसुन्डा भाषाका वक्ता कमला खत्री, ज्ञानी मैयाँ सेन र प्रेम बहादुर शाहीलाई संलग्न गराइएको थियो  । रोल्पा टुनीबोटकी पुनी ठकुरी र उनकी छोरी कमला खत्रीले मात्र एउटै मझेरीमा यो भाषा बोल्ने गरेको र देउखुरीकी ज्ञानी मैयाँ सेन र दाङका प्रेम बहादुर शाहीले आफ्नो परिवारमा कसैसित पनि यो भाषा बोल्न नपाएको कुरा माधवप्रसाद पोखरेलले जानकारी दिएका छन् ।  
२.२.२२ अन्य भाषा
     माथि उल्लिखित भाषाका अतिरिक्त मध्य पश्चिमका जिल्लाहरुमा विभिन्न अन्य भाषाहरु पनि बोलिन्छन् भन्ने जानकारी वि.सं. २०६८को जन गणनाले दिएको छ । तिनका नाम दिँदै कोष्ठकमा वक्तासङ्ख्या राखेर यहाँ प्रस्तुत गरिएको छ – राई (३८८), बेलहारे (३३२), बङ्गला (२५४), सन्थाली (१८२), लिम्बु (१६४), आसामी (१५३), याक्खा (१५१), राजस्थानी (१५१) र पन्जाबी (११८) यहाँका १०० भन्दा बढी जनसङ्ख्या भएका भाषा हुन् ।  थकाली (८५), बैतडेली (६०), दराई (४५), अङ्ग्रेजी (४४), बान्तावा ( ४०), सुनुवार (३८), खस (२८), तिब्बतियन (२७), चेपाङ (२६), कुमाल (२४), बझाङी (२३), घले(२१), उराउ (२१), दनुवार (२०),  राजवंशी (१४), ह्योल्मो (१३), बाजुरेली (१०) र बराम (१०) लगायतका १९ वटा भाषा यहाँका ९ भन्दा बढी  र १०० भन्दा कम वक्ता भएका  भाषा हुन् । १० भन्दा पनि कम वक्ता भएका  भाषा यहाँ २८ वटा छन् । ती संस्कृत (९), गमगाई (९), थामी (८), माझी (७), उडिया (६), मगही (६), चामलिङ (५), दुमी (५), मेचे (५), ल्होमी (५), मुसलमान (५), बज्जिका (४), जिरेल (४), दुरा (३), ताजपुरिया (३), धिमाल (२), थुलुङ (२), चिनियाँ (२), मेवाहाङ (२), तिलुङ (२), हरियाणवी (२), नाछिरिङ (१), पहरी (१), लाप्चा (१), बाहिङ (१), हायु (१), सिन्धी (१) र सुरेल (१) हुन् ।

 ३. संरक्षण र संवर्धनका उपाय
     मध्य पश्चिम क्षेत्रमा प्रचलित भाषाहरुमध्ये कुनैका वक्ता धेरै र कुनैका थोरै छन् ; कुनै बढी विकसित र कुनै कम विकसित छन् ; कुनै सुरक्षित र कुनै असुरक्षित छन् ।  कुनै नेपालमा मात्र बोलिन्छन् भने कुनै नेपाल बाहिर पनि बोलिन्छन् । नेपालमै बोलिनेमा पनि कुनै मध्य पश्चिममा मात्र सीमित छन् भने कुनै अन्यत्र पनि बोलिन्छन् । तिनको अवस्था एकै प्रकारको छैन । यहाँ प्रचलित भाषा भाषिकामध्ये नेपाली, अवधी, भोजपुरी, मैथिली, माझी, बोटे, छन्त्याल, नेवारी, डगौरा थारु, राजी, गुरुङ, राउटे, जुम्ली नेपाली, सन्थाली, कठरिया थारु, सोनाहा, खुना, मगर काइके, मगर खाम र मगर ढुटको भाषिक सर्वेक्षणको काम त्रिभुवन विश्व विद्यालयको भाषा विज्ञान विभागबाट सम्पन्न भएको छ भने कतिपय भाषा भाषिकाको सर्वेक्षण हुन बाँकी नै छ । त्यसैले तिनको संरक्षण र संवर्धनको कुरा गर्दा यी सबैको ख्याल गरेर ती भाषाहरुको संरचनात्मक र स्तरगत विकासका योजना बनाई तिनको संरक्षण र संवर्धन गर्नु पर्दछ । संरचनात्मक विकासभित्र भाषाको स्वरूपगत विकास पर्दछ जसमा वर्णमाला निर्धारण, भाषिक भेदको छनोट, हिज्जेमा सुधार, व्याकरण निर्माण, शब्द भण्डारको विस्तार र शब्दकोश निर्माण जस्ता पक्षहरु समेटिन्छन् । (अधिकारी, २०६२, पृ.