आचार्यको 'मच्छिन्द्र नाथको सवारी' : नेपाली लोककथाको महत्त्वपूर्ण कृति



             आचार्यको 'मच्छिन्द्र नाथको सवारी' : नेपाली लोककथाको महत्त्वपूर्ण कृति
                    अर्घाखाँची जिल्ला मर्‍याङ-४ निवासी  राजेन्द्र कुमार आचार्यको सङ्कलन र लेखनमा 'मच्छिन्द्र नाथको सवारी' लोककथा सङ्ग्रह प्रकाशनमा आएको छ । नेपाली भाषा र साहित्यका क्षेत्रमा समर्पित लेखक आचार्यको 'केन्द्रीय नेपाली  शब्दकोश' (२०६० ) जस्तो उल्लेखनीय  कृति यसअगि नै प्रकाशित भइ सकेको हो । दुर्गमभन्दा दुर्गम ठाउँमा पुगेर शोधखोजका कार्य गर्ने र समाजलाई उपयोगी कृति सुम्पने आचार्यले आफ्नो  गम्भीर र उत्तरदायित्वपूर्ण लेखनको परिचय दिइ सक्नु भएको छ । प्रस्तुत कृतिका लागि पनि उहाँले नेपाली वाङ्मयमा डुबुल्की लगाउनुका साथै यहाँको भूगोलका अनेक फाँटहरु चहार्नु भएको छ । समाजमा छरिएर रहेका सामग्रीको मूल्य बुझ्ने र त्यसको जगेर्ना गर्दै समाजका पोल्टामा हालि दिने आचार्यको काम प्रशंसनीय र अनुकरणीय छ । प्रस्तुत कृति प्रकाशनको यस सुखद अवसरमा म उहाँप्रति हार्दिक बधाई तथा शुभ कामना व्यक्त गर्दै यो कृति समाजमा ज्ञानको विस्तार गर्न र  लोकप्रियता प्राप्त गर्न सफल हुने विश्वास व्यक्त गर्दछु ।
                        लोकवार्ताका क्षेत्रमा लोक साहित्यको विशिष्ट महत्त्व छ र लोक साहित्यको एक चर्चित विधा लोककथा हो भन्ने कुरा हामी सबैलाई थाह छ । मौखिक परम्परा अन्तर्गत भन्दै र सुन्दै आइएका लोककथाको संरक्षण समाजबाट नै हुँदै आएको छ । वर्तमान मुद्रण युगले तीमध्ये कतिपयलाई लिखित रूप दिए पनि अझै ठुलो सङ्ख्यामा ती मान्छेका मुखमै झुन्डिएका छन् । अझ कतिपय त पुस्तान्तरण हुन नपाई समयका गर्भमा विलीन हुन पनि पुगेका छन् । अतः तिनको सङ्कलनको काम मात्र पनि विशेष अर्थपूर्ण छ । ती विभिन्न भाषा र भाषिकामा कथिन्छन् । त्यसैले भाषिक अध्ययनका दृष्टिले पनि तिनको महत्ता रहेको छ । तिनमा समाजका सुखदुःख, आरोह अवरोह, सङ्घर्ष सम्मिलन, उथलपुथल, उन्नति अवनति आदिका मार्मिक घटनाहरु उनिएका हुन्छन् । त्यसैले इतिहासका कैयन् पानाहरु त्यहाँ सुरक्षित भेटिन्छन् ।  अनेक व्यक्ति र तिनका थातथला चहार्दा इतिहासका कतिपय तथ्यहरु फरक पर्न सक्छन् तापनि त्यहाँ प्राप्त हुने ऐतिहासिक सामग्रीले इतिहासलाई बुझ्न ठुलो मद्दत पुर्‍याउँछन् । संस्कृतिका कैयन् विशेषताहरु तिनले आत्मसात् गरेका हुन्छन् जसले कुनै पनि समाजका विशेषता बुझ्न ठुलो सघाउ पुर्‍याउँछन् । यसरी नै धार्मिक पौराणिक अनेक विषयहरु तिनमा अन्तर्निहित रहेका हुन्छन् । अतः कुनै पनि समाजलाई बुझ्न लोककथाको आँखीझ्याल विशेष सहयोगी बन्दछ ।
