नयाँ रेसम मार्गसित साहित्यलाई गाँस्ने कुन्मिङ सम्मेलनको सम्झना
नयाँ रेसम मार्गसित साहित्यलाई गाँस्ने
कुन्मिङ सम्मेलनको सम्झना
प्रा.डा.जीवेन्द्र
देव गिरी
चीनको कुन्मिङमा इ.सं.
२०१६ को १८ सितम्बरदेखि २२ सितम्बर तदनुसार २०७३ असोज १ देखि ६ गतेसम्म साहित्यिक रेसम मार्ग सम्बन्धी एक
महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन आयोजना भएको थियो । त्यसमा नेपाल प्रज्ञा
प्रतिष्ठानलाई तिन सदस्यीय प्रतिनिधि मण्डल पठाउन निम्ता प्राप्त भएको थियो र
प्रज्ञा प्रतिष्ठानले एक प्रतिनिधि मण्डल त्यहाँ पठाएको थियो । म स्वयम्, प्रा.डा.प्रेम कुमार
खत्री र प्रा.डा.गोविन्द राज भट्टराई नेपालबाट प्रतिनिधि मण्डलमा थियौँ । सम्मेलनमा
सहभागी हुन हामी १७ सितम्बरमा काठमाडौँबाट कुन्मिङतर्फ प्रस्थान गर्न विमान स्थल
पुग्यौँ । अन्तर्राष्ट्रिय उडानको नियम अनुसार हामी उडान समयभन्दा तिन घण्टाअगि
त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल पुगेका थियौँ । चाइना इस्टर्न एअरलाइन्सको
विमानको टिकट हामीसँग थियो । नेपाली समय अनुसार ४.१५ बजे हामी त्यहाँबाट उडेका
थियौँ । कुन्मिङ पुग्दा त्यहाँको साँझको ९.२५ बजेको थियो । उडान त जम्मा २ घण्टा
५५ मिनटको रहेछ । नेपाली समयभन्दा चिनियाँ समय २ घण्टा १५ मिनट जति छिटो हुने
भएकाले हाम्रो र त्यहाँको समयमा फरक परेको थियो । समयमै हामीलाई
लिएर गएको हवाई जहाज कुन्मिङमा अवतरण गर्यो
र अध्यागमनको फाराम बुझाई आवश्यक जाँचहरु पुरा भएपछि हामी सामान आइ पुग्ने ठाउँमा
गयौँ । हामीलाई लिन कोही आउने नआउने कुराको हामीले सूचना नपाए पनि कोही त अवश्य
आएको हुनु पर्छ भन्ने हामीलाई लागेको थियो । आफ्नो सामान लिएर ढोका बाहिर मात्र के
निस्केका थियौँ गएको वर्ष हामीलाई दोभासेका रूपमा सघाउनु भएकी चिन ल्यु त्यहाँ मुस्कुराउँदै हामीलाई स्वागत गर्न
आइ पुग्नु भयो । उहाँ चिनियाँ लेखक सङ्घको दायित्व लिएर बेइजिङबाट त्यहाँ आउनु
भएको थियो । उहाँसँगै अर्का एक जना पुरुष साथी पनि हुनु हुन्थ्यो । चिन ल्युले उहाँ पनि चिनियाँ लेखक सङ्घसँग
सम्बद्ध हुनु भएको, बेइजिङबाटै आउनु भएको र उहाँको नाम हु चाङसङ भएको जानकारी दिनु
भयो । चिन ल्युले राम्रो अङ्ग्रेजी बोल्ने र चिनियाँ लेखक सङ्घको वैदेशिक सम्पर्क
विभागमा काम गर्ने कुरा गत वर्ष नै मैले थाह पाएको थिएँ । त्यतिखेर उहाँले सिचुआन,
बेइजिङ र गोन्जाओमा हामीलाई साथ दिनु भएको थियो । उहाँहरुले एउटा गाडी लिएर आउनु