५९)) यसरी नै स्तरगत विकासभित्र भाषाको स्तरवृद्धि र स्तर निर्धारण पर्दछन् जसमा  भाषाको मौखिक वा लेख्य स्थिति, जनसङ्ख्या, क्षेत्रीय वितरण , प्रशासन, शिक्षा, सञ्चार आदिमा प्रयोग जस्ता पक्षहरु समेटिन्छन् ।
     नेपालभन्दा बाहिर विभिन्न देशका राष्ट्रभाषाका रूपमा रहेका अङ्ग्रेजी, हिन्दी, उर्दु , चिनियाँ आदि भाषाका शब्दकोश, व्याकरण, साहित्य आदिका क्षेत्रमा त्यहाँ नै प्रशस्त काम भइ सकेकाले नेपालमा मात्र बोलिने भाषामा बढी केन्द्रित भई भाषाहरुको संरक्षण संवर्धन गरिनु आवश्यक छ । यसरी नै मध्य पश्चिम क्षेत्रमा बसाइ सराइ आदिका कारणले केही मात्रामा बोलिने गरेका तर देशका अन्य भागमा उल्लेखनीय सङ्ख्यामा वक्ताहरु रहेका भाषाको संरक्षण संवर्धनका काम त्यहाँबाट भइ रहेकाले बढी मात्रामा स्थानीय रैथाने भाषाको क्षेत्रमा काम हुनु उपयुक्त हुन्छ । अन्यत्र बोलिए पनि धेरै समयसम्म मध्य पश्चिममा बसोबास गरेका वक्ताहरुबाट बोलिँदै स्थानीय भेदहरुका विकास भएका भाषामा यहाँका स्थानीय भेदको सोधीखोजी गरी तिनको विकासमा भने ध्यान दिनु पर्ने हुन्छ ।
माथिका कुराहरुलाई हृदयङ्गम गर्दै र राज्य, विज्ञ वर्ग तथा सम्बन्धित भाषिक समुदायले समेत आआफ्नो दायित्व पुरा गर्दै मध्य पश्चिमका भाषा र भाषिकाको संरक्षण संवर्धन गर्न सकिन्छ ।
३.१ संरचनात्मक विकास
     मध्य पश्चिमका भाषा र भाषिकाको संरचनात्मक विकासका लागि निम्न अनुसारका काम गरिनु पर्दछ -
३.१.१ वर्ण निर्धारण
     भाषाको वर्ण पहिचान भाषिक अध्ययनका लागि प्रारम्भिक काम हो । वर्ण निर्धारणका लागि सम्बन्धित भाषाको उच्चारण व्यवस्थाको जानकारी लिनुका साथै न्यूनतम युग्मको खोजी गरिन्छ । सम्बन्धित भाषाका विशेषताका आधारमा स्वर व्यञ्जन आदि वर्ण निर्धारित भएपछि अन्य पक्षको अध्ययन सहज बन्दछ ।
३.१.२लिपिको चयन
वर्ण निर्धारणपछि त्यसलाई कसरी लेख्‍ने भन्ने कुरा पनि आउँछ । अतः लिपिको चयन पनि महत्त्वपूर्ण कुरा हो । मध्य पश्चिममा प्रचलित धेरै भाषा भाषिकाहरु देवनागरी लिपिमा लेखिँदै आएका छन् तर कतिपयका वर्णगत विशेषताका आधारमा नयाँ लिपिचिह्नहरु पनि प्रयोग गर्नु परेको देखिन्छ ।
३.१.३ वर्ण विन्यास
     वर्ण विन्यास भनेको वर्णको व्यवस्थित रखाइ हो । यसमा चिह्न प्रयोग पनि आउँछ ।  भाषाको लेखनमा एकरूपता तथा व्यवस्थितताका लागि वर्ण विन्यासका नियमहरुको निर्धारण र परिपालन आवश्यक छ ।
३.१.४ अभिलेखीकरण
     कुनै पनि भाषालाई जोगाउन अभिलेखीकरण आवश्यक छ । सम्बन्धित भाषाका वक्ताहरु र भाषाविद्हरुको परस्पर सहयोगमा यो काम सम्पन्न गर्न सकिन्छ । मध्य पश्चिम क्षेत्रमा प्रचलित कुसुन्डा भाषाको अभिलेखीकरणको महत्त्वपूर्ण काम भाषा विज्ञान केन्द्रीय विभागले गरेको छ । यसरी नै राउटे, खुनाहा, सोनाहा, राजी आदि भाषा र यहाँका भाषिकाहरुको पद्धति सङ्गत ढङ्गले अभिलेखीकरण गरिनु पर्दछ ।