                        'मच्छिन्द्र नाथको सवारी' लोककथा सङ्ग्रहका लेखकले यहाँ सङ्कलित लोककथाहरुको सङ्कलनका लागि धेरै ठाउँको फन्को लगाएको पाइन्छ । कहिले बैतडी, कहिले पनौती, कहिले जुम्ला, कहिले हेटौँडा, कहिले कोसी अनि कहिले काठमाडौँका विभिन्न ठाउँ र कहिले आफू हुर्केबढेको सेरोफेरोका साथै अन्य ठाउँहरुमा पनि उहाँ पुग्नु भएको पाइन्छ । इतिहास, पुराण, किंवदन्ती र धर्मशास्त्रतिर पनि उहाँका आँखा पुगेका छन् । कसैले यहाँ सङ्कलित कथाबारे कतै केही उल्लेख गरेको पाइएमा त्यसलाई पनि इमानकासाथ अङ्कित गर्ने काम  उहाँले गर्नु भएको छ । अतः सङ्कलित सामग्रीका विश्वसनीयताका दृष्टिले भर पर्न सकिने तुल्याउन उहाँले परिश्रम गर्नु भएको छ ।
                        यी लोककथाहरु पढ्दा कैयन् रहस्यहरु खुल्ने भएकाले यी रोचक छन् । कतिपय पर्व मनाउनुका कारण यिनमा फेला पर्छन्, कतिपय ठाउँका नामकरणका आधार यिनले खुलस्त पारि दिन्छन् भने अन्य अनेक जिज्ञासा मेटाउने काम यिनले गर्दछन् । असनको अन्नपूर्ण मन्दिरको माछो किन पुजियो, राजा र मन्त्री जस्ता व्यक्तिमा कस्ता कमजोरी पाइन्छन्,  टुनामुनाका बलले मान्छे किरो (बाघ)मा कसरी परिणत भयो, हाडीगाउँको गहना पोखरी नामको अन्तर्यमा के छ, मान्छेको मृत्यु निम्त्याउने कालेश्वर कसरी अस्तित्वमा आए,  बादल र बाढीले कसरी साउने सङ्क्रान्तिलाई कालो सङ्क्रान्तिमा परिणत गरे जस्ता कुराका उत्तर यिनमा पाइन्छन् । बालकको मृत्युशोकमा छटपटाएकी आमाको पिर बुद्धले कसरी अन्त्य गरे, कोरले गलेकी रोहिणीको असल विचारले कसरी उनको उद्धार भयो, कोर जस्तो रोग जडीबुटीले निको पारी काशीराज र कोसल राजपुत्रीका कारण कोलीय जनपदका देवदह र रामग्राम कसरी खडा भए, गजुल कोटमा तुथासेन  कसरी सजिलैसित राजा भए, गढीमाईको उत्पत्ति कसरी भयो भन्ने कुराको नालिबेली पनि यहाँ पाइन्छ । यहाँका कथामा घुम्टेको लेकमा भीमसेनको बल परीक्षण , बर्जुतालमा यक्षराज र युधिष्ठिरको सबाल जबाफ, कर्नाली प्रदेशको एउटा गाउँको नाम चिलखाया हुनुको कारण, चोभारमा आदिनाथको स्थापनाको रहस्य, सतीदेवीको लासका अङ्गहरु झरि सकेर महादेवको जिउ छ्याङ्ङ भएको आँधीखोलामा छ्याङछ्याङदी तीर्थको उदय र मान्छेले जनै लगाउन सुरु गर्नुका कारण जस्ता विषयहरुले पनि स्थान पाएका छन् । मान सरोवर वा कैलाश यात्राको विकटता, टौदहका कर्कोटक नागको शक्ति, पहाडका ठाउँमा अनिकाल पर्दा बेसाहाका लागि बेहोर्नु परेको सास्ती, बैतडीकी त्रिपुरा सुन्दरीको उदय र महिमा, कुलती राजाहरुले प्राचीन कालमा गर्ने अत्याचार बलात्कार र त्यसले निम्त्याउने युद्ध र त्यसका परिणाम जस्ता कुराहरुको वर्णन यहाँ भेटिन्छ ।  