काठमाडौँमा गुजारेका सुरुका दिनहरु
काठमाडौँमा गुजारेका सुरुका दिनहरु
प्रा.डा.जीवेन्द्र
देव गिरी
आजभन्दा ४१ वर्षअगि
मैले काठमाडौँमा पाइला टेकेको थिएँ । वि.सं. २०३२ पुसको २ वा ३ गतेको दिन थियो
त्यो । पुष्पलालले नेतृत्व गर्नु भएको
नेकपाको केन्द्रीय कमिटीको विस्तारित
बैठकमा भाग लिएर बनारसबाट वीरगन्ज हुँदै म यहाँ आइ पुगेको थिएँ । बनारसबाट रेलमा
फर्कँदा सप्तरीका हीरालाल चौधरी र सिन्धुलीका गोले थरका एक साथी सँगै हुनु हुन्थ्यो
। वीरगन्ज पुगेपछि उहाँहरु आआफ्नो बाटो लाग्नु भयो भने म काठमाडौँ जाने बस चढेँ ।
बसमा नेपालीका साथै केही भारतीय यात्रीहरु हुनु हुन्थ्यो । बाटो अग्लो पहाड काटेर आउँदो रहेछ । नयाँ
ठाउँको नयाँ अनुभूति एकातिर मनमा
सँगालिँदै थियो भने अर्कातिर समस्याहरुले आफूलाई पिरोलि रहेका पनि थिए । सीम
भन्ज्याङ पुगेपछि हिउँले तर्साउन थाल्यो ।
गाडीमा बस्ने भारतीय यात्रीहरु 'दादा रे दादा ! बरफ ऐसा होता है' भन्न
थाले । उनीहरुका विस्मित स्वर मैले त्यहाँ सुनेँ । दामन पुगेपछि मान्छेहरु गाडीबाट
ओर्लिए र चियाखाजाका लागि होटलतिर लागे । मैले भने गाडी छाडिन । मसँग न्यानो कपडा थिएन । जाडो लागि रहेको थियो ।
बाटामा खर्च गर्न पैसा पनि थिएन । गाडीले कति वेला गन्तव्यमा पुर्याउला भन्ने
मात्र सोचि रहेको थिएँ । गाडीले वेलुकातिर
काठमाडौँको धरहरा नजिक पुर्यायो । त्यस ठाउँलाई सुनधारा भनिँदो रहेछ । अँध्यारो
भइ सकेको थियो । जाडो पनि कम थिएन । मैले गाडीमै रात बिताउने विचार गरेको थिएँ तर
चालकले सबै यात्री ओर्लिनु पर्ने आदेश दिए । मेरा जेठान टेकराज भारती र भाइ
प्रेमदेव गिरी राष्ट्रिय नाचघरमा कलाकारका रूपमा काम गरि रहेको थाह थियो तर डेराको
ठेगाना थाह थिएन । मसँग फोन नम्बर पनि थिएन र फोन सम्बन्धी जानकारी पनि थिएन ।
कुहिराको काग झैँ बनेँ म । रातमा कता जानु ? गोजी छामेँ । मसँग मात्र दश रुपियाँ
थियो । मैले सबैभन्दा सस्तो होटल कुन छ भनी स्थानीय पसलेलाई सोधेँ । उनले नजिकैको
एक होटल देखाइ दिए । होटल भएको ठाउँ खिचा पोखरी नामले चिनिँदो रहेछ । होटलमा अढाई
रुपियाँमा खाना खान पाइने सूचना मैले पाएँ । त्यहीँ नजिकैको लजमा साढे तिन
रुपियाँमा सुत्न पाइने जानकारी पनि मैले पाएँ । मलाई निकै भोक लागेको थियो ।
थकाइले पनि खुबै सताएको थियो । छिटो छिटो खाना खाएर म सुत्नका लागि लजतिर गएँ । खान
