'उछाल'मा उर्लिएको कृष्ण पनेरू 'वञ्चित'को कवित्व
'उछाल'मा उर्लिएको कृष्ण
पनेरू 'वञ्चित'को कवित्व
कृष्ण
पनेरू 'वञ्चित' (जन्मःवि.सं.१९९८ मङ्सिर २०) नेपालको सुदूर
पश्चिमाञ्चल क्षेत्रका एक कर्मशील र सिर्जनशील व्यक्तिका रूपमा सुपरिचित हुनु
हुन्छ । डडेल्धुरा जिल्लाको अजयमेरु - ६ स्थित सिम गाउँमा जन्मनु भएका उहाँका
यसअगि प्रकाशित 'बिसौनी' (२०६०) र 'बल्झेर घाउ फेरि'(२०६५) जस्ता पद्य कृतिहरु र
अत्तरिया स्थित प्रतिभा सामुदायिक पुस्तकालयको स्थापना एवम् सञ्चालनका साथै
शैक्षिक उत्थानमा उहाँले बगाएको पसिना तथा देखाएको क्षमताबाटै उहाँको योगदानलाई
ठम्याउन सकिन्छ । उमेरले बुढ्यौलीतिर
हुत्त्याए पनि जोस र जाँगरका साथ समाजका लागि उहाँले जे गर्नु भएको छ त्यो हामी
सबैका निम्ति अनुकरणीय छ । उहाँकै 'उछाल' कविता सङ्ग्रहको पाण्डुलिपि अहिले मेरा
हातमा छ र यसैका सम्बन्धमा केही कोर्न म यहाँ उपस्थित छु ।
'उछाल'
शीर्षकले नै यस कृतिमा कवि हृदयका पनेरूको
मनभित्रको भावनाको भेल उर्लि रहेको अनुमान लगाउन सकिन्छ । यसभित्र प्रवेश गरेपछि
झन् उहाँको हितकारी भावनाको वेग कविताहरुमा प्रवाहित भएको र त्यसको स्वाद रसिलो
रहेको अनुभूत गर्न पाइन्छ । लघु आकारका
फुटकर कविताहरुले भरिएको यस कृतिको अन्त्यमा केही टुक्रा मुक्तकहरु रहेका छन् र
सबै रचनामा कविको उन्मुक्त अभिव्यक्तिले छन्दमा आकृति ग्रहण गरेको छ । नेपाली
काव्यभाषाको निर्माणमा आफ्ना अग्रजहरुले खनेको मार्गलाई विस्तार गर्दै नेपाली वाङ्मयको श्रीवृद्धिका निम्ति पनेरूले
गर्नु भएको यो कार्य सराहनीय छ र कृति प्रकाशनको यस घडीमा म उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।
'उछाल'
कविता सङ्ग्रहमा कविका एकतिस वटा फुटकर कविता र चार वटा मुक्तकहरु सञ्चित छन् ।
तिनमा मानवता, देशप्रेम, समाज सुधार,
प्रकृति वर्णन, जन जागरण, स्वाभिमान, सामाजिक एकता र सद्भाव, परिवर्तनको चाहना,
अग्रज स्रष्टाको सम्मान, धार्मिक आस्था जस्ता विषय एकातिर छन् भने अर्कातिर विभेद,
बिथिती, अन्याय, अहम्, विचलन, विकृति, घुसखोरी, दुर्व्यसन, शक्त्युन्मत्तता आदिले
पारेको दुष्प्रभावको पनि हरहिसाब गरिएको छ । समग्रमा कविको भित्री इच्छा समाज
सत्मार्गमा हिँडोस् र राष्ट्रको उत्थान होस् भन्ने रहेको छ । यसैलाई साकार
तुल्याउने अभीष्टका साथ उहाँ कविताका शरणमा पर्नु भएको छ र आफ्नो चेतनाको उपयोग
गर्न उद्यत हुनु हुन्छ ।
कवि
पनेरु मान्छेको जीवनलाई सार्थक र सुखी बनाउन चाहनु हुन्छ । मान्छे क्रियाशील र