'मच्छिन्द्र नाथको सवारी' कथा सङ्ग्रहभित्र  स्वर्गका चर्तिकला, बुद्धको प्रभाव, नदीखोलाको वार्तालाप र क्रियाशीलता, इन्द्रको छल, गुरुवा परम्परा, गृहिणीको धुर्त्याइँ, भीमफेदी र भैँसेको नामकरण, भुरेटाकुरे राजा छान्ने प्रचलन, मच्छिन्द्र नाथको रथयात्राको महिमा जस्ता  विषयले प्रवेश पाएका छन् । यसका साथै यहाँका कथाहरुमा पौराणिक पात्र मन्दोदरीको जन्म र कर्म, काठमाडौँको टोखाका मसानकाली र चण्डेश्वरीको उत्पत्ति, हरिसिङ राजाले बनाउन लगाएको हरिकोट र रामबारीको निर्माण, इन्द्रको आदेशमा प्रम्लोचा अप्सराद्वारा रुरु क्षेत्रमा देवदत्त ऋषिको तपस्या भङ्ग र प्रणय लीलाको परिणाम, मूर्ख चेलाका कारण गुरुले  भोगेको यातना, कोसी  प्रदेशको वराह क्षेत्रसँग सम्बन्धित पौराणिक प्रसङ्ग, बढी लोभ गर्दा ठुलो उपलब्धि गुमाउनु परेको पछुतो र हेटौँडा एवम् त्यहाँका भुटन देवी तथा हेडम्बीका सन्दर्भसँग पाठकलाई नजिक्याउने प्रयत्न गरिएको छ । समग्रमा यी कथाहरुले नेपाली जन जीवनका भोगाइ, सोचाइ र परिवेशलाई टिपेका छन् र मनोरञ्जनका साथै शिक्षा प्रदान गर्दै महत्त्वपूर्ण जानकारी पस्कने काम गरेका छन् । कथाहरु पठनीय र रुचिकर छन् । नेपाली समाजलाई चिन्न यिनले सहयोग पुर्‍याउँछन् । समाजमा के छ भन्ने थाह भएपछि नै त्यसलाई रूपान्तरण गर्न के गर्नु पर्छ भन्ने कुराको निधो गर्न सकिन्छ । त्यस दृष्टिले पनि यी उपयोगी छन् ।
                 यी कथाहरुले नेपाली समाज र यहाँको इतिहास, संस्कृति एवम् भूगोलका विभिन्न तथ्यहरुसँग हामीलाई परिचित गराएका छन् । यहाँ यात्रा निबन्धका छाँटले पनि कतिपय वर्णनहरु प्रस्तुत छन् । स्थानीय बोलीका शब्द, वार्तालाप, टुक्का आदिमा नेपाली भाषाको विविधतामय स्वाद यहाँ चाख्‍न पाइन्छ । यी लोककथाहरुलाई आधार बनाएर विभिन्न पक्षबाट नेपाली समाजको अध्ययन गर्न सकिन्छ । समाज शास्त्रीय र मनोवैज्ञानिक अध्ययन गर्नेहरुले पनि यिनमा पर्याप्त खुराक फेला पार्ने छन् । यस प्रकारका सामग्री नेपाली वाङ्मयलाई सुम्पने लेखक आचार्यका पाइलाहरु ज्ञानको खोजीमा निरन्तर अगि बढि रहुन् । यही मेरो हार्दिक शुभ कामना !
       २०७२ मङ्सिर १८                                        प्रा.डा. जीवेन्द्र देव गिरी,
                                                                   सदस्य सचिव,
                                                         नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँ
            
                

Comments

Popular posts from this blog

g]kfnL efiff / ;flxTodf em/f]{ g]kfnL

सम्झनामा चीन भ्रमण

जीवनको अथक यात्रामा सूर्यवदनाका पदचिह्न