मुक्त कवितामा भक्त



                            मुक्त कवितामा भक्त
धवला गिरि र काली गण्डकीको सुरम्य प्राकृतिक वातावरणसँगको सान्निध्यमा रहेको म्याग्दी पुलाचौर–९मा जन्मनु भएका कवि एवम् गीतकार भक्त कार्की (जन्मः २०२४ वैशाख १६)को साहित्यिक योगदान नेपाली काव्य जगत्‍मा सार्वजनिक छ । उहाँकै 'प्रक्षेपण' अहिले मेरा हातमा छ र त्यसका बारेमा केही कोर्न म यहाँ उद्यत छु । उहाँले 'प्रक्षेपण' लाई मुक्तकहरुको सङ्ग्रहका रूपमा चिनाउनु भएको छ र हरेक मुक्तकलाई अलग शीर्षक नदिई एउटै शृङ्खलामा उन्नु भएको छ । त्यसैले हरेक पङ्क्तिगुच्छ यहाँको अलगै मुक्तक हो भन्ने  यसमा दर्सिएको छ । यस कृतिसम्म आइ पुग्दा उहाँले अनेक फुटकर कविता, बालगीत, हाइकु र ताङ्कामा आफ्नो प्रतिभा प्रदर्शन गरि सक्नु भएको छ । यसबाट उहाँको सिर्जना  कविताको प्रबन्धभन्दा भिन्न मुक्त भेदमा व्याप्त रहेको स्पष्ट हुन्छ । मुक्त भेदमा पर्ने  फुटकर कवितामा आख्यानको झिनो आभास भए पनि मुक्तक पूर्णतः आख्यानविहीन हुन्छ । अनुभूतिको तीव्रतम ज्वार र अत्यन्त विलक्षण अभिव्यक्ति मुक्तकका विशेषता मानिन्छन् । सुरुको पङ्क्तिले धनुको ताँदोमा भाव वा विचारको तिर चढाउने र अन्तिम पङ्क्तिमा पुग्दा मुटुमै रोपिने ढङ्गले तिर छुटेको अनुभूति गराउने मुक्तक प्रभावका दृष्टिले ज्यादै शक्तिशाली मानिन्छ । मुक्त कविताको यही मुक्तक भेदलाई कजाउने भक्तको चाहना प्रस्तुत कृतिमा झल्किएको छ । यस महत्त्वपूर्ण कृति प्रकाशनको अवसरमा म मुक्तककारलाई हार्दिक बधाई ज्ञापन गर्दछु र कृतिले जनप्रियताका साथ सफलताका सिँढी उक्लियोस् भनी हार्दिक शुभ कामना व्यक्त गर्दछु । 
मित्र भक्त कार्की मुक्तिका गायक हुनु हुन्छ र समाजलाई दुःख, पीडा, उत्पीडन, विभेद आदिबाट मुक्त भएको देख्‍न चाहनु हुन्छ भन्ने मलाई थाह छ । उहाँसँग मैले जन साहित्यिक मञ्च नेपालमा सहकार्य गरेको छु र उहाँले सांस्कृतिक, शैक्षिक, सामाजिक र राजनैतिक क्षेत्रमा सक्रिय रहेर समाजको हितमा काम गरेको पनि नियालेको छु । नेपाली समाजमा नमिलेका कुराहरु धेरै छन् र तिनले समाजको सुखशान्तिलाई खलबल्याएका छन् । त्यसैले तहबह नमिलेका कुराहरु मिलाउँदै समाजका आँसु पुछ्नु पर्छ भन्ने मान्यता उहाँ राख्‍नु हुन्छ । यहाँका शोषण, थिचोमिचो, कुरीति र विकृति नै मान्छेहरुका व्यथा र वेदनाका कारक हुन् भन्ने उहाँ राम्ररी जान्नु हुन्छ । त्यसैले उहाँ आफ्ना मुक्तकमा चेतनाको दियो बाल्न आह्वान गर्दै भन्नु हुन्छ:
चेतनाको दियो बाल्न आऊ सखे
विकृति र विसङ्गति ढाल्न आऊ सखे
ग्रहण लाग्दै छ सौर्य मण्डलमा ढपक्क
कालो बादल फाल्न आऊ सखे ।(पृ.६)
एक्लै नभई आफूलाई साथ दिने मित्रहरुको सहयोगमा उहाँ लक्ष्य भेदन गर्न चाहनु हुन्छ । त्यसैले आफ्ना सखाहरुका आडमा नेपालमा मडारि रहेको कालो बादल फाल्ने उहाँको भित्री सदिच्छा यी पङ्क्तिमा प्रकट भएको छ । सामूहिक शक्तिप्रतिको उहाँको भरोसा पनि यहाँ अन्तर्निहित छ । समाजलाई कालोमैलोबाट आक्रान्त हुन नदिई परिवर्तनको उज्यालो छर्ने उहाँको सदाशयको चहक यहाँ अनुभूत गर्न सकिन्छ ।       
