रामेछापको मन्थलीमा जन साहित्य यात्राको पदचाप
रामेछापको मन्थलीमा जन साहित्य यात्राको पदचाप
प्रा.डा.जीवेन्द्र देव गिरी
जन साहित्यिक मञ्च, नेपालको निम्तामा २०७० चैत
२८ गते रामेछापको मन्थली पुग्ने अवसर मलाई
जुर्यो । जन साहित्यिक मञ्चको जिल्ला
सम्मेलन हुने भएकाले सङ्घका तर्फबाट म त्यहाँ पुग्नु पर्ने जानकारी पाएपछि म त्यता
लागेको थिएँ । त्यहाँ कविगोष्ठी पनि हुने घुइरो घुइरो सूचना पनि मैले पाएको थिएँ ।
काठमाडौँबाट प्राज्ञ रामकृष्ण दुवाल पनि सो कार्यक्रममा सहभागी हुने र म पनि
उहाँसँगै गाडीमा जाने निधो भएकाले उहाँसँगै म त्यता प्रस्थान गरेको थिएँ । त्यसमा
कवि देवी नेपाल कौशलटारबाट थपिनु भएको थियो भने जन साहित्यिक मञ्चका केन्द्रीय अध्यक्ष राम विनय पनि त्यसमै जाने
कुरा थियो । हामीभन्दा पहिले नै एउटा
माइक्रो बस अगि लागि सकेको रहेछ । हामी पनि त्यसलाई भेट्टाउन गाडीमा कुद्यौँ । दोलाल घाटमा पुगेपछि हामीले देख्यौँ, त्यहाँ त
वर्तमान नेपालका अनेक चम्किला प्रतिभाहरु आफू चढेको माइक्रो बसलाई छेउ लगाएर चिया चमेनामा
जुट्नु भएको थियो । त्यहाँ राम विनय, उदय श्रेष्ठ, डा. राम कुमार भौकाजी, अनिल
पौडेल, लक्ष्मण गाम्नागे, विनोद मञ्जन, यशोदा अधिकारी, डा.विन्दु शर्मा, जयन्ता
पोखरेल, भागवत आचार्य, श्याम रिमाल र रसना
ढकाल हुनु हुन्थ्यो । हामी पनि उहाँहरुसँगै मिसियौँ । गफगाफ हँस्यौली ठट्यौलीका
साथ खाली पेटमा सामल भरि सकेपछि हामी आआफू चढेका गाडीमा पसेर गन्तव्यतिर घुइक्यौँ
। अब हामी चढेको गाडीमा राम विनय पनि हुनु हुन्थ्यो । हामी चढेको गाडी र माइक्रो
बस लुकामारी खेल्दै चरीकोट पुगे । त्यहाँ जन साहित्यिक मञ्चका केन्द्रीय सदस्य एवम्
दोलखाका अध्यक्ष जित कार्की, पूर्व केन्द्रीय सदस्य राजेश्वरी श्रेष्ठ, दोलखा
शाखाका सचिव मुकुन्द सिवाकोटी, साहित्यसेवी विष्णु सिवाकोटी लगायतका साथीहरू
हाम्रो प्रतीक्षामा हुनु हुन्थ्यो । त्यहाँको ह्वाइट हाउस होटलको न्यानो
वातावरणमा स्थानीय साथीहरूसँगको परिचय
कार्यक्रम सकेर हामीले खाना खायौँ र जित र मुकुन्द सहित मन्थलीतिर सोझियौँ ।
हामी समयमै मन्थली पुग्यौँ । त्यहाँ जन साहित्यिक मञ्चका केन्द्रीय सदस्य
एवम् जन साहित्य यात्राका मियो होमराज श्रेष्ठ र अर्का केन्द्रीय सदस्य प्रेम
सिलवाल पहिले नै मोटर साइकलमा पुगि सक्नु
भएको रहेछ । उहाँहरू लगायत जन साहित्यिक मञ्च रामेछापका तदर्थ समितिका संयोजक माधव
