राष्ट्रप्रेमका भावनाले भरिएको 'मेरो भूमि' कविता सङ्ग्रह यदु



      राष्ट्रप्रेमका भावनाले भरिएको 'मेरो भूमि' कविता सङ्ग्रह
यदुनाथ वसन्तपुरे सिन्धुपाल्चोकबाट नेपाली साहित्याकाशमा उदाउनु भएका साहित्यिक प्रतिभा हुनु हुन्छ । उहाँसँग विगत केही वर्षदेखि मेरो उठाबसी र हिमचिम बाक्लिएको छ । साहित्यिक गोष्ठीहरुमा उहाँका कविताहरु सुन्ने अवसर पनि वेला वेलामा मलाई जुरेको छ । उहाँ एक सज्जन र राष्ट्रप्रेमी व्यक्ति हुनु हुन्छ । अहिले उहाँको 'मेरो भूमि' शीर्षकको कविता सङ्ग्रह प्रकाशन हुन लागेकोमा म अत्यन्त हर्षित छु । यस सुखद घडीमा म उहाँको काव्ययात्रा एकपछि अर्को सफलताको सिँढी चढ्न सफल होओस् र राष्ट्रमा जागरणको ध्वनि गुञ्जायमान गरि रहोस् भनी हार्दिक सदिच्छा व्यक्त गर्दछु ।
कवि वसन्तपुरेमा राष्ट्रप्रेमको भावना अत्यन्त प्रबल र सुदृढ छ । उहाँले आफ्नो कविता सङ्ग्रहको शीर्षक 'मेरो भूमि' चयन गरेर यसको सूचना प्रवाह गरि सक्नु भएको छ । यसमा उहाँले आफू जन्मेको सिन्धुपाल्चोकको धर्तीमा टेक्तै सिङ्गो नेपाली धर्ती र यहाँका मनमोहक दृश्यको  हृदय खोलेर वर्णन गर्नु भएको छ । यहाँका धरातल, ढुङ्गामाटो, खेतबारी, नदीनाला, वन पहाड, जीवजन्तु, रुखवृक्ष, फलफुल, हावापानी सबैप्रतिको मायामोह उहाँका कविताका टुक्रामा रूपान्तरित भएका छन् । यस भूमिको महिमा गाएर उहाँका अनेक कविताका पङ्क्ति बनेका छन् ।  राष्ट्रप्रेम, राष्ट्रभक्ति र जन्मभूमिको माया मान्छेको नैसर्गिक गुण हो । त्यसैले त जननी र जन्मभूमि स्वर्गभन्दा ठुला छन् भन्ने सूक्ति मान्छेहरुका मुख मुखमा झुन्डिएको हुन्छ ।  वसन्तपुरेको कवि हृदयले  पनि यस कुरालाई आत्मसात् गर्दै  कविताका पङ्क्तिहरु कोरेको छ र गुनगुनाएको छ । त्यसले देशको माया, राष्ट्रिय अखण्डता र सुन्दर संरचनालाई कसरी प्रस्तुत गरेको छ भन्ने कुराको एक नमुना यहाँ प्रस्तुत छ :
हिमालको छ त्यो दृश्य राम्रो
बस्ती मिलेको छ  पहाड आफ्नो
तराई हाम्रा र हिमाल हाम्रा
नेपाल सिङ्गै छ एक माला ('कर्म गर्ने मानिस' कविता)
नेपाली भूमिमै बसेर यस भूमिलाई उन्नत तुल्याउनु पर्छ भन्ने कविको  भावना छ । विदेश पलायनले मुलुकमा पार्न थालेको घाउप्रति उहाँ चिन्तित हुनु हुन्छ । शोषण र मपाईँत्वले पारेका दुष्प्रभावको पनि कविले हरहिसाब गर्नु भएको छ । यहाँका टाठाबाठा, ठुलाठालु र कतिपय नेता भनाउँदाले नै देश लुटेको उहाँले देख्‍नु भएको छ । यसरी  देशलाई हानि हुने काम गर्नेप्रति उहाँको  रोष आक्रोश  यहाँ अभिव्यक्त छ । चरित्रवान्, विवेकी र गुणी  मान्छेको उहाँका कविताले पक्ष लिएका छन् भने चरित्रहीन, अविवेकी र गुणशून्य मान्छेबाट देश र समाजलाई पुगेको क्षतिप्रति सबैको ध्यानाकर्षण गराएका छन् ।  सहिदहरुले देशका निम्ति गरेको सुकर्मलाई राष्ट्रको सान र गर्वका रूपमा लिँदै उहाँले यसरी मान्छेलाई असल कर्मतिर प्रवृत्त हुन आह्वान गर्नु भएको छ :
