मैले धूम्रपान किन छाडेँ



                 

                         मैले धूम्रपान किन छाडेँ
                                    प्रा.डा.जीवेन्द्र देव गिरी
म पहिले धूम्रपान गर्थेँ अर्थात् चुरोट, बिँडी, तमाखु र सुर्ती सेवन गर्थेँ । त्यसकै कारण अहिले खोकीको सिकार भएको छु र दमको पनि सम्भावना नजिकिँदै छ । सर्व प्रथम यसले मलाई म सात वर्षको छँदा आफ्ना फन्दामा पारेको थियो । म जन्मेको सुर्खेत जिल्लाको सिम्ता काप्रीचौर गाउँमा यसले मलाई पहिलो पटक बल्झाएको थियो । वि.सं.२०१५को चुनाब प्रचार गर्न हाम्रो गाउँमा आएका एक जना नेताजीलाई भेट्न मेरा बा जानु हुँदा म पनि सँगै गएको थिएँ । त्यहाँ नेताजीले गाउँलेहरुका निम्ति बिँडीका खोचीहरु राखि दिनु भएको थियो । मान्छेहरु बिँडी तान्दै धुवाँ उडाइ रहेका थिए । धुवाँ नाक र मुख दुबैतिरबाट निस्कि रहेको दृश्य मलाई  रमाइलो लाग्यो । मैले त्यहाँ त धुवाँ उडाइन तर सुटुक्क एकदुई वटा बिँडी झिकेर गोजीमा राखेँ । घरमा पुगेर बिँडी सल्काइ धुवाँ तान्ने अभ्यास गरेँ तर यो काम निकै कठिन लाग्यो । त्यसपछि म सुर्खेत उपत्यकाको मामाघरमा फर्केँ जहाँ मेरो स्कुले शिक्षा चल्दै थियो । त्यहाँ मैले बिँडी तान्ने रुचि लिइन । गुरुहरुले देखेमा हप्कीखप्की खानु पर्ने भएकाले पनि त्यो आँट आएन । चुरोट बिँडी तान्नेहरुले पनि लुकेर डराई डराई तान्थे ।
म वि.सं.२०२२तिर फेरि मेरो गाउँ काप्रीचौर पुगेँ । यतिखेर मेरो उमेर १४ वर्ष पुगेको थियो र किशोरकालीन उमेरमा म थिएँ । त्यतिखेर भूमि सुधार लागु भएको थियो र जग्गाको ७ नं.फाराम भर्न तँछाडमछाड थियो । त्यो फाराम भर्न जान्ने मान्छे गाउँमा ज्यादै कम थिए । म त्यति वेला ८ कक्षामा पढ्दै थिएँ र त्यो फाराम भर्ने क्षमता राख्थेँ । एक जनाको फाराम भरेको एक रुपियाँ म पाउँथेँ । गाउँलेहरु भन्थे, "कुर्सीमा बसेर लेखेको अनि बिँडी तानेको, कति सुहाएको !"  म दङ्ग परेर बिँडी तान्थेँ । अझ के पनि भनिन्थ्यो भने बिँडी वा सुल्पामा भरेको तमाखु कसैले दिएमा नलिनु बेसोमत हुन्छ । सँगैका साथीसँगातीहरु के पनि थप्थे भने अरूले दिएको कक्कर(सुल्पामा भरेको तमाखु) तान्न नजाने पनि लिएर तान्ने प्रयत्न गर्नु पर्छ । यसो गरे सर(सम्मान) रहन्छ । मलाई यी कुरा अनौठा र रमाइला लाग्थे । म सकी नसकी आफूप्रति बढाइएका हातको सुल्पा तान्न थालेँ । अझ अलि अलि कमाइ गरि रहेको मैले अरूलाई बिँडी किनेर नखुवाउनु त कन्जुस्याइँ हुन्थ्यो । त्यसैले आफूलाई अरूले दिएको पनि म तन्काउन लागेँ र अरूलाई आफूले तान्ने चिज दिएर सोमतिलो  बन्ने प्रयत्न पनि गर्न थालेँ । यति वेला भने कक्कर बिँडी खाने सिप सिकेर सुर्खेत उपत्यका फर्केँ।