३.१.५ व्याकरण निर्माण
     व्याकरण भन्नाले भाषाको नियम भन्ने बुझिन्छ ।  रूप, शब्द, शब्दावली, उपवाक्य, वाक्य र सङ्कथन सम्बन्धी नियमहरूको समूह नै व्याकरण हो । व्याकरण विभिन्न प्रकारले लेखिन्छन् । व्याकरणले भाषाका नियमलाई जोगाइ राख्तछ यद्यपि समय क्रममा व्याकरणिक नियमहरु पनि परिवर्तन हुन्छन् ।
३.१.६ शब्द भण्डारको विस्तार
     भाषाले ज्ञान विज्ञानका विभिन्न विषयलाई अभिव्यक्त गर्न सम्पन्न  शब्द भण्डार हुनु पर्दछ । यसका लागि आफ्नो भाषामा विद्यमान शब्द भण्डारले मात्र आवश्यकता नटर्न सक्छ । त्यसैले नयाँ  शब्दहरुको निर्माणदेखि लिएर अन्य भाषाबाट शब्द ग्रहण गरेर शब्द भण्डारको विस्तार गर्नु पर्ने हुन्छ । सक्षम भाषाको भूमिका पूरा गर्ने भाषा नै प्रभावकारी रूपमा अस्तित्वमा रहन सक्छ ।
३.१.७ शब्दकोश निर्माण
     भाषाको संरक्षण र विकासमा शब्दकोशको निर्माण निकै महत्त्वको काम हो । शब्दकोश थरी थरीका हुन्छन् । ती एक भाषिक, दुई भाषिक र बहु भाषिक रूपमा अनेक विषयमा निर्माण गर्न सकिन्छ । ती ज्ञानकोश र शैक्षणिक कोशका रूपमा पनि विविधतायुक्त हुन सक्छन् ।
३.२ स्तरगत विकास
     मध्य पश्चिमका भाषा र भाषिकाको स्तरगत विकासका लागि गरिनु पर्ने कामहरु यस प्रकार छन् –
३.२.१ भाषाको स्तरीकरण
     भाषाको स्तरीकरणका लागि कुनै भाषाका विभिन्न भेदहरुमध्ये कुनैलाई मानक भेदका रूपमा चयन र त्यसलाई औपचारिक गतिविधिका लागि प्रोत्साहन,  लेख्य परम्पराको विकास, प्रयोगमा व्यापकता, शिष्ट प्रयोगका लागि उपयुक्त वर्ण विन्यास, शब्द प्रयोग, व्याकरण र शैलीको विकास आदि जस्ता कामहरु गरिन्छ । स्तरीकृत भाषा बोलीमै बिलाउने खतरा रहँदैन । स्तीकरण हुनु नै भाषिक संवर्धनको खुड्किलो उक्लिनु हो । मध्य पश्चिमका कतिपय भाषा र भाषिकाको स्तरीकरणको काम हुन सकेको छेन । अतः तिनको अवस्था पहिल्याई यो काम गरिनु पर्दछ ।
३.२.२ प्रशासनमा भाषाको प्रयोग
     प्रशासनमा कुनै भाषाको प्रयोग हुनु सरकारी मान्यता पाउनु हो । सङ्घीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारले कहाँ कुन भाषाको प्रयोग गर्न सकिने अवस्था छ त्यसको निर्क्यौल गरी भाषाको प्रयोग बढाउन सक्तछन् । यस कुरामा भाषा आयोग जस्ता सरकारी निकाय र विभिन्न तहका सरकारको प्रभावकारी भूमिका आवश्यक छ ।
३.२.३ शिक्षामा भाषाको प्रयोग