भएको रहेछ । हामी सबै गाडीमा बसेर होटलतिर लाग्यौँ । बाटामा उहाँले होटलको नाम
लियन युन भएको कुरा बताउनु भयो । डा. भट्टराई यसअगि प्रज्ञा प्रतिष्ठानका तर्फबाट
एउटा सम्मेलनमा आउँदा सो होटलमा बसि सक्नु भएको रहेछ । करिब एक घण्टामा होटल
पुगिने कुरा पनि चिन ल्युले सुनाउनु भयो । उहाँले हामीलाई कार्यक्रमका विषयमा पनि
अवगत गराउनु भयो । पाकिस्तानबाट पनि प्रतिनिधि मण्डल आउने तथा सम्मेलनको कार्यक्रम
एकै दिनमा सकिने र दुई दिन दृश्यावलोकन हुने कुरा उहाँले हामीलाई बताउनु भयो । चौडा
बाटा, बाटा किनारको हरियाली, अग्ला घरहरु र बत्तीको झिलिमिली हेर्दै अनि आफ्ना जिज्ञासा
मेट्तै हामी होटलमा पुग्यौँ । होटलले हाम्रो राहदानी हेरेर आवश्यक विवरण लिई कोठा
खोल्ने कार्ड जिम्मा लगायो । चिनियाँ साथीहरुले हामीलाई कोठैसम्म पुर्याई बिहानको
नास्ताका लागि सोही होटलको एक कोठामा पुग्न भन्नु भयो र बिदा हुनु भयो । उहाँहरुको
आतिथ्य, सरस्वागत र कर्तव्य पालना मन
जित्ने खालका थिए । भोलिपल्ट बिहान हामी
निर्धारित समयमा नास्ता लिने ठाउँमा गयौँ । त्यहाँ एक दुई जना बाहेक सबै जना चिनियाँ
हुनु हुन्थ्यो । हामी चिनियाँ नजान्ने, उहाँहरु नेपाली र अङ्ग्रेजी दुबै नजान्ने । त्यसैले दोभासे साथीहरु बाहेक अरूसँग
कुरा हुन पाएन । अनुहार हेरेर मुस्कुराई आत्मीयता प्रदर्शन गर्दै हामीले नास्ता
खायौँ । नास्ता गर्ने ठाउँमा चिनियाँ लेखक
सङ्घबाट आउनु भएका अर्का दोभासे हु वेई पनि भेटिनु भयो । उहाँ र चिन ल्युले
सम्मेलनमा प्रस्तुत हुने पत्रहरु चिनियाँ र अङ्ग्रेजीमा अनुवाद गर्नु भएको रहेछ ।
नास्ता सकेर हामी कोठातिर लाग्यौँ । डा.भट्टराईको स्वास्थ्य केही बिग्रेकाले उहाँ
कोठैमा रहनु भयो । म र डा. खत्रीले नजिकैको बजार घुम्ने विचार गर्यौँ र बाहिर
निस्क्यौँ । हामीले सानातिना केही सामान पनि किन्ने विचार गर्यौँ । कुरा बुझाउन
भने सार्है गारो पर्यो । क्यालकुलेटरको सहायताले मोलतोल गर्दै केही सामान
किन्यौँ तर एक अर्काको भाषा नबुझी गरिने व्यवहारको कठिनाइ राम्रैसँग अनुभूत गर्यौँ । दिउँसोको खाना
हामीले आफू बसेकै होटलमा खायौँ । त्यहाँ हामीलाई प्रतिनिधि मण्डलको सम्मानमा
चिनियाँ लेखक सङ्घले बेलुका अर्को होटलमा रात्रिभोजको आयोजना गर्ने र त्यहाँ
सम्मिलित हुन अपराह्न ५.३०बजे तयारी अवस्थामा होटलको लबीमा झर्न अनुरोध गरियो । खाना
खाने वेला चिनियाँ मित्रहरुबाट हामी बसेको होटलबाट नजिकै पूर्वपट्टि ग्रिन लेक रहेको
र ५ मिनेटको हिँडाइमा त्यहाँ पुगिने हुँदा दिउँसो घुम्न सकिने थाह पायौँ । डा.
