मार्मिक बालकथाहरुको सँगालोका रूपमा शिवाकोटीको 'बालपीडा'



     मार्मिक बालकथाहरुको सँगालोका रूपमा शिवाकोटीको 'बालपीडा'
     रामचन्द्र शिवाकोटीको  बालकथाहरुको सँगालो 'बालपीडा' पढ्ने अवसर पाऐँ । कथाकार बालश्रम उन्मूलनसँग गाँसिएको श्रम विभाग अन्तर्गतको बालशाखामामा कार्यरत रहेको पनि चाल पाएँ । कर्मक्षेत्रमा डट्ने अवसरमा बालश्रमका अनेक घटनालाई नजिकबाट नियाल्ने अवसर पनि उहाँलाई जुर्‍यो र ती घटनाले उहाँको सिर्जनशील मस्तिष्कलाई उद्वेलित गरि रहेको अवस्थामा उहाँका सिर्जनाहरुको जन्म हुन पुग्यो । यस क्रममा उहाँको 'गजल सङ्ग्रह'(२०७०) श्रम विभागबाट बालश्रम विरुद्ध सचेतना अभियानको महत्त्वपूर्ण सामग्रीका रूपमा प्रकाशित भई पाठकहरुमाझ पुग्यो भने 'बालपीडा' कथा सङ्ग्रह हाम्रा माझ आइ पुगेको छ । शिवाकोटीको यस सत्कार्यको म हार्दिक सराहना गर्दछु र सिर्जनाका क्षेत्रमा उहाँका पाइलाहरु सफलताका साथ अगि बढि रहुन् भनी शुभ कामना व्यक्त गर्दछु ।
       कसैले पनि आफू क्रियाशील रहेको क्षेत्रको अनुभव बढी सँगाल्नु स्वाभाविक छ र साहित्यिक क्षेत्रमा पनि सम्बन्धित क्षेत्रका अनुभवीबाट कलात्मक अभिव्यक्ति प्रकट भए भने ती प्रभावकारी हुने कुरा स्वतः आकलन गर्न सकिन्छ । यस सन्दर्भमा म भर्खरै चिनियाँ लेखक सङ्घको प्रतिनिधि मण्डलको सदस्यका रूपमा नेपालको मैत्रीपूर्ण सद्भावना भ्रमणमा आउनु भएकी  महिला कवि चाङ सियाओ छिओनले आफू मजदुर क्षेत्रमा क्रियाशील रहेको र मजदुरकै कविता लेखि रहेको कुरा सगर्व सुनाएको म सम्झन्छु । यस दृष्टिले पनि शिवाकोटीको सिर्जनाको विशेषतालाई हेर्न सकिन्छ । वास्तवमा विषयवस्तुको यथार्थ र आधिकारिकताबाट मन मस्तिष्कमा पर्ने प्रभाव शक्तिशाली हुने र त्यसबाट समाजको परिवर्तनमा विशेष बल पुग्ने कुरा सजिलै अड्कल गर्न सकिन्छ ।
    'बालपीडा'भित्र 'आमाको स्मरण', 'सूचना !', 'सिन्धुलीको कहानी', 'कसुर कसको?', 'सुधीर सिंहको बयान', 'पागलको व्यथा' र 'आकाशमुनिको जीवन' शीर्षकमा सिर्जित सात वटा कथाहरु सङ्कलित छन् । यी कथाले आमाको मृत्युपछि  एक बालिकाले आफ्ना पिता र मावलीको समेत संरक्षण पाउन नसकी अरूका घरमा कहर काट्ताका जीवनका सङ्गिन घडीहरुमा  आमाको स्मरण गरेको र अन्तमा प्राण त्यागेको अवस्था, बालक मृत्युको एउटै सूचनाले अनेक परिवारमा फिँजाएको आतङ्क, बालकहरुलाई गाउँका ठुलाबडा र दलालले विदेश पुर्‍याई भड्खालामा पारेको घटना र बालकका समस्या पहिचान नगरी कसुरदारका रूपमा उसलाई दिइने दण्ड सजायप्रति समाजको ध्यानाकर्षण गरेका छन् । यसका साथै उद्योगपति भनिनेहरुले गर्ने बालश्रमको शोषण, अभिभावक परदेशमा रहँदा उसको परिवारले भोग्नु पर्ने कष्ट र पत्नी लगायत बाल बालिकामा पर्ने वज्रपात अनि सडक बालकले भोग्नु परेका तिरस्कार, यातना र अकाल मृत्युका कहालीलाग्दा बयानहरु पनि यहाँ छन् । यिनले हाम्रा बाल बालिकाको अवस्था कति नाजुक छ भन्ने कुरा खुलस्त पारेका छन् । आफ्ना नातेदारदेखि समाजमा प्रतिष्ठित कहलिएका व्यक्तिहरुले  बाल बालिकाप्रति गर्ने दुर्व्यवहार, श्रम शोषण, यौनजन्य कुकृति, कुटपिट अनि त्यसले कलिला बाल बालिकाको जीवनमा ल्याउने विकृति, निराशा, कुण्ठा आदिको बेलिबिस्तार यहाँ पाइन्छ । चोरी, लुटपाट, दुर्व्यसन र अन्य आपराधिक कार्यतिर बाल बालिका प्रवृत्त हुनुको कारण पनि यहीँको थिचोमिचो, व्यभिचार र अन्यायले भरिएको वातावरण हो भन्ने कुरा यहाँका कथाहरुले अगि सारेका छन् । यी कुराको ख्याल नगरी प्रहरीहरुबाट समेत बाल बालिकालाई  अभद्र व्यवहार गरिएको र सास्ती दिइएको तथ्यलाई पनि उहाँले सार्वजनिक गर्नु भएको छ ।  