र सुत्न ६ रुपियाँ मात्र तिर्नु परेपछि भोलि बिहानलाई पनि खाना खान पुग्ने भयो भनी
म ढुक्क भएँ । लजको एउटै कोठामा सामान्य खालका धेरै ओछ्यानहरु थिए । त्यहाँ साझा रूपमा धेरै जना एउटै कोठामा
सुत्नु पर्ने रहेछ । हरेक ओछ्यानमा एक एक
ओटा च्यादर थिए । ती उनबाट नभई सुतीबाट बनेका
थिए । तिनलाई हाम्रातिर सिम्ले भनिन्छ । पुसका जाडामा एउटा सिम्ले ओढेर के निदाउन
सकिन्थ्यो ! जिउ लुगलुग काम्न थाल्यो । जसरीतसरी रात काट्ने विचारले बेलुका त एउटै
च्यादर ओढेर पल्टेँ । रात केही गुज्रेपछि भने मैले नजिकैका अरू ओछ्यानतिर आँखा तन्काएँ । ओछ्यानहरु
खाली नै रहेछन् । त्यहाँका सिम्ले बटुलेँ र पछिल्लो पहर निदाएर रात गुजारेँ ।
भोलिपल्ट बिहानै
उठेर नित्यकर्म सकेपछि म आफन्त खोज्ने काममा लागेँ । बाहिर निस्केर नाचघर जाने
बाटो सोधेँ । पूर्वबाट सिधै ठाडो गए पनि हुन्छ, पश्चिम गएर उत्तर मोडिए पनि हुन्छ
भनी कसैले भने । मेरा बाबै ! अब कसरी पुग्ने ? पूर्वबाट गए पनि त्यहीँ, पश्चिमबाट
गए पनि त्यहीँ । म त निकै अलमलमा परेँ । भारतको बनारस, दरभङ्गा जस्ता बजारमा त
जानु पर्ने ठाउँ सोद्धै फेला पारियो भने
नाचघर कसो फेला नपर्ला भनी पूर्वको बाटातिर लागेँ । सोद्धै जाँदा ठ्याक्कै नाचघर
पुगेँ । खोजेको थलो पत्ता लागेपछि ढुक्क भएँ । रानी पोखरीको दृश्य हेरेँ । घण्टाघर
नियालेँ र आफन्तहरु भेटिने विश्वासमा त्यहीँ कुरेर बसेँ । नभन्दै केही समयपछि
उहाँहरुसँग भेट भयो । जेठान टेकराज भारती र भाइ प्रेमदेव गिरी मात्र नभएर त्यहाँ
मितकाका गोपाल बस्नेत पनि कार्यरत रहेको चाल पाएँ । उहाँहरुले मलाई डेरामा पुर्याउनु
भयो । डेरामा भाइ महेन्द्र, मामा बलभद्र भारती र सानीमा गोमा भारती पनि हुनु हुँदो
रहेछ । भाइ महेन्द्र र म एउटै वाणका
घाइते थियौँ । सुर्खेतको राजा
विरोधी पोस्टर काण्डमा पोल परेर भेरी
अञ्चलाधीशको पक्राउ पुर्जी हामीमाथि जारी थियो । महेन्द्र आफ्नो देहरादुन स्थित घर
हुँदै पढ्न भनी काठमाडौँ आएका रहेछन् । उनी काठमाडौँको कीर्तिपुर स्थित त्रिभुवन
विश्व विद्यालयमा एम.ए. नेपालीको विद्यार्थी बनेका रहेछन् । यसले मलाई त्यहाँ बस्न
झन् सहज बनायो । डेरा असन बजारको अलिकति दक्षिणमा रहेको मच्छिन्द्र बहालका
पूर्वपट्टिको सडक छेउमै थियो । तिन वटा सुत्ने कोठा र एउटा भान्साकोठाको भाडा रु.