भट्टराईले होटलमै आराम गर्ने विचार गरेकाले डा. खत्री र म ग्रिन लेकतिर जान
निस्कियौँ । कमलका बोटहरु भएको तलाउ रमणीय रहेछ । तलाउको छेउमा पुग्दा मानिसहरु
सडक किनारका पैदल मार्गमा जडिएका उपकरण प्रयोग गर्दै व्यायाम गरि रहेका थिए ।
हामीले पनि केही व्यायाम गर्यौँ । तलाउको बिच भागमा उद्यान रहेछ । त्यहाँ पुग्न
विभिन्न दिशाबाट प्रवेश गर्ने पुलहरु थिए
। हामी उत्तरपट्टिको मूलद्वारबाट तलाउको
बिच भागमा प्रवेश गर्यौँ । त्यहाँ त समूहमा वा एक्लै बाजा बजाइ रहेका, गीत गाइ रहेका र नाचि रहेका
अनेक जन समुदाय देखिए । कुनै कुनै नाच त हाम्रा डेउडा, साकेवा, धाननाच, पैँसरी
जस्ता नाचहरुसँग मिल्ने खालका पनि थिए । बुढाबुढी र युवायुवती रङ्गीचङ्गी पोसाकमा नाचेको
निकै रमाइलो देखिन्थ्यो । त्यसबाट मनग्गे मनोरञ्जन र व्यायाम हुँदो रहेछ । स्थानीय जनजातिका पोसाक पनि निकै
आकर्षक थिए । बालबालिकाका लागि खेल्ने र रमाउने ठाउँहरु पनि त्यहाँ रहेछन् । तलाउमा डुङ्गाहरु पनि थिए । तिनको पनि
अवलोकन हामीले गर्यौँ । त्यहाँ विभिन्न पसलहरु पनि रहेछन् । ती सबै नियाल्दै हामी बेलुका ६ बजे आयोजना हुने रात्रिभोजमा
समावेश हुन समयमै होटलमा फर्क्यौँ ।
रात्रिभोजमा जाने
वेला पाकिस्तानको प्रतिनिधि मण्डलसँग पनि भेट भयो । त्यहाँबाट तुर्बत युनिभर्सिटी
अफ बलुचिस्तानका उपकुलपति अब्दुल रज्जाकको नेतृत्वमा जराई ताराकिती बैङ्कका
केन्द्रीय कार्यालयका रिकभरी विभागका उपाध्यक्ष कवि मुहम्मद हमिद सहिद सहितको दुई
सदस्यीय प्रतिनिधि मण्डल आएको रहेछ । उहाँहरुले पाकिस्तान एकेडेमी अफ लेटर्सका
अध्यक्ष मुहम्मद कासिम बुघियोले प्रतिनिधि मण्डलको नेतृत्व गर्ने निधो भए पनि उहाँ
आउन नसकेको जानकारी दिनु भयो । रात्रिभोजमा चिनियाँ लेखक सङ्घका साथै कुन्मिङ सहित विभिन्न
प्रान्तबाट आउनु भएका प्रान्तीय लेखक सङ्घका मित्रहरु पनि हुनु हुन्थ्यो । चिनियाँ
लेखक सङ्घका तर्फबाट ली छिन्कीले स्वागत गर्दै चिनियाँ लेखकहरुको परिचय दिएपछि
पाकिस्तानी प्रतिनिधि मण्डलका तर्फबाट प्रतिनिधि मण्डलका नेता रज्जाकले र नेपालका तर्फबाट मैले आआफ्नो प्रतिनिधि मण्डलको
परिचय दियौँ । त्यसपछि पनि परस्पर कुराकानी गर्दै रात्रिभोजमा राखिएका चिनियाँ परिकारहरु
खायौँ । दोभासे चिन र हुले अनुवाद गरेर कुराकानीमा सघाउनु भयो । रात्रिभोजपछि
हामीलाई होटलमा पुर्याउँदै भोलिपल्ट बिहानको नास्ता समयमै खाएर ९ बजे प्रारम्भ