कर्तव्यशील हुनु पर्छ भन्ने उहाँको विचार छ । मान्छे राम्रो भए नै समाज, राष्ट्र र
संसार राम्रो हुन्छ भन्ने कुरा उहाँले हृदयदेखि नै मनन गर्नु भएको छ । त्यसैले
मान्छेका मनबाट दुष्ट्याइँका सबै अवगुण अन्त्य होउन् भन्ने उहाँको इरादा छ । भाइ
भाइको फुट, जालझेल, लुटलाट, घुसपिस, रिसडाह, काटमार आदिबाट अशान्ति बढेको र मानवीय
भावना आहत भएको निष्कर्ष उहाँका कविताका सारमा थिग्रिएको छ । देवता र दानव कुकर्म
र सुकर्मका फल हुन् भन्दै उहाँ भन्नु हुन्छ :
मान्छे
बन्दछ देवता मनुजको आचार राम्रो भए ।
मान्छे
बन्दछ दैत्य दानव उही आचार बिग्री गए ।।
मान्छे
भुल्दछ स्वार्थमा क्षणिकको मान्छे हुनाको पन ।
मान्छे
आज हुँदै छ बिग्रन गई आतङ्ककारी झन ।। ('मान्छे' कविता)
पनेरूको
कविले अनेक मानवीय ज्यादती र प्रकृतिक प्रकोपबाट त्रस्त नेपाली जन जीवनको मुटु
छामेको छ । त्यसले यहाँको ग्रामीण जीवनको
उँधौली उभौलीलाई नजिकैबाट नियालेको छ । यहाँको समाजमा विद्यमान स्वार्थीपना,
मपाइत्व र मैमत्तापनसँग त्यो परिचित छ । सोझासिधाले पिसिनु परेको र बाठाटाठाले
मोजमस्ती गरेको बारे पनि त्यो जानकार छ । त्यसैले स्वार्थबाट माथि उठ्न र समाजको
आँसु पुछ्न त्यसले सबैलाई आग्रह गरेको छ । खास गरेर सत्ताको बागडोर समालेका
व्यक्तिहरु बढी संवेदनशील, उदार र जनहितकारी भावनाले काम गरुन् भन्ने त्यो चाहन्छ
। नेतृत्वप्रतिको उसको व्यङ्ग्यमा यही कुरा अन्तर्निहित रहेको छ :
नाता र
गोता अझ भाइबन्धु
आफ्ना
सबै पार लगाइ सिन्धु
आफ्नो
लिई स्वार्थ फकाइ अन्य
नेता भए
जीवनबाट धन्य । ( 'जन गुनासो' कविता)
राष्ट्रप्रेमको
भावना उहाँका कविताको अर्को महत्त्वपूर्ण पक्षका रूपमा रहेको छ । त्यसैले कहिले
उहाँ हिमालको महिमाको बखान गर्नु हुन्छ, कहिले राष्ट्रिय एकताको आह्वान गर्नु
हुन्छ र कहिले बिदेसिन लागेको नेपाली मनलाई नेपालतिर फर्काउन चाहनु हुन्छ । वास्तवमा प्रकृतिले सिँगारेको हाम्रो
मुलुक अद्वितीय छ । यहाँका हिमाल, नदी, ताल, झरना, वन, पहाड, मैदान आदिको जति बयान
गरे पनि कमै हुन्छ । यहाँको गौरवशाली इतिहास पनि उत्तिकै महिमामय छ । कवि हाम्रो हिमालको
बखान गर्दै यसरी राष्ट्रको शिर उँचो पार्न तम्सिनु हुन्छ :
नेपालको
गौरव हो हिमाल
नेपालको
पौरख हो हिमाल
हिमाल
हाम्रो प्रिय सभ्यता हो
हिमाल
हाम्रो बुझ भव्यता हो । ( 'हिमाल' कविता)
परिवर्तित
नेपालको मुहार फेरिएको हेर्ने कविको रहर छ । उहाँ समाजमा जागरणको लहर आएको देख्न
चाहनु हुन्छ । नयाँ वर्षले समाजमा उत्साह र उमङ्ग छरोस् भन्ने उहाँको इच्छा छ । यहाँका
