आफू मरेर अरूलाई बचाउने विमान चालकको गौरव गाथा
आफू
मरेर अरूलाई बचाउने विमान चालकको गौरव गाथा
संसारमा
मान्छेहरु आउने जाने क्रम निरन्तर चलि रहन्छ । कुनै मान्छे आए गएको थाह नै हुँदैन
तर कुनै मान्छे आउँछन् र सारा मान्छेका हृदयमा आसन जमाएर जान्छन् । अरूलाई पीडा
दिने र आफ्नो स्वार्थमा मात्र लिप्त रहने
मान्छेहरु टिठलाग्दो मृत्यु अँगाल्दछन् भने अरूका लागि त्याग र समर्पण गर्नेहरु
गौरवशाली मृत्यु वरण गर्दछन् । गौरवशाली मृत्यु वरण गर्नेहरुले धेरैका आँखामा
आँसुको बाढी ल्याइ दिन्छन् । उनीहरु श्रद्ध्येय हुन्छन् र युग युगसम्म मान्छेका घट
घटमा जीवित रहन्छन् । यस्तै गौरव गाथा
भएका एक व्यक्ति प्रस्तुत कृतिको केन्द्र बनेर उज्ज्वल नक्षत्रका रूपमा यहाँ उदाएका छन् । उनले
जे जस्तो जीवन बाँचेर यस धर्तीबाट बिदा भए त्यसलाई मान्छेहरुले सदा सम्झना गरि
रहने छन् । उनको सम्झनाबाट मान्छेहरुले शक्ति, सामर्थ्य र प्रेरणा प्राप्त गर्ने
छन् । गर्वले शिर ठाडो पार्दै उनको नाम उच्चारण गर्ने छन् । उनी अरू कोही
नभएर आफू मरेर अरूलाई बचाउने विमान चालक क्याप्टेन
दिनेश न्यौपाने हुन् । उनकै बारेमा उनकी दिदी कृष्णा न्यौपाने भुसालले बगाएको
अन्तर्हृदयको स्नेहको भेल यस कृतिमा उर्लिएको छ ।
दिदी
कृष्णासँग २०७२ फागुन १४ गतेका दिन जुम्लाको उडानबाट फर्केर आई आफू सहित परिवारका
अरू सदस्यहरुले सुर्खेतमा रमाइलो साँझ बिताउने सल्लाह दिनेशले गरेका थिए । यसै अनुसार सुर्खेतमा सबै
चाँजोपाँजो मिलाउन दिदी व्यस्त थिइन् । नेपाल गन्जमा भएका भाइ दिनेशका साथै बुबाआमा,
पति दिपेन र परिवारका अरू सदस्यहरुसँग फोनवार्ता गरी बेलुकाको भोजको तयारीमा उनी
जुटेकी थिइन् । यस्तैमा दिनेशले नेपालगन्जबाट जुम्लाका लागि काष्ठमण्डप एअरको हवाई जहाज उडाएका थिए । बिच बाटामा चिलखाया लेकको नजिक पुगेपछि विमानको
इन्जिन खराब भएछ । एकल इन्जिन भएको सो विमान जुम्ला पुग्ने स्थिति नभएपछि बिचमै
अवतरण गर्नु पर्ने स्थिति आएछ । क्याप्टेन दिनेशले त्यस विकट पहाडी भूभाग माथिको
आकाशमा सङ्कट आउँदा पनि आफू पटक्कै विचलित नभई त्यस दिन जे महान् कार्य गरे त्यो
नेपाली इतिहासमा स्वर्णाक्षरले अङ्कित भएको
छ । त्यस कठिन र संवेदनशील घडीमा उनले यात्रीहरुलाई इन्जिनमा खराबी आएको र जुम्ला
पुग्न नसकिने कुराको सूचना प्रवाह मात्र गरेनन् आफूहरु मरेर पनि अरूलाई बचाउने