हुने सम्मेलनका लागि ८.३० सम्म तयार भइ सक्न अनुरोध गरियो । १९ सितम्बरको सम्मेलन
हुने दिन हाम्रा लागि निकै महत्त्वपूर्ण
थियो । सम्मेलनमा दौरा, सुरुवाल, कोट र टोपीको नेपाली पोसाकमा प्रस्तुत हुने निधो
हामीले गर्यौँ र तिनै जना सोही पोसाकमा नजिकैको अर्को भवनमा आयोजित सम्मेलन
कक्षमा प्रवेश गर्यौँ । समयमै कार्यक्रम सुरु भयो । उद्घाटन सत्र चिनियाँ लेखक सङ्घको अन्तर्राष्ट्रिय सम्पर्क
विभागका उपनिर्देशक ली छिन्कीको निमन्त्रक आतिथ्यमा सञ्चालन भयो । त्यसमा युनान
प्रान्तीय फेडेरेसन अफ लिटेरेरी एन्ड आर्ट्स सर्कलकी उपाध्यक्ष हुआङ यिङलिङले स्वागत
भाषण गर्दै सम्मेलनले सहभागी तिनै देशका
लेखकहरुबिच मित्रता र साहित्यिक आदान प्रदान बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने
विचार व्यक्त गर्नु भयो । त्यसको लगत्तै सामूहिक फोटो लिने काम भयो । सम्मेलनमा
सर्वप्रथम नेपालका तर्फबाट मलाई किनोट स्पिच प्रस्तुत गर्ने अवसर दिइयो र
"नयाँ साहित्यिक रेसम मार्गका सम्बन्धमा नेपाली दृष्टिकोण" शीर्षकमा
मैले आफ्नो लिखित प्रवचन प्रस्तुत गरेँ । पाकिस्तान एकेडेमी अफ लेटर्सका अध्यक्षले पठाउनु
भएको "मानव अधिकार र सांस्कृतिक विविधताः सञ्चार र नागरिक समाजको
भूमिका" शीर्षकको किनोट स्पिचको सार उपकुलपति रज्जाकले पढेर सुनाउनु भयो ।
चीनका तर्फबाट चिनियाँ लेखक सङ्घका
सिर्जना र सम्पर्क विभागका प्रमुख फङ सेमिङको "चिनियाँ साहित्यको नयाँ
दिशा" विषयक किनोट स्पिच हुआङ
यिङलिङले प्रस्तुत गर्नु भयो । नजिकै आइ रहेको चिनियाँ लेखक सङ्घको महाधिवेशन
सम्बन्धी काममा व्यस्त हुनु परेकाले फङ आफू उपस्थित हुन नसक्नु भएको जानकारी पनि
हामीलाई दिइयो । त्यसपछिका सत्रहरुमा नेपाली
प्रतिनिधि मण्डलका सदस्य डा.खत्रीले "नयाँ साहित्यिक रेसम मार्गः दिगो
सम्बन्धका लागि सहकार्य" विषयमा र डा. भट्टराईले "महान् सभ्यताको आधारका
रूपमा रेसम मार्ग साहित्य" विषयमा नेपालका तर्फबाट आआफ्ना लिखित प्रवचन
प्रस्तुत गर्नु भयो । पकिस्तानका तर्फबाट
रज्जाक र सहिदका "पाकिस्तानमा
सांस्कृतिक विविधता" र "सांस्कृतिक परम्परा र सामाजिक विकास" विषयक
प्रवचन क्रमशः प्रस्तुत भए । त्यहाँ चीनका युनान प्रान्तीय लेखक सङ्घ एवम् कुन्मिङ लेखक
सङ्घका अध्यक्ष हु छिङ्नेङले "काव्यिक युनान", गुआङ्छी लेखक सङ्घका
उपाध्यक्ष झु सान्पोले "सामाजिक विकास र साहित्य" तथा गान्सु प्रान्तीय
