समालोचना यात्रामा पुष्करका भरोसालाग्दा पाइला
hLj]Gb| b]j lu/L
पुष्कर रिजाल 'पुष्प'का समालोचनाहरुको पाण्डुलिपि पढ्ने अवसर पाएँ ।
साहित्यिक सिद्धान्तका साथै कविताका मझौला, लघु र लघुतम रूप (खण्डकाव्य, मुक्तक,
हाइकु र फुटकर कविता), भाषा तथा लोक साहित्यसम्मलाई अध्ययनको विषय बनाइएको
प्रस्तुत कृतिले समालोचकको बहु आयामिक अध्ययनको अभिरुचि र ज्ञानको क्षेत्रलाई सङ्केत
गर्दछ । समालोचनाको पूर्वीय र पाश्चात्य पद्धति दुबैलाई महत्त्व दिँदै समाजोपयोगी
विचार प्रवाहित गर्ने उनको प्रवृत्ति प्रशंसनीय छ । उनले नेपाली साहित्यको आधुनिक कालमा बढी विचरण गरे
पनि माध्यमिक कालतिर पनि दृष्टि डोलाउन पुगेका छन् । त्यसैले पनि पुष्करको यो कृति
विविधतामय बन्न पुगेको छ र थरी थरीका स्वादले युक्त छ भन्न सकिन्छ ।
समालोचक
पुष्कर प्रगतिशील दृष्टिकोण राख्तछन् भन्ने कुरा उनका समालोचना पढ्दा थाह हुन्छ । उनी
मार्क्स र मार्क्सवादी साहित्यिक मान्यताका सम्बन्धमा यहाँ निकै घोत्लिएका छन् ।
गोपाल प्रसाद शर्मा अधिकारीको 'श्रद्धा सुमन' कविता सङ्ग्रह तथा महानन्द ढकालको
'घाम उदाए' हाइकु सङ्ग्रहमा विद्यमान प्रगतिवादी एवम् प्रगतिशील चिन्तनबाट उनी
प्रभावित छन् । प्रगतिवादी साहित्यले सम्झनु पर्ने प्रतिभाको खोजी र तिनका कृतिका
विशेषताको विवेचनामा उनको प्रगतिवादी पहिचान खुलेको छ ।
उनमा
अरू कसैप्रति पनि पूर्वाग्रही धारणा छैन भन्ने जानकारी पनि यहाँ उपलब्ध छ । उनले
विश्वेश्वर प्रसाद कोइरालाको 'सुम्निमा'का सकारात्मक पक्ष पहिल्याएर तथा
वसन्त शर्माको 'श्रीकृष्ण चरित्र' को महत्त्वमाथि प्रकाश पारेर त्यसको छनक दिएका
छन् । विधातात्त्विक कसीमा घोट्तै मदन पुरस्कार प्राप्त 'सेतो धरती'का केस्रा
केस्रा केलाउने र त्यसका सबल र दुर्बल पक्ष चिनाउने काममा पनि उनको मिहिनेत परेको
छ । यसरी नै मुक्तकको सिद्धान्तको
व्याख्या गर्न उनले संस्कृतका साथै आधुनिक वाङ्मयको सेरोफेरोको परिक्रमा
गरेका छन् र सोदाहरण आफ्नो भनाइलाई पुष्टि गर्ने काम गरेका छन् ।
नेपाली भाषाको पारिवारिक सम्बन्ध, उत्पत्ति र
विकास सम्बन्धी कुरा नौलो नभए पनि ज्ञानलाई फिँजाउने कुरामा उपयोगी रहेको छ । सम्बन्धित क्षेत्रका
अध्येताहरु यसबाट लाभान्वित हुन सक्तछन् । यसरी नै यहाँको लोक बाल कविता र बाल लोक
गीतको अध्ययनले एकातिर बालकहरुलाई खुराक प्रदान गरेको छ भने अर्कातिर त्यस
क्षेत्रमा केही गर्न चाहनेलाई व्याख्या विवेचनाको सैद्धान्तिक आधार प्रस्तुत गरेको
छ ।
पुष्कर
रिजाल 'पुष्प'ले आफ्नो यस समालोचना कृतिका माध्यमबाट प्रदर्शन गरेको छटाले के
जनाउँछ भने उनी समालोचना क्षेत्रका हुने बिरुवाका चिल्ला पात हुन् र एक
भरोसालाग्दा प्रतिभा हुन् । उनी साहित्यिक क्षेत्रका मूलभूत मान्यतासँग परिचित छन्
र समालोचना क्षेत्रको अध्ययनमा गम्भीरतापूर्वक समर्पित छन् । नेपाली समालोचनाले
उनी जस्ता समालोचकप्रति आशाप्रद दृष्टि लगाइ रहेको छ । अहिले पनि देशका विभिन्न
भागमा रहेर राष्ट्र र जनताका पक्षमा कलम चलाउने कैयन् स्रष्टाहरु ओझेलमा छन् ।
तिनका राम्रा कामलाई प्रकाशमा ल्याउन नसक्ता ठुलो घाटा भएको छ । समाजले तिनबाट लिन
सक्ने लाभ लिन सकेको छैन भने स्वयं स्रष्टाहरु पनि थप कामका लागि प्रेरित र
उत्साहित बन्न सकेका छैनन् । यस अवस्थामा नेपाली समालोचनामा उनको आगमन स्वागतयोग्य
छ ।
समालोचना
विवेक प्रयोगको एक महत्त्वपूर्ण क्षेत्र हो । अविचलित र निरन्तर साधनाबाट
यस क्षेत्रमा समर्पित व्यक्तिले नै यसमा सिद्धि प्राप्त गर्दछ । रिजालको प्रतिभा र लगनशीलताले उनलाई यस क्षेत्रमा
अवश्यमेव सफलता दिलाउने छ भन्ने कुरामा म विश्वस्त छु । उनको समालोचनात्मक कृति
प्रकाशनको यस सुखद अवसरमा हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर सफलताको कामना
गर्दछु ।
प्रा.डा.जीवेन्द्र देव गिरी
२००|२६ शान्ति नगर, काठमाडौँ । २ वैशाख २०७१
Comments
Post a Comment