सङ्कल्प सुनाए । उनले साहसका साथ कालिकोटको बारीका पाटामा हवाई जहाजलाई अवतरण (फोर्स ल्यान्ड) गराए । उनले भने जस्तै
यात्रीहरु सबै बाँचे तर उनी आफू र सहचालक सन्तोष रानाले प्राण गुमाए । समयमा
उद्धार हुन सकेको भए उनीहरु पनि बाँच्न सक्ने सम्भावना गुमेको पीडाले उनका आफन्त र सहृदय सबैलाई भतभती पोलि रहेको छ । यही
कुरालाई मार्मिक रूपमा यस कृतिमा अभिव्यक्त गरिएको छ । जुन मन छुने तीव्र
भावाभिव्यक्ति यहाँ छ त्यो पढ्दा आँखा नरसाउने व्यक्ति सायदै कोही पाइएला ! शोकमा
डुबेका वेला पनि कृष्णाले गरेको यो कार्य ज्यादै महत्त्वपूर्ण र सराहनीय छ । यसले दिनेशले गरेको सुकार्यलाई धर्तीका
विभिन्न बस्तीमा पुर्याउन र सुदूर भविष्यसम्म उनको त्यागमय जीवनबाट प्रेरणा
बटुल्न सकिने सामल समाजका पोल्टामा पुर्याएको छ ।
प्रस्तुत
कृतिमा दिनेशको जीवनीका विभिन्न पक्षहरु प्रकाशमा आएका छन् । उनले बाल्यकालमा बिताएका क्षणहरु र बाल कौतुकहरु, शिक्षाका लागि
गरेका सङ्घर्षहरु, खेलकुदप्रतिका अभिरुचिहरु, अफ्रिका र अमेरिकामा लिएका विमान
चालकका तालिमहरु, स्वयम् दिदी कृष्णा र परिवारका सदस्यहरुसँग गरेका वार्तालाप र
आत्मीय व्यवहारहरु, दिदी कार्यरत विद्यालयमा खेलकुद र शिक्षण प्रशिक्षणमा गरेका
योगदानहरु, विवाह र परिवारप्रतिका
दायित्वहरु आदिसँग सम्बन्धित अनेक कुराहरु यहाँ पढ्न सकिन्छ । लेखिकाले सुर्खेतमा
आफूसँग दिन बिताउँदा उनले अनेक किसिमले पुर्याएको आत्मीय सहयोगको पनि विशेष स्मरण
गरेकी छन् । डोल्पा जस्तो विकट दुर्गम जिल्लामा जन्मेर उनले हासिल गरेको
उपलब्धिबाट आफन्त र जिल्लावासीहरु कति हर्षित थिए भन्ने कुराको रहरलाग्दो वर्णन
पनि यहाँ छ । जीवनको अन्तिम क्षणमा पुग्दा पत्नी रजनी र उनका गर्भमा रहेको सन्तान,
बुबाआमा र आफूहरुलाई सम्झेर आफ्नो ज्यान जोगाउन उनी लागेनन्, बरु विमानमा रहेका
अरूकै उद्धार उनको कर्तव्य बन्यो भन्ने कुरा कृतिका विभिन्न पानामा पोखिएको छ । रजनीलाई
उनी आफैले मन पराएर परिवारलाई सहमत तुल्याई विवाह गरेका थिए र अत्यन्त मिलेको जोडीका रूपमा
सुखद र सफल दिनहरु गुज्रँदै थिए । हुन पनि हो, उनले आफू मात्र बाँच्न चाहेको भए अनेक जुक्ती निकाल्न
सक्थे । उनी अन्तिमसम्म पनि आफ्ना बारेमा भन्दा अरूकै उद्धारमा केन्द्रित रहे ।
विमानका यात्रीहरुको भनाइलाई अगि सार्दै सचेत रूपमा अगाडि रहेको बालकलाई पछाडि
हुत्त्याएर अनि विमानको ढोका समेत खोलेर आफ्ना परोपकारी भाइले सबैलाई बाँच्ने आधार
