मदिरा पानबाट म किन टाढा रहेँ ?



 मदिरा पानबाट म किन टाढा रहेँ ?
                                        प्रा.डा.जीवेन्द्र देव गिरी
मैले आजसम्म कुनै पनि प्रकारको मदिराको थोपा मुखमा पारेको छैन । यो मेरो कुनै गर्वोक्ति होइन । आजको युगमा खुबै स्वागत गरिने मदिराको म अपमान गर्न चाहन्न । गाउँघरमा होस् वा सहरमा मान्छेहरु यसको सेवनमा रमाइ रहेका पाइन्छन् । भोजमा त झन् यसको मागको पारो अत्युच्च रहेको पाइन्छ । मेला मालिका, नाचगान, चाडपर्व जताततै मदिराको मातमा मान्छेहरु झुमि रहेका देखिन्छन् । म जन्मेको गाउँतिर यसका विभिन्न नाउँ प्रचलित छन् । त्यहाँ यसलाई पग्ला वा जाँड र रक्सीका नामले पुकार्छन् भने अन्यत्र पनि यसले अनेक नाम पाएको छ । वाइन, रम, ह्विस्की, बियर आदि यसका के के नाम छन् के के । अझ हाम्रा बाबुबाजेले 'भुत्ले साग' (कुखुराको मासु)का साथीका रूपमा 'नर्सिङ ट्वाक'का नामले पनि यसलाई पुकारेको पाइन्छ ।
म बाल्यकालमा  मावली बज्यैका रेखदेखमा मावलमा हुर्केँ । त्यहाँ मदिरा वर्जित थियो । बज्यै धार्मिक स्वभावकी भएकाले कतिपय खाने कुरा भान्सामा पुग्न पाउँदैन्थे । त्यसमा एक मदिरा पनि पर्थ्यो । मेरा माइला मामा बिरामी परेर रक्सी खान थालेपछि बज्यैको भान्साबाट अलग गरिनु भएको थियो । त्यस परिस्थितिमा म मदिरा पिउने कुराको कल्पना गर्न पनि सक्तैन्थेँ । पछि मेरा बाआमा सुर्खेत बसाइ सरेपछि म पनि आफ्नै परिवारमा सामेल भएँ । मेरा बा मदिरा पान गर्नु हुन्थ्यो । संयुक्त परिवारमा रहँदा उहाँलाई पनि घर परिवारले भान्साबाट अलग्याएको रहेछ । उहाँ पेसाले वैद्य हुनु हुन्थ्यो । बिफर लगायत विभिन्न रोगको औषधीमुलो र तन्त्रमन्त्र  उहाँ गर्नु हुन्थ्यो । उहाँ भन्नु हुन्थ्यो, "रोगीहरुको उपचार गर्ने काममा रात रातभर अनिदो बसियो र पेटको रोगी भइयो । त्यसैले शुभेच्छुहरुका सल्लाहमा मदिरा पान गर्न थालियो ।" उहाँ ठुलो काँसको बटुकामा रक्सी तताउनु हुन्थ्यो र स्वास्थ्यका लागि भन्दै खानु हुन्थ्यो । उहाँ गाउँघरमा तयार गरिएको पग्ला वा जाँड पनि रुचिपूर्वक खानु हुन्थ्यो । मेरी आमालाई भने यो कुरा पटक्कै मन परेको थिएन । घरको आर्थिक अवस्था नाजुक भएकाले मदिरामा पैसा खर्च गरेको उहाँलाई मन नपर्नु स्वाभाविक थियो । त्यसैले घरमा पटक पटक कचकच  भइ रहन्थ्यो । हामी पनि आमाको पक्षमा लागेर बालाई जाँडरक्सी छाड्न दबाब दिन्थ्यौँ  तर बाको  लत छुटेन । सुर्खेत उपत्यकामा कोदाको रक्सी नपाएपछि उहाँ अन्य प्रकारका रक्सी र जाँड खान थाल्नु भयो । मतभट्टीका ठेकेदारहरुले तयार गर्ने महुवाको रक्सी पनि उहाँको आहारा बन्यो । तराईमा बस्न थालेपछि त झन् ठर्रा वा जाँड त्यहाँ जे पाइन्छ त्यही खाने उहाँले गर्नु भयो । थारु किसानहरुको गाउँ हाम्रो वासस्थान नजिकै थियो । उनीहरु जाँडरक्सीमा रमाइ रहन्थे । त्यसैले हाम्रा बाले