     कुनै भाषामा शिक्षा दिने व्यवस्थाले त्यस भाषाको प्रयोग क्षेत्र विस्तार हुनु स्वाभाविक छ ।  त्यसका वक्ता सङ्ख्याको वृद्धि , पाठ्य सामग्रीको निर्माण, भाषाको प्रतिष्ठामा बढोत्तरी आदिले गर्दा भाषाको संरक्षण र विकासमा बल पुग्दछ । मध्य पश्चिमका शिक्षालयमा कुन कुन भाषामा पठन पाठन हुन सक्छ भन्ने कुरा निधो गरी मातृभाषी विद्यालयको सञ्चालन गरिनु पर्दछ । सम्भव भए स्थानीय भाषिकामा पनि पठनपाठनको व्यवस्था हुनु पर्दछ । बालबालिकाको जुन भाषामा बोली फुट्यो त्यसमा सुरुको शिक्षा दिँदा सहज र प्रभावकारी हुन्छ भन्ने कुरा स्पष्ट छ । 
३.२.४ सञ्चारमा भाषाको प्रयोग
     पत्र पत्रिका, रेडियो, टेलिभिजन, इन्टरनेट, चलचित्र आदिमा भाषाको प्रयोग हुँदा भाषाले जीवन्तता प्राप्त गर्दछ । मध्य पश्चिमका केही भाषा यस प्रकार्यबाट व्यापक प्रयोगकर्तामाझ  पुगेको पाइन्छ भने कैयन् भाषा यसबाट लाभान्वित हुन सकेका छैनन् । यस कार्यलाई बढाएर भाषाको संरक्षन र विकासमा टेवा पुर्‍याउन सकिन्छ ।
३.३ अन्य उपायहरु
     माथिका संरचनात्मक र स्तरगत विकासका अतिरिक्त अन्य केही कार्यहरु पनि भाषा र भाषिकाको संरक्षणका लागि महत्त्वपूर्ण छन् । तिनमा सरकार, समुदाय र भाषाका मर्मज्ञहरुको भूमिका अपेक्षित छ ।
३.३.१ वक्ताको सुरक्षित बसोबास
     थोरै वक्ता हुने भाषाका वक्ताहरु प्राकृतिक वा अन्य कारणले समाप्त भए भने भाषिक मृत्यु तुरुन्तै हुन्छ । त्यसैले त्यस्ता भाषाका वक्ताहरुले बाढी, पहिरो आदि प्राकृतिक प्रकोपका साथै सामाजिक रूपमा पनि जोखिमयुक्त ठाउँमा बसोबास गरेका छन् भने सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाउनु पर्छ । कुसुन्डा र राउटे जस्ता भाषाका वक्ताहरुको सुरक्षित बसोबासबारे मध्य पश्चिम क्षेत्र वेलैमा सजग हुनु पर्दछ ।
३.३.२ भाषिक सर्वेक्षण
     कुन भाषाको के अवस्था छ भन्ने जानकारी नभई भाषिक संरक्षण र संवर्धनको योजना बनाउन सकिँदैन । भाषा विज्ञान केन्द्रीय विभागले केही भाषाको सर्वेक्षण कार्य सम्पन्न गरे पनि अझै केही भाषा भाषिकाको सर्वेक्षण हुन बाँकी छ ।
३.२.३ भाषा बोलिनु पर्ने आवश्यकता
     भाषा बोलिएन भने त्यसको मृत्यु हुन्छ । त्यसैले भाषा जोगाउनका लागि बोल्नु पर्दछ भन्ने चेतना सबै भाषाभाषीमा जगाउन आवश्यक छ । यसमा समुदाय, सरकार र भाषाका मर्मज्ञहरुले आआफ्नो ठाउँबाट दायित्व पुरा गर्नु पर्दछ । यसमा सजग भइएन भने आउँदा केही वर्षमा नै थोरै वक्ता भएका भाषा हराउने छन् ।
४.निष्कर्ष
     मध्य पश्चिम क्षेत्र भाषिक दृष्टिले विशेष महत्त्वपूर्ण क्षेत्र हो । नेपाली भाषाको उद्गम स्थलका दृष्टिले यसको ऐतिहासिक महत्त्व त छँदै छ, भाषिक विविधताका दृष्टिले पनि यो क्षेत्र उल्लेख्य रहेको छ । यहाँ सबै परिवारका भाषा बोलिए पनि भारोपेली र चिनियाँ तिब्बती परिवारका भाषाहरुको बाहुल्य रहेको छ । कुसुन्डा जस्तो परिवारको टुङ्गो नलागेको एकल भाषा पनि यही प्रदेशमा बोलिन्छ । हिमाल, पहाड र तराईका भूभागहरुसम्ममा फैलिएको यस क्षेत्रमा अनेक जातजातिका मानिसहरु बसोबास गर्दछन् । तिनले बोल्ने भाषामा किसिम किसिमका विशेषता विद्यमान छन् । यहाँका