नारी पुरुष, युवा विद्यार्थी, किसान मजदुर, उद्योगी व्यापारी सबैलाई उहाँ बिहानीले
जगाउने विश्वासमा हुनु हुन्छ । अब फर्केर आएको नौलो बिहानीमा निद्रा त्यागेर जाग्न
यी शब्दमा उहाँ
आह्वान गर्नु हुन्छ :
भाले
बास्यो रात ढल्की सकेछ
रातो
आभा पूर्वमा झल्किएछ
कोल्टो
फर्की हातको ली सिरानी
सुत्ने
वेला छैन भैगो बिहानी ( 'बिहानी' कविता )
कवि
पनेरुले 'दुर्भाग्य' कवितामा नारीप्रतिको आफ्नो केही गुनासो प्रकट गरे पनि समग्रमा
नारीले समाजमा भोग्नु परेको पीडाप्रति भने
उहाँ चिन्तित हुनु हुन्छ । नेपाली समाजमा पतिले मद्यपानको कुलतमा फसेर नारीप्रति
ज्यादती गरेका अनेक वारदात पाइन्छन् । त्यसतर्फ पनेरुका तिखा नजर परेका छन् ।
नारीले श्रम गरेको कमाइमा पुरुषले राइँदाइँ गरेको देखेर कविको मन दुखेको छ । कविका
शार्दूल विक्रीडितका तलका पङ्क्तिले उहाँको धराणा स्पष्ट पार्दछन् :
गाई गोरु र भैँसि पालन गरी बाख्रा चराईकन
बेची दूध र घीउ पारि कुटुरो जम्मा गरेको
धन
आफ्नै श्री पतिदेवले बल गरी खोसेर रक्सी
पिँदा
दिक्दारी मनमा छ छैन घरमा सन्तोष यस्तो
हुँदा ।( 'प्रश्नोत्तर' कविता )
अग्रज स्रष्टाप्रतिको सम्मानले कवि
पनेरुको गुणग्राही प्रवृत्तिको परिचय दिएको छ । कतिपय व्यक्तिहरु इतिहासको ख्याल
नगरी अहम् प्रदर्शन गर्दछन् । त्यस ढङ्गले समाज सही दिशातिर अगि बढ्न सक्तैन ।
इतिहासका राम्रा पक्षको जगेर्ना गरेर मात्र कुनै पनि समाजले प्रगतिको बाटो पक्रिन
सक्तछ । आदिकवि भानुभक्तप्रतिको उहाँको श्रद्धाले यही कुरा जनाउँछ । उहाँ भन्नु हुन्छ :
भाषालाई धनी बनाइ तिमिले सम्पूर्ण जीवनभरी
हाम्रा चाह सबै पुरा गरि दियौ साहित्य
सेवा गरी
लेखी नीति र धर्मका सब कुरा अर्ती र
शिक्षा दियौ
हामीलाई यहाँ तिरी नसकनू कर्जा लगाइ दियौ
।('भानुभक्तप्रति' कविता)
कवि पनेरु नेपालीहरु बिदेसिनाले गाउँ
रित्तिएको पीडाले व्यथित हुनु हुन्छ । वर्तमान नेपालको यो एक कहालीलाग्दो समस्या
बनेको छ । उमेर अवस्थाका र शिक्षित व्यक्तिहरु
देश छाडेर भारत, अमेरिका, युरोप, जापान, कोरिया र खाडी मुलुकतिर दिनहुँ
बुर्कुसी मार्दै कुदि रहेका छन् । देशमा काममामको समस्या भएपछि प्रतिभा पलायन हुनु
स्वाभाविक छ । बस्तीहरुमा वृद्धवृद्धा, रोगीव्याधी र बाल बालिका मात्र रहने स्थिति बढ्नाले सबैको मन पोलि रहेको
छ । त्यसैले कवि पनेरुले सिङ्गो नेपाली भावनालाई कवितामा यसरी समेट्नु भएको छ :
छोराछोरि ठूला भई परपरै लागे उतै काममा
बूढो भैकन काहिँ जान नसकी एक्लै छु यो
गाउँमा
