राष्ट्रप्रेमका भावनाले भरिएको 'मेरो भूमि' कविता सङ्ग्रह यदु
राष्ट्रप्रेमका
भावनाले भरिएको 'मेरो भूमि' कविता सङ्ग्रह
यदुनाथ वसन्तपुरे
सिन्धुपाल्चोकबाट नेपाली साहित्याकाशमा उदाउनु भएका साहित्यिक प्रतिभा हुनु हुन्छ
। उहाँसँग विगत केही वर्षदेखि मेरो उठाबसी र हिमचिम बाक्लिएको छ । साहित्यिक
गोष्ठीहरुमा उहाँका कविताहरु सुन्ने अवसर पनि वेला वेलामा मलाई जुरेको छ । उहाँ एक
सज्जन र राष्ट्रप्रेमी व्यक्ति हुनु हुन्छ । अहिले उहाँको 'मेरो भूमि' शीर्षकको
कविता सङ्ग्रह प्रकाशन हुन लागेकोमा म अत्यन्त हर्षित छु । यस सुखद घडीमा म उहाँको
काव्ययात्रा एकपछि अर्को सफलताको सिँढी चढ्न सफल होओस् र राष्ट्रमा जागरणको ध्वनि
गुञ्जायमान गरि रहोस् भनी हार्दिक सदिच्छा व्यक्त गर्दछु ।
कवि वसन्तपुरेमा
राष्ट्रप्रेमको भावना अत्यन्त प्रबल र सुदृढ छ । उहाँले आफ्नो कविता सङ्ग्रहको
शीर्षक 'मेरो भूमि' चयन गरेर यसको सूचना प्रवाह गरि सक्नु भएको छ । यसमा उहाँले
आफू जन्मेको सिन्धुपाल्चोकको धर्तीमा टेक्तै सिङ्गो नेपाली धर्ती र यहाँका मनमोहक
दृश्यको हृदय खोलेर वर्णन गर्नु भएको छ ।
यहाँका धरातल, ढुङ्गामाटो, खेतबारी, नदीनाला, वन पहाड, जीवजन्तु, रुखवृक्ष, फलफुल,
हावापानी सबैप्रतिको मायामोह उहाँका कविताका टुक्रामा रूपान्तरित भएका छन् । यस
भूमिको महिमा गाएर उहाँका अनेक कविताका पङ्क्ति बनेका छन् । राष्ट्रप्रेम, राष्ट्रभक्ति र जन्मभूमिको माया
मान्छेको नैसर्गिक गुण हो । त्यसैले त जननी र जन्मभूमि स्वर्गभन्दा ठुला छन् भन्ने
सूक्ति मान्छेहरुका मुख मुखमा झुन्डिएको हुन्छ । वसन्तपुरेको कवि हृदयले पनि यस कुरालाई आत्मसात् गर्दै कविताका पङ्क्तिहरु कोरेको छ र गुनगुनाएको छ ।
त्यसले देशको माया, राष्ट्रिय अखण्डता र सुन्दर संरचनालाई कसरी प्रस्तुत गरेको छ
भन्ने कुराको एक नमुना यहाँ प्रस्तुत छ :
हिमालको छ त्यो
दृश्य राम्रो
बस्ती मिलेको छ पहाड आफ्नो
तराई हाम्रा र हिमाल
हाम्रा
नेपाल सिङ्गै छ एक
माला ('कर्म गर्ने मानिस' कविता)
नेपाली भूमिमै बसेर
यस भूमिलाई उन्नत तुल्याउनु पर्छ भन्ने कविको भावना छ । विदेश पलायनले मुलुकमा पार्न थालेको
घाउप्रति उहाँ चिन्तित हुनु हुन्छ । शोषण र मपाईँत्वले पारेका दुष्प्रभावको पनि
कविले हरहिसाब गर्नु भएको छ । यहाँका टाठाबाठा, ठुलाठालु र कतिपय नेता भनाउँदाले
नै देश लुटेको उहाँले देख्नु भएको छ । यसरी देशलाई हानि हुने काम गर्नेप्रति उहाँको रोष आक्रोश
यहाँ अभिव्यक्त छ । चरित्रवान्, विवेकी र गुणी मान्छेको उहाँका कविताले पक्ष लिएका छन् भने
चरित्रहीन, अविवेकी र गुणशून्य मान्छेबाट देश र समाजलाई पुगेको क्षतिप्रति सबैको
ध्यानाकर्षण गराएका छन् । सहिदहरुले देशका
निम्ति गरेको सुकर्मलाई राष्ट्रको सान र गर्वका रूपमा लिँदै उहाँले यसरी मान्छेलाई
