यशोदा र कविता



                                     यशोदा र  कविता
         यशोदा र कविता ज्यादै मिलेका सँगिनी जस्ता छन् । यशोदा  (जन्म : २०४१) काभ्रे पलान्चोक जिल्लाको मेच्छे १ भोज्र्याङबाट नेपाली काव्य जगत्‍मा उदाएकी हुन् भने कविता युगौँदेखि मानव समुदायसँगै  छ ।   यी दुईको सम्बन्ध कहिले गाँसियो त्यो त म भन्न सक्तिन तर यशोदाले कवितालाई माया गरेपछि कविताले पनि उनलाई वरद छहारी प्रदान गर्दै आएको यथार्थलाई भने  मैले  चियाउने अवसर पाएको छु । त्यसैले त उनी राष्ट्रिय स्तरका गजल र कविता प्रतियोगिताहरुमा पुरस्कृत हुँदै आएकी छन् र उनका 'निषेध विरुद्ध'(२०६४) कविता सङ्ग्रह एवम् 'क ख गीत'(२०६९) बाल कविता सङ्ग्रह जस्ता कविता कृतिहरु सार्वजनिक भएका छन् । कथा, उपन्यास, निबन्ध, नाटक जस्ता साहित्यका अन्य विधाहरु तथा पत्रकारितामा समेत कलम चलाउँदै आएकी र विभिन्न साहित्यिक सङ्घसंस्था र रेडियो, एफ. एम. जस्ता साञ्चारिक सञ्जालहरुमा सञ्चालन, सम्पादन, कार्यक्रम निर्माण एवम् प्रस्तुति र समाचार वाचनको जिम्मेवारी वहन गरि सकेकी यशोदा अहिले विशेषतः कविता सिर्जनामा सक्रिय हुन थालेकी छन् । त्यसैको प्रत्यक्ष प्रमाणका रूपमा 'अस्वीकार' हाम्रा हातमा आइ पुगेको छ । यशोदाको यो महत्त्वपूर्ण कृति प्रकाशनको  सुखद अवसरमा म उनलाई हार्दिक शुभ कामना सहित बधाई ज्ञापन गर्दछु र नेपाली कविताको ढुकुटीमा थप खजाना भित्रिएकोमा खुसी व्यक्त गर्दछु । साथै यशोदा र कविताको सम्बन्ध सदा अविच्छिन्न, सुमधुर र सुदृढ रहि रहने विश्वास एवम् सदिच्छा पनि यहाँ  प्रकट गर्दछु ।                
कविताले यस धर्तीका मान्छेको हृदय तार झन्काउँदै उसलाई मार्ग दर्शन गर्न थालेको हजारौँ वर्ष भइ सक्यो । कहीँ लोक भाकामा त्यो गुन्जँदै आएको छ भने कहीँ ग्रन्थको पङ्क्ति बनेर त्यसले मानव जीवनमा आलोक छर्ने गरेको छ । लोक गीत, लोक गाथा र वैदिक ऋचादेखि अनेक मुक्तक, फुटकर पद्य, खण्डकाव्य, कोषकाव्य र महाकाव्यमा त्यसले आफ्नो शक्ति प्रदर्शन गरि सकेको छ । कतै छन्दको झङ्कार र कतै गद्यको लयदार ध्वनि संयोजन,  कतै प्रतीक, विम्ब र अलङ्कारको चमत्कृति अनि कतै लक्षणा व्यञ्जना र रसभावको स्वादबाट मान्छेको मन प्रफुल्ल पार्दै त्यसले सन्देश प्रवाहित गरेको छ । त्यसैले कविता अजर अमर छ र  मानव रहेसम्म  त्यो उसबाट  टाढिन सक्तैन । युगका आरोह अवरोह र  गौँडा गल्छेँडामा अनेक प्रतिभाशाली स्रष्टाहरुको स्पर्श र सान्निध्य कविताले पाउँछ र कविताका  चुलीहरु निर्माण हुन्छन् । तिनैमा रमाएर हामी गुनगुनाउँछौँ 'पुराना वस्त्र यी ऐले कसोरी पैरनु मैले', 'म खाऊँ मै लाऊँ सुख सयल वा मोज म गरूँ', 'मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन', 'त्यो हुरी भएर आउने छ तिमी पात भएर पछ्याउने छौ', 'रक्तक्रान्तिको ज्वालामुखीमा आज  उठेको यो बलिदान', 'काटे शरीर ढल्छ तर विश्वास ढल्दैन मेरो', 'होस गर्नु पर्छ यति खेर निर्धाका मुटु निचोर्नेहरुले' आदि आदि । वास्तवमा कवितामा अद्भुत आकर्षण र शक्ति छ  । त्यसैले  त यसले शक्तिशाली हुँ भन्नेहरुका निधारमा पनि तुरुन्तै चिटचिट पसिना निकालि दिन्छ र निमुखाहरुका मुहारमा मुस्कान छरि दिन्छ । सुन्दर, सभ्य र मर्यादित समाज निर्माणमा विचारको बिउ छर्ने र भावको जल सिञ्चन गर्ने काम यसले गर्दछ । यस काममा अगि बढ्दा कैयन्‌ले  अपमान र उपेक्षाका  आहालमा डुब्नु परेका र प्राण समेत उत्सर्ग गर्नु परेका अनेक वारदातहरु पनि इतिहासले सञ्चय गरेको छ तर सिर्जनाको प्रवाह कहिले रोकिएको छैन । यशोदा यी सबै कुरा आत्मसात् र मनन गर्दै कविताका पछि कुदेकी छन् र आफूले देखेभोगेको जीवन जगत्‍लाई कविताका भाषामा अभिव्यक्ति दिन  अगि सर्दै आएकी छन् ।