दिएको कुरा लेखिकाले उल्लेख गरेकी छन् । उनले मुटुका टुक्रारूपी प्रिय भाइलाई परिवारप्रति उनी निर्दयी नबनेको भए आफू सहित सबै
आँसुका आहालमा डुब्नु पर्ने थिएन भन्ने आरोप पनि लगाएकी छन् । पीडा, वेदना र
आर्तनादपूर्ण अभिव्यक्तिको यहाँभन्दा
गहिराइ के हुन सक्तछ ! जतिसुकै गहिरो शोकमा परे पनि भाइको वीरता, धैर्य, साहस र
परोपकारी भावनाप्रति भने उनले गर्व गरेकी छन् । यसका साथै वेलैमा उद्धार हुन नसकी बाँच्ने सम्भावना भएको
व्यक्तिको ज्यान गुमेकोमा र पीडाले
आक्रान्त भएको समयमा पनि व्यथितका कानमा पीडा घटाउने शब्द उच्च तहबाट नपुगेकोमा उनको
चित्त बेसरी दुखेको छ । यसलाई सम्बन्धित
सबैले हृदयङ्गम गरी भविष्यमा त्यस्तो पीडा नदोहोरिने स्थिति सिर्जना गर्न आवश्यक छ
। नेपाल सरकारले वीर पदक प्रदान गरेर उनको वीरताको सम्मान गर्नुले नै जनाउँछ - क्याप्टेन दिनेशले
गरेको काम असाधारण थियो । यसले पीडितको चहराएको घाउमा मलम पट्टीको काम गरेको छ ।
साथै गृहमन्त्रीको गृहागमन र
सान्त्वनाप्रति पनि कृतिकारको सकारात्मक दृष्टि रहेको छ ।
यस
प्रकारको कृतिको सिर्जना जहिले पायो तहिले हुन सक्तैन । एउटा विशिष्ट परिस्थितिमा
अनुभूतिको तीव्र ज्वार उत्पन्न भएको वेलाको यो अभिव्यक्ति हो । त्यसैले शोकमा डुबेका
कैयन् व्यक्तिहरुले यसको अध्ययनबाट आफ्ना पीडा घटाउन सक्ने छन् । यसमा कुनै
कृत्रिमता नभएकाले स्वाभाविक अभिव्यक्तिका
रूपमा यो सहज ग्राह्य हुने छ । अभिव्यक्तिमा एक प्रकारको प्रवाह भएकाले
पढ्नेहरुलाई बिचमा नअड्की सरासर अन्तसम्म पुर्याउने तागत यसले राख्तछ भन्ने मलाई
लागेको छ । आफन्तहरुका मृत्युपीडामा लेखिएका विभिन्न कृतिहरु नेपाली वाङ्मयमा
उपलब्ध छन् । तीमध्ये कुनै गद्यमा र कुनै पद्यमा छन् । प्रस्तुत कृति गद्यमा लेखिए
पनि वाक्यमा विद्यमान समानान्तरता र छरिता वाक्यहरुका प्रवाहले गर्दा कवितात्मक
अभिव्यक्तिका नजिक छ । लेखिकाको कलम यसरी नै चलायमान होओस् र शोकलाई शक्तिमा
बदल्दै समाजलाई अगाडि बढ्न उत्प्रेरित गरि रहोस् !
अन्त्यमा
प्रातः स्मरणीय क्याप्टेन दिनेश र सहचालक सन्तोषप्रति हार्दिक श्रद्धाञ्जली अर्पण
गर्दै प्रस्तुत कृतिका साथै भविष्यमा
उहाँहरुका स्मृतिमा गरिने कामहरुले नेपाली समाज र विश्व समाजको दुःख, पीडा र जलन
घटाउन विशेष सहयोग पुर्याउने विश्वास व्यक्त गर्दछु ।
२०७३ वैशाख ३१
प्रा.डा.जीवेन्द्र देव गिरी
सदस्य सचिव, नेपाल प्रज्ञा
प्रतिष्ठान, कमलादी, काठमाडौँ
Comments
Post a Comment