भाषाहरुको संरक्षण र संवर्धनका लागि सरकारले उपयुक्त भाषानीति बनाई लागु गर्नु पर्दछ । भाषाहरुको संरचनागत र स्तरगत विकासका लागि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले कार्यक्रम बनाई लागु गर्नु पर्दछ । सम्बन्धित भाषाका वक्ताहरु आआफ्ना भाषाप्रति बफादार हुनु पर्दछ  । कुनै पनि भाषाका वक्ताले आफ्ना सन्तानलाई आफ्नो भाषा बोल्न प्रेरित गर्नु पर्दछ । विभिन्न प्राज्ञिक निकाय र सामाजिक संस्थाहरु तथा भाषाका विज्ञहरुले हातेमालो गर्दै भाषाको जगेर्ना, शोधखोज, अध्ययन, प्रकाशन जस्ता कामलाई अगि बढाउनु पर्दछ । विभिन्न भाषाका वक्ताहरुबिच सद्भाव कायम गर्दै एक भाषाबाट अर्को भाषा लाभान्वित हुने वातावरण सिर्जना गर्नु पर्दछ । कुनै प्राकृतिक, राजनैतिक वा सामाजिक कारणले कुनै पनि भाषाका वक्ताहरु सखाप नहोउन् भनी सबै सजग हुनु पर्दछ । भाषाहरुको संरक्षण र विकासको कामले प्राथमिकता पाउनु पर्दछ । यी कुराहरुमा ध्यान दिन सकियो भने मध्य पश्चिमका भाषाहरुको पनि संरक्षण र संवर्धन हुने कुरा सुनिश्चित छ ।
सन्दर्भ कृति सूची
अधिकारी, हेमाङ्ग राज (२०६२), सामाजिक र प्रायोगिक भाषाविज्ञान, काठमाडौः  रत्न पुस्तक भण्डार ।
अधिकारी, सूर्यमणि (२०५६), नेपाली भाषाको इतिहास, काठमाडौः  भुँडी पुराण प्रकाशन ।
आचार्य, गोविन्द(२०६२), राप्ती लोकसाहित्य, काठमाडौः पैरवी प्रकाशन ।
... ... ...(२०६३), लोकगीतको विश्लेषण, काठमाडौः पैरवी प्रकाशन ।
उपाध्याय, खगेन्द्र प्रसाद (२०७२),अछामी भाषिका र नेपाली भाषाको व्यतिरेकी अध्ययन, त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र डिनको कार्यालयमा प्रस्तुत अप्रकाशित विद्यावारिधि शोध प्रबन्ध ।
ओली, ओम बहादुर (२०६१), दैलेख जिल्लामा प्रचलित नेपाली उखानको अध्ययन, त्रिभुवन विश्वविद्यालय,  नेपाली केन्द्रीय विभागमा प्रस्तुत अप्रकाशित स्नातकोत्तर शोधपत्र ।
खड्का, गगन बहादुर (२०६६), नाभिस्थान सेरोफेरोका लोकगीतको अध्ययन, नेपाली केन्द्रीय विभागमा प्रस्तुत अप्रकाशित स्नातकोत्तर शोधपत्र ।
खत्री, रमेश (इ.सं.२०११), नोट्स अन द राजी भर्ब, नेप्लिज लिङ्ग्विस्टिक्स, भोलुम २६, पृ. ५७ - ६७ ।
खनाल, मोहनप्रसाद (२०६८), नेपाली भाषाका हजार वर्ष, काठमाडौःराइनो पब्लिकेसन प्रा.लि ।
गिरी, गोमा ( २०५९), नेपाली भाषा र राजी भाषाको तुलनात्मक अध्ययन, त्रिभुवन विश्वविद्यालय,  नेपाली केन्द्रीय विभागमा प्रस्तुत अप्रकाशित स्नातकोत्तर शोधपत्र ।
गिरी, जीवेन्द्र देव (२०४०), पश्चिमी तराईका थारु ऊखानहरु, रश्मि, वर्ष २, अङ्क १, पूर्णाङ्क ४, पृ.३९-६५ ।
... ... ...(२०४०), सिम्ताली क्रियाका संरचनाको भाषा वैज्ञानिक विश्लेषण, त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय  विभागमा प्रस्तुत अप्रकाशित स्नातकोत्तर शोध प्रबन्ध ।