कविताका मर्मज्ञहरु कवितामा अन्तर्वस्तु र रूपको मूल्य एवम् सन्तुलन खोज्छन् । वास्तवमा अन्तर्वस्तु गतिलो भएन भने सिर्जनाको के अर्थ रहन्छ र ? त्यसलाई व्यक्त गर्ने रूप पक्षमा ध्यान पुगेन भने पनि कृतिको प्रभाव क्षतिग्रस्त हुनु स्वाभाविक छ । संसारमा भए जति र इन्द्रियले देखेभोगे जति सबै विषय वस्तु समाजका लागि उपयोगी हुँदैनन् । त्यसैले स्रष्टाहरु दुनियाँमा विद्यमान असङ्ख्य विषय वस्तुमध्ये समाजका लागि काम लाग्ने विषय वस्तुको चयन गर्छन् र त्यसलाई उपयुक्त शिल्प प्रयोग गरेर कलात्मक तुल्याउँछन् अनि मात्र सबैका सामु पस्किन्छन् । समाजबाट उनीहरु कच्चा पदार्थ बटुल्छन्, त्यसलाई असल विचारले उजिल्याउँछन् र विभिन्न  उपकरणको प्रयोग गरेर सुन्दर र मिठासयुक्त तुल्याउँछन् । यशोदाले 'अस्वीकार'मा पनि सामग्रीहरु चयन गर्दा विचार पुर्‍याएकी छन्, तिनमा जनपक्षीय एवम् प्रगतिशील विचारको पाइन चढाउन मिहिनेत गरेकी छन् र रूप पक्षका विभिन्न विशिष्टताको पनि ख्याल गरेकी  छन् ।  
'अस्वीकार' कविता सङ्ग्रहमा  कवि यशोदाका विभिन्न पत्र पत्रिकामा प्रकाशित र प्रकाशन हुन बाँकी साढे चार दर्जन मुक्तक र फुटकर कविताहरु सङ्कलित छन् ।  सङ्ग्रहकै  एक कवितालाई सिङ्गो कृतिको शीर्षक बनाइएको प्रस्तुत  कविता सङ्ग्रहको अन्तर्वस्तु कवि यशोदाका जीवन जगत्प्रतिका अनुभूति, संवेदना, धारणा, भावना, कल्पना, विचार आदिबाट निर्मित छ । खास गरेर आफू हुर्केको समाज र विश्व समाजमा विद्यमान कुरीति, विभेद र थिचोमिचोको अस्वीकार नै यस कृतिको मूल कथन बनेको छ । सङ्ग्रहभित्रको 'अस्वीकार' शीर्षकको कविता स्वयंले पनि नेपाली समाजमा नारीमाथि हुने गरेका  ज्यादतीप्रति असहमति जनाउँदै औँला ठड्याएको छ । त्यस कविताका  तलका पङ्क्तिहरुबाट नै यशोदा र उनका कवितालाई चिन्न चाहनेहरुले उनको नारीवादी, श्रमशील, विद्रोही, परिवर्तन प्रेमी र  क्रान्तिकारी पहिचान प्राप्त गर्न सक्तछन् । त्यहाँ उनी भन्छिन् :                   
हरेक साँझ बालिन्छ चुल्हो
          पकाइन्छन् मेरै पसिना
          डाडुपन्यु चलाउने अधिकार छैन
          नारी मागि रहने
          पुरुष दिइ रहने यो परम्पराको खेल
          अस्वीकार छ मलाई ।
                        (अस्वीकार,पृ.७)
         यशोदाका अन्य कविताले पनि नेपाली धर्तीमा नारीमाथि भएका  ज्यादतीका अनेक सन्दर्भहरुलाई  वाणी प्रदान गरेका छन् । सहरकी डेरावालनीका कथा, श्रमिक आमाका पीडा , छोरो नजन्माई छोरी जन्माउने नारीका वेदना, अरूका निम्ति मैन झैँ जलि रहेकी स्त्रीका आह, पराईका घरमा काम गर्दा महिलाले भोगेका बलात्कार र अत्याचारका बयान, दरबारमा पुस्तौँपुस्ता दलिएका र शारीरिक शोषणमा परेका अडैनीका विप्लवकारी आर्तनाद, चिसा छिँडी र कारखानामा महिलाले भोगेका निन्याउरा जिन्दगी,  प्रेमका नाउँमा नारीप्रति पुरुषले गर्ने असमान व्यवहार आदिका अनेक घटना र तिनले सिर्जना गरेको समाजको  कुरूप स्वरूपलाई उनका कविताले उदाङ्गो पारेका छन् । वास्तवमा स्वस्थ, सुन्दर र सभ्य समाजको सिर्जना गर्ने उनको चाहनाको छहरा कविताभित्र छङछङाइ रहेको देख्‍न सकिन्छ । महिला हुनुका नाताले पनि महिला समस्याको पहिचानमा उनको विशेष क्षमता झल्किन्छ र गाउँ सहर दुबैतिर दृष्टि डोलाउँदै महिला समस्याको वास्तविकतालाई सतहमा ल्याउन उनी सक्षम छन्  । उनी जे छ त्यसको चित्रणमा मात्र सीमित नरही समाज परिवर्तनका लागि विद्रोह र चेतनाको ज्योति छर्न चाहन्छिन् । त्यसैले त कविताका भाषामा उनी भन्छिन् :
           आमा, तपाईंको जीवनमा