समग्रमा कथाकार बाल बालिकाप्रति भइ रहेको ज्यादती अन्त्य भएको देख्‍न चाहनु हुन्छ र बाल बालिकामाथि कुकर्म गर्नेहरुप्रति घृणा, आक्रोश र विद्रोहको राँको झोस्तै राज्य र समाजका जिम्मेवार तहमा रहेका व्यक्तिहरुका पनि आँखा खोल्न चाहनु हुन्छ । उहाँ सिर्जनाका माध्यमबाट समाजमा जागरण ल्याई बालमैत्री वातावरण निर्माण गर्न उद्यत हुनु हुन्छ । बाल बालिकासँग सम्बन्धित विषयका अतिरिक्त समाजका अन्य कतिपय कुरूप पक्षको चित्रण गरेर  सुन्दर, स्वस्थ र सभ्य समाजको निर्माणमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने उहाँको अभिष्ट पनि यहाँका कथामा रहेको छ ।
       वास्तवमा  हाम्रो समाजमा निहत्था बाल बालिकाहरु शिक्षाबाट वञ्चित रहेको, धनीमानीका घरमा अनेक यातना र ताडनाका बिच दिन गुजारि रहेको, अपहरण र फिरौतीका फन्दामा परी  ज्यान जोखिममा पर्ने गरेको,  बलात्कार र हत्याको सिकार भइ रहेको,   बेवारिस अवस्थामा  'खाते' का रूपमा तिरस्कार बेहोर्दै भौँतारि रहेको र लागु पदार्थ दुर्व्यसनी एवम्  अपराधीमा दरिँदै सामाजिक अवहेलना र प्रहरी कस्टडीको यातना बेहोर्न विवश भइ रहेको स्थिति हाम्रा कसैका आँखाबाट लुकेको छैन  । कथाकार शिवाकोटी बालश्रम उन्मूलनकै कार्यमा क्रियाशील रहेका कारणले यस्ता कार्य प्रत्यक्ष रूपमा अझ बढी देख्‍ने, भोग्ने र अनुभूत गर्ने व्यक्तिमा पर्नु हुन्छ । त्यसैले पनि मान्छेको मन भतभती पोल्ने घटनाहरुलाई  कथा जस्तो जनप्रिय साहित्यिक विधाका माध्यमबाट उहाँले प्रकाशमा ल्याई सामाजिक जागरणमा उल्लेखनीय योगदान गर्नु भएको छ । साहित्यका कतिपय विधागत विशेषता र कलात्मक पक्षमा निखार ल्याउन उहाँले अवश्यमेव केही मिहिनेत त गर्नु पर्ने नै छ तर पनि उहाँका कथाहरुमा जे विशिष्ट सन्देश छ त्यसले मात्रै पनि पाठकहरुको रुचि आकर्षण गर्ने तागत राख्तछ भन्ने विश्वास  म गर्दछु । यसमा अँगालिएका पूर्वदीप्तिमय संस्मरणात्मक शैली, सरल भाषा र परिवेशगत विविधता  पनि यस कृतिको प्रभावकारिता बढाई पाठकका पहुँचमा पुर्‍याउन  सहायक सिद्ध हुने  म ठान्दछु ।
       स्रष्टा शिवाकोटीले बाल बालिकाको पीडाको गहिराइमा पुगेर प्रस्तुत सिर्जनाका माध्यमबाट बालहितकारी, जनहितकारी एवम् समाजोपयोगी कार्य गर्नु भएको छ । उहाँले भविष्यका कर्णधारका रूपमा रहेका तर आफ्नो समस्याका विषयमा मुख खोल्न नसक्ने र ज्यादतीप्रति जाइ लाग्न नसक्ने बाल बालिकाका पक्षमा उभिएर समाजलाई असल बाटोतिर डोर्‍याउने प्रयास गर्नु भएको छ ।  उहाँका उद्देश्य र अभीष्ट साहित्यमा जगमगाउँदै, बाल बालिकाका हकहितमा समाजमा उज्यालो छर्दै र अरूलाई पनि यसतर्फ उत्साहित र प्रेरित गर्दै सफलताको सिँढी चढि रहुन् ! यही मेरो हार्दिक सदिच्छा छ ।
  २०७१ चैत्र ३ गते                       प्रा.डा.जीवेन्द्र देव गिरी
                                        सदस्य सचिव
                                  नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँ               
        

Comments

Popular posts from this blog

सम्झनामा चीन भ्रमण