... ... ...(२०५१), कर्णाली प्रदेशका लोकगीतमा यथार्थको खोज, साहित्य सौगात, चौथो साहित्यिक सँगालो, पृ.५५-७० ।
... ... ...(२०५३),  भेरी क्षेत्रीय नेपाली क्रियाको संरचनात्मक विश्लेषण, काठमाडौः पार्वती गिरी ।
... ... ...(२०५७), लोक साहित्यको अवलोकन, काठमाडौः एकता प्रकाशन ।
... ... ...(२०५७), राजी भाषाको खोज खबर, मुक्तिमोर्चा, वर्ष २७, अङ्क १६,पृ. ५८-६१ ।
... ... ...(२०५९), बाँके जिल्लाको नेपालीमा प्रचलित मुस्लिम शब्दको अध्ययन, संकल्प, वर्ष ३०, अङ्क ६९, पृ.९७-१०४ ।
... ... ...(२०५९), बर्दिया जिल्लाको नेपालीमा प्रचलित थारु शब्दको अध्ययन, जनमत, वर्ष १९, अङ्क ३-४, साहित्यिक अङ्क ८३, पृ.१७-१९ ।
... ... ...(२०६३), भाषाविज्ञान, भाषा र भाषिका, काठमाडौः एकता बुक्स ।
... ... ...(२०६५), सिम्तालीको भाषावैज्ञानिक  अध्ययन, त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय  विभागमा प्रस्तुत अप्रकाशित विद्यावारिधि शोध प्रबन्ध ।
 ... ... ...(२०६७), नेपाली लोक साहित्यमा जन जीवन, काठमाडौः एकता प्रकाशन ।
... ... ...(२०६९), भाषा र नेपाली भाषा, काठमाडौः पाठ्य सामग्री पसल ।
... ... ...(२०६९), दैलेखमा प्रचलित नेपालीका भाषिक विशेषता, सुर्खेती सुनाखरी, वर्ष १, अङ्क १, पृ.५४ -६७ ।
... ... ...(२०६९), नेपालीका भाषिकाको शब्दकोश, नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रस्तुत अप्रकाशित शब्दकोश ।
गिरी, महेन्द्रप्रसाद(२०६१), राजी भाषा चिनारी, चर्चा र चासो, नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित गोष्ठीमा प्रस्तुत गोष्ठीपत्र ।
... ... ...(२०६२), राजी जातिको संक्षिप्त परिचय, प्रज्ञा, पूर्णाङ्क १०१, पृ.११०-१२५ ।
गुरुङ,इन्द्रबहादुर (२०५९), गुरुङ-नेपाली शब्दकोश, काठमाडौः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
चालिसे, विदुर (२०६३), ऐतिहासिक अभिलेखका आधारमा नेपाली भाषाका व्याकरण तत्त्वमा क्रमिक विकासको अध्ययन, त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय  विभागमा प्रस्तुत अप्रकाशित विद्यावारिधि शोध प्रबन्ध ।  
चौलागाईं, खाडानन्द (२०७४), मझेरीबाट हेर्दा कर्णाली, जुम्लाः विष्णुगङ्गा फाउन्डेसन ।
ठाकुर, गोपाल र अन्य (२०७३), भोजपुरी- भोजपुरी – नेपाली – अङ्ग्रेजी शब्दकोश, काठमाडौः नेपाल प्रज्ञा प्रतिष्ठान ।
ढकाल, दुबिनन्द (२०७४), मगर भाषाको शब्दकोश निर्माण, नेपाल प्रज्ञा प्रतिष्ठान र मगर अध्ययन केन्दरद्वारा काठमाडौँमा आयोजित कार्यशाला गोष्ठीमा प्रस्तुत कार्यपत्र ।
तिमिल्सिना, यमनाथ (२०५१),  नेपालीका सात भाषिका , नेपाली, पूर्णाङ्क १४१, पृ.३-५८  
तिमिल्सिना, हरि (२०७४), लोपोन्मुख खुना भाषाःएक अध्ययन, नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रस्तुत अनुसन्धान प्रतिवेदन ।