           ताल्चा लगाएर
           साँचो लुकाउनेहरु
           गुफाभित्रै छन् अचेल
           त्यसैले अब प्रत्येक आमाले
           आफ्ना छोराछोरीहरुलाई
           पढाउनु पर्छ तिनको इतिहास ।
                             (आमा, पृ.२५)
           यशोदा अग्रगामी विचार राख्तछिन् र रूढि अन्धविश्वासका विरुद्ध निर्भीकतापूर्वक उभिन्छिन् । उनी तथाकथित पाप र धर्मको त्रास देखाएर दासतामा जेल्न चाहने कुनै बन्धन स्विकार्न तयार छैनन् । ईश्वरको नाउँ लिएर  मान्छेहरुलाई निरीह तुल्याउने चिन्तनका विरुद्ध उनको हुङ्कार यस प्रकार छ :
          पाप र धर्ममा फसाएर आकाशले समेत
          मेरी आमालाई दास बनाउँदा
          मैले ईश्वरको सातो लिएको दिन
          मेरो घोषणाको दिन ।
                             (घोषणाको दिन,पृ.४९)
           'मैन र मैनाकी आमा', 'अडैनीको विप्लव', 'छोरी जन्माउने आमा', 'छोरो नजन्माउने आमा',  'चाड', 'रिहाना फगत ओछ्यान होइनन्', 'नलेखिएको एउटा कथा', 'पर्खाल' जस्ता उनका कविताहरु  नारी चेतनाको उद्बोधन गर्ने  कविताका रूपमा यहाँ रहेका छन् ।  विम्ब र प्रतीकका भाषामा कवि यशोदाले यी कवितामा आफ्नो भनाइ पस्केकी छन् । मैनलाई प्रतीक बनाएर अनेक नेपाली कविहरुले कविता लेखेका छन् । मैन आफू जलेर अरूलाई उज्यालो छर्छ । उनले यहाँ मैनाकी आमालाई मैनसँग दाँज्दै उनी अरूका लागि मैन झैँ जले पनि निर्जीव मैनभन्दा फरक छन् र उनको त्यागको मूल्यबोध उनका सचेत हुङ्कारमा पाइन्छ भन्ने कुरा यसरी पुष्टि गरेकी छन् :
           मैनाकी आमा
         यो भूगोलकी विषालु मान्छे
          मान्छेको प्रमाण पत्र नपाएकी मान्छे
          फरक यत्ति हो
          मैन चुपचाप बलि रहेको छ
          मैनाकी आमा आफू बलेर
          अरूलाई उज्यालो दिएको
          हिसाब मागि रहेकी छ
                (मैन र मैनाकी आमा, पृ.३१)
          यशोदाभित्र दृढ  आस्था छ । राजनैतिक वृत्तको मैमत्तापन र विचलनलाई छिमल्न उनले कवितात्मक अभिव्यक्ति दिएकी छन् ।  उनी सूर्योदयसँगै पुतलीले गीत गाएको, फुलका थुँगाहरु फक्रिएको र चराहरुको विरहको भाका अन्त्य भएको देख्‍ने विश्वास पालेर बसेकी छन् । उनी संसद् भवन छिरेको मान्छे कुर्सीमा निदाएको देखेर  बस्तीमा अविश्वास फैलिएको अनुभव गर्छिन् र त्यस्तो स्थितिको अन्त्य चाहन्छिन्  । यसरी नै बस्तीका मान्छेहरुको अनिद्राले पनि उनलाई बेचैन बनाएको छ । जीवनमा रङ भर्ने उनको धोको पुरा हुन नसक्ताको पीडाले पनि उनलाई बेसरी सताएको छ । अहन्ताको गजुरमा भूकम्प गएको हेर्ने उनको इच्छा छ । साँझ समाप्त भएर बिहानी भित्रिएपछि विगतमा गाउँ सहर दुबैमा रोपिएको भ्रमको पर्दा च्यातिएको र इतिहासको एक हरफका रूपमा मात्र त्यसको शेष रहेको उनी ठान्छिन् । उनी वर्तमानसँग गाँसिएको पक्ष नै उद्दण्डतापूर्वक न्यायको हत्यारो बनेको र न्याय खरिदकर्ताहरु रमाइ रहेको विडम्बनापूर्ण अवस्थाको चित्रण  कवितामा यसरी गर्छिन् :
           जोसँग गाँसिएको छ अनिवार्य वर्तमान
           उही उद्दण्ड सिपाही भएर
           उभिएको छ न्यायालयमा
           सत्यको हत्या भइ सकेको छ
           नष्ट भइ सकेका छन् सबुदहरु
           न्याय खरिदमा उत्रिएकाहरु
           सफलताको गीत गाइ रहेका छन्
                     ('इजलासमा उभिएर', पृ.२८-२९)