उनीहरुको सङ्गत बढाउनु भयो भने उनीहरु पनि उहाँलाई बारम्बार निम्त्याउन थाले । उनीहरुका गाउँमा उहाँको धेरै समय बित्न थाल्यो  । मलाई राजनैतिक मुद्दा लागेपछि त झन् उहाँ बढी रन्थनिनु भयो र रक्सीको मात्रा  बढाउनु भयो । अन्तमा रक्सी नै उहाँको काल बन्यो । यो सब देखि रहेको हाम्रो परिवार रक्सीबाट त्रस्त थियो । मदिराप्रतिको मेरो वितृष्णाको एउटा प्रमुख कारण यो थियो भने अर्को कारण राजनैतिक अनुशासन बन्यो ।
मैले वि.सं. २०२८मा तुलसी लालद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएँ । केही समय सेल कमिटीमा रहेर सुर्खेत र सल्यानमा राष्ट्रिय प्रजातन्त्रको कार्यक्रमको प्रचार एवम् सङ्गठनात्मक काम गरेपछि म  बाँके झरेँ र त्यहाँको सङ्गठनमा सक्रिय भएँ । त्यहाँ रहँदा नयाँ जनवादी कार्यक्रमले तान्यो र त्यतैतिर सङ्गठित भई सुरुमा बाँके जिल्ला सङ्गठन कमिटीको सदस्यको र पछि भेरी अञ्चल सङ्गठन कमिटीको सचिवको जिम्मेवारी वहन गरेँ । पार्टीले रक्सी, जुवा, तास र कुनै पनि अनैतिक काम गर्नेप्रति कडा दृष्टि राखेको थियो । आफैले पार्टीको नेतृत्व गरि रहेकाले पार्टीपङ्क्तिलाई त्यस्ता कामबाट जोगाउनु पनि मेरो एक प्रमुख दायित्व थियो । त्यसैले मैले पहिला आफैलाई कस्नु आवश्यक थियो । यस कारणले पनि म मदिराका नजिक पुग्ने सम्भावना रहेन ।
पार्टीको गोपनीयता जोगाउनु  त्यतिखेरको ठुलो काम थियो । कहिले कहीँ मदिरा सेवन गरेका सङ्गठित व्यक्तिहरुले नै फुर्तीफार्ती झिकेर सङ्गठन र सङ्गठित व्यक्तिहरुलाई खतराको धरापमा पारि दिन्थे । एकाध त्यस्ता घटना हामीले बेहोरि सकेका थियौँ । त्यसैले पनि कुलतको नियन्त्रण हाम्रो प्राथमिकतामा थियो । यस कडा अनुशासनको बाटाबाट गुज्रिनु पर्दा मदिराले त के अरू कुलतले पनि गाँज्ने अवसर रहेन ।
बाको मृत्यु भइ सकेपछि हामी पाँचै भाइ छोराहरुले एउटा सङ्कल्प गर्‍यौँ । त्यो थियो आजीवन  मदिरा सेवन नगर्ने सङ्कल्प । हाम्रा नातेदारहरु र पण्डितको सल्लाह अनुसार हामीले बालाई मन पर्ने एउटा खाने कुरा  छाड्नु पर्थ्यो । यसमा हामीले बालाई मन परेको त्यही मदिरा सदाका लागि त्यागि दियौँ । धार्मिक व्यक्तिहरुले  पनि यसको सराहना गरे । त्यसपछि त झन् हाम्रो घरमा मदिराले प्रवेश पाउने अवस्था नै अन्त्य भयो । अहिले  हामी सबै भाइहरु मदिराबाट अलग छौँ ।
मदिरा पान नगर्ने भएपछि कहिले कहीँ समस्यामा पनि पर्ने गरेको छु । कतिपय साथीभाइहरुले युगलाई नचिनेको आरोप आफूलाई लगाउँछन् । कोही आधुनिक हुन नसकेको भनी घोचपेच गर्छन् । घरमा आउने मदिरा प्रेमी इष्टमित्र र अतिथिहरुको चाहना पुरा नहुँदा  ऊनीहरुको मन खिन्न हुँदो हो भन्ने पनि लाग्छ ।  कतिपय स्वदेशी विदेशी भोजमा एक्ले हुनु पर्दाको स्थितिले पनि अप्ठ्यारामा पार्ने गर्दछ । यी सबै स्थिति बेहोर्नु पर्दा पनि मन भने मदिरातिर लोभिएको छैन ।
