सम्झनामा चीन भ्रमण
                                            प्रा.डा.जीवेन्द्र देव गिरी
              नेपाल प्रज्ञा प्रतिष्ठानको प्रतिनिधि मण्डलको एक सदस्य भएर यस पटक चीनका केही ठाउँ भ्रमण गर्ने अवसर जुर्‍यो । चिनियाँ लेखक सङ्घको निम्तामा सो अवसर जुरेको थियो । नेपाल प्रज्ञा प्रतिष्ठान र चिनियाँ लेखक सङ्घबिच भएको सम्झौता अनुरूप गत वर्ष चिनियाँ लेखक सङ्घको प्रतिनिधि मण्डल नेपाल भ्रमणमा आएको थियो भने यस वर्ष हामी त्यहाँ पुगेका थियौँ । चीन जाने धोको पुरा भएकोमा एक प्रकारको सन्तोषको अनुभव पनि भएको छ । अगिल्लो पटक म प्रज्ञा प्रतिष्ठानमा भाषा विभाग प्रमुख हुँदा नेपाली र चिनियाँ साहित्यकारहरुको सद्भावना भ्रमण पालैपालो हुने प्रचलन थियो । चिनियाँ प्रतिनिधि मण्डललाई निम्त्याउने हाम्रो पालो थियो तर कारणवश हामीले निम्त्याउन सकेनौँ । त्यसैले त्यतिखेर चिनियाँ प्रतिनिधि मण्डल पनि आएन, हामी पनि  जान सकेनौँ । त्यतिखेर मनको कुरा मनैमा रह्यो भने झैँ भएको थियो जुन अहिले हुन पाएन । यस भ्रमणले चीन हेर्ने मात्र होइन त्यहाँका लेखकहरुलाई भेट्ने, नेपाली र चिनियाँ साहित्य एवम् वाङ्मयका विविध विषयमा जानकारी साटासाट गर्ने अनि सांस्कृतिक महत्त्वका स्थलहरुको अवलोकन गर्ने मौका प्रदान गर्‌यो ।
              यस भ्रमणका निम्ति हामीले प्रस्ताव गरेपछि चीनबाट  ७ जनाको प्रतिनिधि मण्डल आउन निम्ता प्राप्त भएको थियो । यसबारे  हामीले प्राज्ञ परिषद्का पदाधिकारीहरुबिच सल्लाह र सहमति गर्‍यौँ । कुलपति गङ्गा प्रसाद उप्रेतीको नेतृत्वमा म स्वयम् र प्राज्ञहरु प्रा. दिनेश राज पन्त, डा.अमर गिरी, नर्मदेश्वरी सत्याल र श्रवण मुकारुङ तथा आर्थिक प्रशासन महाशाखा प्रमुख सुमन अधिकारीको सात सदस्यीय प्रतिनिधि मण्डल चयन भयो । हामीले भ्रमणको तयारी स्वरूप राहदानी लिने काम सक्यौँ  र चिनियाँ अनुरोध अनुसार राहदानीका छायाप्रतिहरु  त्यहाँ पठायौँ । चीनबाट हाम्रो भ्रमणको कार्यक्रमलाई अन्तिम रूप दिई जानकारी पठाइयो । हामीलाई पथ प्रदर्शन एवम् अन्य आवश्यक व्यवस्थाका लागि छेन्दु विमान स्थलमा चिनियाँ लेखक सङ्घका विदेश विभागका महानिर्देशक चाङ थाओ र सोही विभागकी युरोपेली एवम् अमेरिकाली महाशाखा सम्बद्ध चिन लिउयुएको उपस्थिति रहने जानकारी पनि प्राप्त भयो । नेपालमा रहेको चिनियाँ राजदूतावासबाट हामीले निःशुल्क प्रवेशाज्ञा पनि पायौँ । हामीले चीनमा खर्च गर्न चिनियाँ मुद्रा युआन साट्यौँ । २० भदौ २०७२ देखि २६ भदौ २०७२ सम्म अर्थात् ६ सितम्बर २०१५ देखि १२ सितम्बर २०१५ सम्म चीनको भ्रमण गरी त्यसको भोलिपल्ट २७ भदौ तदनुसार १३ सितम्बरमा काठमाडौँ फर्कने चाँजोपाँजो मिलायौँ । यसका निम्ति एअर चाइनाको टिकट लिने काम भयो । यस भ्रमणमा छेन्दुसम्म पुग्न र त्यहाँबाट नेपाल फर्कन लाग्ने यातायात खर्च हामीले बेहोरे पनि चीन भ्रमणको अरू सम्पूर्ण खर्च चिनियाँ लेखक सङ्घले बेहोर्ने व्यवस्था भएको थियो ।
