सामान्य भाषा विज्ञानको उपयोगी पुस्तक
कल्पना लुइँटेलको 'सामान्य भाषा विज्ञान' पुस्तकको पाण्डुलिपि पढ्ने अवसर पाएँ । यसनिम्ति लेखकलाई धन्यवाद दिँदै पुस्तक प्रकाशनको यस सुखद अवसरमा बधाई ज्ञापन गर्दछु । भाषाको परिचय दिँदै ध्वनि विज्ञान, वर्ण विज्ञान, रूप विज्ञान, वाक्य विज्ञान, अर्थ विज्ञान, ऐतिहासिक भाषा विज्ञान तथा नेपाली लगायत नेपालका विभिन्न भाषाबारे वर्णन गरिएको यो पुस्तक विद्यार्थी लगायत सामान्य भाषा विज्ञान एवम् नेपालका भाषाबारे जान्नबुझ्न चाहने सबैका लागि उपयोगी रहेको छ । भाषिक भूगोल र समाज भाषा विज्ञानका केही पक्ष पनि यसमा रहेका छन् । लेखकले आफ्नो ज्ञान र अध्यापन अनुभवका आधारमा तयार गरेको यस पुस्तकमा आफ्नो भनाइलाई पुष्टि गर्न विभिन्न चित्र र उदाहरणहरु प्रस्तुत गरेको पाइन्छ । सरल भाषामा बोधगम्य हुने गरी गरिएको वर्णन विषयवस्तुलाई प्रस्ट्याउन सहज बनेको छ । भाषाको अध्ययनलाई अगि बढाउन नेपाली भाषामा लेखिएका यस प्रकारका पुस्तकहरूको हामीलाई निकै खाँचो छ । कल्पनाको कलमले सो खाँचो पूर्ति गर्ने दिशामा योगदान गरेको छ । लेखकका पाइलाहरु भविष्यमा पनि निरन्तर यस दिशातर्फ अगि बढि रहुन् भनी हार्दिक शुभेच्छा प्रकट गर्दछु ।
भाषाको अध्ययनले मान्छेलाई धेरै कुरा प्रदान गर्दछ । मनका कुरालाई ठिक ढङ्गले व्यक्त गर्नका लागि भाषा विज्ञानको अध्ययन धेरै सहयोगी हुन्छ । ज्ञान विज्ञानका विभिन्न विषयलाई बोलेर वा लेखेर व्यक्त गर्न भाषाका नियम जान्नेलाई धेरै सजिलो पर्दछ । मनका कुरा ठिकसँग पोख्‍न सक्नेले स्याबासी पाएको र त्यसो गर्न नसक्नेले मान्छेको मन जित्न नसकेका कैयन् सन्दर्भ भेटिन्छन् । त्यसैले त होला, मान्छेहरू भन्ने गर्छन्- यही मुखले ताली पाइन्छ यही मुखले गाली पाइन्छ । अतः आफ्नो अभिव्यक्ति कला तिखार्न चाहनेले भाषाको ज्ञान राख्‍नु राम्रो हुन्छ ।
भाषाको अध्ययन वैज्ञानिक हुने भएकाले उडन्तेबुडन्ते गफहरु यसमा हुँदैनन् । कार्य र कारणमा आधारित तर्कपूर्ण अभिव्यक्तिहरु यसमा पाइन्छन् । तथ्यमा आधारित वर्णनले यो युक्त हुन्छ । यसका कतिपय विषय भौतिक विज्ञान र शरीर विज्ञानसँग पनि सम्बन्धित हुन्छन् भने गणितका जोडघटाउका पनि नजिक हुन्छन् । त्यसैले वैज्ञानिक रूपमा सोच्न र निष्कर्ष निकाल्न लगाउने यस अध्ययनले मान्छेमा वैज्ञानिक चिन्तनको पनि विकास गराउँदछ ।
नेपाललाई भाषिक सङ्ग्रहालय पनि भन्ने गरिन्छ । भूगोलमा सानो भए पनि भारोपेली, चिनियाँ तिब्बती, द्रबिडेली र अग्नेलीका साथै परिवार नखुलेको कुसुण्डा परिवारको भाषा समेत पाँच परिवारका सवा सयभन्दा बढी भाषाहरू यहाँ बोलिन्छन् । यीमध्ये कतिपय लोपोन्मुख अवस्थामा पुगेका छन् । मानव आर्जित बहुमूल्य सम्पदाका रूपमा रहेका यी भाषाहरू धर्तीबाट हराउनुले ठुलो नोक्सानी हुन जान्छ । त्यसैले यिनलाई जोगाउनु पर्दछ भन्ने चिन्तन विभिन्न भाषिक समुदायमा विकसित भएको छ । प्रस्तुत 'सामान्य भाषा विज्ञान' जस्ता पुस्तक सबै भाषाको अध्ययनमा काम लाग्दछन् । सबै भाषाका ध्वनि, वर्ण, रूप, वाक्य आदिको अध्ययनमा सामान्य भाषा विज्ञानको ज्ञानलाई उपयोग गर्न सकिन्छ । यसमा रहेको भाषिक मृत्यु जस्तो लेखले भाषालाई मर्नबाट कसरी जोगाउने भन्ने चेतना पनि छर्दछ । त्यसैले यो किताब विभिन्न भाषिक समुदायबाट उपयोग हुन सक्तछ । यसरी नै उच्च माध्यमिक तहदेखि स्नातकोत्तर तहसम्मका भाषा विज्ञानका विद्यार्थीहरु पनि यसबाट लाभान्वित हुने छन् ।
वास्तवमा भाषा विज्ञान जस्तो विषयमा कलम चलाएर लेखकले यसको अध्ययनमा जुन रुचि  प्रदर्शन गर्नु भएको छ त्यसको म सराहना गर्दछु र यस कृतिको पूर्ण सफलताको कामना सहित लेखकको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
मिति-२०७४-९-१३                               प्रा.डा.जीवेन्द्र देव गिरी
                                                सदस्य सचिव
                                              नेपाल प्रज्ञा प्रतिष्ठान

Comments

Popular posts from this blog

g]kfnL efiff / ;flxTodf em/f]{ g]kfnL

सम्झनामा चीन भ्रमण

जीवनको अथक यात्रामा सूर्यवदनाका पदचिह्न