मान्छेहरु भन्छन्, देउताका पालादेखि सोमरस सेवन गर्ने चलन चलेकाले यसको सेवन नराम्रो होइन । अझ कोही थप्छन्, मात्रा मिलाएर सेवन गर्न सके यो त अमृत हो । हाम्रो युगका लामो समय बाँचेका व्यक्तिहरुको आयु तन्किनुको कारण यही हो भनी पुस्ट्याईँ गर्नेहरुका कुरा पनि सुन्छु । मान्छेहरुबिच परस्पर आत्मीयता बढाउन यो खुब काम लाग्छ भनेको पनि सुनेको छु । कसै कसैले यसको सङ्गतबाट ठुला ठुला काम पट्याएको चर्चा  गरेको पनि पाइन्छ । जस्तोसुकै अन्तर्विरोध भए पनि गिलास समातेर टेबुलमा सँगै बस्ता चट हुन्छ भनी डङ्का पिट्नेहरु धेरै छन् । मदिरा पान गर्नेले गरेका कतिपय ज्यादती 'पिएको वेलाका कुरा'का रूपमा क्षम्य हुन्छन् पनि भनिन्छ । मनका कुरा हलाँसखलाँस पारेर मन माझ्न यो खुब काम लाग्छ भनेर यसको बढिबढाउ पनि गरिन्छ । यति भए पनि यसले मलाई आफूतिर तान्न भने सकेको छैन ।
मदिराले घर घरमा झगडा गराएको  कसरी बिर्सन सकिन्छ र ? परिवारमा भोको पेट भरिन नपाउने अवस्थामा मदिराको मातमा झुम्नु गतिलो काम हो र ? मदिराको मातमा भएका हिंसा बलात्कारका वारदातले जिउ सिरिङ्ङ नपारी कोही बस्न सक्छ र ? यसले कतिपय गोपनीयता भङ्ग गराएर निम्त्याएको जोखिमलाई बेवास्ता गर्न सकिन्छ र ? कचकच, झगडा, मारकाट र व्यभिचारको एक मुख्य स्रोत भएकाले होला यसका विरुद्ध ठाउँ ठाउँमा आन्दोलन भए । खास गरी हाम्रा चेलीबेटी र जिम्मेवार नागरिकहरु मदिरा मुक्त जिल्ला घोषणा गराउने अभियानमा सक्रिय भए । रक्सीभट्टी तोडफोड गरिनुका साथै त्यसको व्यापारमा समेत रोक लगाउन आबाज उठे,  नाराबाजी भए ।  आन्दोलनका रापतापका कारण मदिरा निषेधित जिल्लाहरु घोषणा मात्र भएनन् सामाजिक, राजनैतिक र प्रशासनिक क्षेत्र त्यसलाई कार्यान्वयन गराउन क्रियाशील भयो ।  यी गतिविधि देख्ता आफूले अँगालेको बाटाको औचित्य साबित भएको अनुभूति मैले गरेँ । मैले जे गरेको रहेछु ठिकै गरेको रहेछु  भन्ने मलाई लाग्यो । यसबाट  विचलित नहुनु नै वर्तमान समय अनुकूल हुनु हो भन्ने धारणा ममा अझ प्रबल बन्यो ।
हाम्रो देशको भौगोलिक  र सांस्कृतिक विविधतामा कतिपय ठाउँ र स्थानमा मदिरा सेवनको आवश्यकता पनि होला तर यसको सही  सदुपयोग हुन भने अत्यन्त जरुरी छ । कुन काममा कति वेला कति मात्रामा यसको प्रयोग गर्ने भनी होसियार हुन  सकिएन भने विभिन्न विकृति र हिंसाको कारण यो बन्न सक्तछ । यी सबै कुरा थाह पाएर पनि मान्छेहरुले नियन्त्रण गुमाएको र अनेक घटना दुर्घटनाको सिकार भएको यी आँखाले देख्‍नु परि रहेको छ । अब मदिरा सेवन गर्दिन भनी  वाचा कसम गर्नेहरु पनि घरि घरि यसका लफडामा बेरिएर फन्दामा परेको देख्ता यसबाट टाढिएर ठिकै गरेको रहेछु भन्ने म ठान्छु । यति भनि सक्ता त थाह पाउनु भयो होला नि म मदिरा पानबाट किन टाढा भएँ !
             

Comments

Popular posts from this blog

सम्झनामा चीन भ्रमण