सुर्खेत उपत्यका पुगेर मैले बिँडी चुरोट तान्दै धुवाँ उडाउन थालेँ । साथीहरुलाई नाकबाट धुवाँ निकालेर जिल्ल्याउन लागेँ । हुँदा हुँदा मलाई चुरोट बिँडीको लतले  समात्यो । खाजाका लागि घरबाट पाएको पैसा चुरोट बिँडीमा खर्च हुन थाल्यो । त्यति वेला पैसा पाउन सजिलो थिएन तापनि जे जति पाइन्थ्यो त्यो धूम्रपानले उडाउन लाग्यो । एस.एल.सी.पास गरेर फेरि सिम्तामै पढाउन म पुगेँ जहाँ चुरोट बिँडी तमाखुले स्वागत गर्नु सोमतको व्यवहार मानिन्थ्यो । अब त हातमा तलब पनि आउँथ्यो । त्यसैले मेरो लतको तलतल फेरि मजैले मेटिन थाल्यो । म त चुरोट बिँडीको धित मार्न निकै तान्नु पर्ने अवस्थामा पुगेँ । चुरोट बिँडी टुप्पैसम्म नसल्किँदासम्म म तानि रहने भएँ । गाउँघरमा प्रायः तमाखु भरेको सुल्पाले स्वागत गरिएको राम्रो लाग्न थाल्यो ।
यस्तैमा राजनीतिले पनि तान्यो । केही समाज सुधारका काममा  म संलग्न भएँ । जुवातास नखेल्ने, मदिरा सेवन नगर्ने र अश्लील गतिविधिबाट टाढा रहने जस्ता अभियानमा म गाँसिएँ तर धूम्रपानलाई भने मैले निषेध गरिनँ । फलस्वरूप यसको सङ्गत रहि नै रह्यो । झन् राजनीतिक समस्याले पिरोलेका वेला तनाब कम गर्न यसबाट सहयोग पुगे जस्तो पो लाग्न थाल्यो । लुकेर दिन गुजार्नु परेको वेला यसको सहारा लिन लागियो । हुँदा हुँदा एक बट्टा होइन त्यसभन्दा बढी चुरोट एक दिनमै सखाप हुन थाल्यो । वेला वेलामा यसलाई छोड्ने निर्णय लिए पनि प्रयत्न सफल भएन । भारतीय भूमिमा भौँतारिइ रहेका वेला नेपाल पसेपछि छाड्ने भन्दै पनामा चुरोट तन्काउने तर नेपाल पसेपछि छाड्न नसकी यसकै कब्जामा परि रहने अवस्था पनि आयो । मुखबाट रगत आउँदा यसैलाई कारण ठानी अलगिन गरेका सुरुका प्रयत्नहरु पनि विफल भए ।
वि.सं.२०३२तिर जन गणनाको जागिर खाएर म रामेछाप पुगेको थिएँ । मसँगै मलाई सघाउन एक जना खरिदार पनि त्यहाँ पुगेका थिए । उनले आफ्नी पत्नी पनि सँगै लिएर गएका थिए । म उनलाई भाउजू भन्थेँ । उनले नै हामीलाई खाना खुवाउँथिन् । हामी एउटै घरमा बस्थ्यौँ । मैले चुरोट खाएको देखेर उनी छक्क पर्थिन् । म एउटा चुरोट नसकिँदै अर्को सल्काइ हाल्थेँ । दिनमा तिन बट्टा म किनेर राख्थेँ । भाउजूले वेला वेलामा चुरोट लुकाउँथिन् र चुरोट कम पिउन आग्रह गर्थिन् । त्यसले अलि अलि कम खाने बनाए पनि ठुलो फरक भने पार्दैनथ्यो । ती भाउजूलाई  म अहिले पनि झलझली सम्झन्छु र हृदयदेखि धन्यवाद दिन चाहन्छु जसले मेरो स्वास्थ्यको त्यति धेरै चिन्ता लिन्थिन् । त्यतिखेर म तापमा थिएँ । राजनैतिक मुद्दाले गर्दा जिल्लामा बस्ने अवस्था थिएन भने बिरामी पत्नी, वृद्ध आमाबा र नाबालक भाइहरुबाट टाढा रहेर मेरा दिनहरु गुज्रँदै थिए ।