अमर सहिद गङ्गा, शुक्र साथै र धर्म
दशरथ जब हाम्रा राष्ट्रका गर्व सान
अघि अघि बढ मान्छे हुन्न राम्रो नसोच
असल हुनु छ मान्छे अल्छी बन्न नखोज ।('सहिदको देश' कविता)
कवि वसन्तपुरे आफै कर्मशील शिक्षक हुनु हुन्थ्यो र कर्ममा रमाउन चाहनु हुन्छ । सेवा निवृत्त भइ सक्ता पनि आफ्नो शिक्षालय र शिक्षक विद्यार्थीसँग कुनै न कुनै रूपमा जोडिएर नजिक भइ रहने उहाँको चाहना छ । किसानको कर्मको पनि उहाँ प्रशंसक हुनु हुन्छ । छल कपट र आलस्य नगरी दिनहुँ  श्रम छरि रहने किसानको जीवन उहाँका निम्ति अनुकरणीय र आदर्श छ । किसानको श्रम लुटेर दरबारमा मोजमजाको जीवन यापन गर्नेहरुलाई पापी र गोमन सर्पको संज्ञा दिँदै कवि तिनका विरुद्ध जाइ लाग्न चाहनु हुन्छ । असमानता र विभेदको डोरी चुँडाल्न सकियो भने मात्र सुन्दर समाजको निर्माण हुन्छ भन्ने उहाँको विश्वास छ ।
नेपाली धर्ती भुइँचालाले डगमगाउँदा उहाँको मुटु पनि बेसरी हल्लिएको छ । यस सङ्कटले जतिसुकै अनिष्ट निम्त्याए पनि जोस र होसका साथ यसलाई पार गर्न सकिन्छ भन्ने उहाँ ठान्नु हुन्छ । यस्तै नाकाबन्दी र त्यसले सिर्जना गरेको उकुसमुकुस, छटपटी एवम् अमानवीय हर्कत पनि कविको आँखाबाट लुकेको छैन । अरूको दानापानी खाएर  राष्ट्रघात गर्नेहरुको उहाँले कडा रूपमा निन्दा गर्नु भएको छ । यस क्रममा उहाँ भन्नु हुन्छ :
तगारा लगायौ सिमाना लुटेरा
र छेस्की लगायौ विदेशी चखेवा
फकाई फकाई झपार्दै रहेछौ
छलेरै लुटेरै कमाई रहेछौ । ('नाकाबन्दी' कविता)
समग्रमा कवि यदुनाथ वसन्तपुरेका कविता मानवीय भावनाले युक्त छन् । ती अचेतनाको निद्रामा निदाएका मान्छेहरुलाई बिउँझाउने उद्देश्यले चेतनाको आगो सल्काउन रचिएका छन् । कवि शोषण उत्पीडन विरोधी अभियन्ताका रूपमा निर्बाध अगि बढ्न चाहनु हुन्छ । आफ्नो लक्ष्यमा बाधा व्यवधान उत्पन्न गर्ने मार्गको अनुसरण नगरी आशावादिताका साथ  उहाँ गन्तव्यमा पुग्न चाहनु हुन्छ । उहाँ भन्नु हुन्छ :
गन्तव्य छेक्ने पथ चाहिँदैन
मान्छे मिचाहा पद चाहिँदैन
मान्छे चुसाहा कुल चाहिँदैन
आशा नराख्‍ने मन चाहिँदैन ( 'चाहिँदैन्' कविता)
'मेरो भूमि' कविताले कवि यदुनाथ वसन्तपुरेलाई लयात्मक छन्दोबद्ध कविताका सर्जकका रूपमा नेपाली काव्य जगत्मा प्रस्तुत गरेको छ । छन्दका विधि विधानको पालना गर्दै भाव र विचारलाई छर्लङ्ग हुने गरी कविताको रचना गर्न निरन्तर लामो साधनाको खाँचो पर्दछ । त्यसतर्फको यो  यात्रा आशाप्रद र भरोसालाग्दो छ । कविलाई यस कार्यमा उत्तरोत्तर  सिद्धि प्राप्त हुँदै जाओस् र नेपाली साहित्यका भावकहरु उहाँका जन कल्याणकारी कविताहरुबाट लाभान्वित भइ रहुन् !
 २०७३ जेठ ४ गते मङ्गल वार             प्रा.डा.जीवेन्द्र देव गिरी
                                     सदस्य सचिव
                           नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँ

Comments

Popular posts from this blog

सम्झनामा चीन भ्रमण