नेपालमा रहने हामी सबै नेपालीहरुबिच दृढ एकताको खाँचो उहाँले अनुभव गर्नु भएको छ । यहाँका अनेक जातका मान्छेहरुबिचको सद्भावबाट नै नेपाली समाजमा मुस्कान छर्न सकिन्छ भन्ने उहाँ ठान्नु हुन्छ । नेपाली समाजमा जातीय र भौगोलिक विविधता रहेकाले कतै फुटको बीजारोपण हुन्छ कि भन्ने चिन्ताले उहाँलाई सताएको छ । वास्तवमा अनेकताबिचको एकता नेपालको विशेषता हो भने यसमा आउने फाटो दुर्भाग्यको कारण हो भन्ने कुरा उहाँले राम्रैसँग आत्मसात् गर्नु भएको छ । त्यसैले उहाँ आफ्नो मुक्तकमा बोल्नु हुन्छ :
जात जातमा भाँजिनु हुन्न यहाँ
थात थातमा साजिनु हुन्न हामी
नेपाली जात हाम्रो एकताको प्रतीक
खण्डित भई बाझिनु हुन्न हामी । (पृ.८)
राष्ट्रियताको प्रबल भावना उहाँका मुक्तकहरुमा छताछुल्ल भएको पाइन्छ । 'जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसि'को भावना कविको हृदयको केन्द्रमा छ । यहाँका प्राकृतिक र सांस्कृतिक सम्पदाको गौरव गान उहाँले ठाउँ ठाउँमा गर्नु भएको छ । स्वराष्ट्रप्रतिको पराईको कुदृष्टि उहाँलाई असह्य छ । यहाँकै लिटोगिठोको आहारा उहाँलाई प्रिय छ । त्यसैले उहाँ भन्नु हुन्छ :
पराधीनको चौरासी व्यञ्जनभन्दा बलबाहुको लिटो मिठो
परचक्रीको भिक्षाटनभन्दा स्वतन्त्रताको सितो मिठो
स्वतन्त्रता र स्वाधीनता मागेर होइन लडेर आउँछ
दासताको ऐसभन्दा स्वदेशको गिठो मिठो । (पृ.९)
लोकतन्त्रमा पनि जनता निसासिइ रहनु परेकोमा उहाँले नेतृत्वको आलोचना गर्नु भएको छ । जनतालाई र आफ्नो वर्गलाई बिर्सेर महल संस्कृतिपछि लाग्ने नेतृत्वबाट समाज परिवर्तन हुन नसक्ने कुरा उहाँले विभिन्न सन्दर्भमा उठाउनु भएको छ । सत्ताले कुसंस्कारको क्यान्सर फिँजाएकोमा उहाँ निकै दुःखी हुनु  हुन्छ । जाल, झेल र छलको खेल समाप्त गरी श्रमिकहरुको सुखको दिन उदाएको हेर्ने उहाँको तीव्र इच्छा छ । वास्तवमा उहाँ परिवर्तित नेपालमा निमुखाहरुको उत्थान र पीडकहरुको पतनका निम्ति न्यायको झन्डा उँचो पार्ने अभियन्ताका रूपमा आफ्ना मुक्तमा देखा पर्नु भएको छ ।
समग्रमा मुक्तककार भक्त कार्कीले 'प्रक्षेपण'मा आफ्ना सुन्दर विचारहरुका अनेक पक्षलाई एकत्रित तुल्याई कलात्मक रूपमा प्रस्तुत गर्न विशेष प्रयत्न गर्नु भएको छ । उहाँको सिर्जनाबाट समाजको जागरण र उन्नयनमा विशेष बल पुग्ने विश्वास मैले लिएको छु । उहाँको सिर्जना यात्रा सदा गतिशील रहि रहोस् र अझ खारिँदै र माझिँदै असल साहित्यको स्वाद हामीलाई चखाइ रहोस् ! 'प्रक्षेपण'का मुक्तकहरुको प्रभावकारी र हृदय स्पर्शी सन्देश नेपाली जनमनमा गुन्जि रहोस् !
  २०७२ चैत ३                               प्रा.डा.जीवेन्द्र देव गिरी
                                    सदस्य सचिव
                        नेपाल प्रज्ञा प्रतिष्ठान,कमलादी काठमाडौँ

Comments

Popular posts from this blog

सम्झनामा चीन भ्रमण