 म वि.सं.२०३३मा नेपाली विषय लिएर एम.ए. पढ्न कीर्तिपुरमा भर्ना भएँ । त्यतिखेर कक्षाबाट पटक पटक बाहिर निक्लेर म चुरोटको तलतल मेट्थेँ । गुरु वासुदेव त्रिपाठी पनि चुरोट पिउनु हुँदो रहेछ । मैले चुरोट पिउने कुरा थाह पाएर होला उहाँ म बाहिर निस्कन लाग्दा चुरोट ल्याइ दिन मलाई अह्राई पैसा हातमा पार्नु हुन्थ्यो । म भने अप्ठ्यारो मान्दै सो काम सम्पन्न गर्थेँ र आफू पनि धुवाँ उडाएर फर्कन्थेँ । काठमाडौँ सहरबाट कीर्तिपुरसम्मको बसयात्राका लागि टिकट किन्न ३०—३५ पैसा लाग्थ्यो । त्यो पैसा जोगाई चुरोट पिउन  कति दिन त म पैदलै हिँडेर कीर्तिपुर जान्थेँ । कम्ती त सताएन यस लतले ! अहिले सम्झिँदा रिस पनि उठ्छ ।
वि.सं.२०३४को हिउँदमा म रा.वि.से.विद्द्यार्थी बनेर बर्दियाको मैनापोखर पुगेँ र बसाइ बढैयामा भयो । ती दुबै थारुहरुका पुराना बस्ती थिए । त्यहाँ माखुर (खैनी) खुबै खाइँदो रहेछ । बुढापाकाहरुसँग घुलमिल हुन यसको सहारा लिनु पर्ने अनुभूति मैले गरेँ । चुरोट, बिँडी र सुल्पाको धुवाँ त निकै उडाएको थिएँ, खैनीको अनुभव भने बाँकी थियो । त्यसको पनि मैले आरम्भ गरेँ । सुर्ती र चुना किन्न धेरै ठुलो खर्च लाग्दैनथ्यो । त्यसैले किनेर डेरामा राखि दिन्थेँ र गाउँलेहरु आएर चुना मल्दै आफू पनि खान्थे र मलाई पनि खुवाउँथे । त्यहाँ अझ सस्तोमा चुना मल्नु नपर्ने गुलियो खैनी पनि पाइन्थ्यो । त्यो पनि म किनेर राखि दिन्थेँ । गाउँलेहरु "देओ तो पहुना चुन टुहारे माखुर खाई" भन्दै मेरै चुन र खैनी ठट्यौलो भाषामा माग्दै मकहाँ आउँथे र मसँग झ्याम्मिन्थे । त्यसले  उनीहरुसँग आत्मीय सम्बन्ध गाँस्न त मलाई सजिलो भयो, ओठ लेब्र्‍याएर चुना हालेको खैनी खाने लत पनि थपियो ।
मेरो जागिरले मलाई वि.सं.२०३५ मा पोखराको पृथ्वी नारायण क्याम्पसमा पुर्‍यायो । जागिरमा बढोत्तरी भएको थियो । तलब पनि बढेको थियो । म कार्यालयको कुर्सीमा बसेर याक चुरोटको धुवाँ उडाउन थालेँ । क्याम्पस प्रमुख जोर्ज जोन हुनु हुन्थ्यो । उहाँले केही दिन नयाँ ठानेर होला केही भन्नु भएन । एक दिन त असह्य भएछ क्यारे, मेरा अगाडि आएर भन्नु भयो, "गिरीजी, हामी त यहाँ कोही चुरोट पिउँदैनौ । नपिए राम्रो हुन्थ्यो ।" कुरा जायज थियो । मैले कुनै प्रतिवाद नगरी टाउको हल्लाएँ तर मलाई पर्‍यो फसाद ! अब के गर्ने ? म छिन छिनमा चुरोट पिउनलाई क्याम्पसको हाता बाहिर निस्कन थालेँ । यो पनि कम्ती सकसको काम थिएन । मैले सुनेँ, "जोन सर विद्यार्थीले चुरोट पिएको थाह पाएपछि कतै आगो लागेको धुवाँ आएको हो कि भन्दै बाल्टीमा पानी बोकेर धुवाँ आएको ठाउँतिर निस्किनु हुन्छ ।"