२०० मात्र रहेछ । पानी र बत्तीको खास समस्या थिएन । साहु अर्कै घरमा बस्थे । उनी
भाडा उठाउन र बिग्रेभत्केको बनाउन मात्र
हामी बसेको घरमा आउँथे । यहीँ रहेर मैले
केही दिन बिताएँ । दिनभरि सिरगमा
गुटमुटिएर समय बिताउनु र कहिले कहीँ आफन्तहरुले व्यवस्था गरे अनुसार घुमफिर गर्नु
मेरो दिनचर्या बन्यो । यस क्रममा राष्ट्रिय नाचघरका केही कार्यक्रम देखाएर
मेरो चिन्ता निमग्न मनलाई सान्त्वना दिने
काम पनि उहाँहरुले गर्नु भयो । काठमाडौँ सहरका केही ठाउँका साथै पशुपति, स्वयम्भू,
दक्षिण काली जस्ता ठाउँहरु पनि उहाँहरुले देखाउनु भयो । उहाँहरुले सुरुका दिनमा यस
नौलो ठाउँमा गरेको सहयोगले मलाई ठुलो सहयोग पुग्यो । आभारी छु म उहाँहरुप्रति ।
आफन्तहरुको माया र
आश्रय पाएपछि मैले त्यहीँ आसन जमाएँ ।
उहाँहरुको मेसमा नै मैले खाना खान सुरु गरेँ । त्यहाँ कहिले कहीँ बङ्गुरको मासु
पनि पाक्तो रहेछ । मैले असजिलो मानी मानी त्यो पनि खान थालेँ । काठमाडौँका
होटलहरुमा पुगेर राँगाको मम पनि सबैले खानु हुँदो रहेछ । हामीहरु भेरीका गाउँघरमा राँगा खाने साथीहरुलाई जिस्क्याउँदै राँगाको
मासु खुवाउनु होला नि भन्दै उहाँहरुका घरमा खाना
खान्थ्यौँ र परि आए खानु पर्छ भन्ने मानसिकतामा हुन्थ्यौँ । जातपातको ख्याल
नगरी दलित साथीहरुकहाँ पनि हामी खाना खान्थ्यौँ । समाज परिवर्तन हाम्रो लक्ष्य
थियो । यहाँ त साँच्चै सबैले राँगाको मासुबाट बनेका परिकार खानु हुँदो रहेछ । मैले सोचेँ – धार्मिक रूपमा कट्टर विचार राख्नेले
त खानु हुँदो रहेछ भने म प्रगतिशील विचार
राख्नेले किन नखाने ? मैले राँगाको मम भुटन सहज रूपमा खान सुरु गरेँ ।
त्यतिखेर म निकै चुरोट पिउँथेँ । जेठानले यो
आवश्यकता पुरा गरि दिनु भएको थियो । उहाँले वेला वेलामा म छँदै छु, पिर नगर्नोस् भनी
आश्वासन दिनु हुन्थ्यो । म भने तनाब र चिन्तामा थिएँ । परिवारका सदस्यहरु तराईको
सुकुमवासी बस्तीमा थिए । श्रीमती ममाथिको पक्राउ पुर्जीका कारण पिरमा त हुने नै भइन्, शारीरिक रूपमा पनि पेटमा
पानी भरिने रोगले थला परेकी थिइन् । पतिका नाताले उनलाई बचाउनु मेरो कर्तव्य थियो
। हाम्रो बिहा भएको करिब डेढ वर्षमै ममाथि वारन्ट जारी भएको थियो । उनलाई
राजनीतिबारे केही थाह थिएन । बा आफै जीर्ण रोगी भएकाले पढेलेखेका छोराबाट
गरेको आस पुरा नहुँदा निकै छटपटाउनु भएको
थियो । म बाहेकका अरू चार साना छोराहरुको लालनपालन र शिक्षादीक्षाको अभिभारा