ठाउँ खाली भयो बिदेसिन गई साना र ठूलाहरु
छोडि यो उपलब्ध
पैतृक थलो सम्झेर पो के गरुँ ?( 'सम्झना वरको तिर्सना परको' कविता)
कविका कवितामा वर्तमान समय ठाउँ ठाउँमा बोलेको छ
। अहिले नेपाली समाजमा विद्यमान विश्वासको सङ्कट, भ्रम, छलछाम, शासकीय प्रवृत्ति,
नेतृत्वको स्खलन आदिलाई उहाँका कविताले टिपेका छन् । भरखरै गएको भुइँचालाले पारेको
प्रभाव पनि उहाँका कवितामा प्रस्तुत छ । जन गुनासाका सन्दर्भहरु पनि यहीँ छन् भने
नेपाललाई सिङ्गापुर बनाउन यहाँ देख्ने गरिएको सपना पनि उहाँको कविताको विषय बनेको
छ ।
कवि पनेरु धार्मिक स्वभावको हुनु हुन्छ र
अध्यात्मवादप्रति गहिरो विश्वास राख्नु हुन्छ । भौतिकवादले गर्दा पो अशान्ति र विसङ्गति समाजमा भित्रिएको हो कि
भन्ने आशङ्का उहाँमा विद्यमान छ । उहाँको यस भनाइमा बहस हुन सक्छ किनकि भौतिकवादमा
विश्वास गर्नेहरुको पनि ठुलो सङ्ख्या संसारमा छ र यसको वैज्ञानिक पक्ष
आध्यात्मिक अन्धविश्वास र भाग्यवादभन्दा समाजोपयोगी छ भन्ने उनीहरुको विश्वास छ ।
त्यसैले समाज र संसारका गतिविधि, उतारचढाउ, उन्नति अवनति आदिलाई हेर्ने विश्व
दृष्टिकोणका आआफ्ना विशेषता छन् । चिन्तन
जुनसुकै राखे पनि मान्छेको मनमा शान्तिलाई आमन्त्रण गर्ने र समाजको हितलाई
केन्द्रमा राख्ने कुरा भने उहाँका
उल्लेख्य वैशिष्ट्यका रूपमा रहेका छन्।
छन्दमा लेख्न निकै साधनाको आवश्यकता
पर्ने कुरा छन्दोबद्ध रचनाका मर्मज्ञहरुलाई ज्ञात नै छ । त्यसैले कवि पनेरूले यहाँ
बगाउनु भएको पसिनाको मूल्य सजिलै अनुभव गर्न सकिन्छ ।उहाँका कवितामा विविध छन्दका
गुञ्जन सुन्न सकिन्छ । अझ उहाँले शब्दको स्वरूपलाई नभाँची छन्दलाई कुदाउन सक्नु
भएको भए त्यसले कवितालाई अर्कै उचाइ प्रदान गर्दथ्यो भन्ने म ठान्दछु । प्रतीक र
विम्बहरु अनि लाक्षणिक अभिव्यक्तिको पनि यथाशक्य प्रयोगले कवितालाई रसमय बनाउन सघाउ पुर्याएका छन् ।
नेपाली वाङ्मयको ढुकुटीमा 'उछाल' कविता सङ्ग्रह
भित्र्याई गुनिलो काम गर्ने कृष्ण पनेरू 'वञ्चित'को कविकर्म हाम्रो महत्त्वपूर्ण
सम्पत्ति हो । उहाँको सिर्जना यात्राको यस बिसौनीमा उभिएर उहाँले हामीले जे दिनु भएको छ त्यसको पाठक वर्गबाट
स्वागत हुने विश्वास म गर्दछु । उहाँको काव्ययात्रा सफलताको शिखरमा पुग्न सकोस् र
यस यात्राका तमाम अनुयायीहरुलाई उत्प्रेरित गरि रहोस् भनी हार्दिक सदिच्छा सहित
आफ्नो भनाइ अन्त्य गर्दछु ।
२०७२ चैत २३
प्रा.डा.जीवेन्द्र देव गिरी
सदस्य सचिव
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौँ
Comments
Post a Comment