जीवनको अथक यात्रामा सूर्यवदनाका पदचिह्न



                जीवनको अथक यात्रामा सूर्यवदनाका पदचिह्न
सूर्यवदना पण्डितलाई मैले २०३०को दशकको उत्तरार्धदेखि नै चिन्ने अवसर पाएको हुँ । उहाँका पति सूर्य कुमार पण्डित र मैले रत्नराज्य लक्ष्मी क्याम्पसमा सँगै काम गरेका हुनाले हामीबिचमा परस्पर घनिष्ठता रहेको थियो । सूर्यवदना काठमाडौँमा प्रवेश गरेपछि पनि हाम्रो निकटता उस्तै रह्यो । उहाँहरु दुबै जनाको पहिलो नाम 'सूर्य' थियो र व्यवहार लगनशील, शिष्ट एवम्  मिलनसार थियो । उहाँहरु जीवनमा केही सिक्ने र केही गर्ने उत्कट अभिलाषाका साथ जागिरे जीवनका सिँढीहरु चढ्दै हुनु हुन्थ्यो । मेरो हालत पनि त्यही थियो । गाउँले परिवेशबाट आएका हामी समान आकांक्षा  बोकेर जीवन डुङ्गा खियाउँदै थियौँ । त्यही श्रमशील, आशावादी र उत्साही जीवनको अथक यात्राको परिणतिलाई आजको सूर्य जोडीको उपलब्धिमा नियाल्न सकिन्छ । यतिखेर मेरा हातमा सूर्यवदनाको आत्मकथाको कृति छ र त्यसका पाना पानाले उहाँ हिँडेको जीवन पथका उकाली वराली र घुम्तीहरु अवलोकन गराइ रहेका छन् ।  उहाँबारे  थाह नभएका कैयन् कुराहरु यसले खुलस्त पारेको छ ।  आफ्नो सङ्गर्षशील, सफल र प्रेरणादायी जीवनका अध्यायहरु सार्वजनिक गरेर उहाँले नेपाली वाङ्मयका साथै हामी सबैलाई गुन लगाउनु भएको छ । म उहाँको यस कार्यको  हार्दिक सराहना गर्दछु र बधाई ज्ञापनका साथ  उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
प्रस्तुत पुस्तकले यो  किन र कसरी लेखियो भन्ने जानकारीका साथ सूर्यवदना पण्डितले जीवनमा टेकेका पदचिह्नहरुतिर हामीलाई डोर्‍याउँछ । उहाँ शास्त्रका मर्मज्ञ हजुरबाकी नातिनी एवम् कविराज बाबुकी छोरी हुनु हुन्थ्यो । वि.सं.२०२१मा उहाँको पढाइ आरम्भ  भएको थियो । आफ्नो प्रतिभाका कारण  साथीहरुलाई उछिन्दै माथिल्ला कक्षा उक्लिन समेत सफल उहाँले निम्न माध्यमिक तहको पढाइ नसकिँदै १३ वर्षको उमेरमा  विवाह बन्धनमा बाँधिनु पर्‍यो तापनि कक्षा ८ भने विवाहपछि पनि पुरा गरि छाड्नु भयो । त्यस अगाडिको पढाइ गर्न उहाँले फलामको चिउरा चपाउनु पर्‍यो । कलिलो उमेरमा पढाइ छाडेर विवाह गर्ने उहाँको पटक्कै रुचि थिएन तर पनि परिवारका करकापमा परेर उहाँले विवाह गर्नै पर्‍यो । विवाहपछि पनि आफूसँगै राखेर पढाउने आश्वासन दिएका पिताले विवाह भइ सकेकी