लेखक सङ्घका उपाध्यक्ष र गान्सु प्रान्तीय साहित्य एकेडेमीका अध्यक्ष गाओ काईले "टाउको
झुक्नु र उठ्नुबिचः सांस्कृतिक उत्तराधिकार र सामाजिक विकास ; बुद्धको देश नेपालमा
मभित्र उदाएका केही महत्त्वपूर्ण विषय"मा प्रवचन दिनुका साथै विभिन्न तिन वटा अलग अलग सत्रको निमन्त्रक आतिथ्य
प्रदान गर्नु भएको थियो । आआफ्ना लिखित
अभिव्यक्ति प्रस्तुत गर्ने अन्य चिनियाँ लेखकहरुमध्ये युनान प्रान्तीय लेखक सङ्घका
कार्यकारी उपाध्यक्ष फान वेनले "सीमान्त प्रदेशका रूपमा युनानको अर्को
पक्ष", चाङ्छिङ लेखक सङ्घका उपाध्यक्ष हे चुछुले "उड्दो हृदयको पथमा
वायाँदायाँ दृष्टिपात", गुइचाउ प्रान्तीय लेखक सङ्घका उपाध्यक्ष हुयाङ
चियन्योङले "गाउँहरुको नयाँ परिवर्तनमा काव्यिक संस्कृतिको सम्मान एवम्
उत्तराधिकार" र सिचुआन प्रान्तीय साहित्य र कला समालोचना सङ्घका उपाध्यक्ष
लुओ योङले "बीजतिरको यात्राः साहित्यिक र सांस्कृतिक परम्परा तथा सामाजिक
विकास" विषयमा आफ्नो प्रस्तुति राख्नु भएको थियो । चाङछिङ लेखक सङ्घका
अध्यक्ष मण्डलका सदस्य वाङ सुनबिनले " शब्दको क्षितिजमा गर्जनः परम्परागत
विशेषता, उथलपुथल काल र चिनियाँ कविताको
प्रगति", युनान प्रान्तीय लेखक सङ्घका उपाध्यक्ष तथा कुन्मिङ लेखक सङ्घका
अध्यक्ष चाङ छिङ्गुओले "स्थानीय साहित्यः बाहिरतिर र भित्रतिर", गुइयाङ
लेखक सङ्घका अध्यक्ष सियाओ चियाङ्हङले "सुदूर स्थानमा उपन्यास लेखन" र
गुआङ्सी प्रान्तीय लेखक सङ्घका उपाध्यक्ष तथा हेची फेडेरेसन अफ लिटेरेरी एन्ड आर्ट
सर्कलका अध्यक्ष पान होङ्ग्रीले " सय वर्षीय व्यक्तिहरु र लेखकहरुको
कोर्को" विषयक प्रवचन प्रस्तुत गर्नु भएको थियो । यसरी यी प्रवचनहरुमा प्राचीन रेसम मार्गका साथै चिनियाँ राष्ट्रपति
सी जिनपिङले अगि सार्नु भएको 'एक पेटी एक सडक'सँग सम्बन्धित नयाँ रेसम मार्गको
साहित्यसँगको सम्बन्ध, सामाजिक विकास र वर्तमान साहित्यको स्थिति, नयाँ परिवर्तन,
काव्यिक संस्कृति र त्यसप्रतिको सद्भाव, साहित्यिक विकासको आधार, स्थानीय साहित्य, लेखकीय समस्या, सांस्कृतिक सम्पदा र सभ्यता,
साहित्य र प्रकृतिको सम्बन्ध जस्ता विषयहरु संलग्न रहेका थिए । गोष्ठी अत्यन्त
सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो । येनान प्रान्तीय लेखक सङ्घका तर्फबाट
फान वेनले येनानमा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन आयोजना भएकोमा खुसी