असल कर्मतिर प्रवृत्त हुन आह्वान गर्नु भएको छ :
अमर सहिद गङ्गा,
शुक्र साथै र धर्म
दशरथ जब हाम्रा
राष्ट्रका गर्व सान
अघि अघि बढ मान्छे
हुन्न राम्रो नसोच
असल हुनु छ मान्छे
अल्छी बन्न नखोज ।('सहिदको देश' कविता)
कवि वसन्तपुरे आफै
कर्मशील शिक्षक हुनु हुन्थ्यो र कर्ममा रमाउन चाहनु हुन्छ । सेवा निवृत्त भइ सक्ता
पनि आफ्नो शिक्षालय र शिक्षक विद्यार्थीसँग कुनै न कुनै रूपमा जोडिएर नजिक भइ रहने
उहाँको चाहना छ । किसानको कर्मको पनि उहाँ प्रशंसक हुनु हुन्छ । छल कपट र आलस्य
नगरी दिनहुँ श्रम छरि रहने किसानको जीवन
उहाँका निम्ति अनुकरणीय र आदर्श छ । किसानको श्रम लुटेर दरबारमा मोजमजाको जीवन
यापन गर्नेहरुलाई पापी र गोमन सर्पको संज्ञा दिँदै कवि तिनका विरुद्ध जाइ लाग्न
चाहनु हुन्छ । असमानता र विभेदको डोरी चुँडाल्न सकियो भने मात्र सुन्दर समाजको
निर्माण हुन्छ भन्ने उहाँको विश्वास छ ।
नेपाली धर्ती
भुइँचालाले डगमगाउँदा उहाँको मुटु पनि बेसरी हल्लिएको छ । यस सङ्कटले जतिसुकै
अनिष्ट निम्त्याए पनि जोस र होसका साथ यसलाई पार गर्न सकिन्छ भन्ने उहाँ ठान्नु
हुन्छ । यस्तै नाकाबन्दी र त्यसले सिर्जना गरेको उकुसमुकुस, छटपटी एवम् अमानवीय
हर्कत पनि कविको आँखाबाट लुकेको छैन । अरूको दानापानी खाएर राष्ट्रघात गर्नेहरुको उहाँले कडा रूपमा निन्दा
गर्नु भएको छ । यस क्रममा उहाँ भन्नु हुन्छ :
तगारा लगायौ सिमाना
लुटेरा
र छेस्की लगायौ
विदेशी चखेवा
फकाई फकाई झपार्दै
रहेछौ
छलेरै लुटेरै कमाई
रहेछौ । ('नाकाबन्दी' कविता)
समग्रमा कवि यदुनाथ
वसन्तपुरेका कविता मानवीय भावनाले युक्त छन् । ती अचेतनाको निद्रामा निदाएका
मान्छेहरुलाई बिउँझाउने उद्देश्यले चेतनाको आगो सल्काउन रचिएका छन् । कवि शोषण
उत्पीडन विरोधी अभियन्ताका रूपमा निर्बाध अगि बढ्न चाहनु हुन्छ । आफ्नो लक्ष्यमा
बाधा व्यवधान उत्पन्न गर्ने मार्गको अनुसरण नगरी आशावादिताका साथ उहाँ गन्तव्यमा पुग्न चाहनु हुन्छ । उहाँ भन्नु
हुन्छ :
गन्तव्य छेक्ने पथ
चाहिँदैन
मान्छे मिचाहा पद
चाहिँदैन
मान्छे चुसाहा कुल
चाहिँदैन
आशा नराख्ने मन
चाहिँदैन ( 'चाहिँदैन्' कविता)
'मेरो भूमि' कविताले
कवि यदुनाथ वसन्तपुरेलाई लयात्मक छन्दोबद्ध कविताका सर्जकका रूपमा नेपाली काव्य
जगत्मा प्रस्तुत गरेको छ । छन्दका विधि विधानको पालना गर्दै भाव र विचारलाई
छर्लङ्ग हुने गरी कविताको रचना गर्न निरन्तर लामो साधनाको खाँचो पर्दछ ।
त्यसतर्फको यो यात्रा आशाप्रद र
भरोसालाग्दो छ । कविलाई यस कार्यमा उत्तरोत्तर
सिद्धि प्राप्त हुँदै जाओस् र नेपाली साहित्यका भावकहरु उहाँका जन
कल्याणकारी कविताहरुबाट लाभान्वित भइ रहुन् !
२०७३ जेठ
४ गते मङ्गल वार प्रा.डा.जीवेन्द्र देव गिरी
सदस्य सचिव
नेपाल प्रज्ञा
प्रतिष्ठान, कमलादी, काठमाडौँ
Comments
Post a Comment