            प्रगतिको यात्रामा हिँडेका यात्रीहरुले थकाइ मारेको देखेर यशोदा पिरोलिएकी छन् । त्यसैले उनले 'यात्री' कवितामा गन्तव्य रेखा बाङ्गिएर वा बाटाहरु चिप्ला भएर बाधा व्यवधान आउन सक्ने हुँदा वेलैमा लक्ष्य भेदन गर्न यात्रीहरुलाई सचेत तुल्याएकी छन् । देशमा परिवर्तन आएर पनि समाजले त्यसको आगमनको अनुभूति गर्न नसक्नुले त मान्छेहरुको मन कुँडिएकै छ, अगुवाहरु ढोकाभित्र आग्लो लगाएर चुपचाप बस्नु  झन् हार हो भन्दै उनले नेतृत्वको निद्रा भङ्ग गर्ने प्रयत्न गरेकी छन् । यसका साथै पाखण्डी नेतृत्वको मनग्गे आलोचना पनि उनका  कवितामा पाइन्छ  । एक क्रान्तिकारीका रूपमा मसाल ओकल्नु पर्ने नेता भनाउँदाले पानी ओकलेर आफ्ना अनुयायीहरुलाई गोलमा परिणत गरेको सटीक टिप्पणी सहित  विजय प्राप्त नगर्दै एक भारी माला पहिरेर होर्डिङ बोर्डमा झुन्डी विजयका हात हल्लाएको उनलाई कत्ति मन परेको छैन । 'बस्ती सडाउनेहरु' शीर्षकमा उनले कोरेका हरफहरुले आतङ्कको मादल बजाउँदै नारा लगाउनेहरुलाई भुस्याहा कुकुरहरुको संज्ञा दिएका छन् र कौवाहरुले सिनो खान बैठक कक्षमा हारालुछ गरिरहेको दृश्याङ्कन गरेका छन् । उनका शब्दहरुले बस्ती सडाउनेहरुको आमसभालाई यसरी चित्रित गरेका छन् :
             स्यालहरुको खुला मञ्चमा
             आम सभा
             मान्छेले मान्छेलाई
             मान्छे नदेख्‍ने गीत
             धेरै दिनदेखि घन्कि रहेछ यो बस्तीमा
             जहाँ कुहिएको छ सिनो
             त्यहीँ मानिसहरु
             नाक छोपेर हिँडि रहेछन् ।
                   ( बस्ती सडाउनेहरु, पृ.५५)
          'युद्ध' र 'सम्झौता'को हरहिसाब गरेर कवि यशोदाले ठुलाबडाहरुसँग नाता तोड्ने उद्घोष गरेकी छन् र  पाइतलाका डोबबाट अत्तरको गन्ध निस्सृत गर्नेहरुसँग पसिनाको  मोल खोज्दै स्वतन्त्रताको पक्षमा आफूलाई  उभ्याएकी छन् । चुनाबी उम्मेदवारको कथनी र करनीमा पाइने अन्तरको उनले हरहिसाब गरेकी छन् । उनी एउटा शक्तिशाली आन्दोलनद्वारा सारा विभेदका पर्खालहरु चकनाचुर पार्न चाहन्छिन् र त्यस्तो क्षणको उत्कट प्रतीक्षामा छन् । कुर्सीको मात र स्वादमा भुलेर आफ्नो धरातल बिर्सिनेहरुलाई उनका कविताले सिस्नोपानी लगाएका छन् । उनी सत्तामा पुगेर जनहितका काम गर्न नसक्नेहरुले पुनः चुनाबी मैदानमा उत्रिनुको कुनै औचित्य देख्तिनन् । आफ्नो कर्तव्य र जिम्मेवारीको ख्याल नगरी सुविधाका पछि कुद्नेहरु उनका यी शब्दबाट व्यथित हुन सक्छन् :
         म एका बिहानै सडक किनारामा
         उभिएर हेरि रहेको हुन्छु
         असङ्ख्य सपनाहरु
         बाटो काट्छन् जेब्राक्रसिङबाट
         र, चढ्छन् पजेरोमा
        छिर्छन् सिंह दरबार
        भ्याउँछन् मन्त्री मण्डलको बैठक
         र, निस्कन्छन् विदेश भ्रमणमा              
                   (सडक, सपना र म, पृ.१०१)
                कवि यशोदाका कविताहरु वर्गीय पक्षधरता, मानवीय भावना र समानताका दृष्टिले  पठनीय छन् । तिनले जातीय असमानताको भुङ्ग्रोमा भुटभुटिएको  दमाई कान्छाका कथाहरु मात्र होइन, आजको एक्काइसौँ शताब्दीमा पनि जङ्गलमा भोकैनाङ्गै भौँतारिन विवश राउटेहरुको दर्दनाक स्थितिको वास्तविकतामाथि प्रकाश पारेका छन् । सरकार उनीहरुका समस्या देख्तादेख्तै र सुन्दासुन्दै पनि बहिरो बनेकोमा उनले आपत्ति जनाएकी छन् । स्वदेश बाहिरका मजदुरहरुको व्यथा उनको 'रहमान अर्थात् रहमानहरु' कविताले सुसेलेको छ ।  'अँधेरी रातमा', 'सिल्भरे गाग्री', 'विद्रोहको वेला' र 'मेरा आचरणबारे' जस्ता उनका कविताहरु पनि निम्न वर्गको मुक्तिको चाहनासँग गाँसिएका छन् । उच्च वर्गीय ढलीमली ढलाउन उनी प्रतिबद्ध छन् भन्ने कुराको गतिलो उदाहरण उनको 'जमिनदार' कविता हुन सक्तछ ।  त्यसमा  उनले भनेकी छन् :
           उल्लु साहु !
           तँ
           गाउँ सकेर
           सहर पसेको छस् अरे ।
           ए जमिनदार !