छोरीले घर खाओस् भनेर पढाउन मान्नु भएन भने घरमा पढ्ने वातावरण थिएन । पति जागिरमा काठमाडौँतिर रहेकाले मनको बह पोख्ने साथीको पनि अभाव थियो । कडा बुहार्तनका बिच गुज्रिनु परेको स्थितिमा यदकदा विचलन आए पनि धैर्यपूर्वक उहाँले कठिनाइको सामना गर्नु भयो । घरधन्दा, खेतबारी र वनपाखामा घरायसी काममा कुदि रहँदा पनि शिक्षाको सुनौलो सपना उहाँले देखि रहनु भयो । खेतीमा वा गोठाला जाँदा होस् कि बेलुका ओछ्यानमा रहँदा उहाँले शिक्षाको रटना लगाइ रहनु भयो, किताबलाई काखी च्यापि रहनु भयो । पति सूर्य कुमारसँगको यदाकदाको भेट, पत्रको आडभरोसा र विश्वासलाग्दो व्यवहारले भने उहाँमा उत्साह छरि रह्यो । पतिकै साथ र सहयोगमा उहाँका प्रगतिका पाइला अगि बढ्दै गए र एस.एल.सी., आई.ए., बी.ए. र एम.ए.का पर्खालहरु सबै उहाँले पार गर्नु भयो । उहाँका पतिले पनि जागिरका माझबाटै आफ्नो एम.ए.सम्मको पढाइ पुरा गर्नु भयो । पढाइका लागि दुबै जनाले गर्नु भएको कठोर सङ्घर्ष र मिहिनेत अरूका लागि पनि अनुकरणीय छ । दुबै जनाले समान रूपमा प्रगति गरेको देख्ता नारी र पुरुषरूपी एक रथका दुई पाङ्ग्रा एकसाथ अगि बढ्नु पर्छ भन्ने भनाइ सार्थक भएको अनुभूति हुन्छ । एस.एल.सी.पछि जागिर खाँदै र पढ्दै उहाँ उपसचिव पदसम्मको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्न सफल हुनु भयो । सूर्यवदनाले प्रतिकूल वातावरणलाई अनुकूल तुल्याउन अनेक प्रयत्न गर्नु पर्‍यो, कतिपय जोखिम उठाउनु पर्‍यो र कहिले कहीँ बहानाबाजीको शरण पनि लिनु पर्‍यो तर उहाँको लक्ष्यबारे जानकार ऊहाँका पतिको उहाँलाई सदा सहयोग रह्यो । यसबिचमा उहाँका दुई छोरा जन्मे । कहिले आफ्नै काखमा राखेर माया ममताले सिञ्चन गर्दै र परिस्थितिले नदिएका बखत अरूका पोल्टामा राखेर भए पनि उहाँले तिनको लालनपालन र शिक्षाको चाँजोपाँजो मिलाउनु भयो । शिक्षित योग्य व्यक्तिका रूपमा आफ्ना खुट्टामा उभिन सक्ने भई अहिले उनीहरू अमेरिका पुगेर रोजगारी गर्दै  बिहाबरी घरजम सकेर सफल जीवन बिताउँदै छन् । उनीहरू आफूबाट टाढा रहेको पीडाले उहाँलाई वेला वेला सताउँछ तापनि छोरा बुहारीको प्रगति र गतिविधि उहाँका निम्ति सन्तुष्टिको विषय बनेको छ ।  एउटी आमाको आफ्ना सन्तानप्रतिको स्नेहधारा यस कृतिका विभिन्न पानामा छताछुल्ल छ ।  यी सबै कुराहरु यस कृतिका पठनीय पाना बनेका छन् ।