यस्तैमा म बिदाको समयमा बाँके जिल्ला स्थित आफ्नो हसना पुरको घरमा पुगेँ । पोखरा फर्केर आउँदा मलाई सन्चो भएन । ख्वाक्क खोक्ता मुखबाट रगत निस्कन थाल्यो । दिनभरि त्यसो भएपछि म निकै डराएँ किनकि केटाकेटी अवस्थामा मैले त्यसरी रगत फाल्नेहरु टी.बी. रोग लागेर मरेको देखेको थिएँ । मैले आफ्नी जीवन सँगिनीलाई सो कुरा सुनाएँ । हामीले डाक्टरकहाँ जाने सल्लाह गर्‍यौँ र त्यतिखेरको पोखराका प्रसिद्ध डाक्टर कुमार शमशेर राणाकहाँ पुग्यौँ । डाक्टरले खकार लगायत विभिन्न जाँच गराइ सकेपछि भन्नु भयो, "टी.बी. नै त होइन, घाँटीमा घाउ भएको छ । औषधी खाए ठिक हुन्छ । सक्नु हुन्छ भने चुरोट छाड्नोस् ।" भारतीय रेलको चिसो खाँदै ओहोरदोहर गर्दा घाँटीमा घाउ हुनु स्वाभाविक थियो तर पनि मेरो मन भने डराइ रह्यो । मैले क्याम्पसमा चुरोट पिउन घरि घरि हाता बाहिर गइ रहनु पर्ने झन्झटबाट मुक्ति  लिने र टी.बी.जस्ता रोगको डरबाट कहालि रहनु पर्ने अवस्था पनि आउन नदिने अठोट गरेँ । चुरोटलाई मैले त्यसै दिनदेखि सदाका लागि छाडि दिएँ । केही समय तलतलले सताए पनि दृढताका अगाडि त्यसको केही जोर चलेन । सुरु सुरुमा अरूले धुवाँ तानेको देख्ता मन लोभिइ रहन्थ्यो तर पछि भने त्यही कुरा गनाउन थाल्यो । चुरोट छाडेपछि घाँटीका घ्यारघ्यार र खोकी लगायतका समस्याहरु हल पनि भए । तर अचम्म ! धूम्रपानबाट अलग भएको ३६ वर्षपछि पनि यसले पुरै साथ भने छाडेको रहेनछ । अहिले श्वास प्रश्वासको समस्याले सताएर डाक्टरकहाँ पुग्दा थाह भयो - उहिलेको धूम्रपानको प्रभावले  फोक्सोमा पारेको प्रभावको फल अझै पो भोगिँदै रहेछ त ! त्यसैले म पछुताउँदै सोच्छु, अल्लारे समयमा  गल्ती नगरेको भए पछिल्लो समयमा आएर पछुताउनु पर्ने थिएन, समाज जागरुक भइ दिएको भए धूम्रपानले  स्वागत गर्ने प्रचलन कतै मौलाउने थिएन । सँगसँगै सङ्गत गरेको पन्ध्र वर्षमै सम्बन्ध विच्छेद  गर्दा त अहिले आएर स्याँफ्याँ गर्नु परेको छ भने अझै बढी टाँस्सिएको भए धूम्रपानले आफूलाई कहाँ पुर्‍याउँथ्यो होला भनी म झल्याँस्स हुन्छु । अब बढी भन्दिन, आफै सोच्नोस्, मैले धूम्रपान किन छाडेँ ।
     

Comments

Popular posts from this blog

g]kfnL efiff / ;flxTodf em/f]{ g]kfnL

सम्झनामा चीन भ्रमण

जीवनको अथक यात्रामा सूर्यवदनाका पदचिह्न