              हामी अन्तर्राष्ट्रिय उडानको नियम अनुसार समयमै विमान स्थल पुग्यौँ । टिकट र  सुरक्षा जाँच गरायौँ  अनि त्रिभुवन विमान स्थलको अति विशिष्ट कक्षमा गएर विमानको प्रतीक्षा गर्‍यौँ । विमानले हामीलाई १०.४० मा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट उडायो । सगरमाथा हेर्दै उडिने कुराले मेरा मनमा उत्सुकता र उल्लास छाएको थियो । नभन्दै काठमाडौँ छाडेको २० मिनटमै त्यहाँ पुगियो । सबैले सगरमाथा आयो भने तर आफू त विमानको दक्षिणी झ्यालतिर पो परिएछ । त्यसैले सगरमाथा पार गरेको चाल त पाइयो तर देख्‍न भने पाइएन । अलिकति थकथकी लाग्यो । फर्किँदा मौका नगुमे हुन्थ्यो भन्ने सोच्तै मन थुमथुम्याएँ । एक घण्टामा विमानले चीनको तिब्बत स्थित ल्हासाको गङ्ग ग विमान स्थलमा उतार्‍यो । हामी ११.४० मा त्यहाँ पुग्यौँ । हाम्रो ११.४० त्यहाँको १. ५५ पो हुँदो रहेछ । मौसम राम्रो थियो । विमान स्थल व्यवस्थित थियो । रमाइलो लाग्यो । त्यहाँ पुनः टिकट र सुरक्षा जाँच गराउनु पर्दो रहेछ । अरू यात्रीहरु झैँ विमानबाट ओर्लेर सो प्रक्रिया पुरा गर्न हामी अगि बढ्यौँ । हाम्रा एक जना साथी फोटो लिँदै हुनु हुन्थ्यो । त्यसै वेला  फोटो खिच्न पाइँदैन भन्दै एक जना सैनिक वेशभूषाका व्यक्ति त्यहाँ देखा परे । ती त मैले त्रि.वि.को कीर्तिपुरमा चार वर्ष पढाएका चिनियाँ विद्यार्थी आइछुङ  पो रहेछन् । उनले त्यहाँको नियम अनुसार फोटो खिच्न नमिल्ने कुरा गरेको बताए र गुरुलाई आफ्नो ठाउँमा देख्‍न पाइयो भन्दै आफ्नो कार्यालयमा लगेर सत्कार गरे । म भने नयाँ ठाउँमा आफूलाई सम्मान गर्ने विद्द्यार्थी पाउँदा मक्ख परेँ । चिनियाँ विद्द्यार्थी लगायत जापानी, कोरियाली, मलेसियाली, अस्ट्रेलियाली, युरोपेली, अमेरिकाली, दक्षिण अमेरिकाली आदि  कैयन् विदेशी विद्द्यार्थीलाई मैले कीर्तिपुरमा पढाउने अवसर पाएकोमा मनमनै खुसी पनि लाग्यो । चीनका अन्य ठाउँमा पनि यसरी नै विद्यार्थी भेटिने सम्भावनाले भित्रभित्रै मनको सन्तुष्टिलाई मुसार्‍यो किनकि सयौँ चिनियाँ सञ्चारकर्मी, शिक्षक र युवाहरु त्रि.वि.मा नेपाली भाषा साहित्यको अध्ययन गरेर चीन फर्केका छन् ।
               ल्हासाको विमान स्थलबाट हामी छेन्दुका लागि चिनियाँ समय ३.४५ मा उड्यौँ । तिब्बतका खुरिल्ला डाँडाका माझ ल्हासा विमान स्थल वरपरको हरियाली लोभ लाग्दो देखिँदो रहेछ । हवाई जहाज र हेलिकोप्टरहरु पनि ठुलै सङ्ख्यामा विमान स्थलमा देखिए । त्यहाँको दृश्य नितान्त नौलो थियो आफ्ना लागि । छेउको सिटमा प्राज्ञ नर्मदेश्वरी सत्याल हुनु हुन्थ्यो । नजिकै कुलपति र अरू प्राज्ञहरु पनि हुनु हुन्थ्यो । यात्रा रमाइलो लागि रहेको थियो । सामान्य कुराकानी पनि गर्दै थियौँ । २० मिनट उडि सकेपछि अचानक विमानमा धुवाँ र त्यसको गन्ध आयो । अब पर्‍यो बित्यास ! मान्छेहरु डराउन थाले । चालक दलका सदस्यहरु हातले नडराउन सङ्केत गर्दै यताउता दगुर्न थाले । कसै कसैले 'ब्याक टु