... ... ...(२०६२), नेपाली भाषा र नेपालगन्ज क्षेत्रको भाषिक अवस्थाः संक्षिप्त चर्चा, नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा नेपालगन्जमा आयोजित गोष्ठीमा प्रस्तुत गोष्ठीपत्र ।
त्रिपाठी,विक्रम मणि(२०७३), अवधी लोक साहित्य, काठमाडौः नेपाल प्रज्ञा प्रतिष्ठान।
थापा मगर, लोकबहादुर (२०६८), मगर ढुट व्याकरण, काठमाडौः नेपाल प्रज्ञा प्रतिष्ठान ।
 ... ... ...(२०७०), मगर भाषा(ढुट)को क्षेत्रीय भेद, पोखराःपाहुर प्रकाशन ।
थापा (सामेसेन मगर), हिरासिंह ( मगर (ढुट) – खस – अङ्ग्रेजी शब्दकोश, काठमाडौः नेपाल मगर सङ्घ ।
दाहाल खत्री, सौँराई लागी राइसुवाकी, काठमाडौः मध्य पश्चिमाञ्चल साहित्य परिषद् ।
देवकोटा, रत्नाकर (२०६३), कर्णालीका लोककथा, काठमाडौः अन्तर्राष्ट्रिय मञ्च ।... ... ...(इ.सं.२००५), मौलिक लोकगीतभित्रको पशचिम नेपाल, कन्ट्रिब्युसन्स टु नेप्लिज स्टडिज, पृ.१४१-१७२ ।
... ... ...(२०२७), जुम्लेली शब्द र उखान सङ्ग्रह, जुम्लाः श्रीमती रत्नाकर देवकोटा ।
 निरौला, यज्ञेश्वर (२०५१), क्रियाको रूपतत्त्वको आधारमा नेपालीका भाषिकाहरुको निर्धारण, काठमाडौः स्वयम् ।
... ... ...(२०७२), नेपालीका भाषिकाहरुको अध्ययन, त्रिभुवन विश्वविद्यालयमा प्रस्तुत अप्रकाशित विद्यावारिधि शोध प्रबन्ध ।
नेपाल 'यात्री'(२०३९), हालसम्म प्राप्त भएकामध्ये सर्वप्राचीन नेपाली अभिलेख, पच्चिस वर्षका भाषिक चर्चा, काठमाडौः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
... ... ... (२०४०), राउटे लोक जीवन, काठमाडौः श्री ५ को सरकार, सञ्चार मन्त्रालय, सूचना विभाग ।
... ... ...(२०४१), भेरी लोक साहित्य, काठमाडौः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
... ... ...(२०५३), नेपाली भाषाको ऐतिहासिक मीमांसा, काठमाडौः एकता बुक्स डिस्ट्रिब्युटर्स ।
नेपाल र एसियाली अनुसन्धान केन्द्र तथा सामाजिक समावेशीकरण कोष (२०६५), राज्य पुनः संरचनाको सन्दर्भमा नेपालको वर्तमान भाषिक स्थिति र समावेशी भाषानीति, काठमाडौः नेपाल र एसियाली अनुसन्धान केन्द्र तथा सामाजिक समावेशीकरण कोष ।
पाठक, विश्वनाथ (२०५७), लघु अवधी शब्दकोश, काठमाडौःनेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
पाण्डे, गोविन्दप्रसाद (२०६०), देउडा विगतदेखि वर्तमानसम्म, जुम्लाःस्वयम् ।
पुन, जुक्तिप्रसाद (२०६१), खाम मगर पाङ – नेपाली – अङ्ग्रेजी शब्दकोश, काठमाडौः मगर अध्ययन केन्द्र ।
पोखरेल, बालकृष्ण(२०२२), राष्ट्रभाषा, काठमाडौः एडुकेसनल इन्टरप्राइजेज ।
... ... ...(२०३१), राष्ट्रभाषा, ललितपुरः साझा प्रकाशन ।
... ... ...(२०२०), पाँच सय वर्ष, काठमाडौः जगदम्बा प्रकाशन ।
बगाले मगर, मनबहादुर (२०६१), मगर ढुट लवजखाट, सुर्खेतः लेखक स्वयम् । बन्धु (उपाध्याय रेग्मी), चूडामणि (२०२५), नेपाली भाषाको उत्पत्ति, ललितपुरः जगदम्बा प्रकाशन ।