           अब तँ टुक्रा टुक्रा हुनु पर्छ
           अब तेरो लुटिने पालो ।
                    (जमिनदार, पृ.६१)
            राष्ट्रप्रेमी कवि यशोदाले 'मरुभूमि र फुल', 'यो व्यस्थामा' र  'मैले घर छोडेको साँझ' जस्ता कवितामा यतिखेरको  एक जल्दोबल्दो समस्यालाई कविताको विषय बनाएकी छन् । हाम्रा गाउँ र सहरबाट जिउँदा मान्छेहरु दिनदिनै परदेसिने क्रम बढ्दो छ । खास गरेर रगतबखतका युवाहरु बस्ती रित्तै पारेर विदेशतिर लाग्ने र विदेशका अपमान  र कष्ट बेहोर्दै ज्यान समेत गुमाउने स्थिति विद्यमान छ । त्यसतर्फ हामी सबैको ध्यानाकर्षण गर्ने र देशभित्रै नेपालीहरुले काममामको जोहो गरी बस्न पाउने अवस्था सिर्जना गर्न सम्बन्धित क्षेत्रलाई यिनले घचघच्याउँछन् । 'भोर्ज्याङ ! ओ भोर्ज्याङ !' उनको जन्मभूमिप्रति अगाध माया पोखिएको कविता हो ।  प्रकृतिको सुन्दर वर्णनले उनका कवितामा थप प्राण सञ्चार गरेका छन् ।  'रात', 'विश्वास', 'एक दिन', 'बरफ जमेको वेला', 'मेरो गाउँ र पानी घट्ट' तथा 'वर्षायामको खहरे' जस्ता उनका कविता सामाजिक चेतका साथै प्रकृति वर्णनका दृष्टिले पनि महत्त्वपूर्ण छन् । यसरी नै 'पत्रकार' कविताले पत्रकारिता क्षेत्रका समस्याप्रति पाठकहरुलाई संवेदित तुल्याउँछ भने 'बुढो मास्टर' कविताले शिक्षणमा देखा परेको विचलनको हास्यात्मक सूचना  दिन्छ । 'खुट्टाले भात खान्छु' विसङ्गति र हास्यको सम्मिश्रणका रूपमा रहेको छ भने 'देवताका नाममा' कविता कला कौशलप्रति ममता दर्साउने, धर्मप्रति भक्ति देखाउने मार्क्सवादीहरुप्रति छेड हान्ने र अन्ध भक्तिभन्दा श्रमप्रति आस्था जगाउने दृष्टिले सिर्जित कविता हो ।
                 विषयका नाना प्रदेश चहारेर कविताको स्वाद चखाउने यशोदाले नेपाली साहित्यका अग्रजहरु रिमाल, देवकोटा,पारिजात, भूपि आदिलाई पछ्याएर गद्य लयमा आफ्नो भाव पोखेकी छन् । अझ प्रतीक, विम्ब र अलङ्कार प्रयोगमा उनले देखाएको छटा साँच्चीकै लोभलाग्दो छ ।  उनले लयात्मक रचनाहरु सुमधुर स्वरमा वाचन गरेको  पटक पटक सुन्ने अवसर त प्राप्त भएकै थियो, गद्य लयमा पनि  प्रतीक,विम्ब र अलङ्कारलाई कजाउँदै यसरी रहरलाग्दो प्रयोग गरेको  यहाँ देख्‍न पाइयो । उनको यस खालको  प्रयोगका केही नमुना यहाँ प्रस्तुत छन् :
                मध्य रातमा निदाएको सपना
                जुरुक्क उठेर
                मुसुक्क हाँसेपछि
                रातले एक अञ्जुली उज्यालो
                सापटी गरेरै भए पनि
                बिहानीको सुन्दर महल
                ठड्याएरै छाड्यो ।
                              (रात,पृ.३)
              शीतल दिएको छैन छहारीले
              अविश्वास पलाएका छन् गरा गरामा
              लुकाएर आगो
              कतिन्जेल बोक्न सक्छौ
              अविश्वासको मसाल
              फर्केर आऊ
              मान्छे बन
             तिम्रो सपना
             आफै पुरा हुने छ ।
             (बिर्सनेलाई के, पृ.१३)
        अभिव्यक्तिलाई लाक्षणिक र व्यञ्जनायुक्त तुल्याउने अनेक यस्ता पङ्क्तिहरुमा यशोदाका कविताको कलात्मकता झल्किएको छ । सरल शब्दहरुमा एक प्रकारको  लयलाई भित्र्याउन उनले प्रयोग गरेको जुक्ती  कविताका निम्ति शक्ति जुटाउन सहयोगी बनेको छ । केही आगन्तुक शब्दहरुको प्रयोग गर्ने रहर उनले गरे पनि तिनको अर्थ पाठकका पहुँचभन्दा बाहिर छैन । कविताको कथन कलाका निम्ति आवश्यक ठानिने  उपकरणहरुको प्रयोग गर्दा आफ्नो सन्देशप्रतिको  होसियारी पनि उनको विशेषता बनेको छ । एकाध ठाउँमा कविताले शृङ्खलाबद्ध अर्थ साहचर्य र थप प्रस्टताको माग गरे पनि समग्रमा 'अस्वीकार' हृदय ग्राह्य, स्वादिला र उपयोगी विचारले युक्त  कविताहरुको सङ्ग्रहका रूपमा आएको छ ।  यसले मलाई  निस्सङ्कोच रूपमा  के भन्ने आधार प्रदान गरेको छ भने  नेपाली काव्य जगत्मा यशोदाको उदय अत्यन्त आशाप्रद एवम् उत्साहजनक छ । साथै म के पनि विश्वास गर्दछु भने यसरी नै उनको  कविता यात्रा निरन्तर अगि बढ्दै गयो भने त्यसले उनलाई विशिष्ट पहिचान सहित एउटा उचाइमा पुर्‍याएको हेर्ने दिन धेरै टाढा रहने  छैन ।