'सयपत्री' सहितका साहित्यकारहरू तथा नेकपा (एमाले) रामेछाप जिल्ला कमिटीका अध्यक्ष शान्ति प्रसाद पौडेल र सचिव आनन्द श्रेष्ठ
लगायतका पार्टीका साथीहरूको न्यानो स्वागत र आतिथ्यमा रम्ने अवसर हामीले पायौँ । म
३८ वर्षपछि मन्थली पुगेको थिएँ र त्यहाँको परिवर्तित अवस्थामा नवीनता अनुभूत गरि
रहेको थिएँ । नवीनता के अर्थमा थियो भने रामेछापको डाँडो छाडेर जिल्लाको सदर मुकाम
मन्थली सरेको रहेछ, आधुनिक घरहरूले मन्थलीको पुरानो स्वरूप फेरेका रहेछन्, गाडीहरू
मन्थलीमा मात्र गुड्दा रहेनछन् त्यहाँभन्दा अगिको सालु र साँगुटार नाघी ओखल ढुङ्गातिर पनि हुइँकिँदा रहेछन् । उहिले भने म लालगढबाट ट्रक चढेर सिन्धुली र
सिन्धुलीबाट पैदल हिँड्दै खुर्कोटमा रहेको सुनकोसीको पुल तरेर उकालो चढी त्यस
वेलाको रामेछापको सदर मुकाम रहेको डाँडामा पुगेको थिएँ । मन्थली त म गर्मीको
तामाकोसीमा पौड्न जान्थेँ जसका छेउमा एकाध चिया पसल र थोरै मात्र घरहरू थिए । अहिले
मन्थली फेरिएको थियो । त्यस दिनको सन्ध्या हामीले भेटघाट र बजारको अवलोकनमा
बितायौँ । केही साथीहरू गङ्गालाल, पुष्पलाल र कृष्णलाल सहित तिन लालको प्रतिमा
हेर्न जानु भयो भने हाम्रो टोली महाकवि देवकोटाको प्रतिमामा पुगेर वासस्थलतिर
सोझियो । हाम्रो वास गुम्देल होटलमा थियो । २९ गतेको बिहान हामीहरूलाई पनि तिन लालले
ताने । हामी मन्थलीको माझी बस्तीलाई छिचोल्दै त्यहाँ पुग्यौँ र हाम्रा आस्थाकेन्द्रका रूपमा रहेका तिन लालका प्रतिमा
अगिल्तिर गई श्रद्धाका शिर निहुँर्यायौँ । दुई राम (राम विनय, रामकृष्ण दुवाल) र
म आफू सहित हामी तिनले ती तिनका मुनि बसेर तस्बिरहरू खिच्ने
खिचाउने काम पनि गर्यौँ । सानो चिलगाडी आएर त्यहीँ नजिकै बसेको दृश्य पनि हामीलाई
रमाइलो लाग्यो । हामीलाई एउटा कुरा भने नरमाइलो
लाग्यो । त्यो के हो भने तामाकोसीमा प्रशस्त पानी थियो तर मन्थली फाँटलाई
सिँचेर हरियो तुल्याउन त्यसले सकेको थिएन । भित्तातिर घर र बाटो बनाएर खेती लायक
फाँट केही मात्रामा जोगाएको देख्ता जति खुसी लाग्यो सोही फाँटमा बालीनाली लहलहाएको
हेर्न पाए कति राम्रो हुँदो हो भनी आपसमा कुरा गर्यौँ । बिहानको घुमघाम सकेर
हामीले खाना खायौँ । प्रमुख अतिथिका रूपमा निम्त्याइनु भएका वरिष्ठ साहित्यकार
एवम् नेकपा(एमाले)का नेता प्रदीप नेपाल पनि हामी रहेकै होटलमा आई खाना खानु भयो र आयोजकहरूको
सङ्केत अनुसार हामी सबै साहित्यिक कार्यक्रममा सहभागी हुन जिल्ला विकास समितिको