जागिरे जीवनका समस्या, त्यसभित्रका दाउपेच र उज्याला अँध्यारा पक्षलाई पनि उहाँले कृतिभित्र केलाउनु भएको छ । त्रिभुवन विश्व विद्यालयको टाइपिस्ट कम क्लर्क 'ग'बाट सुरु गरेर नेपाल सरकारको ना.सु., शाखा अधिकृत र उपसचिवका रूपमा सेवा प्रवेश गर्दा र काम गर्दाका अनुभव यसमा थिग्रिएका छन् । महिला जागिरेका पीडा पनि उहाँले विभिन्न सन्दर्भमा यहाँभित्र व्यक्त गर्नु भएको छ । जागिरमा पसेर उहाँले स्वदेश विदेशका विभिन्न स्थानमा आफ्नो क्षमता प्रदर्शन गर्नु भएको छ । देशभित्र कहिले तथ्याङ्क विभागको जिम्मेवारी वहन गरि रहेको, कहिले वीर अस्पतालमा अन्यमनस्क दिन गुजारि रहेको, कहिले अध्यागमन विभागतिर कुदि रहेको, कहिले स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेर काम अगि बढाइ रहेको, कहिले सूचना सञ्चारमा पसिना बगाइ रहेको र अन्त्यमा सामान्य प्रशासन मन्त्रालयमा क्रियाशील रहेको हामी देख्तछौँ । जागिरे जीवनमा भोग्नु परेका मुद्दा र अदालतका काम कारबाईप्रतिको उहाँको असन्तुष्टिलाई पनि उहाँले यहाँ जस्ताको तस्तै राखि दिनु भएको छ । सोलुखुम्बु जस्तो दुर्गम जिल्लामा पुगेर मतदान अधिकृतको जिम्मेवारी सफलतापूर्वक पुरा गरेको तथा तनहुँमा निमित्त स्थानीय विकास अधिकारीका हैसियतले सरकारी जग्गा संरक्षणमा विशेष भूमिका निर्वाह गरेको जस्ता उल्लेख्य कुरा पनि यहाँ पोख्नु  भएको पाइन्छ । आफ्नो कामको सम्मानस्वरूप आफूलाई पुरस्कृत गरिएको तथा सेवा निवृत्त हुँदा सम्मानपूर्वक बिदाइ गरिएको कुरा उल्लेख गरेर उहाँले आफ्नो गुणग्राही प्रवृत्तिको पनि परिचय  दिनु भएको छ । अध्ययन, तालिम, गोष्ठी र सम्मेलनका लागि थाइल्यान्ड, पाकिस्तान, फिलिपिन्स, भारत, जापान, स्विडेन, लाओस, अस्ट्रेलिया, भियतनाम, चीन, स्विटजर्ल्यान्ड, अमेरिका र श्रीलङ्का  जाँदाका उहाँका अनुभवहरु पनि यहाँ बटुलिएका छन् । यी अनुभवहरुमध्ये कुनै मुलुककै लागि काम लाग्ने खालका छन् भने कुनै हाम्रा व्यक्तिगत जीवनका लागि उपयोगी छन् । समग्रमा यी सबैले हाम्रो ज्ञानको क्षितिजलाई फराकिलो पार्न सघाउँछन् ।
सूर्यवदनाको आत्मकथाको यस कृतिमा उहाँका जीवनका कैयन् रोचक घटनाहरु पनि प्रस्तुत छन् । उहाँले आफ्ना हजुरबा पं.एकदेव घिमिरेले तयार गर्नु भएको घिमिरे पुस्तावलीमा आफ्नो र आफ्ना बहिनीहरुको नाम लेखाउन निकै जोडबल गरी सफल भएको र यसबाट हजुरबा आलोचित हुनु परे पनि महिलाहरुको अस्तित्व र पहिचान जोगाउन सकेकोमा गर्व गर्नु भएको छ । त्यस पुस्तावलीमा नाम लेखाउन आफैले श्लोक सिर्जना गरेको प्रसङ्ग पनि चाखलाग्दो छ । हजुरबाका आध्यात्मिक सामाजिक कार्यको पनि उहाँले प्रशंसा गर्नु भएको छ । जनकवि केशरी धर्मराज थापासँगको भेट, आफूले रचेर सुनाएका र थापाले आफ्ना पुस्तकमा स्थान दिएका दोहोरीका पङ्क्तिहरु अनि त्यसबाट प्राप्त प्रेरणाको स्मरण कृतिकारले यस पुस्तकमा गरेको पाइन्छ । टुक्राटाक्री सम्झनाका रूपमा उल्लिखित घटनाहरुमध्ये कतिपय बालसुलभ कौतुकसँग गाँसिएका छन् भने कतिपय आफ्नै अज्ञानतासँग जोडिएका छन् । यिनले उहाँको सरलता, कुशलता र चातुर्य जस्ता पक्षलाई झल्काउँछन् ।
साहित्यप्रतिको सूर्यवदनाको रुचि र प्रतिभाका प्रमाणका रूपमा विद्यार्थी कालमै उहाँले गरेका सिर्जना रहेका छन् । यता आएर उहाँ यस क्षेत्रमा लगनशील एवम् सक्रिय हुन थाल्नु भएको छ । उहाँले आमाको सम्झनामा एक काव्यकृति प्रकाशित गरि सक्नु भएको छ भने प्रस्तुत आत्मकथाले उहाँको साहित्य यात्रालाई अझ अगि बढाएको छ ।  उहाँका भावी दिनहरु साहित्य सिर्जनामा केन्द्रित हुने लक्षणहरु देखा परि रहेका छन् । एउटी सिर्जनशील प्रतिभाको नेपाली साहित्यमा सक्रियता हामी सबैका निम्ति खुसी र उत्साहको विषय हो । म उहाँको साहित्य यात्राको निरन्तरता र सफलताको हार्दिक कामनाका साथ पाठकहरुबाट प्रस्तुत कृतिको स्वागत गरिने विश्वास व्यक्त गर्दछु ।
२०७३ कार्तिक १७,                       प्रा.डा.जीवेन्द्र देव गिरी,
२००|२६ कुमुद देवकोटा मार्ग,काठमाडौँ-३४        सदस्य सचिव ,
                                 नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँ  



Comments

Popular posts from this blog

g]kfnL efiff / ;flxTodf em/f]{ g]kfnL

सम्झनामा चीन भ्रमण