    २०७१ फागुन २४ गते                                               प्रा.डा.जीवेन्द्र देव गिरी,
                                                                    सदस्य सचिव,
                                                                    नेपाल प्रज्ञा प्रतिष्ठान,
                                                                    कमलादी, काठमाडौँ

          

        
       
        



                  

Comments

Popular posts from this blog

समालोचना यात्रामा पुष्करका भरोसालाग्दा पाइला पुष्कर रिजाल 'पुष्प'का समालोचनाहरुको पाण्डुलिपि पढ्ने अवसर पाएँ । साहित्यिक सिद्धान्तका साथै कविताका मझौला, लघु र लघुतम रूप (खण्डकाव्य, मुक्तक, हाइकु र फुटकर कविता), भाषा तथा लोक साहित्यसम्मलाई अध्ययनको विषय बनाइएको प्रस्तुत कृतिले समालोचकको बहु आयामिक अध्ययनको अभिरुचि र ज्ञानको क्षेत्रलाई सङ्केत गर्दछ । समालोचनाको पूर्वीय र पाश्चात्य पद्धति दुबैलाई महत्त्व दिँदै समाजोपयोगी विचार प्रवाहित गर्ने उनको प्रवृत्ति प्रशंसनीय छ । उनले नेपाली साहित्यको आधुनिक कालमा बढी विचरण गरे पनि माध्यमिक कालतिर पनि दृष्टि डोलाउन पुगेका छन् । त्यसैले पनि पुष्करको यो कृति विविधतामय बन्न पुगेको छ र थरी थरीका स्वादले युक्त छ भन्न सकिन्छ । समालोचक पुष्कर प्रगतिशील दृष्टिकोण राख्तछन् भन्ने कुरा उनका समालोचना पढ्दा थाह हुन्छ । उनी मार्क्स र मार्क्सवादी साहित्यिक मान्यताका सम्बन्धमा यहाँ निकै घोत्लिएका छन् । गोपाल प्रसाद शर्मा अधिकारीको 'श्रद्धा सुमन' कविता सङ्ग्रह तथा महानन्द ढकालको 'घाम उदाए' हाइकु सङ्ग्रहमा विद्यमान प्रगतिवादी एवम् प्रगतिशील चिन्तनबाट उनी प्रभावित छन् । प्रगतिवादी साहित्यले सम्झनु पर्ने प्रतिभाको खोजी र तिनका कृतिका विशेषताको विवेचनामा उनको प्रगतिवादी पहिचान खुलेको छ । उनमा अरू कसैप्रति पनि पूर्वाग्रही धारणा छैन भन्ने जानकारी पनि यहाँ उपलब्ध छ । उनले विश्वेश्वर प्रसाद कोइरालाको 'सुम्निमा'का सकारात्मक पक्ष पहिल्याएर तथा वसन्त शर्माको 'श्रीकृष्ण चरित्र' को महत्त्वमाथि प्रकाश पारेर त्यसको छनक दिएका छन् । विधातात्त्विक कसीमा घोट्तै मदन पुरस्कार प्राप्त 'सेतो धरती'का केस्रा केस्रा केलाउने र त्यसका सबल र दुर्बल पक्ष चिनाउने काममा पनि उनको मिहिनेत परेको छ । यसरी नै मुक्तकको सिद्धान्तको व्याख्या गर्न उनले संस्कृतका साथै आधुनिक वाङ्मयको सेरोफेरोको परिक्रमा गरेका छन् र सोदाहरण आफ्नो भनाइलाई पुष्टि गर्ने काम गरेका छन् । नेपाली भाषाको पारिवारिक सम्बन्ध, उत्पत्ति र विकास सम्बन्धी कुरा नौलो नभए पनि ज्ञानलाई फिँजाउने कुरामा उपयोगी रहेको छ । सम्बन्धित क्षेत्रका अध्येताहरु यसबाट लाभान्वित हुन सक्तछन् । यसरी नै यहाँको लोक बाल कविता र बाल लोक गीतको अध्ययनले एकातिर बालकहरुलाई खुराक प्रदान गरेको छ भने अर्कातिर त्यस क्षेत्रमा केही गर्न चाहनेलाई व्याख्या विवेचनाको सैद्धान्तिक आधार प्रस्तुत गरेको छ । पुष्कर रिजाल 