सभाकक्षतिर लाग्यौँ ।
सभाकक्ष केही बेरमै साहित्यकारहरू, शिक्षक प्राध्यापकहरू, राजनीतिकर्मीहरू,
समाजसेवीहरू, विद्यार्थीहरू र विभिन्न क्षेत्रका
बौद्धिक एवम् प्रशासनिक व्यक्तिहरूको उपस्थितिले भरिभराउ भयो र उद्घोषक प्रकाश
न्यौपाने 'परिष्कार'ले आफ्नो कर्म थाल्नु भयो । कार्यक्रमको प्रारम्भमा अध्यक्ष
होमराज श्रेष्ठले जिल्लाका सबै भागका विशेषतालाई समेटेर लयात्मक रूपमा गरेको
कवितात्मक प्रस्तुति रोचक त भयो नै हाम्रा मनभित्रका रामेछाप सम्बन्धी जिज्ञासा
मेट्न पनि सफल रह्यो । माधव सयपत्रीको स्वागत भाषण सकिए लगत्तै त्यहाँ काठमाडौँ र
दोलखाबाट मन्थली पुग्नु भएका कविहरू देवी
नेपाल, अनिल पौडेल, लक्ष्मण गाम्नागे, श्याम रिमाल, भागवत आचार्य, प्रेमराज
सिलवाल, यशोदा अधिकारी, डा.विन्दु शर्मा, रसना ढकाल, जित कार्की र मुकुन्द
सिवाकोटी तथा स्थानीय कविहरू पेसल आचार्य, प्रकाश न्यौपाने 'परिष्कार', उद्धव
अविचल, सरिष्मा भण्डारी 'दोलखाली', सजना वाइबा, सरिता खड्का, प्रभु विवश, गीता
नेपाल, ईश्वरी बस्नेत, प्रिन्स प्रकाश, सरिता श्रेष्ठ, ब्लु स्काइ लामा र सुरेश
पौडेलद्वारा नेपाली समाजको वर्तमान अवस्थाको चित्रणका साथै उज्ज्वल भविष्यको कामना
गरिएका एकभन्दा एक उम्दा कविता वाचन भए । त्यहाँ छन्दका साथै गद्य लयका
सुन्दर विचारले युक्त कविताहरूको ओइरो
लाग्यो । त्यहीँ हास्यको छहरा पनि छुट्यो ।
प्राज्ञ रामकृष्ण दुवालले अन्य प्रस्तुतिका साथै श्याम तमोटको 'गाउँ
गाउँबाट उठ' गीतलाई चार भाषामा गुन्जाएर
तथा उदय श्रेष्ठले आफ्नो स्वर
घन्काएर वातावरणलाई उल्लासमय बनाउनु भयो । मैले श्रोताहरूतिर आँखा लगाएँ, सबै कविता
र गीतमा मग्न हुनु हुन्थ्यो।
कार्यक्रम पट्यार लाग्दो हुनै पाएन
। प्रमुख अतिथि प्रदीप नेपालले सटीक रूपमा हाम्रो साहित्यले लिनु पर्ने दिशाबारे
आफ्नो अभिमत राख्नु भयो । विशेष अतिथिका रूपमा रहेका यस पङ्क्तिका लेखक लगायत एमालेका
जिल्ला अध्यक्ष शान्ति प्रसाद पौडेल, जन साहित्यिक मञ्चका केन्द्रीय अध्यक्ष राम
विनय र प्र.जि.अ. गोपाल प्रसाद पराजुली सहितका
वक्ताहरूका भनाइ पनि सङ्क्षेपमै टुङ्गिए ।
मलाई माधव सयपत्रीको त्यहाँ विमोचित उपन्यास 'सीमान्त विचलन'का विषयमा केही
बोल्ने जिम्मेबारी दिइएको थियो । रत्न पुस्तक भण्डारबाट प्रकाशित त्यस कृतिले सरल
भाषा र पूर्वदीप्तिको शैलीमा नेपालको विद्यार्थी आन्दोलन, जन आन्दोलन, प्रहरी दमन,