व्यक्त गर्नु भयो । गोष्ठीको समापनका क्रममा
चिनियाँ लेखक सङ्घका तर्फबाट ली छिन्कीले तिन घनिष्ठ देश चीन, नेपाल र
पाकिस्तानको सहभागिता रहेको गोष्ठी सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्नु
भयो र यहाँका साहित्य, संस्कृति र सभ्यताको विकास र परस्पर सम्बन्धमा नयाँ रेसम
मार्गले विशेष सहयोग पुर्याउने विचार
राख्नु भयो । येनानको प्रान्तीय लेखक
सङ्घले रात्रिभोजको आयोजना गरेर थप आत्मीयता प्रदर्शन गर्यो । त्यहाँ येनानलाई
सधैँ मनमुटुमा राख्न अनुरोध गरियो । हामीले पनि येनानप्रतिको आफ्नो माया र ममता
हृदयको गहिराइमा रहने विचार व्यक्त गर्यौँ । त्यसपछिका दुई दिनको समयको सदुपयोग गरिँदै
प्रतिनिधि मण्डललाई कुन्मिङका सुन्दर स्थलका रूपमा रहेका ढुङ्गे जङ्गल र कुन्मिङ तालको दृश्यावलोकन
गराउँदै प्रकृति र मानव निर्मित सम्पदाका
काखमा पुर्याइनु पनि सम्मेलनको सम्झन लायक पक्ष बन्यो ।
वास्तवमा उहिले पनि
फाहियान र हुयान साङ जस्ता यात्रीले रेसम मार्गको प्रयोग गरेका थिए र तिनका
यात्रा, सम्पर्क, सामग्री सङ्कलन, अध्ययन
र लेखनबाट समाज लाभान्वित भएको थियो । घोडा, भेडा र उँटको प्रयोग गर्दै र पहाड, वन,
खोला, नदी, मरुभूमि, हिउँ, हुरी, ताप आदिबाट सिर्जना हुने समस्याहरुको सामना गर्दै
मान्छेले साहसिक कामहरु गरेका थिए ।
त्यतिखेर पैदल यात्राका साथै डुङ्गा र सामान्य जहाजका भरमा महत्त्वपूर्ण यात्राहरु गरिए, अहिले त जमिनमा
रेल मोटर र समुद्रमा पानी जहाज अनि आकाशमा हवाई जहाज चलि रहेका छन् । चीनले 'एक
पेटी एक सडक'को अभियानमा पश्चिम चीन हुँदै युरोप पुग्ने सडक मार्ग र समुद्री
बाटोबाट पूर्वी चीन हुँदै एसिया, अफ्रिका
र युरोपलाई गाँस्ने समुद्री मार्गको अभियान अगि सारेको छ । चीन - पाकिस्तान, चीन - नेपाल
तथा बङ्गलादेश - भारत - चीन -
म्यानमार जस्ता मार्गहरु पनि रेसम मार्गका अङ्गका रूपमा नै प्रस्तावित भएका छन् ।
यी मार्गहरुले परस्पर गाँसिने भूभागका अर्थतन्त्र, वाणिज्य, उद्योग, कृषि आदि
मात्र नभई सञ्चार, सभ्यता र संस्कृतिको विकासमा
गर्ने योगदान समसामयिक विश्वमा विशेष चर्चाको विषय बनेको छ । नेपालका
तर्फबाट पनि चीनको प्रस्तावको स्वागत गरिँदै आएको छ । यसले साहित्यिक जगत्मा पनि विशेष
उत्साह छरेको छ ।
२०७३ कार्तिक १४ गते
२००|२६ कुमुद देवकोटा मार्ग काठमाडौँ
Comments
Post a Comment