'पुष्प'ले आफ्नो यस समालोचना कृतिका माध्यमबाट प्रदर्शन गरेको छटाले के जनाउँछ भने उनी समालोचना क्षेत्रका हुने बिरुवाका चिल्ला पात हुन् र एक भरोसालाग्दा प्रतिभा हुन् । उनी साहित्यिक क्षेत्रका मूलभूत मान्यतासँग परिचित छन् र समालोचना क्षेत्रको अध्ययनमा गम्भीरतापूर्वक समर्पित छन् । नेपाली समालोचनाले उनी जस्ता समालोचकप्रति आशाप्रद दृष्टि लगाइ रहेको छ । अहिले पनि देशका विभिन्न भागमा रहेर राष्ट्र र जनताका पक्षमा कलम चलाउने कैयन् स्रष्टाहरु ओझेलमा छन् । तिनका राम्रा कामलाई प्रकाशमा ल्याउन नसक्ता ठुलो घाटा भएको छ । समाजले तिनबाट लिन सक्ने लाभ लिन सकेको छैन भने स्वयं स्रष्टाहरु पनि थप कामका लागि प्रेरित र उत्साहित बन्न सकेका छैनन् । यस अवस्थामा नेपाली समालोचनामा उनको आगमन स्वागतयोग्य छ । समालोचना विवेक प्रयोगको एक महत्त्वपूर्ण क्षेत्र हो । अविचलित र निरन्तर साधनाबाट यस क्षेत्रमा समर्पित व्यक्तिले नै यसमा सिद्धि प्राप्त गर्दछ । रिजालको प्रतिभा र लगनशीलताले उनलाई यस क्षेत्रमा अवश्यमेव सफलता दिलाउने छ भन्ने कुरामा म विश्वस्त छु । उनको समालोचनात्मक कृति प्रकाशनको यस सुखद अवसरमा हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर सफलताको कामना गर्दछु । प्रा.डा.जीवेन्द्र देव गिरी २००|२६ शान्ति नगर, काठमाडौँ । २ वैशाख २०७१ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf …d]/f] kfOnf d]/f] cg'ejÚ g]kfnL Oltxf;sf s}og\ kfgfx¿ cem} clnlvt 5g\ . To;df klg g]kfnL hgtfsf] cfkm\gf] Oltxf; n]Vg] sfd t lgs} cw'/f] 5 . s=k'iknfnn] …g]kfnL hg cfGbf]ng M Ps ;dLIffÚ n]v]/ To;tkm{ xfdLnfO{ ky k|bz{g ug'{ ePsf] 5 , df]bgfy k|l>tn] To;nfO{ lj:tf/ ug{ kl;gf aufpg' ePsf] 5 / s]bf/gfy k|wfgn] klg o; dfu{nfO{ k5\ofO{ s]xL sfd ug'{ ePsf] 5 . Oltxf;sf cGo s]xL cWo]tfx¿sf klg cfzfnfUbf kfOnf o; lbzflt/ clu al9 /x]sf 5g\ . oL s]xL sfdx¿ eP tfklg g]kfnL hg cfGbf]ngsf] a[xt\ Oltxf; n]vgdf k"0f{tf Nofpg lgs} sfdx¿ cem} ck]lIft 5g\ . o;lglDt Oltxf;sf ljleGg 36gf;Fu ufFl;Psf JolStx¿sf n]v / ;+:d/0fn] dxŒjk"0f{ vhfgf k|bfg ug{' :jfefljs 5 . ctM xfd|f sltko o'u gfossf hLjgsf k|]/0ffbfoL sfd, ;ª\3if{ / cg'ejsf ufyf pxfFx¿;Fu} x/fpgfn] k5'tfpg' k/]sf] cj:yf / a]xf]g'{ k/]sf] Ifltk|lt xfdL ;a} ;r]t x'g cfjZos 5 . g]kfnsf] jt{dfg kl/jlt{t cj:yfdf P]ltxfl;s dxŒjsf s]xL ;fdu|L cjZo g} k|sfzdf cfPsf 5g\ . ltgsf] k|sfzg x'g' xfd|f lglDt cToGt v';Lsf] s'/f xf] t/ tL cw'/f / ck"0f{ 5g\ . ctM a9LeGbf a9L dfqfdf To; k|sf/sf vhfgfsf] ;fj{hlgsLs/0f clxn]sf] cfjZostf xf] . ci6nIdL zfSosf] k|:t't sfo{n] oxL cfjZostfsf] k"lt{df dxŒjk"0f{ of]ubfg u/]sf] 5 . o;nfO{ g]kfnL hg ;ª\3if{sf] ToxL a[xt\ Oltxf;sf] ;'Gb/ kfgfsf ¿kdf lng ;lsG5 . …d]/f] kfOnf d]/f] cg'ejÚsf gfdn] xfd|f ;fd' cfO k'u]sf] o; s[ltsf] d :jfut ub{5' / n]vs zfSonfO{ xflb{s awfO{ 1fkg ub}{ n]vg If]qdf lg/Gt/ kfOnf clu al9 /xf];\ egL z'e sfdgf JoQm ub{5' . …d]/f] kfOnf d]/f] cg'ejÚ s'g} p8Gt]a'8Gt] xjfO{ sNkgf xf]Og, g t xf] of] s'g} /x:osf] kf]sf] . jf:tjdf of] t xf]—oyfy{df cfwfl/t cfF6, Tofu, w}o{ / ;ª\3if{sf] hLjGt aofg . of] s[lt sf7df8f}Fsf] ;'ljwf ;DkGg kl/jf/df hGd]/ klg g]kfnL sDo'lg:6 cfGbf]ngdf ;dlk{t eO{ prfOsf] ljGb' :kz{ ug{ ;kmn ci6nIdL zfSosf] pbfx/0fLo hLjg;Fu t ;DalGwt 5Fb} 5, ;Fu;Fu} pxfFsf ;xsdL{sf ¿kdf /x]sf cg]s JolStx¿sf sd{nfO{ s]xL dfqfdf g} eP klg cª\lst ug{ cu|;/ 5 . ci6n] 6]s]sf] lk:s/sf] wtL{sf] ;'uGw / ToxfFsf] ;dfhsf] af]nL oxfF ;'Gg ;lsG5 . sf7df8f}F pkTosfsf kfFuf, 6f]vf / cGo :yfgx¿ xf]pg\ jf emfkfsf a:tLx¿, ci6 ljleGg ;ef, a}7s, e]nf, ;ª\u7g, cfGbf]ng / h]ndf cg]s ;fyLx¿dfem e]l6g' x'G5 . g]kfnL hg cfGbf]ngsf] lbof] afln /x]sf s}og\ dlxnf k'?ifx¿;Fu o; s[ltn] xfd|f] ;fIffTsf/ u/fpF5 . cf:yfsf nflu cfkm\gf cfdfa'af, efO alxgL Pjd\ Oi6ldq dfq xf]Og, 5f]/L5f]/faf6 klg b"/Ldf /x]/ kltkTgL g} ;ª\3if{sf d}bfg, psfnL cf]/fnL, jg hª\un / vf]nfgfnf kf/ ul//x]sf] b[Zo oxfF b]lvG5 . cfkm\gf klt s=Zofd cyf{t\ cd[t af]x/fsf] ;xofqfaf6 hLjgsf ufx|f ;fFu'/f lbg kf/ ug{ ;xh ePsf] ci6sf] cfTd:jLs[lt 5 . kltkTgL b'a} hgf kf6L{ hLjgdf cys / ;kmn ¿kdf o;/L ;lqmo /x]sf] sd} b]Vg kfOG5 . hgtfsf kf]N6fdf 5f]/L5f]/fnfO{ ;'Dk]/ ;dfhsf] ¿kfGt/0fdf s'lb /x]sf] o; hf]8Lsf] ;xofqf :jod\ klg cg's/0fLo 5 h;nfO{ o; s[ltsf kfgfx¿df k9\g ;lsG5 . hgtf;Fu s:tf] Jojxf/ ug]{ / j}/Laf6 s;/L hf]lug] eGg] s'/fsf /f]rs cg'ejx¿ oxfF ;FuflnPsf 5g\ . o; qmddf cfkm\gf njfO vjfO, afgLa]xf]/f / a/Jojxf/df kl/jt{g NofP/ hgtfsf] dg lhTg ul/Psf hl'Qmx¿ o; s[ltsf cfsif{0fsf ljifo ag]sf 5g\ . hgtfsf] dfG5] eP/ a:tf st} cf]8f/sf] jf;, st} u'Gb|Lsf] cf]5\ofg, st} l9F8f]sf] ufF;, st} cfF;' r'xfpFb} d/]sf] uf]?sf] df;' lgn]sf] l:ylt / st} lnvfh'd|fsf] lhpel/ /hfOF a]xf]g'{ k/]sf] cj:yf oxfF b]lvG5 . slxn] /ft /fte/ lxF8]sf], slxn] ds}af/Ldf /ft latfPsf] / c¿sf ;xf/fdf vf]nf t/]sf], slxn] cª\u|]hLafh ag]/ clg slxn] y'G5]n] 5f]lkP/ v/fa dfG5]x¿af6 ar]sf] h:tf s'/f klg oxfF e]l6G5g\ . Pp6L dlxnfn] e"ldut hLjg latfpg' kbf{ nfu]sf cfIf]k, a]xf]g'{ k/]sf ckdfg, cfO k/]sf vt/f / ltgsf] s'zntfk"0f{ ;fdgfnfO{ klg oxfF lnlka4 ul/Psf] 5 . oLeGbf klg cem} cle?lrsf ljifosf ¿kdf k|x/Lsf kmGbfdf kbf{ ci6 / pxfFsf ;fyLx¿n] ef]Ug' k/]sf] b'Jo{jxf/ / oftgf clg kf6L{, cfkm" / ;xsdL{nfO{ hf]ufpg tyf uf]kgLotf arfpg pxfFx¿n] u/]sf sfd, k|bz{g u/]sf] ;fx; Pjd\ ;zQm k|lt/f]w /x]sf 5g\ . k~rfot sfnLg lg/ª\s'ztfaf6 g]kfnnfO{ d'St ug{ sDo'lg:6 qmflGtsf/Lx¿n] s] s:tf ultljlw u/]sf lyP eGg] s'/fsf] Ps emns o; s[ltsf cfFvLem\ofnaf6 lgofNg ;lsG5 . k|:t't s[ltn] x/]s qmflGtsf/Ldf pT;fx 5g{] ;'lglZrt 5 . o;n] dlxnfx¿nfO{ 3/sf rf/ s'gfdf dfq ;Lldt /fVg rfxg]x¿nfO{ klg gofF kf7 l;sfpg] 5 . ;h{sx¿n] o;af6 l;h{gfsf cGo ljwfsf nflu ;fdu|L k|fKt ug]{ 5g\ . o; s[ltsf] gf6sLs/0f, rnlrqLs/0f / cfVofgLs/0f ;Dej 5 . o; s[ltnfO{ g]kfnsf / ljZjsf cGo efiffdf cg'jfb ug{ ;lsof] eg] dfgj ;d'bfosf] 7'nf] lx:;f o;af6 nfeflGjt x'g] 5 . o;af6 k|]/0ff lnP/ c¿ qmflGtsf/Lx¿n] klg o; k|sf/sf s[lt l;h{gf u?g\ / g]kfnL /fhgLlt Pjd\ Oltxf;sf uf}/jdo kfgfx¿ dflg;sf] d/0f;Fu} ljno x'g gkfpg\ eGg] z'e]R5f d /fVt5' . ;/n efiffdf cfkm"n] ef]u]sf s'/fx¿sf] :jfefljs k|:t't ul/Psf] of] s[lt cfd hg ;d'bfosf] ?lr cfslif{t ug{ ;kmn x'g] s'/fdf klg d 9'Ss 5' . @)&) kmfu'g !( 8f=hLj]Gb| b]j lu/L zflGt gu/, sf7df8f}F k|fWofks, g]kfnL s]Gb|Lo ljefu, lqe'jg ljZj ljBfno, sLlt{k'/

सम्झनामा चीन भ्रमण