उहाँमाथि थियो । उहाँ मेरा कारणले प्रहरी प्रशासनले आफूलाई र परिवारका अरू
सदस्यलाई सताउन सक्ने कुराले अत्यन्त सन्त्रस्त हुनु हुन्थ्यो । राजनीतिक रूपमा
सचेत नरहेको त्यस ठाउँमा कतिपय खराब
मान्छेहरुले मलाई अपराधी, अरूको सम्पत्तिको डाह गर्ने र जति वेला पनि सरकारले
ज्यान लिन सक्ने जखमी मान्छेका रूपमा प्रस्तुत गरी तर्साउन खोज्दा उहाँ प्रतिवाद
गर्न सक्नु हुन्नथ्यो । कहिले कहीँ
परिवारलाई भेट्न म घरमा पुगेका वेला पनि अब के होला भनी कहालिनु हुन्थ्यो र कहिले
मलाई सम्झाउने र चिढाउने पनि गर्नु हुन्थ्यो । यही कारणले उहाँ सरकारले आफूलाई बाँकेको
सुकुमबासी बस्तीमा दिएको डेढ बिघा जग्गाको लालपुर्जा लिनसम्म जान सक्नु भएन । उहाँ
मलाई टाढिएमा शान्तिको सास फेर्न पाइन्छ कि जस्तो गर्नु हुन्थ्यो । यो सबै
स्थितिका कारण मैले भेरी अञ्चलबाट बाहिर गई
केही समय काम गर्ने प्रस्ताव राखेपछि पार्टीले
स्वीकृति प्रदान गरेको थियो र म काठमाडौँतिर लागेको थिएँ ।
बनारस पुगेपछि ममा
अर्को तनाब थपिएको थियो । केन्द्रीय कमिटीको बैठकमा जे भएको थियो त्यो त्यस तनाबको
कारण थियो । त्यहाँ पुष्पलालको नयाँ जनवादी कार्यक्रमले अँगालेको नीतिको विरोध
भएको थियो । उहाँप्रति व्यक्तिगत आक्षेप पनि त्यहाँ लगाउन थालिएको थियो । सशस्त्र
क्रान्तिको कार्यक्रम नभई केही हुँदैन
भन्दै विशेषतः लुम्बिनीका कार्यकर्ताहरुले प्रतिवाद गरि रहनु भएको थियो । पुष्पलाल
भने नयाँ जनवादी कार्यक्रममा दीर्घकालीन सशस्त्र कृषि क्रान्ति लेखिएकाले थप
संशोधन गर्न आवश्यक छैन भनि रहनु भएको थियो । मैले नजिकबाट चिनेजानेका र भेरी
अञ्चल इन्चार्ज रहनु भएका मधु गुरु पनि पुष्पलालका विपक्षमा उभिनु भएको थियो ।
उहाँहरु पुष्पलालको कमजोरीले गर्दा
लुम्बिनीका कैयन् नेता कार्यकर्ताले जेलनेल भोग्नु परेको, घरबास छाड्नु परेको र
आन्दोलनको उपलब्धि गुमेको जस्ता कुरा गरि रहनु भएको थियो । देशभरि कडा सङ्घर्षको
कार्यक्रम उहाँले अगि बढाउन नसकेका कारण धेरै जना दमन र यातनामा परेको आक्षेप
उहाँलाई लगाइएको थियो । स्मरणीय छ त्यति वेलाका प्रभावशाली केन्द्रीय नेता केशर मणि पोखरेल त्यतिखेर जेलमा हुनु हुन्थ्यो । उहाँ पनि लुम्बिनी
अञ्चलकै हुनु हुन्थ्यो । म भने रनभुल्ल थिएँ । एकातिर पुष्पलालको कुरा पनि ठिकै हो
जस्तो लागेको थियो भने अर्कातिर मधु गुरुसँगको निकटताका कारण उहाँको कुरा पनि
काट्न सक्तैनथेँ । पुष्पलालले आफूप्रति देखाएको स्नेह र सद्भाव मनभरि भए पनि मैले गुरुको निर्देशनको पालना गरेँ ।