जेलनेल हत्या आतङ्क, राजनैतिक परिवर्तन,
महिला समस्या, विदेश पलायन, विदेशमा रहँदाको नेपालप्रतिको मोह आदि अनेक
महत्त्वपूर्ण ऐतिहासिक, समसामयिक र
राष्ट्रियतासँग सम्बन्धित विषयमा प्रकाश पारेको हुँदा कृति पठनीय भएको कुरा मैले
त्यहाँ राखेँ । लेखक सयपत्रीले पनि आफ्नो
कृति कुन परिवेशमा कसरी सिर्जना भयो भन्ने विषयमा केही शब्द व्यक्त गर्नु भयो
। त्यस उपन्यासका विषयमा सबै कुरा विवेचना
गर्ने समय त्यहाँ थिएन र हामी दुबैले त्यहाँ आफूलाई निखार्न पाएनौँ । उपन्यासबारे
भन्न छुटेको एउटा कुरा भने म यहाँ राख्न चाहन्छु । त्यो के हो भने उपन्यासका
प्रमुख चरित्र करुणा र सागरको
क्रान्तिकारी जोडीलाई अन्तमा टिठ लाग्दा
प्राणीमा रूपान्तरण नगरिएको भए उपन्यास अझ
राम्रो हुन्थ्यो ; प्रगतिशील लेखकले समाजमा जे छ त्यसको चित्रणमा मात्र
आफूलाई सीमित नराखी भविष्यका निम्ति आशाको सञ्चार गर्नु पर्दछ र उज्यालो मार्ग
देखाउनु पर्दछ भन्ने आम मान्यताप्रति गम्भीर हुन पनि उत्तिकै आवश्यक छ ।
कार्यक्रमका
बिचमा उद्घोषकले जन साहित्यिक मञ्चको रामेछाप जिल्ला सम्मेलनबाट जिल्ला समितिको अध्यक्षमा
माधव सयपत्री, उपाध्यक्षमा डा. माधव प्रधान, सचिवमा प्रकाश न्यौपाने परिष्कार,
कोषाध्यक्षमा शान्ता श्रेष्ठ तथा सदस्यहरूमा ध्रुव पौडेल, प्रज्वल पौडेल, सुमित्रा
श्रेष्ठ, कैलाश खत्री, रामकृष्ण गिरी, डिलेश्वर बस्नेत, सञ्जीव श्रेष्ठ, झनहरि
दाहाल, राज कुमार भुजेल, ईश्वरी बस्नेत र उद्धव आचार्यका साथै सल्लाहकारहरूमा
होमराज श्रेष्ठ, नीर बहादुर कार्की, पवन राज पौडेल, मुकुन्द भण्डारी र केशव अर्याल
निर्वाचित भएको जानकारी पस्केर थप उत्साह छर्नु भयो । यसरी नै मञ्चका महासचिव
विनोद मञ्जनले कोषाध्यक्ष यशोदा अधिकारी, काव्य
विभाग प्रमुख डा. विन्दु शर्मा र केन्द्रीय सदस्य भागवत आचार्यको सहयोगमा तयार
पारेको रामेछाप घोषणा पत्र सहभागीहरूमाझ प्रस्तुत
गर्दा त्यसको समर्थनमा बजेको तालीले
सिङ्गो सभाकक्ष गुञ्जायमान भयो । कलाकार डा. राम कुमार भौकाजीले चित्रकलाका
माध्यमबाट जन साहित्य यात्रालाई सार्थक तुल्याउन विशेष योगदान गर्नु भयो । सबैले
यथोचित रूपमा आफनो भूमिका पुरा गरेकाले वेलैमा कार्यक्रम सकियो र त्यसै दिन हामी
काठमाडौँ फर्क्यौँ । जिल्लाको कुरा त के छ कुन्नि, काठमाडौँबाट जाने सहभागीहरूबाट सुनिन्छ, "कार्यक्रम होओस् त
रामेछापको जस्तो छरितो, मिठो र सार्थक
होओस् !"
Comments
Post a Comment