बन्धु, चूडामणि (२०२८), कर्णाली लोक संस्कृति (खण्ड ४) भाषा, काठमाडौः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
बन्धु, चूडामणि र अन्य (इ.सं.२०११), ए स्टडी अफ राजी कल्चर एन्ड ल्याङ्ग्वेज, युनेस्कोका लागि राष्ट्रिय आयोग नेपालमा प्रस्तुत प्रतिवेदन ।
यादव, योगेन्द्र प्रसाद (२०७३), प्रज्ञा मैथिली – नेपाली - अङ्ग्रेजी शब्दकोश, काठमाडौःनेपाल प्रज्ञा प्रतिष्ठान ।
योगी, नरहरि नाथ(२०१३), इतिहास प्रकाश, अङ्क २, भाग ३, काठमाडौः इतिहास प्रकाश सङ्घ ।
रेग्मी, अम्बिका ( इ.सं.२००७), नोमिनलाइजेसन इन काइके, रिसेन्ट स्टडिज इन नेप्लिज लिङ्ग्विस्टिक्स,  पृ. १५ – २४ ।
... ... ...(इ.सं २०११), क्लाउज कम्बाइनिङ इन काइके, नेप्लिज लिङ्ग्विस्टिक्स, भोलुम २६, पृ. १८६ – १९७ ।
... ... ... (इ.सं. २०१३),  ए ग्रामर अफ मगर काइके, मुन्चेनः लिन्कम युरोपा ।
रेग्मी, दानराज (२०७४), मगर भाषाको सन्दर्भमा समाज भाषा वैज्ञानिक सर्वेक्षण र व्याकरण लेखनः केही सैद्धान्तिक तथा व्यावहारिक पक्ष, नेपाल प्रज्ञा प्रतिष्ठान र मगर अध्ययन केन्दरद्वारा काठमाडौँमा आयोजित कार्यशाला गोष्ठीमा प्रस्तुत कार्यपत्र ।
रेग्मी, भिम नारायण (२०६८), नेपाली र मगर भाषा (ढुट)मा प्रेरणार्थक संरचना, काठमाडौः नेपाल मगर सङ्घ केन्द्रीय समिति ।
रेग्मी, सनत र अन्य (२०७०), अवधी व्याकरण, काठमाडौः नेपाल प्रज्ञा प्रतिष्ठान । लामिछाने, मनोहर (२०६५), लोक साहित्य र संस्कृतिका केही पाटाहरु, ललितपुरः साझा प्रकाशन ।
शाही, कृष्ण बहादुर (२०५७), राउटे जाति एक छोटो चिनारी, काठमाडौः ग्रामीण उत्थान समाज नेपाल ।
शाही, हर्क बहादुर (२०७०), अछामी भाषाको अध्ययन, नेपाल संस्कृत विश्वविद्यालयमा प्रस्तुत अप्रकाशित विद्यावारिधि शोध प्रबन्ध ।
सर्वहारी, कृष्णराज(२०७३), थारू साहित्यको इतिहास, काठमाडौः नेपाल प्रज्ञा प्रतिष्ठान ।
साह, कृष्ण कुमार (इ.सं.२०११), सोसियोलिङ्ग्विस्टिक स्टाटस अफ राजी,नेप्लिज लिङ्ग्विस्टिक्स, भोलुम २६, पृ. २१८ – २२६ ।

सिंह, नन्द बहादुर(२०४८), इन्डेन्जर्ड राउटे ट्राइबः इथ्नोबायोलजी एन्ड बायोडाइभर्सिटी, ......................... ।
सिङजाली, विष्णुकुमार र राना(सिङ्जाली), हिरामती (२०६६), मगर ढुटआङ कुराकानी, काठमाडौः मगर अध्ययन केन्द्र ।
सिजापति, राम विक्रम (२०३७), कर्णाली भाषिका समूहको तुलनात्मक शब्द सङ्ग्रह, त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय शिक्षण विभागमा प्रस्तुत अप्रकाशित स्नातकोत्तर शोधपत्र ।
... ... ...(२०५०), जुम्ली भाषिकाको वर्णनात्मक अध्ययन, त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय शिक्षण विभागमा प्रस्तुत अप्रकाशित विद्यावारिधि शोध प्रबन्ध ।
सेन्ट्रल ब्युरो अफ स्टाटिस्टिक्स (इ.सं.२०१३), नेसनल पपुलेसन एन्ड हाउजिङ सेन्सस २०११


    

Comments

Popular posts from this blog

सम्झनामा चीन भ्रमण