म काठमाडौँ आएको
केही दिनपछि मधु गुरु काठमाडौँ आउनु भयो । उहाँले मलाई बागमती अञ्चल कमिटीमा रहेर काम गर्ने व्यवस्था मिलाउनु भयो । त्यस कमिटीका
सचिव लोककृष्ण भट्टराई हुनु हुन्थ्यो भने सदस्यहरुमा रामसिंह रावल, पद्मराज शाक्य
लगायतका साथीहरु हुनु हुन्थ्यो । अप्ठ्यारो परे हिक्मत सिंह र यादव प्रसाद पन्तसँग
सम्पर्क राख्न सकिने कुरा पनि उहाँले गर्नु भयो । हिक्मत सिंहको नाम मैले
पुष्पलाल लिखित 'मूलबाटो' र 'सिंहावलोकन' जस्ता कृतिमा पढेको थिएँ । उहाँ
पुष्पलालको नयाँ जनवादी कार्यक्रमका पक्षमा साथ दिने ६ जनामध्ये एक भनी चर्चित हुनु
हुन्थ्यो । उहाँ आर.आर. क्याम्पसमा पढाउनु हुँदो रहेछ । यादव प्रसाद पन्त चाहिँ
सरस्वती क्याम्पसमा पढाउनु हुँदो रहेछ । म पार्टी कमिटीकै साथीहरुसँग सम्पर्कित भइ
सकेकाले उहाँहरुको सम्पर्कमा जानु पर्ने खाँचो भने परेन ।
केही समय आफन्तहरुको
आश्रयमा गुजारेपछि मलाई असजिलो लाग्न थाल्यो । काठमाडौँमा आफन्तहरुको बोझ बनेर सधैँ बस्नु
उचित थिएन । मैले आफन्तहरुलाई तत्काल आफूसँग पैसा नभए पनि पछि तिर्ने गरी
मेसखर्चको हिसाब राख्न भनेँ । उहाँहरुले पनि
त्यसै गर्नु भयो । म आफ्ना खुट्टामा कसरी उभिने भन्नेतर्फ सोच्न थालेँ ।
कतै काम पाइन्छ कि भनी खोजी गर्न थालेँ ।
सरकारी जागिर पाइने विश्वास लागेको थिएन । मामा बलभद्र भारती त्रिभुवन विश्व
विद्यालयको डिन कार्यालयमा भएकाले त्यता केही काम पाइन्छ कि भन्ने आशा भने लागेको
थियो । उहाँले सकेसम्म सहयोग गर्ने आश्वासन दिनु भएको पनि थियो । यस्तैमा मैले केन्द्रीय तथ्याङ्क विभागले मध्यावधि
जन गणनाका लागि अस्थायी ना.सु. पदपूर्ति गर्न विज्ञापन गरेको देखेँ र जागिरीका
लागि दरखास्त हालेँ । मेरो नाम निस्क्यो र ६ महिने नियुक्ति पाएँ । नियुक्ति पत्र
पढेपछि चिलचिले पसिना आए । त्यहाँ लेखिएको थियो - प्रहरी प्रतिवेदन प्रतिकूल भई
आएमा खाएको तलब फिर्ता गर्नु पर्ने छ । आफूमाथिको भेरी अञ्चलाधीशको पक्राउ
पुर्जीले गर्दा जागिर जाने खतराको कालो बादल मडारिइ रहेकै थियो । ६ महिनामै प्रहरी
प्रतिवेदन नआउन पनि त सक्छ भन्ने लाग्यो र जे पर्ला पर्ला भनी मैले आफूलाई खटाइएको
रामेछाप जिल्लातिर जाने निर्णय गरेँ । एक त आफूमाथि जहाँ बसे पनि खतरा छँदै थियो, त्यसैमा पूर्वी नेपाल पनि हेर्न
पाइने र केही आर्थिक गर्जो पनि टर्ने भएकाले म जागिरमा संलग्न भई रामेछापतिर लागेँ
।
Comments
Post a Comment