ल्हासा' भन्न थाले । अब बाँचिन्न क्यारे जस्तो लाग्यो । केही छिनमा भुईंमा पुगिन्छ र खोज्नेहरुले लासका टुक्राहरु फेला पार्ने छन् भनी मनले हिसाब लगायो । परेको नबेहोरी सुख छैन भनी चुपचाप बसियो । प्राज्ञ नर्मदेश्वरी पनि के हुन्छ होला भन्ने त्रासमा देखिनु हुन्थ्यो । हामीले वैशाख १२ को भूकम्पको त्रासदी  पनि प्रज्ञा भवनमा सँगसँगै बेहोरेका थियौँ । अरूको पनि मुखमा सन्त्रासका रेखाहरु दगुरि रहेका थिए । यस्तैमा विमान ल्हासा फर्किने सूचना दिई पछाडि मोडियो । छिटै विमान स्थल पुगे हुन्थ्यो भन्ने लाग्न थाल्यो । ठिक २० मिनटमा हामी अगि उडेको विमान स्थलमा आइ पुग्यौँ । त्यहाँ माथिबाटै विमान स्थलमा दमकलहरु ठुलो सङ्ख्यामा यताउता गर्न लागेको देखियो  । सुरक्षाकर्मीहरुको पनि बाक्लो उपस्थिति देखियो । स्वास्थ्यकर्मीहरु पनि ठुलै सङ्ख्यामा तैनाथ थिए । तलको वातावरण देखेपछि मन ढुक्क भयो । केही छिनमै विमानले सुरक्षित अवतरण गर्‍यो । हामीले सकुशल भुईंमा पाइला टेक्यौं । हामीलाई तुरुन्त गाडीमा हालेर कुदाइयो । मूर्च्छा परेका तिन जना यात्रीलाई स्वास्थ्यकर्मीहरुले उपचार गरेपछि ठिक भयो । उहाँहरुमध्ये चीनमा कला प्रदर्शनीका लागि आउनु भएका नेपाली कलाकारहरु पनि हुनु हुन्थ्यो । सबै स्थिति सामान्य भएपछि हामीलाई खाना खुवाइयो । हामीलाई भोक र थकाइ दुबैले सताएका थिए । हामीले त ल्हासामै हाम्रो वास हुन्छ कि भन्ने  ठानेका थियौँ तर त्यसो भएन । विमान स्थलबाटै हामीलाई छेन्दुमा हाम्रो प्रतीक्षा गरि रहनु  भएका चिनियाँ लेखक सङ्घका मित्रहरुसँग हाम्रो टेलिफोन सम्पर्क गराइयो । हामीलाई विमान परिवर्तन गरेर तिब्बतियन एअर लाइन्सको विमानबाट छेन्दु पठाउने तयारी भयो । नेपाली समय अनुसार साँझको ८.४५ मा विमान छेन्दुका लागि उड्यो । अँध्यारो भएकाले भुईंमा केही देखिएन । एकै पटक छेन्दु नजिक पुगेपछि ठुलो क्षेत्रमा सहरको झिलिमिली देखा पर्‍यो । हामीले हाम्रो समय अनुसार  १०.४५ मा छेन्दु विमान स्थलमा पाइला टेक्यौँ । चीनको समय अनुसार रातिको १ बजेको थियो । हामीलाई त्यहाँ चाइना एअरले हस्ताक्षर गराउँदै प्रतियात्री ४०० युआन दियो । सायद दिउँसोको घटनाको क्षतिपूर्ति होला भन्ने हामीले सोच्यौँ ।  हामी चेकजाँच सकेर निस्किने बित्तिकै चाङ थाओ, चिन लिउयुए र सिचुआन लेखक सङ्घका मित्र सोइ छिङ जिङसँग भेट भयो । उहाँहरुले स्वागतका हात मिलाउनु भयो । उहाँहरु अङ्ग्रेजी बोल्ने भएकाले दुबैतिरको स्थिति बुझ्न बुझाउन सजिलो भयो । गाडीमा राखेर उहाँहरुले हामीलाई सिचुवान होटलमा पुर्‍याउनु भयो । त्यहाँ खाना खुवाउने र कोठा कोठामा हामीलाई पुर्‍याउने काम समेत उहाँहरुले गर्नु भयो । दिउँसोको घटनाले पटक पटक झस्काइ रहे पनि चिनियाँ साथीहरुको न्यानो आतिथ्यमा मन रमाइ रह्यो ।

Comments

Popular posts from this blog

g]kfnL efiff / ;flxTodf em/f]{ g]kfnL

सम्झनामा चीन भ्रमण

जीवनको अथक यात्रामा सूर्यवदनाका पदचिह्न